site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन दिन बजार बढ्दा लगानीकर्तालाई राहत, अब राष्ट्र बैंकबाट 'नीतिगत सुधार'को अपेक्षा
Tiktok banner adTiktok banner ad

काठमाडौं । एक महिनाअगाडि सेयर बजार मापक परिसूचक नेप्से २,१०० विन्दुमा थियो । बीचको समयमा उतारचढाव आएर अहिले दुईहजारको विन्दुमा छ । तर, दुई हप्ताको सेयर कारोबार हेर्दा बजार दुईहजार विन्दुमा उक्लिन सकेको थिएन । 

बुधबार भने नेप्से एकै दिन ३९.४८ अंक बढेर २००७.०६ विन्दुमा पुगेर बन्द भयो । यसअघिका दिनहरू आइतबार र सोमबार पनि नेप्से उच्च अंकले बढेको थियो । आइतबार नेप्से १० अंकले बढेको थियो भने सोमबार ४४.३० अंक बढेको थियो । 

सरकारले स्थानीय तहको सञ्चित कोषमा रहेको रकमको ६० प्रतिशत रकम वाणिज्य बैंकहरूको निक्षेपमा गणना गर्न पाउने व्यवस्था आइतबारदेखि नै लागु गरेपछि बजार उच्च अंकले बढेको देखिन्छ । आइतबार, सोमबार र बुधबार बजार उच्च अंकले बढ्दा यसअघि घाटामा रहेका सेयर कारोबारीहरूलाई राहत मिलेको छ । 

पछिल्ला दिनमा अर्थतन्त्रका बारेमा सकारात्मक समाचार आएकाले सेयर कारोबार सकारात्मक भएको पूर्वबैंकर्स अनलराज भट्टराई बताउँछन् ।

“अहिले लाभांश कसले कति दिने भन्ने पनि चलेको छ । त्यसका साथै बजारमा सेयर बजारसम्बन्धी सकारात्मक समाचार आएका छन् । राष्ट्र बैंकले पनि नीति परिमार्जन गर्ने सम्भावना छ,” उनले भने, “बैंकमा पैसा प्रशस्त भएको र व्यापार व्यवसायमा कर्जा नगएकाले पनि ब्याजदर घट्ने संकेत देखिन्छ । राष्ट्र बैंकको नीतिमा सुधार भयो भने बजार माथि जाने देखिन्छ ।” 

३,२०० विन्दुमा बजार पुग्दाको नीति अहिले पनि लागु गरिरहन नहुने भट्टराई बताउँछन् । सेयर बजारसम्बन्धी ल्याएका जोखिमभार र १२ करोडको सीमा अध्ययनबिना नै ल्याइएको भन्दै त्यसले बजारलाई प्रत्यक्ष प्रभाव पारेको उनी बताउँछन् ।

“सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट घटाएर १०० मा झार्नुपर्छ । यो कुन आधारमा राखियो भन्ने तथ्य छैन । तर, अब बजार दुई हजार विन्दुमा भएकाले यो नीति परिमार्जन हुन्छ होला । आम जनताका कुरा पनि त सुन्नुपर्‍यो । ३२ विन्दुको नीति दुई हजार विन्दुमा पनि लगाउनु न्यायोचित हुँदैन ।” 

एक महिनाको अन्तरालमा बजार २३५.०९ अंकले घटेको छ भने १७६.१२ अंकले बढेको थियो । तर, आइतबार, सोमबार र बुधबार तीन कारोबार दिनमा बजार ९४.०१ अंक बढेको छ । एक महिनाको तथ्यांक हेर्दा बजार समग्रमा ५८.९७ अंकले घटेको छ । 

एक महिनामा बजारको घटाइ र बढाइलाई हेर्दा बढी दिन घटेको देखिन्छ । एक महिने अवधिमा साउन २८ गतेदेखि भदौ २७ गतेसम्म २२ दिन सेयर कारोबार भएको थियो । जसमा १३ कारोबार दिन बजार घटेको थियो भने नौ कारोबार दिन बजार बढेको थियो । 

तर, पछिल्लो एक महिनामा लगानीकर्ताको खुद सम्पत्तिको मूल्य (कुल बजारपुँजीकरण) भने एक खर्ब ११ अर्ब ३८ करोड रुपैयाँ कम नै छ । गत साउन २८ गते कुल बजारपुँजीकरण ३१ खर्ब १६ अर्ब एक करोड रुपैयाँ थियो भने भदौ २७ गते ३० खर्ब चार अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । बीचका कारोबार दिनहरूमा कुल बजारपुँजीकरण २८ खर्बसम्म झरेको थियो । तर, भदौ २६ गते मंगलबारको तुलनामा एकै दिन कुल बजारपुँजीकरण ५९ अर्ब ११ करोड रुपैयाँ बढेको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि सेयर बजारको विषयमा चासो देखाएका छन् । उनले केही पत्रकारहरूसँगको भेटमा राष्ट्र बैंकले १२ करोडको सीमा हटाउनुपर्ने बताएका छन् । यसले अब राष्ट्र बैंकले बजारका लागि केही सुधार गर्नुपर्ने दबाब सिर्जना भएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro