site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाल, भट्टराई र पौडेललाई प्रहरीले, शाहलाई सरकारी वकिलले दिए छुट

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई प्रतिवादीको सूचीबाट हटाएर मुद्दा दायर गरेको छ ।

नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई प्रतिवादी बनाउन सिफारिस गरेको थियो । तर, शाहलाई प्रतिवादीको सूचीबाट हटाएर मुद्दा चलाइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता महेश खत्रीले जानकारी दिए ।

Argakhachi Cement Island Ad

खत्रीले बाह्रखरीसँग भने, “सुधीरकुमार शाहको कतै पनि हस्ताक्षर भेटिएन, त्यसकारण उहाँलाई मुद्दा चलाउन प्रमाण नपुगेको ठहर गर्दै प्रतिवादीबाट हटाइएको हो ।”

सो प्रकरणमा जोडिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई भने प्रहरीले प्रतिवादी नै नबनाई प्रतिवेदन बुझाएको थियो । उनीहरूसँगै तत्कालीन मुख्यसचिव लीलामणि पौडेललाई पनि प्रतिवादी बनाइएको छैन ।

“पूर्वप्रधानमन्त्रीहरू नेपाल र भट्टराई अनि पूर्वमुख्यसचिव पौडेललाई त प्रहरीले नै प्रतिवादी बनाएको छैन,” खत्रीले भने, “प्रहरीले प्रतिवादी बनाएर हाम्रोबाट हटाइएको नामचाहिँ शाहको मात्र हो ।”

पूर्वनिर्वाचन आयुक्त शाह ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका थिए । उनलाई ६२ दिन हिरासतमा राखेर अनुसन्धान गरी प्रहरीले प्रतिवादी बनाएर सरकारी वकिलमा प्रतिवेदन बुझाएको थियो ।

अनुसन्धानका क्रममा उनले मालपोत कार्यालय भक्तपुरको प्रमुख भएको समयमा श्रीमती उर्मिला शाहको नाममा ११ आना दुई पैसा जग्गा लिएको देखिएको थियो । सुधीरपत्नी उर्मिला र गेहनाथ चापागाईंपत्नी भुवनकुमारीका नाममा कित्ता नम्बर–३६ को एक रोपनी दुई पैसा जग्गा संयुक्त रूपमा नै भेटिएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । सीआईबीले शाहविरुद्ध २९ करोड ३२ लाख रुपैयाँ माग दाबीसहित मुद्दा चलाउन राय दिएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्