site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अनुहार
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पेटी र सडक छुट्टिने ठाउँको छेउमा उभिएर उसले भीमलाई रोक्यो । विवरण विस्तृत हुन जानेछ भन्ने भीमले सोच्यो, यद्यपि नभनी नहुने गरी हातमा सुटकेस जुन गरुंगो देखिइरहेथ्यो, उचालेको थियो त्यो व्यक्तिले ।

काँधमा एउटा भारी झोला भिरेको थियो । काँध एकातिर झुकेको पनि थियो । त्यस्तो विकट अवस्थामा पनि उसले किन भीमलाइ बोलायो ? भन्यो, ‘तपाईंलाई मैले चिनेजस्तो लाग्यो ।’

भीम आज ठिक मुडमा थियो । हातमा एउटा छाता थियो । पानी पर्ने सम्भावना कमै थियो । बर्खा हुनाले छाता आवश्यक थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

रिस उठेको बेला परेको भए भीमले छातैले ठोक्न सक्थ्यो — त्यति सारो त होइन, तर रिसले भन्ने थियो, ‘आवेशमा नआउन भनेको छ डाक्टरले, तापनि नचिनेको भए किन बोलाएको !’

अनुहार न हो, चिन्यो होला । बितेको समय कतै साथसंगत भएको होला । जागिर भन्नु त भीमले आजीवन खाएन । जागिरको परिभाषा भनेको सरकारी तलब खाएर काम गर्नुलाई भन्थ्यो ऊ ।

Royal Enfield Island Ad

पछि त भन्न थाल्यो, ‘सरकारी काम कहिले जाला घाम भन्न पाइने रहेछ ।’

तर, प्राइभेटमा सेठसाहुकारको पसल र कम्पनी अनि ठेकेदारहरूको साइटमा खटेर काम गरेको हो । कहिले सुपरभाइजर त कहिले एकाउन्टेन्ट भएर । अहिले उमेर पाको भएपछि बुढो गोरुझैँ यसरी सडकसडक छाता बोकेर चहारिरहेछ, एक्लै ।

मर्निङ वाकमा उसलाई लिएर हिँड्न चाहनेहरू टोलमा अतिअति न्यून छन् । बेलाबेलामा उसले सोच्ने पनि गर्छ, ‘कहाँ चुकिएछ ?’

‘चिनेजस्तो लाग्यो’ भनेर सडकबीचमा भारी बोझासहित उभिएको व्यक्तिले भन्यो । सौजन्य हो । भीम रोकियो । मुड ठिक छ ।

जवाफमा भन्यो (हाँस्दै), ‘होला ।’ भीम हाँसेको कमैले देखका छन् ।

सुटकेसधारी व्यक्ति पनि मुस्कुरायो, भन्यो, ‘ठेकेदार महावीरको कम्पनीमा काम गर्नुहुन्थ्यो, हैन ?’

होइन भन्ने ठाँवै थिएन । गरेकै हो । महावीर, गुरुसिंह वा अर्को दानबहादुर आदि उसले चिनेका ठेकेदार हुन् र तिनकैमा उसले खटेर काम गरेको थियो । अहिले बुढो गोरुझैँ सडकमा छाडिएको छ । उमेरले गर्दा ।

पाको उमेरका मान्छे राष्ट्रका सम्पत्ति हुन् भनेर के गर्नु ? सडकसडक डुलिरहेछ, पुरानो छाता बोकेर – मर्निङ वाकको नाममा । छाता लेडिज थियो, बुहारीले बोक्ने । तर, उसले अहिले नयाँ किनेकी छ ।

सुटकेसधारीले अपेक्षा गरेका आँखाले हेर्यो । अपेक्षा यो — स्वीकृतिमा ‘हो’ भनोस् । काठमाडौंको व्यस्त हुनतिर लागेको सडकछेउ उभिएको छ ।

भीमलाई अचम्म लाग्यो, सुटकेस गरुंगो देखिन्छ, तर व्यक्तिले त्यसलाई सडकमा राख्ने सुर गरेको छैन । मानौँ, चोरीपैठारीको सुन भरिएको छ र उसका पछाडि दलबलसहित स्मगलरहरू लागिरहेका छन् ।

स्मगलरहरू लागिरहेका छन् भन्ने गरी व्यक्ति जो तरुनो छ, ऊ तैपनि हतारमा देखिइरहेको छैन । भीमले उसलाई निराश नहुने गरी भनिदियो, ‘हो, बाबु तपाईंले कसरी चिन्नुभो ?’

भीमको सोधाइमा यो कृतज्ञताको भाव आउनआउन खोजेको थियो वा व्यक्त गर्न चाहेको थियो, ‘मलाई चिनेर गुन लाउनुभो । एकजना बिर्सिइन लागेको मानिसलाई चिन्ने कष्ट गर्नुभएकोमा धन्यवाद !’

तर, त्यति लामो संवादका लागि ऊसँग समय थिएन ।

समय त थिएन उसको जीवनको पनि । एउटा त्रास आइरहन्थो उसलाई कि आज हो कि भोलि हो ?

भीम सतर्क भयो, यस मानेमा, उसलाई चिनियो, अकस्मात् यसरी अनपेक्षित व्यक्तिले ।

व्यक्ति सडकछेउको पेटीमा उभिएको छ र भारी सुटकेस र काँधमा बोझिलो झोला पनि भिरेको छ । एक क्षण भीमले सोच्यो– के यसले मलाई चिनेको छु भनेर कोठातिर जाऊँ भन्न खोजेको त होइन ?

व्यक्तिले भन्यो, ‘म पनि महावीरको कम्पनीमा काम गर्थेँ । सुदूरमहाकालीमा, होइन त ?’

भीमले व्यक्तिको अनुहारलाई राम्ररी नियाल्यो । मानिस गोरो थियो, तर कुरा यसरी छिटछिटो बोल्थ्यो, उसले टिप्नै सक्तैनथ्यो । भन्यो, ‘ए हो, हो ।’

नाम त थाहा थिएन, तर संशोधनमा भन्यो, ‘कम्पनीमा त धेरै थिए नि काम गर्ने ! पहाडका, मधेसका ।’

व्यक्ति प्रफुल्ल भयो । बहुतै प्रसन्नता देखायो पनि । त्यति टाढा सुुदूरको व्यक्ति यहाँ आएको छ र उसलाई चिनिदिने कोही निस्केको छ, त्यो पनि सडकमा ।

सन्जोग हो । को कहिले कहाँ भेट हुन्छ त को कहाँ कहिले भेट हुन्छ, भन्न सकिँदैन । जुुर्नुपर्यो ।

भीमले भन्यो — भन्नैपर्ने थियो, ‘अनि अहिले ?’

अर्थ यो लाग्थ्यो— अहिले कताबाट यहाँ हो वा यहाँबाट कतातिर हो ?

व्यक्ति प्रसन्न मुद्रामा थियो । तर, उसले सुटकेस सडकमाथि बिसाएन । भीमको समझमा आयो– यो व्यक्ति बस कुरिरहेछ ।

किनभने, यस ठाउँ उतामाथिबाट आएको बस रोकिन्छ र यात्रु ओर्लन्छन्, तलतिर जाने यात्रु उक्लन्छन् । यात्रुहरू न हुन्, कोही कता कोही कता जान्छन् भने कतैबाट यहाँका लागि आएका यात्रु यस ठाउँ ओर्लन्छन् ।

भीमको सम्झनामा बस रोकिने यस ठाउँको नाम आउन सकेन । दिमागले मिहिनेत गर्न अस्वीकार गर्यो । कति थोकको सम्झना राख्नु !

घरमा भीमलाई आरोप लाग्थ्यो— बिर्सन थाले ।

खासै कारण थिएन । बिर्सन सकिन्छ । विस्मृतिमा जाने रोग पनि छ । के भन्छन् त्यसलाई ? एपिल्याप्सी हो कि के हो !

साला ! पार्किन्सनको नाम याद छ, जुन रोगका कारण मानिसका हातगोडा र जिउ हल्ल्रिाख्छन्, तर यो बिर्सने रोगको नाम थाहा भएन ।

व्यक्तिलाई चिन्न नसक्नुको कारण अहिलेलाई यसको सन्दर्भ पनि छ । यो व्यक्ति जसले उसलाई सप्रमाण चिनिरहेछ, उसलाई ऊ चिन्न सकिरहेको छैन । असमर्थ छ । अनुहारै ठम्याउन सकिरहेको छैन भने नाम त टाढाको कुरा ।

नाम केही होला— श्याम वा मोहन कि माधव ? जे होस् । भीमले नचिने पनि उसले त भीमलाई चिन्यो ।

सडकको छेउमा उभिएर बस कुर्दाकुर्दा अहिले आएर एउटा अनुहारबाट चिन्न सकिएको मानिस भेट भयो । अलि बोर फिलिङ भइरा’छ — जसलाई चिनियो त्यो मान्छे, माने भीमले उसलाई सर्लक्क चिनेको भाव देखाएन । कतिकति बेला अँअँ र उँउँमै टारिरहेछ ।

मानिस प्रस्टसँग चिनिने लायक हुनुपर्छ । अनुहारैले भए पनि भीमले स्वयम्सँग विचार विनिमय गर्यो । नेताहरूको अनुहार ऊ चिन्दछ र कतिलाई भने तिनको स्वर सुनेरै पनि चिन्दछ ।

परिवर्तनकालमा उसले प्रत्येक नेताको अनुहारलाई स्मृतिमा बसालेको हो । अहिले आएर ऊ तिनलाई चिन्ने प्रयासमा तिनको अनुहार स्मृतिमा बसाल्ने गहिरो साधना गरिटोपलेकामा थकथकाइरहेछ ।

कारखानाबाटै निकाल्दा निर्माणमा त्रुटि भएका मालसामानझैँ तिनका नाममा एक न एक किसिमको कलंक छ ।

भीम टाउको झट्काल्छ र ती सबै नाम बिर्सन चाहन्छ । ती नेताहरूका नाम मात्र होइन, तिनका अनुहार पनि । तर, यो व्यक्ति नेता त थिएन ।

बहुतै मिहिनेतसाथ गरुंगो सुटकेस बोकेर बसको प्रतीक्षा गरिरहेथ्यो । काँधमा बोझिलो झोला पनि छ । स्वच्छ, सफा छ । बिहानै नुहाइवरी गन्तव्यतिर निस्केजस्तो छ । होटेलमा बसेजस्तो छ ।

यतातिर त्यति गन्तीका राम्रा होटेल त छैनन्, कुनै मालदार नातेदारकामा बसेको होला । गरिब नातेदारकामा बस्ने यसरी बिहानै चिटिक्क परेर निस्कन सक्तैन ।

भीमलाई सुटकेसको बोझ देखेर ‘कता जान लाग्नुभो ?’ भनेर सोध्ने उत्सुकता पनि भएन । मानिस नै चिनिएन । बेमनले संवाद मात्र बढाए समय खेर फाल्नु हुने थियो ।

यति बेलासम्म वाकमा निस्केको भए ऊ उतापट्टिको ओरालोमा लागिसक्ने थियो । त्यसो हुन सकेन । बीचैमा व्यक्तिले रोक्यो । काम गरेको ठेगाना, कम्पनी र कम्पनीको मालिक, ठेकेदारका नामहरू उसले स्पष्टसँग बताउन सकेपछि भीमले म त्यो होइन भनेर अस्वीकार गर्न पनि मिलेन । बिहानको मुड पनि ठिकै थियो ।

तर, उसलाई खसखस लागिरहेको मात्र एउटा सानो र बेमतलबको कुरो थियो— व्यक्तिले गरुंगो सुटकेस किन सडकमाथि राख्दैन ? बस पर्खिरहेको हुन सक्थ्यो । यो एउटा सम्भावना मात्र थियो । कि उसलाई कम्पनीको गाडी लिन आउने हो ।

सुटकेस मालिकको हो र भुईंमा राखेर अपहेलना गरेको देख्यो भने गाडीमा आएको मालिकले गाली गर्ने हो कि ? — ‘त्यत्ति एउटा सुटकेस बोक्न नसकेर भुईंमा नराखी भएन होइन ? यति वर्ष काम गरेको बालुवामा पानी खन्याएसरह भो ।’

मालिकहरू न हुन् । सुटकेसमा नगद रकम छ कि जुन हाकिम–मन्त्रीलाई नजराना दिन लगिँदै छ । मालिक गाली गर्छन् । सस्तैमा कामदार जत्ति पनि पाइन्छन्, तर यो व्यक्ति त्यो कम्पनीमा काम गरिरहेको वर्षौँ भइसक्यो ।

गाली खाइहाल्नुपर्ने योग्य व्यक्ति होइन । भीमले काम छाडेर आयो । छाडेको होइन, कम्पनीबाट निष्कासन गरियो, ‘बुढाहरूको काम छैन ।’

आवेशमा अहिले पनि भीमले हातको छाता बटार्यो । डाक्टरले भनेको पनि छ, ‘एक्साइटेड नहुनुहोस् ।’

डाक्टर पनि सरकारी अस्पतालमा घण्टौँ पालो कुरेर फेला परेको थियो । अनि, पालोमा जाँचेर बल्ल भन्यो, ‘आवेशमा नआउनोस् ।’

उसको पालो आउन लाग्दालाग्दै पहिले डाक्टर नास्ता हो वा खाना खान कता हो, निस्केको थियो । आवेशमा ऊ नआई भएको थिएन ।

भीम आवेशमा आइहाल्यो र भाग्यलाई सराप्यो, ‘मेरै पालोमा यस्तो हुन्छ ।’ डाक्टरलाई यो थाहा भएन र भन्यो, ‘आवेशमा नआउनोस् ।’

व्यक्ति जसले उसलाई अनुहारबाट चिनेको थियो, उसलाई यो आश्चर्य लागेन, ‘यो बुढाको अनुहार अझै पनि उस्तै छ ।’

उस्तै छ भन्नुमा यो आशय थियो, भीमको अनुहारको खाका पहिलेजस्तै छ । खाका त बदलिने कुरो भएन । भीमले अनुहार छाम्यो । धन्न बिहानबिहान दारी खौरिने गरिएको छ र एक बाल्टी पानी मात्रैले भए पनि नुहाइहाल्ने गरिएको छ ।

घरमा किचकिच भइरहन्छ, ‘खाने पानी छैन । पानीको हाहाकार छ । नुहाउने कार्यक्रम !’

मधेसमा बस्ने गरेकोले ननुहाइ हुँदैनथ्यो भीमलाई । उता पानी प्रशस्त पाइन्थ्यो र धेरैजसो ऊ साइटमै खटिन्थ्यो । साइटमा खाना खानुअगि ननुहाइ खान बस्दैनथ्यो ।

धन्न स्वच्छ, सफा देखिएको छु— भीमले चिल्लो चिउँडो छामेर सोच्यो । मसिनो गरी खौरेको गाला छाम्यो । कपाल पनि खासै बढेको छैन । सुटकेसवाला व्यक्तिले चिनिहाल्यो ।

खाका परिवर्तन भएको छ । जस्तै, नदीमाथि पुल बनाउँदा सर्भे गरेर मूल ढाँचा तयार गरिन्छ, त्यस्तै मूल ढाँचामा छ उसको अनुहार र त्यसलाई सम्झिन सकेको छ यो व्यक्तिले ।

भीमले भन्यो, ‘धन्यवाद भाइ चिन्नुभएकोमा ।’

व्यक्ति हाँस्यो । भन्यो, ‘धन्यवाद ! यसमा के छ ? हामीले पानी थुनेर माछा मारेको मलाई अहिले पनि सम्झना छ ।’

ए, माछा पनि सँगै मारिएको रहेछ ! धन्यवाद र माछा एक भए । मुखमा अनायास माछाको स्वाद पनि आयो । कहिलेका कुरा हुन् यी ! यदि, यी पुराना कुरा हुन् भने यो व्यक्तिले तिनलाई किन सम्झनामा राखेको छ ?

खाली कनस्तर, ड्रमहरू, बोरा र तसला, कुटोकोदाला, बेल्चागैँतीहरू अनि फरुवाहरू तथा धुलोमाटोले जाम भएको होला, यसको दिमाग । मानिसको दिमाग भरिएको हुन्छ, भुस कुराहरूले ।

भीमले व्यक्तिलाई केही भरोसा दिलाउन भनेजस्तो गरी गडेर हेर्यो । उसलाई लागोस्, पछि पनि भेट भएका बेला हायहेलोको सिलसिला आरम्भ गर्न सहज हुनेछ । 

व्यक्ति हतारमा थिएन, तर उसले सुटकेस भुईंमा त राख्दै राखेन । भीमलाई सकसक लागिरह्यो, भनूँभनूँ भयो, ‘सुटकेस बिसाऊ न त भाइ ।’

मानिस युवक नै थियो र उसले भाइ भन्दा उँचनिच हुँदैनथ्यो ।

टाढामा बस देखियो । टाढा भन्नु बस थोप्लोमा देखिनेजस्तो थिएन । अलिकति मोड नाघेर आएपछि बस सर्लक्कै देखिन्थ्यो । व्यक्तिको अनुहार हँसिलो भयो । उसले भीमतिर हेर्यो । अब गए पनि हुन्छ भन्ने दर्साउन ।

भीम पहिले नै मुडमा आइसकेको थियो, बिदाबारी भएर छुट्टिन । के बिदाबारी भन्नु ? व्यक्ति विदेश गइरहेको थिएन, विशेष गरेर खाडी मुलुकतिर पसिना बगाउन । बाकसमा फर्केदेखि अन्तिम बिदाइ पनि हुन सक्थ्यो । तैपनि, बिदा माग्नु उचित देखियो ।

‘लौ त !’

भीमले फेरि भेट होला भनेन । त्यसको सम्भावना कम थियो । अहिले पनि ऊ एकान्तवासजस्तैमा छ । कतै जाँदैन । मर्निङ वाक त ऊ निस्कन्छ, आवेशमा नआउनू भनेको छ डाक्टरले । हिँड्नुले आवेश कम गर्छ ।

तर, थकाइ धेरै लाग्न थालेको छ । थोरै मिहिनेतमा धेरै थकाइ । काम त केही गर्न सकिरहेको छैन, बिजुलीका खम्बाहरूमा टाँसेको ‘कामदारको आवश्यकता’ भन्ने सूचना पढ्न र मनमनै तिनको मोबाइल नम्बर रट्ने गरेको छ । तर, फोन कहिल्यै गरेन । पत्यारै लाग्दैन उसलाई देखेर काम दिनेछन् ।

अलि पर हिँडेपछि खम्बामा टाँसेको सूचनाको मोबाइल नम्बर पनि खोलाको बगरमा केरिएका धर्सालाई पानीको छालले मेटेझैँ मेटिने गर्छ । त्यस्तै, अहिले भर्खर भेटेको व्यक्तिको गोरो र हँसिलो अनुहार उसको स्मृतिबाट लुप्त हुने भइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  ०९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro