काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको पूर्वधार विकास समितिको बैठकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को ‘प्रेजेन्टसन’मा सांसदले आपत्ति जनाएका छन् ।
मंगलबारको बैठकमा इप्पानका उपमहासचिव प्रकाश दुलालले प्रस्तुत गरेको ‘प्रेजेन्टेसन’मा नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आपत्ति जनाए । प्रेजेन्टेसनकै समयमा रोकेर उनले नियमापत्ति गरेका हुन् ।
दुलालले आयोजना बनाउँदा नेता र कार्यकर्ताले अवरोध गरेको बताएका थिए । “माथि नेताले आयोजना बनाउन सहयोग गर्छु भन्नहुन्छ, तर उहाँहरूले नै कार्यकर्ता लगाएर अवरोध गर्नुहुन्छ,” दुलालले भनेका थिए ।
लगत्तै सांसद बजगाईंले सबैलाई एउटै डोकोमा हालेर तुलना गर्न नहुने बताए । “सबैलाई एउटै बास्केटमा हाल्ने प्रयास नगरौँ । तपाईंको प्रेजेन्टेसनमा फ्रस्टेसन देखियो । सम्मानित सदनमा आएर यस्तो आरोप लगाउने ?,” बजगाईंले भने ।