site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
निजी विद्यालयलाई सरकारले खुम्च्याउनै खोजेको हो ? के भन्छन् विज्ञ  ?

काठमाडौं । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० मन्त्रिपरिषद्‍बाट पारित भएको छ । यस विधेयकले अन्तिमरूप लिइसकेको भने छैन । तर, विधेयकमा भएका प्रावधानलाई लिएर यतिखेर निजी विद्यालय सञ्चालकहरू चरम असन्तुष्टि पोखिरहेका छन् । 

प्याब्सन, एन प्याब्सन र हिसानले संयुक्त रूपमा यसको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरिसकेका छन् । उनीहरूले विधेयकका सातवटा व्यवस्थालाई लिएर आफ्नो विमति राखेका छन् । 

विधेयकको दफा ४ मा भएको हाल सञ्चालनरत संस्थागत विद्यालय ऐन प्रारम्भ भएको पाँच वर्षभित्र शैक्षिक गुठीमा रूपान्तरण हुनुपर्ने विषयमा निजी क्षेत्रको सबैभन्दा धेरै आपत्ति छ । यो बुँदा शिक्षामा निजी क्षेत्रको लगानी र सेवामूलक बनाउने पाउने संवैधानिक व्यवस्था विपरीत रहेको उनीहरूको ठहर छ । अहिलेकै अवस्थामा नयाँ बन्ने ऐनको मातहतमा रहेर विद्यालय सञ्चालन गर्न पाउनुपर्ने उनीहरूको माग छ । 

Dabur Nepal
NIC Asia

त्यसैगरी विधेयकको दफा १५ मा उल्लेखित निजी विद्यालयले स्थानीय तहले तोकेको शीर्षक र सीमाभित्र रही शुल्क लिनुपर्ने विषयमा पनि उनीहरूको विरोध छ । यसमा राष्ट्रिय मापदण्डले निर्धारण गरेबमोजमका शीर्षक र सीमाभित्र रहेर शुल्क लिन पाउने व्यवस्था हुनुपर्ने उनीहरूको माग छ । 

त्यस्तै, दफा १७ मा रहेको विद्यालय व्यवस्थापन समिति स्थानीय स्थानीय कानुनअनुसार हुनुपर्ने उल्लेख छ । तर, यो बुँदामा संघीय शिक्षा ऐनले नै विद्यालय व्यवस्थापन समितिको संरचना तोक्नुपर्ने उनीहरूको माग छ । 

विधेयकको दफा २३ मा रहेको राष्ट्रिय पाठ्यक्रम परिषद् र दफा २८ को बोर्डको गठनमा निजी विद्यालयको छाता संगठनको प्रतिनिधित्व हुनुपर्ने उनीहरूको माग छ । 

दफा १४० मा रहेको छात्रवृत्तिसम्बन्धी नीति मापदण्ड विभेद्कारी रहेको निजी शैक्षिक संस्थाहरूको ठहर छ । यसमा मापदण्ड पूरा भएका सबैखाले विद्यार्थीलाई समान रूपमा छात्रवृत्ति वितरण गर्ने व्यवस्था हुनुपर्ने, आरक्षणका नाममा वितरण गरिने छात्रवृत्तिको नियमावली खारेज हुनुपर्ने माग उनीहरूको छ । त्यस्तै, निजी विद्यालय सञ्चालकले ११ वटा विश्वविद्यालयमा छात्रवृत्ति पाउन ६ देखि १० सम्म अनिवार्य सामुदयिक विद्यालयमा अध्ययन गरेको हुनुपर्ने भन्ने व्यवस्था खारेज हुनुपर्ने माग अघि सारेका छन् ।

दफा १४७ का दुईवटा उपदफामा शिक्षक तथा कर्मचारीको नियुक्ति, पदपूर्ति तथा न्यूनतम पारिश्रमिक निर्धारणको अधिकार स्थानीय तहलाई समेत बाँडिएकोमा उनीहरूको विरोध छ । यो अधिकार श्रम ऐनबमोजिम हुनुपर्ने उनीहरूको सुझाव छ । 

के भन्छन् विज्ञ ? 

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० तत्काललाई निजी शैक्षिक क्षेत्रप्रति अनुदार देखिए पनि दीर्घकालीन रूपमा राज्यलाई बलियो बनाउने प्रकृतिको भएको शिक्षाविद्हरू बताउँछन् । 

पाँच वर्षभित्र निजी शैक्षिक संस्थाहरूलाई गैरनाफामूलक बनाई गुठीमार्फत सञ्चालन गर्ने विधेयकको व्यवस्था संविधानको मर्म अनुरूप रहेको तर्क राख्छन्, शिक्षाविद् राजकुमार ढुंगाना । 

“अहिले पाँच वर्षको व्यवस्था गर्न लगिएको छ । संविधानले तोकेको आधारभूत शिक्षाको अधिकार अनुसार आगामी १० वर्षभित्र कम्तीमा कक्षा आठसम्मको शिक्षाको जिम्मा सरकारले नै लिनुपर्छ । अहिले निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरूको योगदानलाई सम्मान गर्दै ती संस्थाहरू सरकारकै मातहतमा ल्याउनुपर्छ,” उनी भन्छन् । 

अहिले भइरहेको निजी र सरकारी विद्यालयको शिक्षाले भाबी पुस्तामा ठुलो विभेदको खाडल ल्याउने उनको बुझाइ छ । हाल निजी विद्यालय सञ्चालकहरूलाई ‘डाइभर्ट’ गरी उच्च शिक्षामा लगानी गर्ने वातावरण सरकारले बनाउनुपर्ने उनको तर्क छ । 

तत्कालीन अवस्थामा निजी विद्यालयले धानिरहेको शिक्षालाई सरकारीकरण गर्न असम्भवजस्तो देखिए पनि सरकारले चाहेमा यो काम गर्नसक्ने ढुंगाना बताउँछन् । 

अर्का शिक्षाविद् डा. विद्यानाथ कोइराला गुठीमार्फत सञ्चालन गर्ने भनिए पनि बिनानाफा गुठी चल्न नसक्ने भन्दै अहिलेको व्यवस्थालाई परिमार्जन गर्दै निजी शैक्षिक संस्थाहरूको नाफाको सीमितता तोकिदिनुपर्ने बताउँछन् । अहिले निजी क्षेत्र र सरकारबीच भएको मतभेद ठुलो ‘इस्यू’ नभएको भन्दै राजनितिक पार्टीहरूबीचकको संवादबाट निजी क्षेत्रका मागहरू सम्बोधन गर्ने वातावरण बनाउनुपर्ने उनको तर्क छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  २१:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro