site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वैदेशिक रोजगारीमा गएका श्रमिकको साथमा सरकार छ भन्ने महसुस गराउँछौँ : मन्त्री भण्डारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम आप्रवासनसम्बन्धी समस्या र समाधानका विषयमा केन्द्रित रहेर विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग छलफल गरेका छन् । सोमबार बिहानदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको पहिलो चरणको बैठक अपराह्न सकिएको छ ।

बैठकमा वैदेशिक रोजगारसहित आप्रवासी नीतिमा रहेको चुनौतीका बारेमा १३ देशका राजदूतहरूसँग छलफल गरिएको हो । कूटनीतिज्ञले अन्तर्राष्ट्रिय श्रमबजारसँग सम्बन्धित समस्या समाधानबारे धारणा राखेका थिए ।

अन्तरक्रियामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले श्रम आप्रवासनका सवाल र कूटनीतिक नियोगको भूमिका विषयमा संक्षिप्त अवधारणा प्रस्तुत गरेका थिए ।

पहिलो चरणको बैठक समापनपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले राजदूतहरूले आ–आफ्नो मुलुकको समस्या र समाधानका उपाय बताएको जानकारी दिए । राजदूतहरूले राखेका समस्या टिपिएको र श्रम मन्त्रालयले त्यसको समाधान गर्नेतर्फ काम गर्ने उनले बताए ।

निर्देशिका, कार्यविधि परिवर्तन गरेर भए पनि वैदेशिक रोजगारलाई व्यवस्थित र श्रमिकको हकहित, मानवअधिकारलगायत पक्ष सुदृढ बनाउने सरकारको लक्ष्य रहेको उनले सुनाए । वैदेशिक रोजगारीमा रहेका श्रमिकमाथि सरकारको जिम्मेवारी हुने उनले उल्लेख गरे । वैदेशिक रोजगारीमा गएका श्रमिकको साथमा सरकार छ भन्ने महसुस गराइने उनको भनाइ छ ।

अवधारणापत्रमा श्रम आप्रवासनका मुख्य १० गन्तव्यमा कतार, मलेसिया, साउदी अरब, संयुक्त अरब इमिरेट्स् (यूएई), कुवेत, बहराइन, दक्षिण कोरिया, ओमान, जापान, रोमानिया रहेको उल्लेख छ । नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा भोग्नुपरेका विभिन्न समस्या समेत उल्लेख गरिएको छ । त्यसको समाधानका विकल्प प्रस्तुत गरिएको छ ।

अन्तरक्रिया सोमबार र मंगलबार दुई दिन हुनेछ । अन्तरक्रियामा मंगलबार प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro