site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्य बिमा : साउन १ देखि सरकारी स्वास्थ्य संस्थालाई मात्र प्रथम सेवाविन्दुमा राख्न पाइने*

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले आगामी साउन १ गतेदेखि प्रथम सेवाविन्दु सरकारी स्वास्थ्य संस्थालाई मात्र परिपत्र गरेको छ । असार १० गते बोर्डका जिल्ला सम्पर्क कार्यालयलाई सम्बोधन गरिएको परिपत्रमा सरकारीबाहेक अन्य सेवाप्रदायकलाई प्रथम सेवाविन्दुका रूपमा नराख्न भनिएको छ ।

"उपरोक्त सम्बन्धमा स्वास्थ्य बिमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (५) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) को नियम २ को खण्ड (५) ले प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था गरेकाले मिति २०८२ साउन १ गतेबाट उक्त संस्था प्रथम सेवा विन्दुको रूपमा नरहने व्यहोरा निर्णयानुसार (कार्यकारी निर्देशकस्तर) अनुरोध छ," परिपत्रमा भनिएको छ ।

स्वास्थ्य बिमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापा क्षेत्रीले यसअघि सरकारीबाहेक देशभरका १०–१२ वटा गैरसरकारी अस्पताललाई पनि बिमामा प्रथम सेवाविन्दुका रूपमा राख्ने गरिएकामा अब हटाइएको जानकारी दिए ।

"तर, आगामी साउन १ गतेदेखि त्यस्ता अस्पताललाई प्रथम सेवाविन्दुका रूपमा राख्न मिल्दैन । सरकारी अस्पताललाई मात्र प्रथम सेवाविन्दुका रूपमा राख्न मिल्छ," उनले भने ।

*यसअघि अन्यथा भएकाले सच्याइएको छ ।

 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्