site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६ दिनदेखि आतंक मच्चाएका दुईवटा बाघलाई नियन्त्रणमा लिइयो 

काठमाडौं । नवलपुरमा विगत ६ दिनदेखि आतंक मच्चाएका दुईवटा बाघलाई नियन्त्रणमा लिइएको छ ।

नवलपुरको मध्यविन्दु २ नन्दपुर, सेहरी, सीतापुर, पनौती, लुस्लहरीलगायतका क्षेत्रमा विगत ६ दिनदेखि आतंक मच्चाइरहेका दुईवटा बाघलाई मंगलबार र बुधबार बिहान नियन्त्रणमा लिइएको हो ।

ती क्षेत्रमा दैनिकजसो राति प्रवेश गरेर बाघले गाई, बाख्रा, बंगुरलगायतका घरपालुवा जनावरमाथि आक्रमण जारी राखेको थियो । लगातार बाघको आतंकबाट त्रसित स्थानीयले राति प्रशासन गुहारेर बाघलाई नियन्त्रणमा लिन सफल भएका हुन् ।

tigernawalpur1-1694584301.JPG

एउटा बाघ मंगलबार बिहान र अर्को बुधबार बिहानीपख नियन्त्रणमा लिइएको स्थानीयले जानकारी गराएका छन् । 

चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको टोली, नेपाली सेना, मध्यवर्ती, समुदायमा आधारित वन्यजन्तु चोरी शिकारी नियन्त्रण युवा जागरण इकाइ, पश्चिम सेक्टर प्रशासनलगायतको टोली खटिएर बाघ नियन्त्रणमा लिइएको थियो ।

इकाइ अध्यक्ष हुमबहादुर थनेतका अनुसार बुधबार बिहानीपख डार्ट गरेर नियन्त्रणमा लिइएको भाले बाघ निकै ठूलो थियो ।

tigernawal1-1694584300.JPG

“हामीले हिजो पनि एउटा र आज बिहानीपख अर्को बाघ समातेका हौँ,” उनले बाह्रखरीसँग टेलिफोनमा कुरा गर्दै भने, “आज समातेको बाघ १३ जनाले बोकेका हौँ । दुईवटा हात्ती बाघको अगाडि जान पनि डराएका थिए ।”

उनका अनुसार यो बाघ सात वर्षको थियो ।  अहिले भालेपोथी संसर्गको समय भएकाले गाउँमा बाघको त्रास फैलिएको हो ।

नारायणी पारिबाट भाले र पोथी बाघ गाउँमा पसेको देखिन्छ । 

tigernawal-1694584299.JPG

“भाले बाघले पोथी बाघसँगै रहेका साना बाघ मारेर पोथीसँग संसर्ग गर्ने समय अहिले रहेछ,” उनले भने, “यस्तो बेलामा पोथी बाघले बच्चा जोगाउनका लागि भाले बाघलाई टाढा टाढा लिएर जाने गरेको देखिन्छ । त्यस्तो बेलामा हाम्रो गाउँसम्म बाघ आएको देखिन्छ । गाउँमा आइसकेपछि यहाँ घरपालुवा जनावरमाथि आक्रमण गरेको थियो ।”

मंगलबार बिहान समातेको त्यही सानो बाघ पोथीका तीनवटा बच्चामध्येको एक भएको अनुमान उनको छ । उक्त बाघ डेढवर्षको मात्रै रहेको थनेतले बताए । दुईवटा बाघले गरेर अहिले उक्त गाउँमा पाँचवटा बाख्रा, दुईवटा गाई, दुईवटा बंगुर मारेको उनले जानकारी गराए ।

b12-1694584298.JPG

“मान्छे कसैलाई केही भएन,” उनले भने, “६ दिनदेखि आतंक मच्चाइरहेको थियो । उजुरी गरेपछि तीन दिनदेखि टोली पनि खटिएको थियो । यही टिमले हिजो बिहान पनि समातेको हो । र, आज पनि ।”

नियन्त्रणमा लिइएका बाघ चितवनस्थित कसरा खोरमा राख्नका लागि लगिएको छ । “डार्ट हानेको बाघ कमजोर हुन्छ,” उनले भने, “कमजोर बाघको उपचार गरेपछि फेरि जंगलमै छोडिन्छ ।” पछिल्लो एक अध्ययनका अनुसार नेपालमा पाँच वर्षमा बाघको आक्रमणबाट करिब ६० जनाको मृत्यु भइसकेको छ ।

tiger-nawalpur-1694584298.JPG

वार्षिक १२ जना बाघको आक्रमणबाटै मृत्यु हुने गरेको तथ्यांक देखिन्छ । जुलाई २९ मा विश्वभर बाघ दिवस मनाइन्छ । नेपालमा सन् २०२२ सम्ममा पाटेबाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता व्यक्त गरिएको भए पनि तेब्बर भएको तथ्यांक सार्वजनिक भएको थियो । 

नेपालमा सन् २०२२ मा गरिएको बाघको गणनाअनुसार संख्या ३५५ पुगेको छ । उक्त गणनामा सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा रहेका छन् । बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको बताइएको छ ।

tigernawalpur123-1694584302.jpg

नेपालले २०६७ देखि बाघ दिवस बनाउँदै गणना गर्दै आएको छ । नेपालमा सन् १९९५ मा पहिलोपटक गरिएको गणनामा ९८ वटामात्रै बाघ रहेका थिए ।

तस्बिर सौजन्य– हुमबहादुर थनेत 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ११:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro