site stats
बाह्रखरी :: Baahrakhari
देश
जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा चहलपहल

बेनी  । जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । मनोकांक्षा पूरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिकस्थल र तलाउमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको हो । जनैपूर्णिमा पर्वमा मात्रै विशेष पूजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानीलगायत शक्तिपीठमा पूजाआजा गर्नका लागि हजारौँ भक्तजन पुगेका छन् । 

अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको खयरभारनी थानमा पूजाआजा र तलाउमा स्नानका लागि एक हजार बढी भक्तजन पुगेका छन् । समुद्री सतहदेखि चार हजार ६३० मिटर उचाइमा अवस्थित खयरभारनी थानमा जनैपूर्णिमाको दिन पूजाआजाका लागि म्याग्दीका साथै छिमेकी जिल्लाबाट समेत भक्तजन पुगेको वडाध्यक्ष राजेश तिलिजाले जानकारी दिए । उनका अनुसार, मौसम अनुकूल भएपछि विगतका वर्षहरुको तुलनामा उल्लेख्य मात्रामा भक्तजन र तीर्थयात्री खयर आएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पाउद्वार हुँदै खयरभारानी जाने तीर्थयात्री खोप्रामा पर्यटन सहकारीमार्फत सामुदायिक लजका साथै खयरभारानी क्षेत्र संरक्षण समितिले बनाएको अस्थायी टेन्टमा आश्रय लिएर बस्ने व्यवस्था मिलाइएको छ । क्षमताभन्दा बढी तीर्थयात्री आएपछि आवास व्यवस्थापनमा समस्या भएको छ । खयरभारानीको दर्शनका लागि तीन दिनेअघिदेखि नै पर्यटक र तीर्थयात्री पैदलयात्रा हुँदै खयर पुग्न थालिसकेका थिए । 

त्यसैगरी रघुगंगा गाउँपालिका–८ मा धौलागिरि हिमालको काखमा करिब चार हजार पाँच सय मिटर उचाइमा अवस्थित रिखारमा समेत भक्तजनको बिहानैदेखि भीड लागेको छ । जिल्ला सदरमकाम बेनीदेखि रिखार पुग्न दुई दिनको पैदलयात्रा गर्नुपर्छ । पानीको तलाउनमा रहेको डुंगा आकारको ढुंगामा निर्मित मन्दिर रहेको रिखार भक्तजन र पर्यटकको लागि अनौठो र आकर्षणको रुपमा रहेको छ । 

ऋखार क्षेत्रमा दुई दिनदेखि तीर्थयात्रीको चाप बढेको सप्तऋषि युवा क्लबका सल्लाहकार अंकित पुनले बताए । हरेक वर्ष ऋखारको भ्रमण र दर्शनमा आउने तीर्थयात्रीको संख्या बढ्दै गएको छ । जनैपूर्णिमाको दिन आफ्नो मनोकांक्षा लिएर नांगीबराही, भगवतीको नौलीबराही र घराम्दीको प्यारीबराही थान र तलाउमा समेत भक्तजनको चहलपहल छ । यी तलाउ र थानमा जनैपूर्णिमाको अवसरमा मनोकांक्षा पूरा हुने विश्वासका साथ भक्तजनले  पूजाआजा र भाकल गर्ने चलन छ । रासस

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ०८:१२
प्रतिक्रिया दिनुहोस्