site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘हरेक संस्था र व्यक्तिलाई स्क्रिप्ट देखाउँदै हिँड्ने हो भने विकास बोर्डको के काम ?’

काठमाडौं । धार्मिक संस्था हिन्दु जागरण नेपाल र आध्यात्मिक विकास समाजको ‘एक भगवत् गीता’को स्क्रिप्ट अध्ययन गर्ने आग्रहमा चलचित्र विकास बोर्डले सहयोगी भूमिका खेलेको भन्दै निर्माण पक्ष तथा कलाकारले आपत्ति जनाएका छन् । राज्यको एउटा निकायले विषयबस्तु हेरिसकेको अवस्थामा अरु संघसंस्थाले पुनः स्क्रिप्ट माग्नु आफैँमा गलत अभ्यास भएको निर्देशक झरना थापाको भनाइ छ ।

“अनावश्यक सिन र शब्द नहुन् भन्ने उहाँहरूको चाहना देखियो । हिन्दु धर्मलाई अहिले यसै पनि विभिन्न तवरबाट तल पार्ने प्रयास भइरहेको भन्दै हाम्रो धर्मलाई नराम्रो देखाउने हो कि भनेर हामीसँग स्क्रिप्ट माग्ने काम भयो,” उनले भनिन्, “उहाँहरूको सरोकार पनि ठिकै होला । तर, राज्यको एउटा निकायले हेरेर ठिक छ भनिसकेको अवस्थामा त्यसलाई पुनः अरु संघसंस्था तथा व्यक्तिले हेर्न पाउनुपर्छ भन्नु उचित हो भन्ने लाग्दैन ।”

निर्माता सुनीलकुमार थापाले अन्तिम समयमा आएर विवाद गर्न खोज्नुमा राज्यको दोष भएको बताए । स्क्रिप्टमा समस्या भएको भए बोर्डले पहिला नै रोक्नुपर्ने उनको धारणा छ ।

“आठ/नौ महिना अगाडि नै बोर्डमा निवेदन परेको रहेछ । हामीलाई त्यहीबेला खबर गर्नुपथ्र्याे,” उनी भन्छन्, “पहिला सरकारले बनाऊ भन्यो, हामीले सिनेमा बनायौँ । अहिलेसम्म अढाई/तीन करोड रुपैयाँ खर्च भइसक्यो । अहिले आएर बोर्डले किन विभिन्न पक्षले चासो देखाइरहेका छन्, आउनुस् छलफल गरौँ भन्छ ?”

सुनील यसलाई राज्य कमजोर भएको एउटा उदाहरणका रूपमा लिन्छन् ।

“हाम्रो सरकार कति कमजोर छ भन्ने कुराको प्रमाण हो यो,” उनी भन्छन्, “राज्य कमजोर थिएन भने हामीले सुरुमै बोर्डमा कथा समेट्ने छोटो स्क्रिप्ट बुझाएका हुन्छौँ । पछि सेन्सर बोर्डले सेन्सर गर्छ । सरकारी निकायले नै पटक/पटक हेर्न प्रक्रिया हुँदाहुँदै संघसंस्थाले हेर्नु पर्छ भन्ने हुँदैन ।”

अभिनेता विपीन कार्कीले सिनेमाको विषयबस्तुलाई लिएर हस्तक्षेप हुनु आफैँमा बिडम्बनापूर्ण भएको बताए ।

“सुरुमा ठिक छ भन्ने, पछि छैन भन्नु गलत अभ्यास हो । हुँदैन भने सुरुमै भन्नुपर्छ,” उनी भन्छन्, “हरेक व्यक्ति र संघसंस्थासँग अनुमति लिँदै हिँड्नुपर्ने अवस्था आयो भने कसरी क्रिएटिभ काम हुन्छ ?”

निर्देशक झरना ‘एक भगवत् गीता’ धार्मिक सिनेमा नभएको स्पष्ट पार्छिन् । गीताको सारसँग सिनेमाको कथा जोडिए पनि धर्मग्रन्थ गीतामै केन्द्रित रहेर आफूहरूले सिनेमा नबनाएको उनी बताउँछिन् ।

रोमान्टिक सिनेमा बनाउँदै आए पनि आफूले पहिलोपटक विषयप्रधान चलचित्र बनाएको उनी बताउँछिन् । विपीन यसमा ‘कमलामाई’को भूमिकामा छन् ।

विपीनलाई आफूले साक्षात ‘कमलामाई’को रूपमा देखेको उनी बताउँछिन् । “सेटमा हुँदा उहाँका साथीहरू आउनु भएको थियो । विपीनकै छेउमा बसेर विपीन खोइ भनेर सोधिरहनु भएको थियो,” झरना भन्छिन्, “हामी पर बसेर हाँसिरहेका थियौँ ।”

सुनील तीन दशकको करिअरमै आफूले यसपटक सबैभन्दा कठिन सिनेमा बनाएको बताउँछन् । “सुरुमा सुहानाले कन्सेप्ट सुनाउँदा म यस्तो पनि हुन्छ भनेर कोठाबाट बाहिर निस्किएको थिएँ । तर, पछि म कन्भिन्स भएँ,” उनले भने, “टिजर र ट्रेलर आएपछि म शतप्रतिशत सन्तुष्ट छु ।”

विपीन वास्तविक पात्रहरूकै माझ बसेर आफूले काम गरेको सुनाउँछन् । हरेक दिन दुई घण्टा मेकअपका लागि मात्रै आफूले छुट्याउने गरेको स्मरण गर्छन् । किन्नर सभ्यता भएकै कारण जनकपुरमा सिनेमा खिचिएको विपीन बताउँछन् ।

एकता नै शक्ति हो र कर्मअनुसारको फल पाइन्छ भन्ने सिनेमाको सन्देश रहेको नायिका सुहाना थापा बताउँछिन् । सीताको चरित्रसँग केही मिल्ने रोलमा पनि आफू रहेको उनको भनाइ छ । भाषाको अभ्यासका लागि दुई महिना सुटिङस्थल बसेको उनी बताउँछिन् ।

विपीन र सुहानासँगै धिरज मगर सिनेमाको मुख्य भूमिकामा छन् । झरना थापाको निर्देशन रहेको चलचित्रलाई सुनीलकुमार थापाले निर्माण गरेका हुन् । ‘एक भगवत् गीता’ यही भदौ २९ गते रिलिज हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  ०९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro