पछिल्ला वर्षमा विदेशमा पढ्न जाने नेपाली विद्यार्थीहरुको संख्या बढ्दो छ । युवाजमातमा अध्ययनका लागि विदेशिने ठूलो ‘ट्रेन्ड’ नै चलेको छ । युवाशक्ति र वौद्धिक क्षमता पलायन हुँदै जानुले वर्तमान र भविष्यमा देश बहुआयमिक संकटमा पर्ने चिन्ता बढ्दो छ ।
किन युवा बाहिरँदैछ ? विद्यार्थी बाहिरिनुका सकारात्मक र नकारात्मक पाटो के छन् ? यो लहरलाई कसरी रोक्न सकिन्छ ? सरकारले के गर्न आवश्यक छ ?, र यसले दिर्घकालीन रुपमा देशमा कस्तो असर पर्छ ?लगायत बिषयमा बाह्रखरीले नेपालको एक प्रतिष्ठित शैक्षिक परामर्शदाता अल्फाबिटाका सञ्चालक द्विराज शर्मासँग कुराकानी गरेको छ ।
–नेपाली विद्यार्थी बाहिर जाँदा नेपाल नै खाली हुने स्थिति आयो भन्ने कुरा छ, पछिल्लो समय यो ट्रेन्ड किन बढ्यो ? यो राम्रो हो कि हैन र यसले कस्तो असर पार्ला ?
पछिल्लो त हैन यो, मलाई लाग्छ २० वर्षदेखि नै हो मान्छे बाहिर पढ्न गइरहेको । कोभिड–१९ महामारीको २ वर्षमा रोकिएका विद्यार्थीहरु धेरै छन् । धेरै रोकिएको विद्यार्थीहरु एकैचोटी जाँदा ठूलो संख्या देखियो ।
२ वर्ष चाहिँ कमै विद्यार्थी बाहिर गएका छन् । त्यो पनि हामीले शिक्षा मन्त्रालयबाट हैन, राष्ट्र बैंकबाट विद्यार्थीले कति पैसा लिएर गएका छन् भन्ने वास्तविक डाटा पाइयो भने कति विद्यार्थी गएका छन् भन्ने थाहा हुन्छ । अर्काे कुरा गलत र अपुरो सूचना सेयर हुने गरेको विषयमा पनि ध्यान दिन जरुरी छ । एउटा विद्यार्थीको जस्तै अष्ट्रेलियाकै कुरा गरौं तीन वर्षको ६० हजार अमेरिकी डलर शुल्क हुन्छ भने वर्षको २० हजार डलर भयो ।
भनेपछि त्यो विद्यार्थीले सुरुमा एक सेमेस्टरको शुल्क नेपालबाट लैजान्छ, त्यो भनेको १० हजार डलर हो । बढीमा एकै वर्षको लग्यो भने पनि २० हजार डलर हुन्छ ।
त्यो पछि राष्ट्र बैंकले हामीलाई के तथ्यांक दिनुपर्यो भने विद्यार्थीले दोस्रो, तेस्रो सेमेस्टरमा शुल्क लगेको छ कि छैन ? उसले लगेको छैन भने त्यो विद्यार्थीले उतै मेहनत गरेर काम गरेर तिर्यो । त्यो भनेको हाम्रो पैसा सेभ भयो ।
अर्काे कुरा एउटा नेपाली विद्यार्थी संसारको सबैभन्दा राम्रो विश्वविद्यालयबाट ग्र्याजुएट हुँदैछ भन्ने कुरामा नेपाल सरकार, तपाईँ हामी, सबै खुसी हुनुपर्छ कि एउटा नेपाली छोरोले संसारको बेस्ट विश्वविद्यालयमा पढेर उसले डिग्री लियो भन्ने खुसी हुनुपर्ने कुरा हो । यो त पढ्नेको कुरा भइरहेको छ ।
उ रोलेक्स घडी किन्न त गइरहेको छैन नि ! उसले पढेर आएपछि कति परिवर्तन ल्याइरहेको छ भन्ने कुरा त हाम्रै छिमेकी अथवा हाम्रै घरमा पनि देखिन्छ नि ! उसले पठाएको पैसा, उसले तिरेको ऋणको विषय त छँदैछ ।
र अर्काे राष्ट्र बैंककै तथ्यांकअनुसार पनि विद्यार्थीले जुन शैक्षिक ऋण लिएर गएका छन्, सबैभन्दा नडुबेको र समयमै भुक्तानी भएको त्यो छ । बढीजसो अष्ट्रेलिया, क्यानडा जानेहरुले शैक्षिक ऋण लिएर जान्छन् । ३० लाख, ४० लाख ५० लाखसम्म ।
तर, सबभन्दा छिटो तिर्ने, बाँकी नराख्ने समूह नै त्यही छ । त्यो पनि राम्रो कुरा भयो । त्यो ऋण नेपाल सरकारले दियो भने नेपालमा पढ्यो भने तिर्न सक्दैनन्, भाग्नुपर्ने स्थिति हुन्छ ।
यहाँ बैंकलाई नै त्यो पैसा उठाउन गाह्रो हुन्छ । अब, त्यत्रो पैसा ऋण निकालेर विदेश गएर तिर्यौँ भने त्यो त राम्रो कुरा भयो । त्यही ऋणबाट बैंकलाई नाफा हुन्छ । बैंकले कर तिर्छ, कर तिरेपछि नेपाल सरकारलाई विद्यार्थीले योगदान दिएको देखियो ।
अर्काे भनेको अहिले जोसुकै विद्यार्थी विदेश गए पनि सरकारले शुल्कको तीन प्रतिशत कटाउँछ । जस्तै १० लाख लिएर बाहिर गयो भने ३० हजार यहाँ नेपाल सरकारले कटाउँछ ।
एक खर्ब गयो भने ३ अर्ब नेपाल सरकारले कमायो । यो पहिले एक प्रतिशत थियो । नेपालमा पढ्ने विद्यार्थीहरुलाई पनि एक प्रतिशत थियो । पछि नेपाली विद्यार्थीको हकमा हटाइयो विदेश जानेलाई दुई प्रतिशत गर्यो, अहिले त्यसलाई तीन प्रतिशत बनाइयो ।
त्यो पैसा नेपाल सरकारले लिएर त्यसको उपयोग के मा गरिरहेका छ भन्ने एउटा प्रश्न छ ?
–कोभिड–१९ महामारीपछि विदेशिनेको संख्या बढ्नुको कारण के हो ?
विदेश जानेको संख्या बढ्नुको कारण कोभिड–१९ महामारीपछि के भयो भने, नेपालका विश्वविद्यालयहरुको ‘अन्डरपरफर्मेन्स’ र विदेशका विश्वविद्यालयहरुको चाहिँ ‘एभब परफर्मेन्स’ । यसको अर्थ भनेको विदेशका विश्वविद्यालयहरु अनलाइन लर्निङ एन्ड टिचिङमा यति धेरै एडभान्स थिए कि पहिलो दिनदेखि नै उनीहरुले एक दिन पनि परीक्षा र समय खर्च भएन समयमा पढाइ सकाए ।
नेपालका विश्वविद्यालयहरु अनलाइन थिएनन्, यिनीहरु तयार थिएनन्, कक्षा कोठामै पढाउने बानी थियो । त्यो भएपछि यहाँ ढिलो भयो । अर्काे कुरा कोभिडको बीचमा हाम्रो नेपालबाट जाने विद्यार्थी अमेरिका, अष्ट्रेलिया, त्यहाँको नागरिकसरह काम भएनन् भने उनीहरुलाई पैसा दियो ।
त्यहाँको सरकारले महिनाको झण्डै तीन हजार डलर फ्रिमा पैसा दियो । निरन्तर दुईवर्ष दुई हप्ताको करिब १५ सय डलर दियो, सबै विद्यार्थीले पाए । त्यो समयमा काम गर्नेले महिनाकै ५–६ हजार डलर कमाए । त्यो कुरा उसले यहाँको साथीलाई सुनाउँछ त्यसपछि त उनीहरु यहाँ बस्दैनन् ।
अर्काे कुरा व्यक्तिगत आयको कुरा उता पढ्दा पढ्दै काम गर्छन्, यता पढ्ने मात्रै हुन्छ । पढेर निस्किदा जागिर छैन । जागिर छ तर, त्यो जागिरमा उसले योगदान गर्ने अथवा त्यसको स्किलले भ्याउँदैन ।
किन भ्याउँदैन भने यहाँका जुन शिक्षकहरुले पढाउँछन् उनीहरुको ‘क्वालिटी’ पुग्दैन । शिक्षकको अवस्था कस्तो छ भने कक्षामा थर्ड डिभिजन आउनै धेरै छन्, राम्रो आउने त अन्त अन्त छन् । त्यो भन्दा पनि कम हुने नेता छन् ।
अहिलेको जमानामा विद्यार्थीले शिक्षकले के पढाइरहेका छन् भन्ने विषय गुगल गरेर थाहा पाउँछन् अनि गलत पढाइरहेको जानकारी पाउँछन् अनि ती विद्यार्थी यहाँ किन बस्छन् ? अर्काे कुरा भनेको यहाँको प्राइभेट कलेजहरुले शुल्क ठिक–ठिकै लिन्छन् त्यतिले राम्रो शिक्षक राख्न सक्दैनन् । त्यसका लागि विदेशबाट ल्याउनुपर्छ । विदेशबाट ल्याउन नियम छैन । नीतिगत झमेला छन् ।
–यसरी विद्यार्थी बाहिर गएर पढ्नुका सकारात्मक र नकारात्मक पाटो के छन् ? दिर्घकालीनरुपमा देश नै खाली हुने हो कि भन्ने चिन्ता पनि बढिरहेको छ नि !
हुँदैन, हुँदैन । विमानस्थलमा जाँदा जाँदा हामी सबै गएको कुरामौ गर्छाैं, तर त्यहीँ उतापट्टी अराइभलतिर जाँदैनौं, धेरै मान्छे आइरहेका पनि छन् । २० वर्ष अमेरिका बसेका मान्छेहरु उतैको पासपोर्ट लिएर फर्किने गरेका छन् । नेपाली तर अमेरिकी नागरिक । जहाज सबै भरिएरै आएका हुन्छन्, खाली आउँदैनन् ।
सरकारले कुरा गर्दा, नेताले कुरा गर्दा अलिकति रिसर्चमा आधारित हुनुपर्छ । बाहिर गएर पढेको मान्छेले गरेको योगदान हेरिनुपर्छ । अबको जमाना भनेको राम्रो ठाउँमा बसेर संसारभर टेक्नोलोजीमा काम गर्ने हो ।
नेपालमै बसेर काम गर्नुपर्छ भन्ने छैन । मध्यपूर्वमा, दुबईमा ठूलाठूला कम्पनीका को सीईओ, ब्रिटिसर, अष्ट्रेलियनलाई राखेका छन् । हाम्रो नेपाल एयरलाइन्सकै कुरा गरौं, बाहिरको यहाँ ल्याउँदैनन् । काम नलाग्ने मान्छेलाई जिम्मा लगाएर संसारको सबैभन्दा नराम्रो एयरलाइन्स बनाउँछन् । त्यहाँ निजी क्षेत्रलाई पनि दिँदैन कर तिरेको पैसा त्यसै उडिरहेको छ ।
–धेरैजसोले विदेशमा बस्न रुचाउनु र नेपाल फर्किन नमान्नुको कारण चाहिँ के हो ?
किन आउँदैन भने नेपालमा भन्दा विदेशमा स्वास्थ्य र शिक्षामा सुविधा राम्रो छ । त्यहाँ ठूलै रोग लाग्यो भने पनि तपाईंले तिरेको इन्स्योरेन्सको पैसाले सबै कभर हुन्छ । अर्काे भनेको आफ्नो गाडी छैन भने पनि पब्लिक ट्रान्सपोर्ट विदेशमा राम्रो छ ।
बालबच्चा भयो भने पनि पढाउन सजिलो छ । यो आकर्षणले गर्दाखेरी सबभन्दा नफर्कने भनेको मध्यमवर्गीय व्यक्ति हुन् ।
विदेशिएकालाई नेपाल फर्किने र यतै बस्न रुचाउने स्थिति कसरी बनाउन सकिएला ? जे कुरा पनि आर्थिक पाटोसँग जोडिएको छ । आफ्नो देश मन नपराउने मान्छे थोरै हुन्छन् । त्यसले गर्दा सबैभन्दा पहिले यी सबै कुरा बुझेर हामीसँग सरकारले आधारभूत नेपाली फर्किने कुरा के–के हुन् त भनेर हामीसँग छलफल गर्नुपर्यो ।
त्यसभन्दा अघि नेपालको विश्वविद्यालय जति छन्, ती किन चलेनन् । तिनीहरुलाई स्वायत्त बनाउनुपर्यो ।
प्रधानमन्त्री नै सबैतिर गएर पनि काम छैन । त्यसलाई अटोनोमस बनाउने, बाहिरको विश्वविद्यालयसँग सहकार्य गर्ने र उत्कृष्ट मान्छेहरुबाट विश्वविद्यालय चलाउने । थप विश्वविद्यालय खोलेर काम छैन । त्रिभुवन विश्वविद्यालय यति ठूलो छ । यसलाई पूरै रिफर्म गर्नुपर्छ । त्रिवि राम्रोसँग सञ्चालन गर्नका लागि हार्भर्डबाट मान्छे ल्याउनुपर्यो । यो विश्वविद्यालयलाई सुधार गर्नुभयो भने जसले पनि पूजा गर्छ ।
त्यसपछि, केयू, पूर्वाञ्चल, पीयूहरुमा जानुपर्यो विश्वविद्यालयमात्रै खोल्ने होइन ।
अभियान नै ल्याउनुपर्छ । यो सबै परिवर्तन भइसकेपछि यहाँको सरकारले गरेको काम देखेपछि नेपाली विद्यार्थीहरु खुरुखुरु पढेपछि देश फर्कन्छन् ।
सरकारले यस क्षेत्रमा के गर्न आवश्यक छ ?
सरकारले झन् बढी पैसा दिएर तिमीहरु विदेश जाऊ, हेर, पढ, सिकेर आऊ भन्नुपर्छ । तर, यहाँ फर्केर आउने वातावरण मिलाउने काम चाहिँ सरकारको हो । त्यति मिलाउन सक्दैनन् भने सरकार भोलि नै छोड्दा हुन्छ । रोएर बस्ने मान्छे चाहिएको होइन ।
पढेका व्यक्तिहरुसँग सल्लाह गरेमात्रै पनि हुन्छ । आफूले जे पायो त्यही बोलिदिने बाहिर गएको विद्यार्थीहरुलाई पनि मैले के के न अपराध गरेँजस्तो बनाउने काम सरकारले नै गरिरहेको छ ।
यहाँ आमाबुवाले कति ऋण निकालेर पठाएका हुन्छन् । त्यसको लागि समर्थन छैन । आफ्नो देशमा पढाउन नसक्ने, लाइसेन्स लिनलाई पैसा दिन पर्ने, कर्मचारीतन्त्र नहल्लिने, अनि सबै एनजीओ, आईएनजीओमार्फत हाम्रो सिस्टमलाई भ्रष्ट बनाउने काम भएको छ ।
भारतमा जुन जुन परिवर्तन आएको छ त्यहीमात्रै सिक्दा पनि हुन्छ । भारतले कुन कुन क्षेत्रमा रिफर्म गरेको छ भनेर हेर्न गए हुन्छ ।
दिल्ली सरकारले त्यहाँको सरकारी स्कुलमा कसरी परिवर्तन ल्याएको छ ? त्यहाँ शिक्षकलाई फिनल्याण्डमा पठाएर कसरी तालिम गराएर ल्याएको छ ? त्यहाँ प्राइभेट स्कुल छोडेर किन विद्यार्थी सरकारी स्कुलमा आइरहेका छन् भनेर बुझ्न कुन मन्त्री, कुन सचिव गएर हेरेको छ ?
केही अध्ययन नगर्ने, चाहिने कुरामा पैसा खर्च नगर्ने, एनजीओले पैसा दियो भने युरोप घुमिहाल्ने, थाइल्याण्ड गइहाल्ने । यसरी देश बिग्रेको हो । आफु पनि नबन्ने राम्रो कुरा पनि सिक्न नदिने स्थिति बनेको छ ।
यो परिस्थितिलाई परिवर्तन गर्न कसरी सम्भव छ ?
परिवर्तन तीन महिनामै ल्याउन सकिन्छ । राज्यसँग स्रोत छ, साधन छ र शत्तिः छ । उसले गर्न सकेन भने त्यो असक्षमता हो । बाहिर जाने कुरा केही नयाँ कुरा हैन । चीनबाट अहिले पनि सबैभन्दा बढी विद्यार्थी विदेशमा जान्छन् । दोस्रोमा भारत छ ।
भारत, चीन बनेकै भनेको त्यहाँका विद्यार्थी, विदेश गएर अध्ययन गरेर सिकेर, सिपबाट, कनेक्सनबाट ल्याएर हो । अहिले संसारका ठूलाठूला कम्पनीका सीईओमा भारतीय छन् ।
ती मान्छे र अहिले विश्वका अन्य धनाढ्यहरुका ठूला कम्पनीहरुले भारतमा लगानी गरिरहेका छन्, उद्योग खोलिरहेका छन् । हामी नेपालीहरु पनि केही ठाउँमा पुगे भने उनीहरुले पनि धेरै कुरा सिक्छन् । अहिले नेपालले पनि आईटीबाट धेरै ठूलो आम्दानी गर्न थालेको छ ।
बाहिर पढेर आएका अथवा बाहिरै बसेर काम गरिरहेकाहरुले पनि यसमा योगदान दिएका छन् । त्यसैले नेपाली विद्यार्थी बहिर गएर कति फाइदा भएको छ भन्ने कुराको जहिलेसम्म डिटेल रिपोर्ट आउँदैन । जबसम्म हाम्रो सरकारले त्यो कुराको कदर गर्दैन, तबसम्म यस्तै रोएर बस्ने काम मात्रै हुन्छ ।
त्यसैले अब पहिलो शैक्षिक प्रणालीमा सुधार गर्नुपर्यो । सरकारले जबसम्म सक्दैन निजी क्षेत्रलाई विश्वविद्यालय बनाउन दिनुपर्छ । इन्डियन संस्थानहरुसँग सहकार्य गर्नुपर्यो । धेरै विद्यार्थीहरुलाई इन्टर्नसिप गर्न भारत पनि पठाउनुपर्यो ।
कति जना एसएलसी पास हुन्छन्, कति प्लस टू पास हुन्छन्, कति फेल हुन्छन्, बाहिर जानेको र भित्रिनेको पनि हिसाब राम्रोसँग राख्नुपर्छ । यसका लागि एउटा अनुसन्धान नै गरौँ न । विमानस्थलबाट कति गइरहेका छन् कति फर्किइरहेका छन् । सही डाटा दिनुपर्छ । बोल्न पाइयो भनेर जे बोलेरमात्रै हुँदैन ।
यहाँ समस्या बाहिरिनेको होइन बस्नेका कारण भएको हो । विदेशिनेले एक खर्ब लगेका छन् भने दुई खर्ब ल्याएका छन् । त्यसको हिसाब देखाऔँ त । विदेशमा पढ्न पठाउनैपर्छ । देशमा बस्न र फर्किने वातावरण बनाउने काम सरकारले गर्नुपर्छ ।