site stats
बाह्रखरी :: Baahrakhari
देश
श्रीकृष्ण जन्माष्टमीले आपसी सद्भाव कायम गर्ने राष्ट्रपति पौडेलको विश्वास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक नेपाली समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न सहयोग गर्ने बताएका छन् ।  

भगवान् श्रीकृष्ण जन्मिएको दिनको अवसरमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यका लागि शुभकामना दिएका छन् । 

Argakhachi Cement Island Ad

“यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न सहयोग पुर्‍याउने अपेक्षा लिएको छु,” राष्ट्रपति पौडेलले भनेका छन् । 

विश्वभर हिन्दु धर्मावलम्बीले भक्तियोग, ज्ञानयोगर कर्मयोगका प्रणेताभगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउने गर्दछन् । द्वापर युगमा दुर्जनको विनास र सज्जनको रक्षा गर्नका लागि वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रही आएको छ । 

विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गर्दै काम, क्रोध, लोभ, मोहजस्ता कुभावना त्याग गरी समाजमा सद्भाव कायम गर्न उत्प्रेरित गरिएको भगवान् श्रीकृष्णको महिमायुक्त गीता ज्ञानले समाजलाई सही दिशा दिन योगदान दिएको छ । उनले भनेका छन्, “श्रीकृष्ण जन्माष्टमी पर्वले हामी सम्पूर्ण नेपालीमा आपसी सद्भाव, दया, नैतिक आचरण, करुणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्छु ।” 

राष्ट्रपति पौडेल आज दिउँसो ३ बजे दर्शनका लागि ललितपुरको पाटनस्थित कृष्णमन्दिर पुग्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  ०६:१०
प्रतिक्रिया दिनुहोस्