site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उच्चस्तरीय आयोग बनाउनु भनेकै काण्डलाई मत्थर र ओझेलमा पार्नु हो 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

संसदीय राजनीतिका एक खेलाडी हृदयेश त्रिपाठी गत निर्वाचनमा पराजित भएपछि संसद् बाहिर छन् ।  जनता प्रगतिशील पार्टीका अध्यक्षसमेत रहेका त्रिपाठीले संसद् बाहिर रहे पनि संसद्का काम–कारबाहीमा अधिक चासो राख्छन् । संसदीय कारबाही वा क्रियाकलाप चिरफार पनि गरिरहेका हुन्छन् । 

यतिखेर प्रतिपक्षी दलले सुन काण्डको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग माग राख्दै संसद् अवरुद्ध पारेको छ । 

संसद् अवरोध, उच्चस्तरीय न्यायिक आयोगका माग र संसदीय कामका सवालमा संसदीय राजनीति अनुभवी त्रिपाठीसँग बाह्रखरीले गरेको कुराकानी ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

–सुन प्रकरणसँगै यतिखेर उच्चस्तरीय जाँच आयोगको माग राखी संसद् निरन्तर अवरुद्ध छ, तपाईं लामो समय संसद्मै बिताउनुभयो, यस्ता माग र अवरोधलाई कसरी हेर्नुभएको छ ?
सुन प्रकरण, शरणार्थी काण्ड, ललिता निवासलगायतका प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) जसरी काम गरिरहेको छ, उसको अनुसन्धानले पूर्णता पाउनुपर्छ । 

उसको अनुसन्धानले पूर्णता नपाएसम्म कतैबाट बाधा व्यवधान गरिनुहुन्न ।  उसले अनुसन्धान पूरा भएपछि कुनै ‘ल्याप्सेस’ देखियो भने संसदीय छानबिन वा उच्चस्तरीय आयोग बनाउनु एउटा पाटो हुन सक्छ । 

Royal Enfield Island Ad

उसको अनुसन्धान पूरा नहुँदै आयोग माग गर्नु जायज होइन । अझ संसदीय समिति हुन् या आयोग तिनको प्रतिवेदन कार्यान्वयन नभएको अवस्था छ ।  सुन प्रकरण आएपछि २०५५ मा पनि सर्वदलीय संसदीय छानबिन कमिटि बनेकै हो । 

सांसद परी थापाको संयोजकत्वमा जुन समिति बन्यो, त्यसले तस्करी र राजस्वका छलीका अनगिन्ती प्रमाण दियो, त्यस्ता दुस्कर्ममा संलग्नहरुको नाम–नामेसी नै सार्वजनिक गर्‍यो । 

त्यही प्रतिवेदनमा दुबईबाट जहाजमा गाडी चढाउँदै ल्याइयो, उक्त गाडीमा सुन राखिएको थियो भन्नेसमेत उल्लेख छ । दुर्भाग्य हेरौं त, उक्त प्रतिवेदनमा उल्लेखित सिफारिश कुनै पनि कारबाही भएन ।

–राज्यको धन खर्चदै बन्ने आयोग र समितिका प्रतिवेदन कार्यान्वयन हुँदैन भने किन निरन्तर माग हुन्छ त ?

आयोग वा समिति जसले अनुसन्धान प्रतिवेदन बनाए पनि अन्ततः कार्यान्वयन गर्ने सरकारकै संयन्त्रले हो ।  हामीकहाँ आयोग या समिति त्यतिखेर बन्छन्, जतिखेर मुलुकमा उत्पन्न कुनै काण्ड, समस्या वा विवाद उत्पन्न भएपछि मत्थर पार्नुपर्ने हुन्छ । 

जब आयोग–समिति–कार्यदल बन्छन्, त्यसले अनुसन्धान गर्दैछ भनेपछि स्वतः त्यस्ता प्रकरण ओझेलमा पर्छ नै ।  यतिखेर राज्यकै संयन्त्र सीआइबीबाट अनुसन्धान भइरहेको छ, यो नै उपर्युक्त हो भन्ने मेरो बुझाइ हो । 

–अनि सर्वदलीय संसदीय समिति बनाउँदा चाहिँ के हुन्छ ?

संसदीय समितिमा सबै दलको सहभागिता हुन्छ । त्यसो हुँदा सत्तारुढ दल वा प्रकरणसँग सम्बन्धित दलका सांसदहरु प्रभावित हुन पुग्छन् । 

चेज प्रकरण हुँदा मालेको के मानसिकता थियो ? साउथ वेष्ट हुँदा एमाले कसरी प्रस्तुत भयो ? लाउडा आउँदा कांग्रेसका सांसदहरुले संसदीय समितिमा के भूमिका खेले ? मैले प्रभावित पक्षले खेल्ने र बोल्ने तरिका फरक भएको देखेकै हुँ । 

समितिमा पनि दलीय गन्ध आउने गर्छ र तिनीहरु प्रभावित हुन पुग्छन् । पछिल्लो समयको बहुचर्चित वाइड बडी प्रकरणबारे सार्वजनिक लेखा समितिमा छलफल भइरहँदा कसको पालामा भएको भनी सांसदहरु बारम्बार सोधिरहन्थे । 

आफ्नो दल नभएर अर्कै दलको पालामा भएको रहेछ भने चर्कैसँग बोल्थे, आफ्नै दलका मन्त्रीको संलग्नता रहेछ मौनता साँधेको देखेकै हुँ ।

–त्यसो भए, आफ्नो दलका प्रधानमन्त्री–मन्त्री पालामा भएको रहेछ भने जोगाउन चाहने प्रवृत्ति छ भन्न खोज्नु भएको हो ?

हो, सकेसम्म जोगाउन चाहने प्रवृत्ति प्रशस्त मात्रामा अनुभव गरेको छु । आफ्नो दलको रहेछ र प्रतिवाद गर्न नसक्ने स्थिति बनेमा चूप रहेपछि कसको के लाग्छ र ? अझ विषयलाई विषयान्तर गर्ने तरिकाहरु पनि खोजिन्छन् । 

अर्काे सँधैभरि सतही टिप्पणी सुन्नुपर्थ्यो, ‘यो सबैको पालामा हुने रहेछ, किन बेकारमा समितिले हात हाल्नु वा बोल्नु ।’ त्यसरी विषयलाई सामान्यीकरण गरेपछि कसको के लाग्छ ? 

–अब सबैको पालामा हुँदो रहेछ भनी अध्ययन नै नगरी छाड्दै जाने हो त ? 

राज्यका अंग र संयन्त्र तातिरहँदा कुनै सर्वदलीय संसदीय समिति वा आयोग गठन तत्कालको आवश्यकता होइन । 

यदि यो विषयलाई राज्यका संयन्त्रहरुले प्रभावहीन पार्न खोजे भने भोलि संसदीय समितिको सक्रियता वा आयोगको आवश्यकता पर्न सक्छ । तर, विगतका अध्ययन–अनुसन्धान प्रतिवेदन कार्यान्वयन नभएको तीतो अभ्यास हाम्रा सामु छँदैछ । 

त्यसले के देखाउँछ भने कमजोेर कार्यान्वयनका तहमा संसदीय समितिकै प्रतिवेदनहरु परेका छन् । 

संसदीय समितिका छानबिन वा उसका प्रतिवेदनमा हल्ला वा प्रचार चाहिँ बढी मात्रामा हुन्छ, तर कार्यान्वयनको तह भने कमजोर छ ।

–तर, एमालेको संसद्को अवरोध खोल्न ‘बटमलाइन’ उच्चस्तरीय न्यायिक आयोग छ नि ?

न्यायिक आयोग त्यतिखेर बनाउन सकिन्छ, जतिखेर सीआईबीकै कुनै बदमासी आयो वा निस्कर्ष पुग्न सकेन भने मात्रै ।  त्यसपछि सीआईबीकै अनुसन्धान प्रतिवेदनलाई आधार मानेर उच्चस्तरीय न्यायिक आयोग बनाउन सकिन्छ । 

तर, कुनै सरकारी निकायले काम गरिरहेको छ भने उसको कामलाई बाधा पुर्‍याउनु हुँदैन भन्ने मेरो मान्यता हो । 

उच्चस्तरीय आयोग बनाइयो भने पनि भोलि यिनै सरकारी औजार प्रयोग गर्नुपर्छ, उनैसँग सूचना लिनुपर्छ, उनीहरुलाई नै परिचालन गर्नुपर्छ । यसमा नीति भन्दा बढी खतरनाक नियत हुन्छ । नीति त पढिन्छ, बुझिन्छ, समर्थन या विरोध दुवै हुन्छ । तर, मानिसको नियत खुट्याउन त सजिलो हुँदैन । 

–त्यसो भए, उच्चस्तरीय आयोगको मागमा कुनै खोट छ भन्न खोज्नुभएको हो ?

प्रतिपक्षी दलले एउटा आशंका राख्न सक्छ कि सरकारले एक पक्षीय काम गर्न सक्छ ।  प्रतिपक्षी दलको यस्तो बुझाइ हुन सक्छ । सरकारले आफूलाई समर्थन नगर्नेलाई सिध्याउने गरी एक पक्षीय काम गर्न थाल्यो भने उच्चस्तरीय न्यायिक आयोगको माग हुन सक्छ । 

तर, सरकारी संयन्त्र नै निष्कर्षमा पुगेको छैन भने उच्चस्तरीय आयोगको मागमा मलाई आश्चर्य लागेको छ ।

–संसद् बाहिर रहेर संसदीय काम–कारबाहीलाई कसरी मूल्यांकन गर्नुभएको छ ?

संसद् भनेको सरकार बनाउने र गिराउने थलो मात्र होइन, संसदीय धारका राजनीतिक दलहरुले संसदीय मूल्य, मान्यता, आदर्श र यसको बल सही ढंगले प्रयोग गर्ने सोचमा हुनुपर्थ्यो । तर दलहरुले सरकार बनाउने र ढाल्ने ‘मेसिनरी’का रुपमा संसद्लाई उपयोग गर्ने ध्येय लिएपछि अप्ठ्यारा देखिएका छन् । दलहरुले जबसम्म संसद् भनेको सत्तामात्रै बुझ्छन्, तब संसदीय कर्म वास्तविक ढंगले प्रयोग हुन सक्दैन । 

अनि अर्काे त, सरकार भन्ने जुन तत्व छ, उसले यति मात्र ठान्छ कि संसद्बाट नीति तथा कार्यक्रम र बजेट पारित गर्ने हो ।  त्यसपछि उसका निम्ति संसद् घाडो बन्न जान्छ । यस्तो बुझाइमा संसद् कसरी प्रभावकारी हुन सक्छ । 

लोकतान्त्रिक पद्धतिमा संसद् भनेको राज्य पद्धतिको आत्मा हो । 

त्यसो हुँदा संसद्मा चोट लाग्यो भने व्यवस्थामै चोट लाग्छ । नेपालको इतिहास हेर्ने हो भने संसद् नरहेकै अवस्था र निस्क्रिय अवस्थामै प्रतिगामी घटना भएका छन् । 

–संसद्का महासचिवबाट सूचना टाँस्दै बैठक स्थगित गर्ने प्रवृत्ति भित्रिएको छ, यसले सार्वभौम संसदको ओज र वजनलाई कस्तो स्थितिमा पुर्‍याउँला भन्ने लाग्छ ?

संसदीय कालखण्डमा यसरी सूचना टाँस्दै संसद् स्थगित गर्ने प्रचलन थिएन ।  कुनै अवरोध आएको खण्डमा सदनमा सभामुखको कुर्सीबाट स्थगितको घोषणा हुन्थ्यो ।  संविधानसभाकालमा सूचना पाटीमा टास्दै संसद् स्थगित गर्ने प्रचलन सुरु भएको हो । 

जब संसद्मा नारा, घेराऊको स्थिति पैदा हुने स्थिति भएमा सूचना टास्दै बैठक स्थगित गर्ने र हल खोज्ने काम सदनबाहिर हुन्थ्यो ।  अघिल्लो संसदीय कालखण्डमा पनि यसरी नै अनगिन्ती पटक स्थगित भएका हुन् । सूचना टास्दै संसद् बैठक स्थगित गर्ने बढी मात्रामा हुँदा यसले झन् वितृष्णा पैदा गराउँछ ।

–संसद्ले सार्वभौम अधिकार विधिसम्मत् तरिकाले प्रयोग गर्न नपाउनु भनेको संसदीय पद्धतिलाई संकटमा पार्नु होइन र ?

हाम्रो राजनीतिक इतिहासमा संसद्को अनुपस्थिति या निस्क्रिय भएको बेलामा प्रतिगमनकारी काम हुन्छ या प्रतिगमनकारी शक्तिको सक्रियता बढ्ने गर्छ ।  तिनको चाहना संसदीय पद्धति कमजोर तुल्याउँदै शक्ति हत्याउने हुन्छ । राजा महेन्द्रले २०१७ पुस १ मा त्यही काम गरेका थिए । ज्ञानेन्द्रको पालामा त्यही तिकडम देखियो । 

उनले २०५९ जेठमा संसद् विघटन गरेपछि सत्तामा हातमा लिएका हुन् । संसद् क्रियाशील रहे या भएको भए त्यसरी ज्ञानेन्द्रले सत्ता हातमा लिन सक्ने अवस्था आउने थिएन ।

–तपाईँले  भने बुझे जसरी संसदलाई सांसद र राजनीतिकहरुले दलहरुले किन बुझ्न सकेका छैनन् त ?

संसद्लाई अप्ठ्यारो र संकट पार्दा पैदा हुने ‘अवस्था’बारे उनीहरुले किन बुझिरहेका छैनन्, मलाई आश्चर्य लाग्छ ।  संसद्लाई निस्तेज तुल्याउने, संसद् प्रभावहीन बनाउने काम जहाँबाट हुन्छ, तिनीहरु कुनै न कुनै मनसायबाट अभिप्रेरित भएका छन् भन्ने लाग्छ । 

लोकतन्त्र बलियो पार्न त संसद् दर्बिलो हुनुपर्छ । तर संसद्का हकमा पार्टीहरुले बुझ्ने, सरकारले बुझ्ने र अन्य पक्ष गरी तिनै पक्षले अलग–अलग ढंगले बुझ्छन् । 

पार्टीहरुका नेताहरु ठान्छन् कि संसद् भनेको रबर स्ट्याम्पबाहेक केही होइन । 

हामी तीन चार जनाले सहमति गर्‍यौं भने सबै ठीक भइहाल्छ भन्ने सोचमा छन् । हामीले जे निर्णय लिन्छौं, संसद्ले त्यसलाई अनुमोदन गर्छ भन्ने अहं ठालु नेताहरुमा परेको छ ।  सरकारले नीति र बजेट पारित गरेपछि संसद् सक्रिय नहोस्, प्रश्न नगरोस्, प्रस्ताव नल्याओस्, संसद् समिति चल्दै नचलून् भन्ने ठान्छ । 

तिनीहरु निस्क्रिय भएपछि मनोमानी गर्न पाइन्न भन्ने धेयमा तिनीहरु हुन्छन् ।  संसद्को मूल काम भनेको विधायिकी हो, त्यो काम मूर्त रुप नै लिन सकेन ।  विधायिकी काम जसरी गर्नुपर्ने थियो, राज्यलाई विधिसम्मत् ढंगले हिँडाउन जसरी कानुन निर्माण गर्नुपथ्र्यो, त्यो काममा अझै आत्मसात् गरेको पाइँदैन ।

–त्यसो भए, संसद् आफूले गर्नुपर्ने काममा चुकिरहेको छ भन्ने तपाईको निस्कर्ष हो ?

पहिलो त, साना–तिना अवरोधका बावजूद पनि संसद् सुचार हुनुपर्छ । संसद् सँधै सहजमा हुँदैन, कहिले अवरोध हुन्छन् नै । संसद्भित्र नारा लाग्नु, रोष्ट्रम घेर्नु अनौठा काम होइनन्, यस्ता काममा संसदमा देखिन्छन् नै । 

तर, संसद्लाई बन्धक बनाउने काम पहिला पनि नभएका होइनन्, धेरै चोटि भएकै हुन् । तर, प्रकारान्तरमा के देखिन्छ भने संसद् कमजोर हुनु, संसदप्रतिको जनआस्था खल्बलिनु, संसद् भनेको यस्तै हो भन्ने धारणा बन्दै जाँदा यसले लोकतन्त्र र स्वयं नेताहरुको पनि क्षयीकरण हुन्छ । 

जनतामा सांसद भनेका झगडालु हुन्, झगडा मात्र गरिरहन्छन् भन्ने सन्देश जाँदा संसद्को ओज, वजन र गरिमामा क्षति पुर्‍याउँछ ।  संसद्को गरिमा र संसदीय प्रणालीलाई आकर्षक तुल्याउन त्यसैका निम्ति संघर्षरत पार्टी वा दलले बुझ्नुपर्छ । तर, तिनका काम गराई हेर्दा मलाई लाग्छ, तिनले संसद्को महत्व नै बुझ्न सकेका छैनन् । 

हरेकले संसद्लाई एउटा औजारको रुपमा प्रयोग गर्न थालेपछि के हुन्छ ?
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro