site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
'शर्मा पक्राउ अनिष्टको संकेत, आवश्यक परे समर्थन फिर्ता'
कांग्रेस सभापति शेरबहादुर देउवा । तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसभित्र आफैँ सहभागी भएको सरकारको विरोध सुरु भएको छ । आइतबार बसेको संसदीय दलको बैठकमा अधिकांश सांसदले सरकारको आलोचना गरेका छन् । 

नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको दोस्रो दिनको बैठकमा नेता शेखर कोइरालाले नै सरकारको प्रभावकारितामा प्रश्न उठाए । सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्त गरेपछि कांग्रेसको साख नै गुमेको टिप्पणी गरे । उनको नियुक्तिले कांग्रेसको भविष्य र छविमै प्रश्न उठेको कोइरालाको भनाइ छ । 

“अपजसको भारी बोक्न चाहँदैनौँ भने ल्हारक्याल लामा जस्ता व्यक्तिहरूलाई अस्वीकार गर्नुपर्छ भन्ने कुरामा दुई मत छैन,” उनले बैठकमा भने, “म पनि चिन्छु, सँगै बसेर गफ हुन्छ । तर यसरी नियुक्त गर्दा पार्टी पनि जोडिएको छ । पार्टीको भविष्य र छविमा प्रश्न उठेको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रिपरिषद् बैठकबाट लुम्बिनी विकास कोषमा नियुक्त भएका लामा विवादित पात्र हुन् । उनी दोहोरो राहदानी, हातहतियार तथा खरखजानासहितका मुद्दामा मुछिएका व्यक्ति हुन् । 

सांसद प्रतिमा गौतमले पनि लामाको नियुक्तिमा आपत्ति जनाइन् । लामाको नियुक्तिले सरकारको मात्र नभएर कांग्रेसको पनि बदनाम भएको तर्क गरिन् । उनले लामाको नियुक्तिमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू मौन रहेको भन्दै प्रश्न गरिन् ।

Global Ime bank

“लामालाई लुम्बिनी विकास कोषमा नियुक्तिले कांग्रेसको शिर निहुरिएको छ । सरकारमा बसेका मन्त्रीहरूले यो विषयमा असहमति जनाउन सक्नुपर्थ्यो । किन त्यस्तो भएन ?,” गौतमको प्रश्न थियो । 

सरकारको अनुभूति नभएको गुनासो 

कांग्रेस बैठकमा सांसदहरूले जनतालाई अहिले सरकार नै नभएको अनुभूति नभएको बताएका छन् । उनीहरूले लगातार संसद् बन्द हुँदा जनजीविकाको सवाल उठाउन नपाएको गुनासो गरेका छन् ।

सांसद गौतमले संसद् निरन्तर अवरोध भएको अवस्थामा कांग्रेसले सार्वजनिक विरोध गर्नुपर्न धारणा राखेकी छन् ।उनले संसदीय समितिको सभापति चयनमा ढिलाइ भइरहेको विषयमा पनि प्रश्न गरिन् ।

“लम्पी स्किन, आँखाको रोगले ठुलो असर देखिन गयो । डेंगी डरलाग्दो गरी आयो । कसरी रोकथाम गर्ने ? यो विषयमा संसद्‌मा छलफल हुनुपर्छ । तर सदन चलेको छैन,” उनले बैठकमा भनिन् ।

अर्का सांसद सञ्जय गौतमले पनि सरकार भएको अनुभूति गर्न नपाएको गुनासो गरे । उनले आफ्नो निर्वाचन क्षेत्रको समस्या लिएर सात वर्षदेखि कराउँदा, अनसन बस्दा पनि सुनुवाइ नभएको बताए । “जनताको बीचमा के लिएर जाने ? कुनै योजना बनाउनुपर्दैन ? मन्त्रीज्यूले भन्न सक्नुपर्छ,” उनले भने, “मन्त्रीज्यूहरूले आफू आफ्नो जिल्ला र वरिपरिका मान्छेलाई मात्र हेरेर बजेट दिने ? न्यायिक हुनुपर्दैन ?”

सांसद प्रदीप पौडेलले पनि सदन र सरकार प्रभावकारी नभएको धारणा राखेका छन् । उनले कांग्रेसका मन्त्रीहरूले पनि सरकारमा गएर कुनै उल्लेखनीय सुरुवात गर्न नसकेको बताए ।

“तपाईंहरू सरकारमा गएको यतिका समय भयो । तर, अहिलेसम्म सरकार नै नभएको जस्तो अवस्था छ,” पौडेलले बैठकमा भने, “कमसेकम सरकार छ भन्ने अनुभूति हुने एक/दुईवटा भए पनि योजना ल्याइदिनुस्, कार्यक्रम ल्याइदिनुस् । हामीले घोषणापत्रमा दर्जनौँ घोषणाहरू राखेका छौँ, त्यसको कार्यान्वयन गरिदिनुस्,” उनले भने ।”

सबै प्रकारका भ्रष्टाचारका घटना छानबिनका लागि उच्चस्तरीय संयन्त्र गठनको निर्णय नै गर्नुपर्ने पौडेलेको माग छ । दलको बैठकबाट भएको निर्णय सरकारले नमाने समर्थन नै फिर्ता लिनुपर्ने उनको माग छ ।

"कांग्रेसको संसदीय दलको बैठकले आजसम्म भएका चर्चित सबै भ्रष्टाचारका घटनाहरूको छानबिनका उच्चस्तरीय संयन्त्रण बनाउने निर्णय गर्नुपर्छ । यदि त्यो निर्णय हामीले गरिसकेपछि सरकारले मानेन, प्रधानमन्त्रीले मान्नुभएन भने सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्छ," पौडेलले भने ।

प्रचण्डलाई चेतावनी– जातको आधारमा राज्य बाँड्ने अधिकार छैन

बैठकमा शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई जातको आधारमा राज्य बाँड्छु भनेर बोल्ने अधिकार नभएको बताएका छन् । उनले प्रधानमन्त्रीको हैसियतमा यस्तो अभिव्यक्ति  शोभनीय नभएको टिप्पणी गरे । कोइरालाले आदिवासी जनजाति दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिमा आपत्ति जनाएका हुन् । 

“आदिवासी जनजाति दिवकसो दिन प्रधानमन्त्रीले भन्नुभयो– माओवादीलाई भोट दिनहोस्, जातीय राज्य दिन्छौँ । प्रधामन्त्री भएर यसरी बोल्ने अधिकार छैन । पार्टीको अध्यक्षको हैसियतले बोल्दा हुन्छ, तर प्रधानमन्त्री भएर यसरी बोल्न पाइँदैन,” उनले भने ।

राजनीति दुर्घटना हुने चेतावनी 

बैठकमा बोल्ने सांसदहरूले दलबाट सांसद बनेका सुनील शर्मा पक्राउ प्रकरणले राजनीतिक दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिएका छन् । सांसद सञ्जय गौतमले अहिलेको सत्ता गठबन्धन दुर्घटनाउन्मुख भएको पनि बताए । उनले सरकारले शर्मालाई कुनै सल्लाह नै नगरी पक्राउ गर्नु अनिष्टको संकेत भएको बताए ।

“सुनील शर्मा हाम्रो सांसद हो । हामी गठबन्धनमा छौँ । उहाँलाई पक्राउ गर्न पार्टीसँग छलफल छैन, सल्लाह छैन । कांग्रेसलाई थाहा छैन,” गौतमले बैठकमा भने, “यो अनिष्टको संकेत हो । कुनै पनि बेला कुनै पनि दुर्घटना हुन सक्छ । बिहानले दिनको संकेत गर्छ ।”

उनले यो विषय गठबन्धनको बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्टसँग उठान गर्नुपर्ने पनि बताए ।

उच्चस्तरीय छानबिन समितिको पक्षमा आवाज 

बैठकमा नेताहरूले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्नेमा जोड दिएका छन् । शेखर कोइरालाले नै सुन तस्करी प्रकरणमा छानबिन समिति आवश्यक रहेको बताएका छन् । 

“प्रचण्डजीको निजी सचिवालयमा काम गर्ने अर्थ मन्त्रालयको व्यक्ति सातदिन पहिले राजस्व अनुसन्धानको डीजी भएर जानुहुन्छ । सुन समातिन्छ, त्यसपछिका घटनाहरू हेर्नुहोस्,” उनले भनेका छन्, “सीआईबीलाई किन दिनुपर्‍यो, हामी नै सक्षम छौँ छानबिन गर्न भन्नुभयो । त्यसकारण उच्चस्तरीय छानबिन समिति गठन हुन आवश्यक छ ।”

सांसद प्रदीप पौडेल पनि सुन तस्करी प्रकरणमा उच्चस्तरीय संयन्त्र बनाएर यथासक्य चाँडो छानबिन अघि बढाउनुपर्ने पक्षमा उभिए । उनले संसद्को अवरोध हटाउन पनि कांग्रेसले नै नेतृत्व गर्नुपर्ने बताए ।

सरकारका उच्च अधिकारीहरूको संलग्नताबिना एयरपोर्टबाट १०० केजी सुन तस्करी गर्ने कल्पनासम्म पनि गर्न नसक्ने उनको तर्क छ ।

“एयरपोर्टबाट १०० किलो सुन ल्याउँदा अध्यागमन र सुरक्षा निकायको मिलेमतो नभएको कुरा कसैले पत्याउँदैन । यो उच्चस्तरकै संलग्नता नभएको हो भनेर यसै भन्न सकिँदैन,” उनले भने, “यसमा हामी गहन हुनुपर्छ । यो प्रकरणको तीन हप्ता बितिसकेको छ । तर छानबिन भएको छैन । यही विषयले संसद् अवरुद्ध छ । त्यसकारण हामीले आजै उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धानका लागि बाटो खुला गर्नुपर्छ, यसको कुनै विकल्पै छैन । यसको मात्रै होइन, अहिलेसम्मका सबै चर्चित भ्रष्टाचारका काण्डहरूको छानबिन गर्नुपर्छ ।”

महतको आक्रोश– निरन्तर लाञ्छना लगाउने र होच्याउन काम भयो 

बैठकमा पार्टी प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले आफूविरुद्ध नियोजित प्रहार भइरहेको गुनासो गरे । उनले आफ्नै पार्टीका सांसद सुनील शर्माले आफूमाथि निरन्तर लाञ्छना लगाउने, होच्याउने तथा व्यक्तिगत प्रहार गरेको बताए । महतले आफूले गल्ती गर्न चाहेको भए देश र पार्टी नै नरहने धारणा राखे ।

“मलाई लट्ठु, बेकामे मान्छे भनियो । कसले भन्यो किन भनियो म भन्दिनँ । पार्टीमा अनुशासन र मर्यादा छैन ? लोभलालच गर्ने भए कर निर्धारणमा म अनेक गर्न सक्थेँ । त्यसो गरेको भए, न देश रहन्थ्यो न पार्टी रहन्थ्यो ।”

उनले आफूमात्र होइन आफ्नै दाइ रामशरण महतको संस्कार र सभ्यतामा पनि प्रश्न उठाएको गुनासो गरे ।

“मेरो दाइ र मेरो संस्कार छ । कसैले मलाई मन पर्दैन मलाई पनि मन नपर्न सक्छ । म केटाकेटीदेखि पार्टीमा जोडिएर संस्कार र सभ्यता बुझेको छु । प्रतिक्रिया दिने भए धेरैको बारे धेरै कुरा भन्न सक्छु,” उनले बैठकमा भने, “ मेरो बारेमा माननीयजीले उठाएको प्रश्नमा भन्न सक्छु । मैले भनिसकेकु छु । उहाँलाई पक्राउ गर्ने टाइमिङमा आपत्ति हुन सक्छ । तर, उहाँले जुन कुरा राख्नुभयो त्यो ठिक भयो ? यदि यो विषयमा मेरो संलग्नता छ भने कुनै पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुहोस्, म एकछिन पनि यो कुर्सीमा बस्दिनँ ।”

महतको पक्ष लिँदै नेता वीरबहादुर बलायरले पनि सुनील शर्मालाई तथ्य र प्रमाणको आधारमा बोल्न सुझाव दिए । पार्टी अनुशासनमा बस्नुपर्ने भन्दै उनले उक्साहटमा नबोल्न अनुरोध गरे । 

“अर्थमन्त्रीलाई लगाएको आरोप प्रमाणसहित आउनुहोस् । म, हामी तपाईंसँग तपाईंको एजेन्डा बोकेर हिँड्छौँ । तर अरूको उक्साहटमा नबोल्नुहोस् । संसदीय मूल्य मान्यता मान्नुपर्दैन ?,” बलायरको प्रश्न थियो । 

शर्माले मिडियमा दिएको अभिव्यक्ति मान्य नभएको बलायरको भनाइ थियो । “तपाईंले सामाजिक सञ्जालमा मिडिया जुन ढंगबाट बोल्नुभएको छ, त्यो किार्थ मान्य छैन । कांग्रेस प्रमुख बिन्दुमा राखेर बोल्नुहोला,” उनले भनेका छन् ।

सँगै बलायरले अर्थ मन्त्रालयको काम चित्तबुझ्दो नभएको पनि बताएका थिए । 

संसद्‍मा बोल्न नदिए विद्रोह गर्ने शर्माको चेतावनी 

बैठकमा सांसद सुनील शर्माले संसद्‍मा प्रमुख सचेतक रमेश लेखकले बोल्न समय नदिएपछि बाहिर मिडियामा बोलेको बताएका छन् । बजेटको बेलामा चित्त नबुझेकाले विद्रोह गर्न खोजेको उनको दाबी छ । शर्माले संसद् बैठकमा बोल्न समय नदिए विद्रोह नै गर्ने चेतावनी दिएका छन् । 

“एउटा सांसदलाई पञ्चायत जसरी बोल्नै दिनुभएन भने त म विद्रोह गर्छु । म सभामुखसँग टाइम माग्छु, दिनुभएन भने उभिन्छु,” उनले बैठकमा भने ।

सांसद शर्माले आफूले गृह र अर्थमन्त्रीका विषयमा संसद्‍मा नीतिगत प्रश्न उठाएको बताए । अर्थमन्त्री महतसँग आफ्नो लिनुदिनु केही नरहेको पनि उनले बताए ।

“प्रकाशशरण दाइसँग केही छैन, लिनुदिनु । भन्सारबाट क्विन्टल सुन आउने, भारत पुग्ने, पुलिस प्रशासनको नेतृत्व गर्ने गृहमन्त्रीलाई थाहा नहुने,” उनले भने, “भन्सारमा आफ्ना स्टाफ पठाएर मेकानिजम राखेका छन्, अर्थमन्त्रीलाई थाहा नहुने भन्ने कुरा नेपाली जनताले पत्याउँछन् त ? यो कुुरिकुरी गर्ने विषय होइन ? मैले नीतिगत कुरा गरेको हो । प्रकाशशरण दाइले सुन तस्करी गर्नुभयो, उहाँ तस्कर हो भनेको होइन । गृहमन्त्रीले पनि तस्कारी गर्नुभयो भनेको होइन ।”

कांग्रेसको संसदीय दलको बैठक सोमबार बिहान ११ बजे फेरि बस्ने छ । भोलि नै महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङसहितले बोल्ने छन् । समापनमा संसदीय दलका नेता देउवाले मन्तव्य राख्ने नेताहरू बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  २०:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय