काठमाडौं । महिला वा पुरुषका कारण प्राकृतिक प्रक्रियाबाट गर्भाधान हुन नसकेको अवस्थामा गराइने कृक्रिम गर्भाधान हो आईभीएफ (इनभिट्रो फर्टिलाइजेसन) । यो गर्भाधानका लागि प्राकृतिक र अन्य उपचारहरु प्रभावकारी नभइसकेको अवस्थामा अन्तिम विकल्प भएको बताउँछिन् वरिष्ठ स्त्रीरोग तथा ‘टेस्टट्युब बेबी’ विशेषज्ञ डा. नूतन शर्मा ।
उनका अनुसार भ्रुणबाट शिशु बन्ने महिलाको गर्भाशय/ट्युब दुवै बन्द भएको अवस्थामा प्राकृतिक गर्भाधान हुन सक्दैन । महिलाको उमेर ३५/४० पुगेपछि डिम्बाशयमा अण्डाको मात्रा कम हुन्छ र गर्भाधान हुन गाह्रो हुन्छ ।
डिम्बाशयमा सिस्ट, पाठेघरको ट्युमर तथा अन्य संक्रमण भएमा पनि गर्भाधानमा समस्या देखिन्छ । त्यस्तै, महिलामा हुने ज्यादै मोटोपना पनि अर्को एक कारण हो, जसले गर्दा डिम्बाशयमा अण्डा भए पनि नफुट्ने समस्या हुन्छ ।
यसबाहेक अर्को पाटो छ– पुरुषमा हुने समस्या । सामान्य गर्भाधान नहुनुमा २० देखि २५ प्रतिशत केसमा पुरुषमा समस्या देखिन्छ । त्यो भनेको शुक्रकिटमा हुने कमजोरीहरु हुन् । जस्तैः शुक्रकिटमा बच्चा बन्नसक्ने तत्वहरुको संख्या, त्यसको मात्रा, तिनको गति, आकार आदि ।
प्राकृतिक गर्भाधान नभएका सबैलाई आईभीएफ चाहिन्छ ?
डा. शर्माका अनुसार सामान्य योजनामा सुरुमै आईभीएफ गरिँदैन । सुरुमा महिला, पुरुष दुवैको हर्मोन ‘लेभल प्रोफाइल’, महिलाको ट्युब ठिक छ कि छैन, पाठेघरको अवस्थालगायत सबै परीक्षण गरिन्छ । ट्युब ब्लक नै भएको अवस्थामा धेरैजसो आईभीएफ पद्दति अपनाइन्छ ।
सबै स्वास्थ्य अवस्था सामान्य छ भने समय लिएर पर्खिनु पर्छ । आईभीएफ गर्नु नपर्ने दम्पतीलाई ओआई (ओभुलेसन इन्डक्सन) विधि छ, जसमा महिनावारीको दुई दिनपछि अण्डा बनाउने औषधि दिने गरिन्छ ।
यो विधि तीन, चार साइकलसम्म भएन भने आईयूआई (इन्ट्रायुटेरिन इन्सेमिनेसन) प्रक्रियामा लगिन्छ । आईयूआई पुरुषमा हुने समस्यामा अपनाइने विधि हो । यसमा अण्डा निस्काशन हुने बेलामा शुक्रकिट लिएर त्यसमध्येको राम्रोलाई प्रोसेस गरी पाठेघरमा राखिन्छ ।
यो पद्दति तीनपटकसम्म पनि अपनाउँदा गर्भाधान नभए अन्त्यमा मात्रै आईभीएफमा जाने हो । यो प्रक्रियामा डिम्ब र शुक्रकिटलाई ल्याबमा विभिन्न प्रक्रिया गरी महिलाको ट्युबमा राखी गर्भाधान गराइन्छ, यसैलाई टेस्टट्युब बेबी भनिन्छ ।