site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
दुई ‘राज’ले किन लेखे यौनकथा ?

साहित्यकार खेमराज पोखरेल पाताल प्रवासमा छन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका उनी सालाना नेपाल आउँछन् । कृति प्रकाशित गर्छन् । सार्वजनिक गर्छन् । अन्तरक्रिया पनि गर्छन् । नेपाल बसुन्जेल उनी कुनै न कुनै तबरबाट साहित्यिक क्रियाकलापमा संलग्न हुन्छन् ।

नेपालमा छँदा पद्मकन्या क्याम्पसमा इतिहास विषय पढाउने शिक्षक अचेल साहित्यका विविध विधामा कलम चलाउँछन् । कथा, लघुकथा, निबन्ध, नियात्रा, कृति समीक्षा समेत गरेर एक दर्जन बढी पुस्तक प्रकाशित गरिसकेका छन् । पोखरेलको अर्को संयुक्त कथा कोसेली हो, ‘रनाहा’ । संयुक्त यसअर्थमा कि कृतिमा केही कथा खेमराजका छन्, केही अर्का सर्जक विश्वराज अधिकारीका ।

विश्वराज पनि अमेरिकामै बस्दै आएका छन् । यी दुईले यसअघि संयुक्त कृतिका रूपमा ‘सदृश्य’ ल्याइसकेका छन् । केही साताअघि यिनै सर्जकको यौनकथाको पुस्तक सार्वजनिक भएको छ । उनीहरूले यसअघि पनि यौनकथा नै पाठकसामु पस्किएका थिए ।

Dabur Nepal
NIC Asia

साहित्यकार पोखरेल अमेरिका फर्किनु एक दिनअघि महाराजगन्जमा भेटिए । उनले समाजमा विद्यमान विषयमाथि नै आफूले कथा बुन्दै आएको सुनाए ।

खेमराज भन्छन्, “अध्ययनका क्रममा विश्वमा चार तत्त्वको समान भूमिका रहेको मैले महसुस गरेँ । मस्तिष्क, हृदय, पेट र अर्को यौन । दिमाग भन्नाले बुद्धि, तर्क, पढाइ, सोच, जालझेल, विज्ञान । यी सब मस्तिष्कसँग सम्बन्धित छन् । अर्को, हृदय – जसमा दया, करुणा, बलिदान, त्यागको वर्चस्व हुन्छ, तर प्राप्ति केही हुन्न । यदि, प्राप्ति खोज्ने हो भने त्यो दिमागतिर दौडिन्छ । अर्को हो, पेट । यसले मानिससँग अनेक काम गराउँछ । पेटसँग भोक स्वाभाविक रूपमा जोडिन्छ । अनि, चौथो हो, यौन ।”

पोखरेलको बुझाइमा माथि उल्लिखित तीन विषयमा साहित्य लेख्न सजिलो छ । समाजले त्यसलाई आत्मसात् गरिरहेको हुन्छ । भोकमाथि विद्रोहको ज्वाला नै ओकले पनि समाजले सहजै पचाउँछ । समाज बिगार्यो भन्ने आरोप कसैले लगाउँदैन । तर, साहित्यमा यौनको कुरो आउनेबित्तिकै समाजको दृष्टिकोण संकीर्ण भइदिन्छ । त्यसैले यौनका विषयमा लेख्न गाह्रो हुने उनको तर्क छ ।

समाजले यौनसाहित्य पचाउन गाह्रो मानेपछि लेखकले पनि हत्त न पत्त हिम्मत गर्दैनन् । कसैले लेखिहाले समाजले हेर्ने दृष्टिकोण नै फरक हुने उनी बताउँछन् ।

“लेखकले यौन विषयमा सितिमिति लेख्ने आँट गर्न सक्दैन । तर, एउटा लेखकका लागि यो चुनौतीपूर्ण विषय हो । चुनौती स्वीकार्ने सर्जकले त्यो आँट त गर्छ नै । त्यसैले हामीलाई चुनौती स्वीकारौँ न त भन्ने लाग्यो,” पोखरेल भन्छन्, “मस्तिष्क, हृदय, भोकका माथि हामीले पनि साहित्य लेखेका छौँ । त्यसैले विश्वराजजी र मैले सल्लाह गरेरै यौनमाथि लेख्ने आँट गरेका हौँ ।”

विश्वराज र खेमराजले लेखनमा केही फरक गर्ने सल्लाह गरेका थिए । यौनसाहित्यमा हात हाल्नु सजिलो थिएन, तैपनि यी दुई सर्जकले निधो गरे– यौनसाहित्यमा कलम चलाउने ।

पृथक् र अलिक अप्ठेरो बाटो समाउने निर्णय गरेपछि खेमराजले प्रकाशित यौनसाहित्यको खोजी गरे । पढे । पढ्दै जाँदा लेखनमा तीन भेद फेला पारे– यौनमनोविज्ञान, यौनदर्शन र कुण्ठा । यौनमनोविज्ञानमा खासगरी कुण्ठा मात्र पोखिएको पाए ।

“नेपाली साहित्यमा लेखिएका अधिकांश यौनकथालाई यौनमनोविज्ञान भनिए पनि ती कुण्ठा मात्रै हुन् । कुण्ठा लेख्न सायद सजिलो हुन्छ,” उनी भन्छन्, “साहित्यमा यौनदर्शनको प्रस्तुति गाह्रो काम हो ।”

कठिन नै सही, खेमराज र विश्वराजले केही यौनकथा लेखे र ‘सदृश्य पर्दा’ सार्वजनिक गरे । त्यसपछि हो, यी दुईले ‘रनाहा’का लागि कथाहरू लेख्ने सोच बनाएको ।

‘रनाहा’मा केही यौनमनोविज्ञान र यौनदर्शनका कथाहरू छन् । सामाजिक विषयवस्तुका कथा पनि समेटिएको छ । ‘सदृश्य पर्दा’मा जस्तो यसमा सबै यौनकथा नभएकाले कथाकृति मात्र भनिएको उनी बताउँछन् ।

उनका अनुसार यौनदर्शनमा आधारित कथामा कुण्ठा हुँदैन । कथाको सुरुआत कुण्ठाबाट भएजस्तो देखिए पनि त्यो पूर्णतः दर्शनमा आधारित हुने उनको भनाइ छ ।

पोखरेल भन्छन्, “यौन पवित्र र आत्माबाट निस्किएको विषय हो । यो अत्यन्त घृणा गरिरहनुपर्ने विषय नै होइन ।”

यौनकथा लेखन चुनौतीपूर्ण भए पनि यिनका आँटले दुवैलाई त्यसको सिद्धान्तनजिक पुर्यायो । छलफलको वातावरण सिर्जना गर्यो । र, ‘सदृश्य पर्दा’लाई जन्मायो । कृतिमा दुवैका ६÷६ कथा परे ।

“यौनदर्शनमा केन्द्रित भएर लेख्नु पनि चुनौतीपूर्ण काम रहेछ । यौनदर्शन लेख्न झन् कठिन भएको मैले महसुस गरेँ, उनी भन्छन्, “यौनदर्शनमा लेखिएको गजबको कथा मैले पढेको थिएँ, अग्रज आख्यानकार दौलतविक्रम विष्टको । हाम्रो साहित्यमा यौनदर्शनमाथि लेखिएका कथा बहुत कम छन् ।”

पोखरेलले पश्चिमा साहित्य पढ्दा यौनलाई एकदमै ठूलो रूपमा लिइएको पाएनन् । त्यहाँका साहित्यमा उनले जसरी मस्तिष्क, हृदय र पेटको दर्शन पाउँथे, त्यही रूपमा यौन पनि भेट्थे ।

त्यहीँदेखि हो, यौनदर्शनलाई सकारात्मक रूपमा आमपाठकसामु पस्किनुपर्छ भन्ने उनलाई लागेको । जसको परिणति ‘सदृश्य पर्दा’ र ‘रनाहा’ भएको उनी बताउँछन् ।

“मैले नेपाली समाज र परिवेशमा सुपाच्य हुने किसिमबाट कथाहरू लेखेको छु, ‘रनाहा’मा । हो, कथाको कार्यपिठीका भने अमेरिकाको छ । ‘सदृश्य पर्दा’का कथामा पनि अमेरिकी परिवेश नै छ,” उनी भन्छिन्, “नेपालबाट अमेरिका पुगेका युवायुवती, उता भेटिएका युवायुवतीका सम्बन्ध–सरोकार यी कथाहरूमा प्रस्तुत छन् । एउटा कुरा भनौँ, यी कथा उताका लागि लेखिएका होइनन् । उताका कथा यहाँका पाठकका लागि लेखिएका हुन् ।”

उनको अनुभव छ– अमेरिका संसारभरिका मानिसले बनाएको देश, त्यहाँ केही फरकपना पाइन्छ । विकसित छ । नेपाली समाज पनि परिवर्तनको मार्गमा अग्रसर भएको उनले देखेका छन् ।

“हाम्रो पूर्वीय समाजले डिभोर्सको कल्पना नै गरेको छैन । यहाँ पत्नीलाई अर्धांगिनी भनिन्छ, एकार्काका परिपूरक । यहाँको दर्शन यस्तो छ । तर, आज नेपाली समाज पनि विकसित हुँदै गएको छ,” खेमराज भन्छन्, “पूर्वीय दर्शनले कल्पना नै नगरेको पारपाचुके नेपालमै पनि हुन थालेको छ । मलाई लाग्छ, यही नै समाज विकासतर्फ उन्मुख हुनु हो । यसलाई आफ्नो अस्तित्वको खोजीका रूपमा लिन सकिन्छ भन्दा गलत न होला । त्यसैले पनि हिजोको अवस्थाभन्दा आजको अवस्थामा आइपुग्दा नेपाली समाजमा यौनलाई हेर्ने दृष्टिकोण फराकिलो भएर गएको छ । ५० वर्षको अवधिमा निकै परिवर्तन भएको छ ।” 

नेपालमा हरेक दृष्टिकोणबाट उनले परिवर्तनको महसुस गरेका छन् । काठमाडौंमै बसेर अमेरिकाको जागिर गरिरहेका छन्, आजका मानिस । सोही गतिमा नेपाली साहित्य पनि परिवर्तित हुँदै गएको उनको निष्कर्ष छ ।

परिवर्तनको संकेतका रूपमा उनले एउटा प्रसंगमा सुनाए, “यसपटक मैले साहित्यमा रुचि राख्ने केही महिलाहरूसँग यौनकथाबारे चर्चा गरेँ । उहाँहरूले आफूले पढ्ने गरेको जवाफ दिनुभयो र भन्नुभयो— यस्ता कथा सिरक ओढेरै पढ्नुपर्छ भन्ने छैन । यौनकथा पनि साहित्य हो । साहित्य पढ्न केको आपत्ति !”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ०९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro