नेपाली राष्ट्रिय क्रिकेट टिम पाकिस्तान र श्रीलंकामा भएको एसिया कप–२०२३ खेलेर फर्किसकेको छ । पहिलोपटक एसिया कप खेलेको नेपालले प्रतियोगितामा विश्व क्रिकेटका दुई महारथी भारत र पाकिस्तानसँग प्रतिस्पर्धाको अवसर पायो । पहिलो खेलमा पाकिस्तानसँग मुल्तानमा खेलेको नेपाल २३८ रनले पराजित भएको थियो । श्रीलंकाको क्यान्डीमा भारतविरुद्ध आफ्नो दोस्रो खेल खेलेको नेपाल त्यहाँ पनि १० विकेटले पराजित भयो ।
दुवै खेलमा पराजित भए पनि नेपाली टिमका स्पिनर ललितनारायण राजवंशीले किफायती बलिङ गर्दै समर्थकको मन जिते । विकेटविहीन रहे पनि ललितले पहिलो खेलमा पाकिस्तानविरुद्ध १० ओभर बलिङ गर्दा ४८ रनमात्र खर्चिए । दोस्रो खेलमा भारतविरुद्ध चार ओभरमात्र बलिङ गर्ने मौका पाएका उनले २४ रन खर्चिएका थिए ।
एसिया कप खेलेर फर्किएपछि ललितसँग बाह्रखरीका आशिष पुडासैनीले एसिया कपको अनुभव र क्रिकेटका विभिन्न विषयमा गरेको कुराकानीको सम्पादित अंशः
एसिया कपको अनुभव कस्तो रह्यो ?
एकदमै राम्रो रह्यो । भारत–पाकिस्तान दुवै टिमलाई हामी तारिफ गथ्र्यौँ । सधैँ त्यो टिमका खेलाडीहरुलाई फलो गर्दै आएका थियौँ । तिनीहरुसँग खेल्न पाउँदा, यत्रो ठूलो प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउँदा एकदमै राम्रो लागिरहेको छ ।
तपाईँले पाकिस्तान र भारत दुवै टिमविरुद्ध बलिङ गर्नुभयो । तर, विकेट लिन सक्नुभएन । विकेटविहीन हुँदा कस्तो अनुभव भयो ?
पक्कै पनि कोलम अलिकति खाली–खालीजस्तो देखियो । शून्यको ठाउँमा एक वा दुई आएको भए अझ राम्रो देखिन्थ्यो । तर, योभन्दा पनि त्यति ठूलो स्टेजमा गएर आफूलाई देखाउनु, आफ्नो देशको प्रतिनिधित्व गर्नु र आफ्नो पक्षबाट शतप्रतिशत दिनु नै मेरो लागि राम्रो हो ।
विश्व नम्बर एक बाबर आजम र रोहित शर्माविरुद्ध बलिङ गर्दाको अनुभव कस्तो थियो ?
नेपाली खेलाडीले उनीहरु कसरी खेल्छन् भनेर सधैँ फलो गर्ने खेलाडी हुन् । रोहितलाई हिट म्यान भनेर चिनिन्छ । बाबर आजम भनेको एकदिवसीयको एक नम्बर ब्याटर हुन् । धेरै जसो समय ती दुई ब्याटरलाई नै बलिङ गर्दा बेग्लै प्रकारको आत्मविश्वास आएको छ अहिले ।
त्यसबेला उनीहरुले मलाई कसरी खेल्छन् होलान् भन्ने भावना हुँदा हुँदै पनि आफूमा भएको विश्वासले त्यो स्टेजमा विकेट लिन नसके पनि आफ्नोबाट राम्रो प्रदर्शन गर्न सकेँ ।
पाकिस्तानसँग सुरुआती ३० ओभरसम्मको बलिङ र त्यसपछि बाबर र इफ्तिखरको साझेदारीपछिको अवस्थाबारे टिमबीच कस्तो कुराकानी भइरहेको थियो ?
इनिङ सुरु हुनेबित्तिकै दुई–चार ओभर उनीहरुले राम्रो खेले पनि जसरी उनीहरुको विकेट गयो, त्यसपछि उनीहरु दबाबमा आएका थिए । पक्कै पनि राम्रो टिमले आफ्नो अनुभवले टिमलाई ‘बिल्ड अप’ गर्छन् । टिमलाई कसरी राम्रो स्थितिमा पुर्याउने भन्ने उनीहरुसँग अनुभव हुन्छ । ३० भन्दा पनि ४० ओभरसम्म हामी राम्रो स्थितिमा थियौँ ।
अन्तिम १० ओभरमा उनीहरुले राम्रो क्रिकेट खेले । हामीले सोचेभन्दा धेरै राम्रो खेले उनीहरुले । त्यसबेलासम्म इफ्तिखर सेट भइसकेका थिए । बाबर आजम पहिलो विकेट गएपछि आएका ब्याटर भएकाले सेट नै थिए । एक अनुभवी टिमले त्यसबेला जसरी क्रिकेट खेल्नुपर्ने थियो, त्यसरी खेले ।
३०–४० ओभरसम्म जसरी हामीले खेलेका थियौँ । एकदमै राम्रो थियो । हामीबीच कुरा पनि त्यही भइरहेको थियो । छोड्ने हैन, यदि उनीहरुले रिस्क लिएर रन बनाउँछन् भने ठिक छ, हामीले आफ्नो लाइन, लेन्थ र बलिङलाई चाहिँ बिर्सिनुभएन । आफ्नो क्षमता विश्वास राख्ने र आफ्नो ठाउँमा बल फ्यालिराख्ने, त्यतिमात्र कुरा भइरहेको थियो ।
बाबर र इफ्तिखरले साझेदारी बनाउँदा टिममा दबाब कस्तो थियो ?
उनीहरुले ४० ओभरपछि सोचेभन्दा धेरै राम्रो क्रिकेट खेले । हामीले आफ्नो क्षमताअनुसार राम्रो गर्न खोजेको र राम्रो गरेको पनि हो । उनीहरुले राम्रो सटहरु खेल्दै ठूलो योगफलसम्म पुगे । त्यसबेला टिम दबाबमा भन्दा पनि टिम कठिन अवस्थामा हुँदा कसरी ठूलो योगफलसम्म लैजाने भन्नेकुरा सिक्न पाइयो । पाकिस्तानले अनुभवले जितेको भन्न मिल्छ ।
भारतविरुद्ध २३० रनको योगफल खडा गरिसकेपछि ब्याटिङबाट फर्किँदा टिममा जितिन्छ कि भन्ने माहोल थियो कि थिएन ?
एकदमै । जसरी हाम्रो पहिलो इनिङ सकियो । पहिलो इनिङ सकिएपछि हामीले सबै विश्लेषण गरेका थियौँ । जस्तो, दोस्रो इनिङको एभरेज स्कोर कति हुन्छ । बलिङ कसरी गर्ने । कहाँ गर्ने । सबैकुरा होमवर्क गरिसकेका थियौँ । तर, दुर्भाग्यवश पानी पर्यो । पहिलो इनिङ सकिएपछि हामी सबैमा नतिजा जे आए पनि गेम एकदम राम्रो हुन्छ भन्ने विश्वास थियो ।
पाकिस्तानसँगको नतिजा एसिया कपमा डेब्यू खेलको दबाब र डे–नाइट क्रिकेटको अनुभव नहुँदाको परिणाम हो ?
भन्न मिल्छ । किनभने, त्यसभन्दा अगाडि सायद हामीले एउटा डे–नाइट खेल खेलेका थियौँ, सायद इमर्जिङ कपमा भारतसँग । त्यसपछि खेलेका थिएनौं । डे–नाइट खेल त्यसमाथि पनि पाकिस्तानसँग विश्वकै तीनजना उत्कृष्ट फास्ट बलरहरुविरुद्ध ।
डे–नाइटमा त्यस्तो बलिङविरुद्ध खेल्दा पनि हुन सक्छ । उनीहरुलाई महसुस भइरहेको थियो होला । डे–नाइटले गर्दा प्रदर्शनमा केही प्रभाव पारेको भन्न सकिन्छ । तर, त्यो स्टेजमा गएर कमजोरी खोज्नु भएन । यो भएन, उ भएनभन्दा पनि खेल्नुपर्यो । अझ राम्रो खेल्न सकिन्थ्यो, तर त्यस दिन भएन ।
तपाईँको व्यक्तिगत विचारमा हामीले भारत र पाकिस्तानमध्ये कुन टिमविरुद्ध अझ राम्रो प्रदर्शन गर्न सक्थ्यौँ जस्तो लाग्छ ?
अहिले हेर्दा दुवैमा राम्रो गर्न सकिन्थ्यो । बलिङमा डेथ ओभरतिर अझ राम्रो गर्न सकिन्थ्यो । तर, उनीहरुले राम्रो क्रिकेट खेले । भारतसँग पूरै ५० ओभर खेल भएको भए अझ राम्रो गर्न सकिन्थ्यो । नतिजा जे भए पनि उनीहरुविरुद्ध खेल्दा अझ एक्सपोजर हुन्थ्यो । भारतविरुद्ध एक–दुई लिएको भए उनीहरुले त्यस स्थितिबाट टिमलाई कसरी लैजान्छन् भन्ने अनुभव लिन पाइन्थ्यो । पानीको कारणले खेल हुने अवस्था नै थिएन भारतसँग ।
भावना कस्तो थियो भने– यदि, खेल भयो भने हामीले पनि आफूलाई एक्सप्लोर गर्न पाउँछौँ । बलिङ गर्न पाउँछौँ । त्यसपछि खेल भयो पनि । पानी परेपछि भारत ब्याटिङमा आउँदा नतिजा जे भए पनि सहजै जित्न नदिउँ । कम्तीमा २० ओभरपछि मात्र जिते पनि राम्रो देखिन्छ । त्यो भावना थियो ।
भारतसँगको खेलपछि नेपाली टिम भारतको ड्रेसिङ रुममा गएको थियो । त्यहाँ भारतीय खेलाडीहरुले मेडल लगाइदिए । त्यो अनुभव कस्तो रह्यो ?
हामीले सधैँ तारिफ गर्ने खेलाडीको ड्रेसिङ रुममा जाँदा, विराट कोहली, रोहित शर्मा, हार्दिक पन्ड्याहरु थिए । आईपीएल हुँदा को कस्को फ्यान भनेर हेर्ने खेलाडीहरु त्यहाँ थिए । उनीहरुसँग एकछिन भए पनि ड्रेसिङ रुम सेयर गर्न पाउँदा राम्रो क्षण थियो त्यो ।
हाम्रो टिममा कमिटमेन्ट अवार्ड दिने संस्कार छ । उनीहरुबाट त्यो मेडल पाएपछि मेडल पाएका खेलाडीहरुको कम्फिडेन्ड बुस्ट हुन्छ जस्तो मलाई पनि लाग्यो । हामीले सधैँ हेर्न खोज्ने खेलाडीहरुले यति नजिकबाट मेडल लगाइदिन्छ वा स्याबासी दिनुको स्तर अर्कै हुन्छ । त्यसरी उनीहरुले मेडल लगाइदिँदा हाम्रो कन्फिडेन्ट बुस्ट भएको छ । र, आउँदा दिनमा अझ राम्रो गर्न सकिन्छ भन्ने भावना मनमा थियो ।
मेडल लगाइदिँदा नै विराट कोहलीले आसिफलाई मलाई पनि एउटा मेडल देउ भनेको भन्ने किस्सा छ, त्यो मोमेन्ट कस्तो थियो ?
फन्नी मोमेन्ट थियो । रमाइलो भएको थियो त्यतिबेला । सबैले एकअर्कालाई हेर्यौँ, हास्यौँ । एक ठाउँमा भारतीय खेलाडीमात्र थिएनन् । हामी मिक्स भएका थियौँ । रमाइलो भएको थियो एकछिन् ।
तपाईँको क्रिकेट करियरको सुरुआत कस्तो थियो ?
सुरुआती दिन सामान्य थिए । क्रिकेट टीभीमा मात्र हेरिन्थ्यो । पहिले–पहिले क्रिकेटमात्र हैन, गाउँमा जुन खेल भए पनि खेलिन्थ्यो । फुटबल र कबड्डी पनि खेलियो । हाम्रो घरमा फुटबलभन्दा क्रिकेट धेरै हेर्ने । त्यसले गर्दा क्रिकेटतिर बढी लगाव बढ्दै गयो । त्यसबेला म पनि खेलाडी भएर टीभीमा आउन पाए कस्तो हुन्थ्यो होला भन्ने भावना आउथ्यो ।
पछि कलेज पढ्दा विराटनगरको सहिद रंगशालामा खेलाडीहरु खेल्न आउँदा जसरी उनीहरुलाई हेर्न समर्थकहरु आउथे, चियर अफ गर्थे, त्यो हेर्दा मलाई पनि म खेलाडी भएको भए यति मान्छे मेरो समर्थनमा आउँदा कस्तो हुन्थ्यो होला भन्ने भावना आउँथ्यो । त्यस्तै भावनाले गर्दा क्रिकेट खेल्दै गएँ, स्थानीयपछि प्रदेश र राष्ट्रिय प्रतियोगिताहरु खेल्दै गएँ । अहिले त्यो बेलालाई सम्झिँदा कसरी त्यो भावनाहरु आउँथ्यो भनेर अच्चम्म लाग्छ । अहिले त्यतिबेला सम्झिएको स्टेजमा उभिँदा एकदमै राम्रो फिल हुन्छ ।
तपाईँको संघर्षका दिनहरु कस्ता थिए । अहिले सम्झिँदा कस्तो महसुस हुन्छ ?
संघर्ष सबैसँग आ–आफ्नो हुन्छ । मेरा पनि थिए । खेल्दा आफ्नो सामान नहुने । उसको माग्ने, उसको माग्ने, कसरी म्यानेज गरेर खेल्ने भन्ने हुन्थ्यो । बीचमा राष्ट्रिय टिममा खेल्दाखेल्दै पनि घाइते भयो । १० महिना इन्जर्ड हुँदा केही गर्न मिल्दैन थियो । पछि गएर खेल्न सकिन्छ कि सकिँदैन, त्यसबेला केही थाहा थिएन ।
हिजोको कुरालाई सम्झिएर नबस्नु भन्छन् मान्छेहरु । मलाई त्यो सही हो जस्तो लाग्छ । हिजो के के भयो भयो । हामी आजमा छौँ । आजमा बस्ने र यसलाई कसरी स्मरणीय बनाउने भन्नेतर्फ लाग्नुपर्छ । भविष्यको बारेमा सोचेर बस्न हुँदैन । भविष्य भनेको हामीले वर्तमानमा गरेको कुराहरुले राम्रो हुने हो ।
क्रिकेटमा लाग्दा परिवारको साथ कस्तो थियो ?
करियरको सुरुआतमा त्यति सहयोग गर्नु हुन्थेन । किनभने, गाउँघरतिर खेलेर अहिलेसम्म कसको के भएको छ, राम्ररी पढे हुन्छ, म पढाइमा एभरेज थिएँ । राम्रो पढ्यो भने कहीँ न कहीँ केही गरिहाल्छ भन्ने हुन्थ्यो, स्रोत बनिहाल्छ भन्ने थियो । तर, खेलेर कसले के गरेको छ भन्नुहुन्थ्यो ।
त्यो सबै कुरालाई बेवास्ता गरेर यो फिल्डमा केही गर्छु भनेर हिँडेको मान्छे म । अहिले यो स्टेजमा आउँदा खुसी लाग्छ । घरबाट पनि एकदम सर्पोट गर्नुहुन्छ । अहिले पनि कुरा गर्दा अरु कुरा नसोच, राम्रोसँग खेल, सबै राम्रो हुन्छ, सबै राम्रो भइरहेको छ भन्नुहुन्छ । त्यसले धेरै खुसी लाग्छ ।
सन् २०१८ मा लर्ड्समा नेपाली टिमबाट ‘डेब्यू’ गर्नुभएको थियो । त्यो क्षण कस्तो थियो ?
लर्ड्सलाई क्रिकेटको मक्का भन्छ । होम अफ क्रिकेट भन्छ । ट्वान्टी–२० डेब्यू होम अफ क्रिकेट, लर्ड्सबाट गर्दाको क्षण छुट्टै हुन्छ । लर्ड्समा डेब्यू गर्नु, त्यो क्षणलाई व्याख्या गर्न मसँग शब्द नै छैनन् । त्यहाँ डेब्यू गर्दा स्तर नै बेग्लै भएको महसुुस गरेको थिएँ ।
एसीसी प्रिमियर कपको फाइनलमा चार विकेट लिनुभयो । तपाईँलाई प्रिमियर कप जितेर एसिया कपमा छनोट हुँदा धेरै खुसी लागेको थियो कि अहिले एसिया कप खेलेर आउँदा ?
हामी जब छनोट भयौँ, त्यो क्षण रमाइलो थियो । त्यसअघिसम्म हाम्रै छिमेकी राष्ट्रहरु, जो अहिले विश्व क्रिकेटमा नम्बर एक भएका छन्, उनीहसँग खेल्ने सपना सबैको हुन्छ । पहिला यदि हामी छनोट भयौँ भने भारत र पाकिस्तानसँग खेल्छौँ भन्ने भावना थियो ।
फाइनलमा आजको खेल जिते विराट कोहली, बाबर आजमसँग खेल्न पाइन्छ भन्ने भावना आउथ्यो । फाइनल जितेपछिको अनुभव नै बेग्लै थियो । भनेको हामी अब वास्तविक क्रिकेटमा जाँदै छौँ भन्ने भावना थियो । वास्तविक क्रिकेट के हो भन्ने एसिया कप खेलेर बुझियो पनि ।
मोन्टी देसाई भन्नासाथ तपाईँमा कस्तो भाव आउँछ ?
गुड टिचर । बेस्ट टिचर । खेल त्यही हो । स्किल हामी सबैको त्यही नै हो । गेम प्लान पनि त्यसरी नै हुन्छ । गेम प्लानिङ गर्दा अलिअलि भावनामात्र परिवर्तन हुन्छ । हामी सबै त्यही नै हौँ । सर आउँदा मेन्टालिटी सबैको चेन्ज भएको छ ।
एक टिम भएपछि एकताबद्ध भएर कसरी हिँड्ने ? एक खेलाडीको प्रदर्शन सधैँ एकनासको हुँदैन । त्यो खेलाडीलाई नराम्रो टाइममा कसरी सँगै लिएर हिँड्ने ? एक टिममात्र नभई परिवार कसरी हुने ? सरले यी कुराहरु सिकाउनु भएको छ । परिवार भएपछि हामीले कसरी एउटा संस्कार बसाउने भन्ने कुरा सरले सिकाउनु भयो । त्यसकारण मलाई उहाँ बेस्ट टिचर, गाइडर ।
नेपाली समर्थकलाई के भन्न चाहनुहुन्छ ?
जति पनि नेपाली क्रिकेटका समर्थकहरु हुनुहुन्छ, एकदमै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । उहाँहरु हाम्रो टुवेल्थ म्यान हो । नेपालमात्र नभएर श्रीलंका पनि पुग्नुभयो । पुगेर नेपाली टिमलाई चियरअफ गर्नुभयो, मोटिभेट गर्नुभयो । त्यसका लागि धेरै धेरै धन्यवाद ।
मेरो क्रिकेटको यो यात्रामा उहाँहरुको पनि धेरै हात छ । अर्को टिमले राम्रो गरिरहँदा पनि आफ्नो टिमलाई मोटिभेट कसरी गर्ने भन्ने कुरा समर्थकबाट पाउँछौँ । हाम्रो लागि मैदानमा आउनु बिर्सन नसकिने क्षणमा पर्छन् । देश विदेश जहाँ पनि हुनुहुन्छ, हाम्रो क्रिकेटलाई माया गर्नेहरुलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
एसिया कपमा बेस्ट मोमेन्ट कुन थियो ?
बाबर आजमलाई, रोहित शर्मालाई बलिङ गर्नु मेरो लागि बेस्ट मोमेन्ट थियो । बाबर ओडीआईको एक नम्बर ब्याटर, रोहित शर्मालाई हिट म्यान भनेर चिनिन्छ । उनीहरु जस्तोसुकै अवस्थामा पनि राम्रो खेल्ने खेलाडी हुन् । उनीहरुविरुद्ध बलिङ गर्दा उनीहरुले रन बनाउन पाइरहेका थिएनन् । कमेन्ट्रीमा पनि त्यसरी नै ललितको बलमा रन आइरहेको छैन भन्ने मेरो साथीहरुले मलाई भनेका थिए । त्यो क्षण चाहिँ मेरो लागि बेस्ट क्षण हो ।
नेपाली क्रिकेटले अहिलेको लय जोगाउन घरेलु क्रिकेटमा कस्तो कदम चाल्नुपर्छ ?
हामीले भन्नेभन्दा पनि उहाँहरुले देखिरहनु भएकै छ । अहिले संसद् भवनमै नेपाली क्रिकेटको कुरा उठ्छ । खेलको बेला सबैले क्रिकेट, क्रिकेट भनिरहँदा यसको संरचनालाई कसरी व्यवस्थित र राम्रो बनाउने ?, कसरी त्यो प्लेटफर्म बनाइदिने ?, कसरी ग्रासरुटलाई राम्रो बनाउने ?, त्यसतर्फ पनि सरकारले सोच्नुपर्छ जस्तो लाग्छ मलाई । सरकारी निकाय बलियो भए भने क्यान पनि बलियो हुँदै जान्छ ।
मैले यहाँबाट केही भन्नुभन्दा पनि त्यहाँ सबै बुझेका मान्छेहरु हुनुहुन्छ सरकारमा । संसद्मा धेरै युवा नेताहरु पनि हुनुहुन्छ । कति त श्रीलंकामा हामीलाई समर्थन गर्न पनि आउनुभएको थियो । त्यसैले कसैले भन्नेभन्दा पनि आफैले दायित्व बुझ्नुपर्यो । यो लयलाई अझ माथि कसरी लग्न सकिन्छ, त्यस्तो संरचना कसरी दिन सकिन्छ ?, त्यो उहाँहरु आफैले बुझ्नुपर्ने कुरा हो । आफैले बुझ्दा अझ राम्रो हुन्छ जस्तो लाग्छ ।
आउँदो पुस्ताका क्रिकेट प्रेमीलाई कस्तो सुझाव दिनुहुन्छ ?
यो फिल्डमा लाग्नुहुन्छ भने देशको प्रतिनिधित्व गर्नुपर्ने हुन्छ । म आफ्नो देशको प्रतिनिधित्व गर्नेछु, देशको नाम छातिमा राखेर विश्वलाई चिनाउनेछु भन्ने भावना हुनुपर्छ । यो फिल्डमा आइसकेपछि फरक–फरक किसिमको जिम्मेवारी हुन्छ । खेल्नुपर्यो, आफ्नो क्षमता वृद्धि गर्नुपर्यो । यी सबैका लागि मेन्टल्ली तयार हुनुपर्यो । योसँगै हाडवर्क, अनुशासन कायम राख्नुपर्यो ।
ग्रासरुटका जति पनि क्रिकेट खेलाडी हुनुहुन्छ, सबैलाई क्रिकेटमा आउँदा सहज हुँदैन । क्रिकेटबाट देशको प्रतिनिधित्व गर्न चाहनुहुन्छ भने त्यसको लागि सहज छैन । त्यसको लागि मानसिक रुपमा बलियो र धैर्यता हुनुपर्यो । सफलता आउँछ, तर त्यसको लागि धैर्य रहेर, अनुशासित भएर काम गर्नुपर्छ । कहिल्यै त्यसलाई छोड्नुहुन्न । आउँदा एकदमै दृढ विश्वास लिएर म गर्छु भनेर आउनुहोला भन्न चाहन्छु ।
तपाईँको ‘आइडल’ को हुन् ?
नेपाली क्रिकेट टिमबाट वसन्त रेग्मी दाइ । सुरुमा म लेफ्ट आर्म स्पिनर भएर मैले ड्यानियल भिटोरीलाई फलो गर्थेँ । अहिले धेरै छन् । जडेजा भयो, साकिब अल हसन, सबैलाई हेर्छु । आइडलभन्दा पनि म अन्तर्राष्ट्रियमा ड्यानियल भिटोरी र नेपालमा वसन्त रेग्मी दाइलाई फलो गर्थेँ ।
विश्वभरका फ्रेन्चाइचमध्ये कुन फ्रेन्चाइज लिगमा खेल्न पाए हुन्छ जस्तो लाग्छ ?
सबैमा खेल्न पाए हुन्थ्यो जस्तो लाग्छ । पहिलोपटक जुनसुकै विदेशी फ्रेन्चाइज लिगमा इन्ट्री गरे पनि तपाईँले कस्तो प्रदर्शन गर्नुहुन्छ भन्ने महत्वपूर्ण हुन्छ । पहिलोपटकमा गर्ने प्रदर्शनका आधारमा नै अन्य फ्रेन्चाइजले हेर्ने हो । विश्वमा जति पनि फ्रेन्चाइज क्रिकेट छन्, मलाई सबै खेल्न मन छ । तर, अहिलेसम्म अवसर आएको छैन ।
यसबीचमा भन्न छुटेका केही कुरा छन् ?
अन्त्यमा, समर्थकहरुलाई नेपाली क्रिकेटलाई यसरी नै माया गरिदिनुस् भन्ने आग्रह गर्न चाहन्छु । हामी मेहनत गर्दै छौँ, सधैँ लागिरहनेछौँ । विश्वमा आफ्नो देशलाई सधैँ चिनाइराख्नेछौँ । तर, त्यसको लागि सधैँ तपाईँहरुको साथ यसरी नै चाहिन्छ । सधैँ यसरी नै माया गरिदिनुहोला भन्ने आशा र अनुरोध छ ।