site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सहमतिको हल्ला चलाएर संसद् स्थगित ! दोषारोपणमै छन् एमाले– माओवादी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सोमबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको शीर्ष नेताहरूको बैठकमा सदन चलाउने सहमति जुट्यो । 

रातिसम्म बसेको बैठकले यस्तो सहमति जुटाएको हुँदा मंगलबार बस्ने बैठक सुचारु हुने सबै नेताहरुले जानकारी गराएका थिए ।  बैठक पश्चात् सञ्चारकर्मीहरूसँग प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरिले मंगलबारको सदन बैठक चल्ने बताएका थिए । 

“उच्चस्तरीय समिति बनाउन सत्ता गठबन्धन तयार भएको छ । अलिहेको सहमति बिग्रिएन र सत्तारुढ दलहरु यसमा अडिग भए भने भोलिको संसद् बैठक चल्छ,” गिरिले भनेका थिए ।  गिरिले भनेजस्तै मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको संसद् बैठक बस्न सकेन । बैठक बस्नुअघिनै संसद् सचिवालयले बैठक स्थगन गरेको जानकारी दियो । 

Prabhu Bank
Agni Group
NIC Asia

“बिहानसम्म बैठक बस्ने निश्चित थियो तर, अन्तिम समयमा आएर बैठक चल्न सकेन । किन हो खै ?,” उपसभामुख इन्दिरा राना मगरले बाह्रखरीसँग प्रश्न गर्दै भनिन् ।

सोमबारको बैठकले उच्चस्तरीय छानबिन समितिको कार्यादेश (टीओआर) निर्माण गर्ने जिम्मा तीन पार्टीका नेतालाई दिएको थियो । 

Global Ime bank

एमालेबाट सुवास नेम्वाङ, कांग्रेसबाट रमेश लेखक र माओवादीबाट हितराज पाण्डेले ड्राफ्ट गर्ने र मंगलबार दिउँसो २ बजे बैठकमा सो ड्राफ्टलाई फाइनल गर्ने सहमति भएको स्वयम् एमाले प्रमुख सचेतक गिरिले जानकारी दिएका थिए । 

तर मंगलबार दिउँसोका लागि बोलाइएको बैठक नै बस्न सकेन । एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य समस्या देखाएर अनुपस्थित भएपछि बैठक रोकियो ।  जसको असर सदन सञ्चानमा देखियो । प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगन हुँदा राष्ट्रिय सभा बैठकमा पनि एमालेले अवरोध गर्यो ।

“बिहानसम्म सदन चल्ने कुरा थियो । तर, अन्तिम समयमा आएर कहाँ कुरा मिलेन र सदन चलेन थाहा भएन,” उपसभामुख राना मगरले भनिन् । 

सहमति भएर चल्छ भनेको सदन बैठक किन रोकियो त ? 

नेकपा एमाले प्रमुख सचेतक पदम गिरि प्रधानमन्त्री र सभामुख प्रधान्यायाधीशको शपथमा जानुपर्ने तथा उच्चस्तरीय छानबिनको समितिको कार्यादेशका विषयमा भएका ड्राफ्टमा पुनः एकपटक छलफल गर्नुपर्ने भएका कारण बैठक स्थगन भएको बताउँछन् । 

“४ बजे प्रधानन्यायाधीशको शपथ ग्रहणमा प्रधानमन्त्री जानुपर्ने, ड्राफ्ट भएको मस्यौदामा नेताहरुबीच छलफल गर्नुपर्नेलगायतका कारण समय अपुग हुने देखियो,” उनले भने, “अध्यक्षज्यूलाई ज्वरो आएको छ तर, मेरो कारणले बैठक नरोकियोस् औषधी खाएर म आउँछु एकछिन समय लाग्छ भन्नुभएको थियो । तर, प्रधानमन्त्री स्वयम्ले आज रेस्ट गर्नुहोस् भोलि बिहान ११ बजे बसौैं भनेपछि बैठक बसेन । प्रधानमन्त्रीले सभामुखलाई फोन गरेर सदन पनि भोलिसम्म सार्न भन्नुभएको हो ।”

उच्चस्तरीय छानबिन समिति कहिले बनाउने भन्ने विषयमा नेताहरु सहमत भएका छैनन् ।  सत्ता पक्ष सीआईबीको छानबिन सकिएपश्चात् समिति बनाउनुपर्ने अडानमा छ ।  एमाले अहिलेनै समिति बनाउनुपर्ने अडानमा छ । यस्तै समितिको क्षेत्राधिकार कति हुने भन्ने विषमया पनि सहमति जुटेको देखिँदैन । 

सोही कारणले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएको स्रोत बताउँछ ।

“एमालेले भनेजस्तो भए सहमति भइहाल्ने अनि अलिकति पनि भनेअनुसार नभए सहमति नहुने हो र?,” नेकपा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले बाह्रखरीसँग भने, “सीआईबीलाई छानबिन गर्ने समयसम्म कुर्नुपर्छ यो सरकारको भनाइ हो र त्यसपछि बनाउनैपरे छानबिन समिति बनाउनुपर्छ भने बनाउने हो भन्ने सत्ता पक्षका भनाई हो । हिजो यही भनाई मान्य हुने अनि बिहान भइसक्दा नमान्ने रे ! एकजनाको भरमा चल्ने पार्टी भएपछि यस्तै हो । खै के मा चित्त बुझ्दैन ।”

एमाले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकप्रति पनि असन्तुष्ट बनेको छ ।  प्रधानमन्त्रीको इसारामा राष्ट्रपतिले बैठक बोलाएर अलिहेको गतिरोधमा छलफल गर्नु सरकारको अर्को चाल भएको ठहरमा एमाले छ । 

एमालेका एक नेताले सोमबार नै बाह्रखरीसँग कुरा गर्दै राष्ट्रपतिले बोलाएको बैठक प्रधानमन्त्री प्रचण्डको इसारामा बोलाइएको र एमालेलाई ‘माइनस’ गर्ने रणनीति भएको टिप्पणी गरेका थिए । 

“राष्ट्रपतिले बोलाएको बैठकमा हामी जाँदैनौं । किनभने त्यो प्रधानमन्त्रीको सल्लाहमा गरिएको बैठक हो । यता प्रमले आफैँ सर्वदलीय बैठक गरिरहँदा किन राष्ट्रपतिले बोलाउनुप¥यो ? यसमा सत्ताले खेलेको छ,” ती नेताले भनेका थिए । 

यता, माओवादी मुख्य सचेतक पाण्डे सबै सहमति भएको भन्ने हल्ला एमालेले चलाएको र आफैँ बैठकमा अनुपस्थित भएको बताउँछन् । 

“बैठक चलेन किन भनेर प्रमुख प्रतिपक्षलाई सोध्नुपर्छ किनभने अहिलेसम्म सहमति भएको कुरा सत्ता पक्षले कहीँ कतै बोलेको छैन उसैले सहमति भएको भनेर प्रचार गरेको हो,” पाण्डेले भने, “आजको बैठकमा पनि उही आएन, राष्ट्रपतिले बोलाएको बैठकमा पनि गएन प्रमले बोलाएको ठाउँमा पनि आएन ।”

सहमति भयो मंगलबारको बैठक चल्छ भनिएको हैन भन्ने प्रश्नमा पाण्डे ‘आज सहमति गर्ने भोलि बिथोल्ने एमालेको पुरानो रोग’ भएको बताउँछन् । 

“हाउस सत्ता पक्षले संसारमा कहिल्यै रोक्दैन । बैठकमै मान्छे नै नआएपछि कसरी सहमति हुन्छ । उहाँ हिजो आउनु भयो आज आउनुभएन,” उनले भने, “यो बारम्बार भइरहेको छ । बालुवाटारमा सहमति गरेर आयो सदन पुगेपछि सहमति भंग भन्यो । यो सबै प्रश्नको जवाफ एमालेले दिनुपर्छ ।”

संसद् सचिवालयका एक अधिकारी पनि दलहरुले प्रचार गरेजस्तो सहमति भइनसकेको बताउँछन् । सहमति भइनसकेको कारणले मंगलबारको बैठक सार्न भनेपछि सभामुखबाट बैठक सारिएको ती अधिकारीले बताए । 

“सहमतिको हल्ला मात्र गरेका हुन् भएको चाहिँ छैन । आज पनि सहमति भएको छैन बैठक सार्नुप¥यो भनेर खबर आएपछि हामीले बैठक सारेका हौं,” ती अधिकारीले भने, “भोलि पनि बैठक बस्छ भन्ने हामीलाई चाहिँ लाग्दैन ।”

गएको साउन १० गते देखि सुन तस्कर प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) ले सदन अवरुद्ध गर्दै आएको छ ।  सरकार सीआईबीले छानबिन गरिरहेको भन्दै राज्यको संयन्त्रमा विश्वास गर्नुपर्ने तथा उच्चस्तरी छानबिन समिति गठन गर्न नसक्ने अडानमा छ । 

तर, एमाले भने समिति नबनेसम्म सदन चलाउन नदिने अडानमा मात्र छैन उसले सदन चल्नै दिएको छैन ।  साउन १० गते पश्चात् बोलाइएको संसद् बैठक कार्यसूचीमा प्रवेश नगराई कहिले सूचना टाँसेर त कहिले एमालेमात्र बोलेर स्थगन भएको छ ।

साउन २३ गतेको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा दिएको जवाफ पनि एमालेले चित्त बुझाएको छैन । उसको बटमलाइन उच्चस्तरीय छानबिन समितिनै छ ।  यो बीचमा सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पटक पटक छलफल गरेका छन् । 

सदन खुलाउन भन्दै सभामुख देवराज घिमिरेले पनि पटक पटक दलका नेता र प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । तर, सहमति निस्किएको छैन ।  साउन १० गते आकस्मिक समय चलेर अवरोध हुन थालेको बैठक साउन १५, १६ र २२ गत सूचना टाँस गरेर स्थगन भएको थियो । 

साउन २३ गते गृहमन्त्रीले जवाफ दिए पनि एमालेले बैठक चल्न दिएन ।  त्यसयता साउन २४, २६ र २९ गते बैठक चले पनि कार्यसूचीमा प्रवेश नगरि स्थगन भयो ।  यस्तै भदौ ३ र ५ गतेको बैठक पनि सूचना टाँस गरेर स्थगन गरिएको हो । बैठक बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement