site stats
बाह्रखरी :: Baahrakhari
देश
शिक्षासम्बन्धी ऐनको विरोधमा निजी विद्यालय संगठनको प्रदर्शन

काठमाडौं । शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने गरी सरकारले शिक्षासम्बन्धी ऐन अघि बढाउन खोजेको भन्दै निजी विद्यालय संगठनहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

विद्यालय क्षेत्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने भन्दै नेसनल प्याब्सन, हिसान र प्याब्सनले बिहीबार संयुक्त रुपमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रदर्शनमा सहभागीहरुले शिक्षामा समान अवसर, अवसरमा समान पहुँच, विधेयक कसले र कसका लागि बनायौँ ?, विभेदको अन्त्यका लागि शिक्षा हो भने शिक्षामा विभेद किन गर्छौँ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रस्तावित विधेयकले कम्पनीमार्फत सञ्चालित विद्यालयहरूलाई पाँच वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरेको यसले निजी लगानीको शिक्षा क्षेत्र धराशयी हुने भएकाले विरोध गर्नुपरेको प्याब्सनका अध्यक्ष डीके ढुंगानाले बताए ।

गुठीमा भएका विद्यालयहरुले नै दुःख पाएको अवस्था कम्पनीमा रुपमा रहेका विद्यालयलाई गुठीमा रूपान्तरण गर्न उचित नहुने उनले बताए ।

शिक्षासम्बन्धी विधेयकप्रति विरोध जनाउदै उनीहरुले चरणबद्ध आन्दोलन नै घोषणा गरेका छन्, जसअनुसार साउन २६ गते अन्तरक्रिया गर्ने, २७ गते समीक्षा गर्ने र २८ गते देशैभर अनिश्चितकालीन विद्यालय बन्द गर्ने उनीहरुले जनाएका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्