राजेन्द्र खनाल ‘क्षितिज’
जबजब वसन्त ऋतुको
धरतीमा आगमन हुन्छ,
मनोरम रङबिरंगी फूलसँगै
प्रकृति तिमी पनि मस्त र लालित्य देखिन्छौ ।
तिम्रो सौन्दर्यमा लालायित भएर
प्रकृति,
ममा पनि जवानी फुल्छ
मेरो मस्तिष्कमा
मेरो हृदयमा
मेरो तनमा
मेरो मनमा
प्रेमको बीजारोपण अनि अंकुरण भएको महसुस हुन्छ ।
तिम्रो लावण्यरूपी अंगअंगमा
कपोलकल्पित भई हराउँदछु
मुग्ध नादको आवाजमा लट्ठिएर
सृष्टिकर्तालाई नमन गर्दै
मनमोहक हरियाली फाँटमा उफ्रीउफ्री रमाउन खोज्छु
तिम्रा घना बादलु ती कबरीमा,
अजंगी ती रुखझैँ खम्बाहरूमा
एकैछिन सुस्केराको तालसँगै
चिसो समीरको शीतल बहावमा
भित्रभित्रै तिमी र उनीसँगै
हराउन चाहन्छु ।
प्रकृति,
तिमी अनि उनी
मलाई उस्तैउस्तै लाग्छ
त्यही माधुर्य, त्यही शीतलता
त्यही वात्सल्य, त्यही मधुरवाणी
मात्तिएको अनि छचल्केको जवानी
रापिएको अग्निकुण्ड
उच्च पहाड, गहिरो ताल
संकुचन दोभान, लचकदार चाल
रम्न चाहन्छ एकछिन स्वास रोकी
अन्तस्तलको दलदल भित्रै !
त्यसैले प्रकृति, तिमी अनि उनी
खै किन हो किन
मलाई उस्तैउस्तै लाग्छ ।
(धरान विजयपुर/हाल : मालीगाउँ)