site stats
बाह्रखरी :: Baahrakhari
विचार
होला त कम्युनिस्ट एकता ?

आठ वर्षअघि तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले गरेको कथित 'नागरिक सर्वोच्चताको आन्दोलन'का बेलामा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' “कि लाऊ माया मैतिर कि लाऊ उहीतिर, नलाऊ दुईतिर...” भन्दै नायिका रेखा थापासँग सडकमै नाचेका थिए । प्रेमको विषयमा गाइएको उक्त गीतको भावसङ्ग मेल खानेगरी उनै दाहालको पार्टी माओवादी केन्द्र यतिबेला सरकारमा नेपाली कांग्रेससँगै छ भने प्रतिनिधि र प्रदेश सभाका आगामी निर्वाचनमा नेकपा (एमाले)सँग गठबन्धन गरेर दुईतिर माया लाइरहेको छ । लामो समयदेखि अस्थिरताको व्यूहमा फसेको नेपाली राजनीतिले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सकिएपछि स्थिरता प्राप्त गरी देशमा आर्थिक विकासले गति लिनेछ भन्ने नेपालीको चाहनामा कालो बादल  हटिसकेको छैन । आसन्न निर्वाचनपछिको माओवादी केन्द्रको आकार र व्यवहारले अस्थिरता अझै लम्मिने पो हो कि भन्ने शंका अझै कायम छ । 

देशमा दसैं मनाइरहिएको बेला तत्काललाई चुनावी तालमेल र भविष्यमा पार्टी एकताको मार्गचित्रसहित एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीका तीन नेताले छ बुँदे सहमति गरे पश्चात तरङ्गित बनेको नेपालको राजनीति अझै पूर्ण स्थिर भइसकेको छैन । प्रजातन्त्र पुनस्थापनापछिका तीन दशकमा धेरै समय नेपाली कांग्रेसले सत्ताको नेतृत्व गरेको छ । चुनावी तालमेल र भनिएजस्तो कम्युनिस्ट एकता इमानदारीपूर्वक भए भने फेरि सत्तारोहण कठिन हुने डर कांग्रेसजनमा छ । कांग्रेस सत्तामा जानबाट रोकिने आकलनमा कम्युनिस्ट कार्यकर्ता  निकै हर्षित छन् । 

हेटौंडा महाधिवेशनपछिको माओवादी केन्द्र र नवौं महाधिवेशन पछिको एमाले नेपाली समाजमा सामन्तवाद विघटित भई पुँजीवादको स्थापना भएको र राष्ट्रिय पुँजीको निर्माण गर्दै देशको आर्थिक विकास गर्नु नै अबको कार्यभार भएकोमा एकमत रहेकाले यो एकता अनिवार्य थियो भन्ने तर्क अगाडि सारिएको छ । तर, एमाले र माओवादी केन्द्रबीचमा रहेका भनिएका तीबाहेकका सैद्धान्तिक र कार्यनीतिक आधारभूत भिन्नता र असहमतिका स्पष्ट मिलन बिन्दु नखोजीकनै हठात्मा आएको कम्युनिस्ट तालमेल हुँदै पार्टी एकतासम्मको चर्चा यी दुई पार्टीको सहज सत्ता प्राप्तिबाहेक अरू केही कारण देखिँदैन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विसं २०७१ को असारमा भएको एमालेको नवौं महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनमा हालको माओवादी केन्द्रलाई उग्रवामपन्थी बाटोबाट अलग हुन प्रयासरत रहे पनि पूर्णरूपमा रूपान्तरण नभइसकेको  चित्रण गरिएको छ । उक्त प्रतिवेदनमार्फत एमालेले मुलुकमा जातीय – क्षेत्रीय अतिवादको बीजारोपणका लागि नेपाललाई बहुराष्ट्रिय राष्ट्रको रूपमा विश्लेषण गर्ने, प्रत्येक जनजाति समूहलाई राष्ट्रियताको रूपमा व्याख्या गर्दै एकल जातीय राज्य र आत्मनिर्णयको अधिकारको पैरबी गर्नेजस्ता माओवादी केन्द्रका गलत नीतिलाई जिम्मेवार ठानेको छ । माओवादी केन्द्र अहिले पनि सोही नीतिमा कायम छ ।

एकता प्रक्रिया सुरु भएपछि माओवादी केन्द्रका केही नेताले राखेको फरक मतलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवाद र पहिचानको मुद्दा नछाड्ने भनिसकेका छन् । हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनका लागि जारी गरिएको घोषणापत्रमा पनि एमालेले माओवादी केन्द्रलाई नेपालको राजनीतिमा अराजकता, अस्थिरता र अवसारवादको पर्याय र उसको जन्मदेखि हालसम्मका गतिविधि नेपाल राष्ट्रलाई कमजोर बनाउने र देशमा विभाजन, विग्रह र द्वन्द्व सिर्जना गर्दै नेपालको प्रगतिमा अवरोध उत्पन्न गर्ने खालका भनेको छ ।

के एमालेसँग चुनावी तालमेल गर्नेबित्तिकै माओवादी केन्द्र यी आरोपबाट मुक्त हुने हो ? माओवादी केन्द्रका नेता सत्ताका लागि जस्तासुकै शक्तिसँग हात मिलाउन तयार हुन्छन् भन्ने एमालेको अर्को विश्लेषण छ । माओवादी केन्द्र र एमालेबीचमा भएको चुनावी तालमेल सत्ताको लागि मात्र होइन भनेर कसरी मान्ने ? वा भोलि चुनावपश्चात् माओवादी केन्द्रले आफ्नो आकारको आधारमा अहिलेको गठबन्धन त्यागेर कांग्रेस वा अरु दलसँग सत्ताको मोलमोलाइ गर्दैन भन्ने आधार के हो ? यी सबालका स्पष्ट जवाफ नखोजी पार्टी एकता नै होला भनेर वा भइहाले पनि दिगो होला भनेर विश्वस्त हुन सकिँदैन । 

एक महिना पनि नपुग्दै सहमतिपत्रका हस्ताक्षरकर्तामध्येका एक नेता आफ्नो बाटो लागिसकेका छन् । गठबन्धनबाट उनको बहिर्गमनमा नेताहरूको अहंकारले मूख्य भूमिका खेलेको प्रष्टै देखियो । भोलि पार्टी एकता गर्ने नै हो भने एक अर्कालाई स्वीकार्न किन यति कष्ट भएको ? व्यवस्थापनका प्रशस्त विकल्प हुँदाहुँदै भएको उनको बहिर्गमनले कम्युनिस्ट तालमेल मौलिक, प्राकृतिक र आवश्यक केही पनि होइन भन्नेलाई नै बल पुगेको छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल स्वयंले यो तालमेल चुनावका लागिमात्र हो पार्टी एकतासम्म पुग्दैन भन्ने गरेको समाचार आउन थालेका छन् । जति सजिलै मंसिर १० मा हुने पहिलो चरणको चुनावको लागि क्षेत्र बाँडफाँट र उमेदवार तय भयो त्यति सजिलो दोस्रो चरणमा भएन । आफ्नो जनाधार कम भएको ठाउँमा समेत माओवादी केन्द्रले अस्वाभाविक रूपमा दाबी गरेका समाचार आइरहेका छन् । एक समय आफूले वर्ग शत्रु घोषणा गरेर सफाया गर्ने अभियान नै थाल्दा जीवनको पर्बाह नगरेर एमाले पार्टी र सूर्य चिन्हको रक्षा गर्ने एमाले कार्यकर्ताको मतले आफू सत्तामा पुग्नेबाहेक माओवादी केन्द्रको अरू नियत देखिँदैन । 

सार्वजनिक प्रस्तुतिमा नेताहरू तालमेलको इमानदार कार्यान्वयनमा विश्वस्तजस्तै देखिन्छन् तर गर्भमा यो तालमेल भत्किन सक्ने सम्भावनाको भ्रूण पलाइसकेको पनि देख्न सकिन्छ । दुनियाँ सामु मुख देखाउनै अप्ठ्यारो हुने गरी बेइज्जती सहनुपर्दा समेत सरकार नछोड्नुले शंकाको आगोमा घिउको काम गरेको छ । 

अवस्था कसरी विकसित भइरहेको छ भने एमालेका नेता कार्यकर्तालाई बाहिर व्यक्त गर्न अप्ठेरो भए पनि माओवादी केन्द्रलाई दाहालकै गीत सम्झेर भित्रभित्रै गाउँदा हुन् – “कि लाऊ माया मैतिर कि लाऊ उहीतिर, नलाऊ दुईतिर ...।”
ट्विटरः navin_kiran

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०७४  १०:३०
प्रतिक्रिया दिनुहोस्