
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. राजाराम कार्कीको निधन भएको छ । कांग्रेस पूर्वकेन्द्रीय सदस्य एवं वाग्मती प्रदेशका पूर्वप्रदेश सभा सदस्य कार्कीको बुधबार साँझ ५ बजे ६६ वर्षको उमेरमा वीर अस्पतालमा निधन भएको हो ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित कार्कीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको कार्कीका छोरा डा. अमितसिंह कार्कीले जानकारी दिए ।
धादिङको नीलकण्ठ नगरपालिका निवासी कार्की कांग्रेस धादिङका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्वमहासचिवसमेत हुन् । स्वर्गीय कार्कीका दुई श्रीमती, चार छोरा र एक छोरी छन् ।
स्वर्गीय कार्कीको पार्थिव शरीरलाई भोलि भदौ ७ गते बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । रासस