site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
नेपाली सिनेमामा राजनीतिक ‘टच’

काठमाडौं । केही वर्षयता राजनीतिक विषयले पनि सिनेमामा राम्रै स्थान पाउन थालेको छ । चलेका सिरिजदेखि नयाँ सिनेमासम्म राजनीतिक विषयले ठाउँ पाउन थालेको छ ।

राजनीतिलाई अब मेकरले चाहेर पनि नजरअन्दाज गर्न नसक्ने स्वयं चलचित्रकर्मी बताउँछन् । समाजका हरेक व्यक्ति र विषयमा राजनीति घुसेको लेखक तथा निर्देशक उपेन्द्र सुब्बाको भनाइ छ ।

“अहिले हरेक व्यक्ति र विषयमा राजनीति घुसेजस्तो लाग्छ । राजनीतिबाट कोही अछुतो रहन चाहेर पनि सक्छ जस्तो लाग्दैन,” उपेन्द्र भन्छन्, “यदि, समाजको कुनै पनि कथा लेख्ने हो भने, सिनेमामा देखाउने हो भने त्यसमा जोडिएर राजनीति आउँछ नै ।”

Dabur Nepal
NIC Asia

कसैले सिनेमामा राजनीति देखाउँदिनँ भने त्यो कथा नै अपुरो र अधुरो हुने उनको धारणा छ । राजनीतिक कुरा भन्दिनँ, राजनीतिलाई ‘टच’ गर्दिनँ भनिए पनि समाजका हरेक विषयसँग त्यो आफैँ जोडिएर आउने उनको अनुभव छ ।

उपेन्द्र स्वयंले लेखेको चलचित्र ‘कबड्डी’ सिरिजमा समेत प्रेममा राजनीतिक विषय घुसाइएको छ । “समसामायिक विषयमा सिनेमा बनाउँछु भनेर कथा छनोट गर्दा त्यसमा तानिँदै आफैँ राजनीति आउँछ । राजनीति यसरी छिरेको छ, यसलाई चाहेर पनि बाइपास गर्न सकिँदैन,” उपेन्द्र अगाडि थप्छन्, “त्यसैले अहिले सिनेमामा केही न केही राजनीतिका दृश्य बाध्यात्मकजस्तै भइसकेका छन् ।”

सिनेमाको कथा लेखनका हिसाबले हरेक विषय उत्तिकै कठिन र जटिल हुन्छ नै । राजनीतिक विषयवस्तुमा आधारित सिनेमा बनाउन पनि कठिन हुने उपेन्द्रको अनुभव छ ।

अक्सर नेपाली सिनेमा गाउँका कथामा बनाइने र त्यहाँ राजनीतिक विषयका सिन खिच्न निकै मुस्किल हुने उनी बताउँछन् । राजनीतिक विषय समावेश हुनेबित्तिकै सिनेमाको क्यानभास ठूलो हुने र त्यो खर्चिलो हुने उनी सुनाउँछन् ।

“राजनीतिक विषयमा सिनेमा बनाउँदा धेरैजसो गाउँका कथा आइरहेका छन् । गाउँमा अहिले ठूलो संख्यामा जनसंख्या छैन । दोस्रो कुरा, हरेक मान्छे आफ्नो काममा हुन्छन्, हाम्रो सुटिङ छ भनेर को आउँछ ?,” उनी भन्छन्, “राजनीतिक विषयको सिनेमा भन्नेबित्तिकै भाषण हुन्छ, ठूलो समूह चाहिन्छ । त्यसका लागि हामीलाई स्थानीयको ठूलो उपस्थिति हुनुपर्छ । यसका लागि मान्छेको अभाव हुन्छ । हामीले दिएको दुई/तीन सयले के नै हुन्छ र मान्छे आउनलाई ।”

भाषण र नाराजुलुस सिनका लागि मान्छे जुटाउन सकस हुने आफ्नो अनुभव रहेको उपेन्द्र सुनाउँछन् । ठूलो क्यानभास, धेरै कलाकार र मास नै राजनीतिक विषयवस्तुका सिनेमाका लागि मुख्य चुनौती रहेको उनी बताउँछन् ।

निर्देशक कृषा चौलागाईं पनि निर्देशक उपेन्द्र सुब्बाको विचारमा सहमत छिन् । समाजको समसामयिक विषय उठान गर्दा कम्तीमा एउटा लेयर राजनीतिको हुने उनी बताउँछिन् । आउँदो शुक्रबार रिलिज हुने आफ्नो सिनेमा ‘ऐंचो पैंचो’मा पनि एउटा लेयर राजनीतिक रहेको कृषाले जानकारी गराइन् ।

कृषाकै शब्दमा उनको सिनेमा पारिवारिक–सामाजिक कथाको हो । यही कथा प्रस्तुत गर्दा एउटा लेयरका रूपमा राजनीति समावेश भएको उनी बताउँछिन् ।

“समाजमा बसेपछि कोही पनि राजनीतिबाट भाग्न सक्तैन । हरेक व्यक्तिसँग राजनीति जोडिएको हुन्छ । कथामा कम्तीमा एउटा लेयर त जोडिएर आउँछ,” उनी भन्छिन् ।

विषय छनोट गरिसकेपछि छायांकनमा न्याय गर्नुपर्नेमा उनको जोड छ । “कुनै पनि विषय समावेश गरिसकेपछि त्यसका लागि मानसिक रूपमा पनि तयार हुनुपर्छ । विषयलाई न्याय गर्ने प्रोडक्सन हुनैपर्छ । आर्थिक, मानसिक र प्रोडक्सन डिजाइनका हिसाबले पहिला नै तयार हुनुपर्छ,” उनी भन्छिन्, “दर्शकले चित्त बुझाउने क्यानभास हुनैपर्छ । आफूले जति काम गरेको छ, त्योभन्दा ठूलो क्यानभासमा काम गर्ने रहर हरेक मेकरमा हुन्छ । तर, सीमित स्रोतसाधन भए पनि हामीले विश्वसनीय क्यानभास भने तयार गर्नैपर्छ ।”

अहिले नेपाली समाजको हरेक पक्ष राजनीतिसँग जोडिएको उनको बुझाइ छ । चाहेर पनि राजनीतिबाट कोही टाढा हुन नसक्ने उनी बताउँछिन् ।

‘छक्का पञ्जा–४’ पनि राजनीतिक विषयमा केन्द्रित सिनेमा थियो । भलै, यो चलचित्रको प्रस्तुति कमेडी थियो । गत वर्ष रिलिज गरिएका ‘पानी फोटो’, ‘दोख’, ‘प्रकाश’लगायत सिनेमामा पनि राजनीतिक लेयर कतै न कतै समावेश थियो ।

यो वर्षको लाइनअप हेर्दा पनि अरू विषयसँगै राजनीतिक सन्दर्भ जोडिएका सिनेमा थुप्रै छन् । ‘नाङ्गो गाउँ’ होस् वा ‘दिमाग खराब’ यी सिनेमा हार्डकोर राजनीतिक विषयका होइनन्, तर त्यो लेयर नभएको होइन ।

राजनीतिक उतारचढाव रहेको समाजमा सिनेमा, साहित्यको जन्म पनि त्यहीँभित्रबाट हुने कलाकार, लेखक तथा निर्माता खगेन्द्र लामिछाने बताउँछन् । लोकतान्त्रिक शासन व्यवस्था भए पनि तीव्र उतारचढाव रहेकाले त्यसैबाट सिनेमाका कथाहरूको जन्म भइरहेको उनको भनाइ छ ।

“हाम्रोमा प्रजातान्त्रिक शासन व्यवस्था भए पनि राजनीतिक स्थिरता छैन । अस्थिर राजनीतिमा आज पावरमा रहेको व्यक्ति भोलि हुँदैन । अचानक राजनीतिमा कसैको उदय र पतन भइरहेको हुन्छ,” खगेन्द्र भन्छन्, “कहिले स्वतन्त्र व्यक्तिको राजनीतिमा अनपेक्षित रूपमा आइरहेको हुन्छ । यस्तै घटना तथा विषयबाटै त आउने हो, कथा ।”

सही होस् वा खराब राजनीति, त्यसकै सेरोफेरोमा रहेर सिनेमाका कथामा विषयले प्रवेश पाएको उनी बताउँछन् । १० वर्षे सशस्त्र द्वन्द्वका विषयमा अझै पनि सिनेमा बनाउने क्रम नरोकिएको दृष्टान्त उनी दिन्छन् । तीव्र राजनीतिक उतारचढावका कारण समाजमा भइरहेका राम्रा र नराम्रा घटना सिनेमामा समावेश भइरहेको उनको भनाइ छ ।

राजनीतिक विषय क्यानभासका हिसाबले खर्चिलो र गाह्रो हुने भए पनि मेकरले मिहिनेत गरिरहेको उनी सुनाउँछन् । “राजनीतिक विषयका सिनेमा खिच्न मास आवश्यक हुने भएकाले निकै कठिन हुन्छ । तर, जसरी हुन्छ मास जुटाएर खिच्ने प्रयास हाम्रा मेकरहरूले गरिरहनुभएको छ,” उनी भन्छन्, “हाम्रो बजेट, समय र बजारका हिसाबले सहज नभए पनि काम भइरहेको छ ।”

सोसल, कमेडी, लभस्टोरीसँगै अरू केही जानरामा सिनेमा बनाइँदै छ । यसमा पछिल्लो समय राजनीतिक विषय पनि थपिएको उनी बताउँछन् । यो सकारात्मक पक्ष भएको उनको बुझाइ छ ।

“जतिसक्दो धेरै जानरामा सिनेमा बन्यो त्यति राम्रो हो । समाजमा हरेक च्वाइसका मान्छे हुन्छन् । फरक–फरक च्वाइस भएका दर्शकले फरक–फरक स्वादका सिनेमा हेर्ने हो,” खगेन्द्र भन्छन्, “फरक–फरक जानराका सिनेमा आउनु भनेको हाम्रो चलचित्र उद्योग फैलिनु पनि हो । जति धेरै विविधता हुन्छ त्यति नै छिटो सिनेमा उद्योग फस्टाउँदै जाने हो ।” 

विषयमा विविधता आउनुलाई सबैले स्वागत गर्नुपर्नेमा उनको जोड छ ।

अभिनेत्री स्वस्तिमा खड्का राजनीतिक विषयमा बनाइएका सिनेमा हेर्न दलका नेता तथा तिनका परिवारलाई आग्रह गर्छिन् । केही दिनअघि ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का नेता प्रेम आले उपस्थित थिए । उनले नेताहरूलाई उक्त सिनेमा हेर्न आग्रह गरे । सँगै रहेकी स्वस्तिमाले दल र तिनका परिवारले पनि राजनीतिक विषय उठान गरिएका सिनेमा हेर्नुपर्ने बताएकी थिइन् ।

‘समाजमा तपाईंहरूको आँखाले नदेखेको कुरा हाम्रो लेन्सले देखेको हुनसक्छ, त्यसैले राजनीतिक विषय उठान गरेका सिनेमा तपाईं (नेता)हरूले हेर्नुपर्छ भन्ने लाग्छ,’ उनले भनेकी थिइन् ।

सिनेमासम्बन्धी केही कार्यक्रम र प्रिमियरमा राजनीतिक दलका नेताहरू देखिने गरेको उनले बताएकी थिइन् । हलमा गएर सिनेमा हेर्न पनि आग्रह गरेकी थिइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro