site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इन्द्रचोकदेखि चाँदनीचोकसम्म

श्रीमतीले अगाडिदेखि नै भन्दैआएकी थिइन् - छोरीलाई दिल्ली लानुअगाडि आकाश भैरवको दर्शन गराउनु भनेका छन् ज्योतिषले भनेर । मेरो गाँठो परेको मनले भने ज्योतिषको कुरालाई महत्त्व दियरहेको थिएन । टार्दै आइरहेको थिएँ । विसं २०७९ श्रावण १० गते जागिरबाट छुटेर घरभित्र पस्दापस्दै आमा कराउनु भयो - "कि देखाउनै हुन्नथ्यो । देखाएपछि भनेको मान्नुपर्छ । ... ल अहिले भए नि खुरुक्क गएर छोरीलाई दर्शन गराएर लेरा ।" 

भोलिपल्ट बिहानै‌ आठ बजे दिल्ली उड्ने तयारी थियो । म दोधारमा परेँ । ग्रह दशा हेरिदिनेलाई गाली गर्दै आमाको आदेश अवज्ञा गरौँ वा छोरीलाई भैरवको दर्शन गर्न लैजाऊँ ? घर छोड्ने बेला आमाको चित्त दुखाउन मन पनि भएन । छोरीलाई मोटरसाइकलको पछाडि राखेर म इन्द्रचोकतिर लागेँ । 

"गोकुलधाम सोसाइटी पनि लागिसक्यो है बाबा । गडा इलेक्ट्रोनिक्समा गएर जेठालाललाई भेट्नपर्छ।" तारक मेहताका उल्टा चस्मा छोरीको रोजाइको भारतीय टेलिशृङ्खला भएकाले रोजाइको कलाकार भेट्ने रहर छोरीलाई लाग्नु स्वाभाविकै थियो । तर, मैले छोरीलाई केही जबाफ दिइन । छोरीको हात च्याप्प समातेर इन्द्रचोकको भिड छिचोल्दै आकाश भैरवको दर्शन गराएँ । 

"इन्डियामा त यस्तो धेरै भिड छैन है बाबा ?"  निसास्सिएकी छोरीले सोधी । म केही बोलिन । झमक्क साँझ परेपछि बाउछोरी घरभित्र पस्यौँ । आमा चाहिँले मलिन अनुहारले स्वागत गरिन् ।

सत्तरी सालबाट छोरीको कानमा समस्या सुरु भएको थियो । नाम चलेका डाक्टरहरू प्रायः सबैले तुरुन्तै अप्रेसन गर्नुपर्ने बताएका थिए । तर, एकजना वरिष्ठ डाक्टरकोमन (नाम उल्लेख गर्न उचित लागेन) नाम लेखाएर लामो समय कुरेपछि पालो आयो । डाक्टरले तत्काल अपरेसन गरिहाल्नु नपर्ने र रोकथाम गरेर राख्न सकिने बताए । धेरै ठूलो आधार मिल्यो, अपरेशन गरिएन । छोरी अझै पनि उनै डाक्टरको निगरीमा छ । मेरो रोजाइका नाक, कान, घाँटीका नेपाली डाक्टरहरूमध्ये पहिलो नम्बरमा अझै उनै छन् । उनलाई भेट्न करिब एक महिनाअघि नाम लेखाएर पालो पर्खनुपर्छ । तर २०७२ सालमा अपरेसन नगरी नहुने अवस्था आयो, गरियो । उनैले अहिले फेरी अपरेसन गर्नुपर्ने बताए । 

“...के यो अपरेसन अन्तिम हो त ? फेरि पहिलेजस्तै समस्या दोहोरिने पो हो कि ? अपरेसन गरेर कानभित्रका हड्डी फाल्दै जानुको पनि त एउटा सीमा हुन्छ होला !” डाक्टरले स्पष्ट जवाफ दिन सकेकन् ।  त्यसपछि हामी भारततर्फ लागेका थियौँ । 

नेपाल एयरलाइन्सको जहाजले छोरीसहित हामी चार जनालाई दिल्लीतर्फ उडायो । दिल्ली जाने प्रसंग उठेदेखि नै छोरीका खुट्टा भुइँमा थिएनन् । झन् भुइँ नै छोडेपछि त कुरै भएन ।  हवाईजहाजभित्र छोरीको फुरफुर हेर्न लायक थियो । श्रीमतीको अनुहार भने मलिन थियो । भतिज आशुतोष सामान्य देखिन्थ्यो । मेरो दिमागमा भने २०७२ सालको चित्र नाचिरहेको थियो । 

छोरी छ वर्षकी थिई । नाकाबन्दी भर्खर सुरुभएको थियो । कानको अप्रेसनको लागि छोरीलाई अस्पताल भर्ना गरिएको थियो । "दायाँ कानबाट माथि डेढ इन्चसम्मको कपाल खौरिएर ल्याउनु " अपरेसन कक्षमा लानुअघि अस्पतालको आदेश‌ आयो । “थोरै कपाल काटौँ है छोरी ?” छोरीको सहमती मागियो । त्यती सजिलै किन मान्थी र छोरी ? मानिन । अविभावकले जे भन्यो त्यसैमा सजिलै तयार नहुनु बाल अधिकार नै हो । तर, कपाल खौरनैपर्ने बाध्यता थियो । बहिनी जुरुक्क बोकेर भान्जा सुदिप बाहिर निस्किए । आधा घन्टापछि काखीमा भाँडाकुँडीको पोको च्यापेकी छोरी बोकिएरै भित्र पसी । आवश्यकताबमोजिम छोरीको कपाल खौरिइएको थियो । श्रीमती जीले भित्तातिर फर्किएर आँखा पुछिन् । मलाई भने मार हान्नुअघि खसी पर्सिने चलन याद आयो । खसी पर्सनुलाई गर्दनमा खुकुरी प्रहार गर्ने स्वीकृतिको सूचक मान्ने हामी हिन्दुहरूको परम्परा छ । 

सात वर्षपछि फेरि दोहोर््याउन लागिएको कानको शल्यक्रिया पहिलेको भन्दा केही जटिल थियो । अब भाँडाकुँडी किनिदिएको भरमा फकिने उमेर पनि छोरीको बाँकी थिएन । तैपनि अझै हामी घुम्नकै लागि भारत जान लागेका हौँ र त्यही मौका उसको उपचारका गराउन लागिएको हो भन्ने भ्रम छोरीको मनमा सृजना गर्ने प्रयासमा थियौँ ।

दिल्ली एयरपोर्टमा अध्यागमनबाट निस्किना साथै हस्पल भन्ने स्वयंसेवी संस्थाका कर्मचारी हाम्रो सम्पर्कमा आए । हाम्रा लगेजहरू उनीहरूले नै संकलन गरे । उनीहरूकै गाडीमा राखेर हामीलाई गाजियाबादस्थित म्याक्स अस्पतालअगाडिको गेष्टहाउसमा पुर््याइयो ‌। हामीलाई हस्पलसँग जोडाउने काम हेल्थ कन्सर्न नेपालका डा. सुवास प्याकुरेल र पवित्राले गरेका थिए । 

एयरपोर्टदेखि गाजियाबादसम्म पुग्दा देखिएका दृश्यमा छोरी रमाउँदै थिई । नेपाल टेलिभिजनमा शनिबार हिन्दी चलचित्र हेरेर हुर्केका हामी र भारतीय च्यानलमा मोटु पत्लु र तारक मेहता हेरेर हुर्केकी छोरीलाई हिन्दी भाषा बुझ्न समस्या थिएन । ठुल्ठुला अक्षरमा लेखिएका होडिंग बोर्ड देख्दासाथ छोरी पढी हाल्थी । एउटा होडिंग बोर्डलाई छोरीले खुब चाख दिएर पढी । लेखिएको थियो - 'बेटी पढाओ, बेटी बचाओ ‌!' मैले भने - "हामी बेटी पढाउनेवाला होईनौ । घुमाउनेवाला हौँ ।" छोरीले तत्कालै जवाफ फर्काई - " कसले स्कुल लागेको बेलामा आउनु भन्या थ्यो त ! छुट्टीको बेला आएको भए भैहाल्थ्यो नि " । तर मेरो मन भन्दै थियो - “पहिले बचाऊ अनिमात्र पढाऊ ।”

दुई बजे हस्पलले खटाएको सहयोगीको साथमा म्याक्स अस्पतालमा भारतीय रुपैयाँ ७०० तिरेर डाक्टर भेटियो । हामीले नेपालबाट लगेका कागजात र छोरीको प्रारम्भिक जाँचपछि डाक्टरले छोरीको स्वास्थ अवस्थाका बारे अकल्पनीय कुरा गरे । तुरुन्तै भर्ना भएर अपरेसन गरिहाल्नु पर्ने सल्लाह दिए । भने - “आजै भर्ना हुनुस् । भोलि अपरेसन गरिदिन्छु । आइतबवाबाट मेरो फुर्सद छैन ।”

डाक्टरले बताएको छोरीको स्वास्थ अवस्थाले हाम्रो मनमस्तिष्कमा आँधिबेहेरी सृजना गरिदियो । दिमाग नै रन्थनियो । केही सोच्न सक्ने स्थिति रहेन । डाक्टरले सिटी स्क्यान र केही रगत परीक्षण लेखिदिएका थिए । हामीसँग सहयोगीको रूपमा रहेका हस्पलका‌ कर्मचारीले एक अस्पतालमा गरिएको सिटी स्क्यानलाई अरु अस्पतालले पनि स्वीकार गर्ने बताएपछि हामीले सिटी स्क्यान भने गरायौँ । रगत परीक्षण भने शल्यक्रियाको तत्कालअघि मात्र गर्नुपर्ने भएकाले गरिएन । 

एउटै डाक्टरको कुरा सुनेको भरमा उपचार सुरु नगरिहाल्ने सल्लाह भयो । आजै अहिले नै भर्ना हुनु भन्ने डाक्टरको कुरा पनि अलि स्वार्थ प्रेरितजस्तो लाग्यो । हामी नेपालबाटै केही डाक्टर र अस्पतालहरूका बारे अध्ययन गरेर गएका थियौँ । सहयोगीलाई भोलिपल्ट फोर्टिस अस्पताल लगिदिन अनुरोध गर्दै हामी छुट्टियौँ । 

साँझको समय हामीले अक्षरधाममा बिताउने निर्णय गर््यौँ । नवलपरासीमा चौधरी समूहले बनाएको शाश्वत धाम अक्षरधाम कै प्रतिछाया मानिन्छ । तर, अक्षरधाम दसौं गुणा ठूलो र भव्य छ । स्वामी नारायणको यस अद्भुत मन्दिरको अवलोकन पश्चात् श्रीमती जीको प्रतिक्रियाले सोच्न बाध्य बनायो - "भारत छ र हिन्दु धर्म बाँचेको छ । नेपालको जस्तो झल्लु पारा भए त ...."

साँझको पिरो खानाले छोरीको सातो लियो । अहिले त जसो तसो चल्छ । पछि अपरेसन गरेपछि छोरीलाई के खुवाउने ? आफ्नो स्वादअनुसारको पनि त चाहियो । आफै पकाउने भान्सासहितको गेष्टहाउसको आवश्यकता महसुस भयो । 

भोलिपल्ट हामी सिटी स्क्यानको रिपोर्ट बोकेर गुणगाँउस्थित फोर्टिस अस्पताल गयौँ । हामीलाई अन्तर्राष्ट्रिय कक्षमा विश्राम गराएर सहयोगी आवश्यक बन्दोबस्त मिलाउन लागे । त्यस कक्षमा थुप्रै अरबी र अफ्रिकी नागरिक थिए । एकैछिनमा सहयोगीले मलाई टिकट काउन्टरमा लिएर गए । डाक्टरको शुल्क सुन्दा सातो गयो, भारतीय रुपैयाँ - २ हजार २६० । नेपाली हिसाब लगाएँ । रुपैया ३ हजार ६१६ । शंका लाग्यो त्यसमा सहयोगीको कमिसन त समावेश छैन ? (दुई चार दिनपछि एक्लै टिकट काट्न गएँ । उत्ति नै भनियो । मैले तिरेको शुल्क सार्क राष्ट्रका नागरिकका लागिमात्र रहेछ । अन्य मुलुकका नागरिकले अझै बढी तिर्नुपर्ने रहेछ ।) डाक्टर अतुलकुमार मित्तलको चेम्बरमा पसियो । डाक्टरले सुरुमा सहयोगीसँग अंग्रेजीमा समस्या सोधे । हामीले हिन्दी बुझ्ने बताएपछि सिधै हामीसँग कुरा गरे । अझै छोरीसँग नै कुरा गरे । सुरुमा हिन्दी बोले पनि असहज भएपछि छोरीले अंग्रेजीमा जवाफ दिई । बीचबीचमा नेपाली शब्द भने घुसाइरहेकी थिई । डाक्टर पनि अनौपचारिक थिए । टेबुलमा अडेस लागेर भन्दै थिए - “तुम तो पशुपतिनाथके देश से आई हुई बेटी हो.... “ करिब दस मिनेट छोरीसँग रमाइलो पारामा कुरा गरे । त्यसपछि हामीतर्फ फर्किए । छोरीका केही सामान्य लक्षणहरू सोधे जुन हामीले याद गरे पनि महत्त्व दिएका थिएनौ । डा. मित्तलले भने, “...याद गर्नु भएको छ? छोरीको मुख जुनबेला पनि खुल्ला हुन्छ । धेरैबेर दुई ‌ओठ जोडेर बस्नै सक्दिन । अझै मुख बन्द गरेर हिँडाउनुस् अलिकति पनि हिँड्न सक्दिन । थाकिहाल्छे ।” डा. मित्तलले भेटेको दसै मिनेटमा बिना कुनै परीक्षण समस्याको जरो समात्दै निष्कर्ष सुनाए - “ उसको नाक र कानको बीचमा हुने ग्रन्थी एडिनोइड बढेको छ । त्यसले गर्दा सधैँ नाक बन्द रहन्छ । सास नपुग्ने कारणले मुख सधैँ खुल्ला रहन्छ । यसैको कारणले कानमा समस्या आएको हो । पहिले अपरेशन गरेर एडिनोइड निकाल्नुपर्छ । त्यसपछि कानको समस्या बढ्न रोकिन्छ र कम हुँदै जान्छ । सायद कानको अपरेशन गर्नै नपर्ने पनि हुनसक्छ । डाक्टरले इन्डेस्कोपीको पाईप करिब एक बित्ता छोरीको नाकभित्र छिराए । नाकको भित्री अवस्था भिडियोमार्फत देखाए । दुवैतिर मासुका डल्ला देखिए । एडिनोइडका ती दुई डल्ला नै समस्याका जड रहेछन् । 

सुरुमा सेवा शुल्क सुनेरै तर्सिएका हामी डा. मित्तलका सामु नतमस्तक भयौँ । नेपालकै सर्वोत्कृष्ट डाक्टरभन्दा  दस गुणा ठूलो रहेछ डा. मित्तलको टाउको र त्यसभित्रको खुबी । एक किसिमका रावण नै रहेछन् । नेपालमा पैसा तिरेरै पनि भनेको बेला भनेको डाक्टर भेट्न नपाउने समस्या रहेको छ । त्यसमाथि धेरै बिरामीले रोगको निदान हुन नसकेकै कारणले ज्यान गुमाउनु परिरहेको छ । जनस्वास्थका क्षेत्रमा भारतले गरेको प्रगति हामी नेपालीका लागि पनि वरदान बनेको छ । तर आर्थिक रुपमा सक्षमहरूका लागिमात्र ।

हामी खुसी हुँदै दुईवटा विकल्पहरू लिएर डाक्टर अतुलकुमार मित्तलको चेम्बरबाट निस्कियौँ । एडिनोइड झिक्ने अपरेसन त्यहीँ गर्ने वा  नेपाल फर्किएर पुरानै डाक्टरबाट गराउने । त्यो खुसीको अवसरमा हामीले बजार घुम्ने विचार गर््यौँ। श्रीमती जीले भनिन् - “ जाऊँ चाँदनीचोकतिर । साडी हेरौँ । फोर्टिस अस्पताल सामुन्ने रहेको हुडा सिटी सेन्टरबाट मेट्रो रेल चढेर हामी पुरानो दिल्लीस्थित चाँदनीचोक पुग्यौँ । चाँदनी चोकको भिड देख्दा तर्सिएकी छोरीले मेरो हात च्याप्प समाउँदै भनी - “आम्ममामा कस्तो भिड । म त हराउँछु होला बाबा !"


जोरपाटी, काठमाडौँ

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro