
काठमाडौं । मुग्लिन–मलेखु सडक विस्तारको काम चितवनखण्डमा थालिएको छ । आइतबारदेखि चितवनखण्डको इच्छाकामना गाउँपालिका–३, चुम्लिङटारबाट सडक विस्तारको काम अघि बढाइएको हो ।
उक्त खण्डको धादिङको मलेखुबाट पनि यसअघि काम सुरु भइसकेको छ । मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम बर्खाको समयमा पनि निरन्तर भइरहेको नागढुंगा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का प्रमुख किरण कार्कीले जानकारी दिए ।
नागढुंगा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । ३९ किलोमिटर लामो सो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआईसीजी जेभीले सडक विस्तार र स्तरोन्नति गरिरहेको कार्कीले बताए ।
पहिलो चरणमा मलेखुदेखि चितवनको चुम्लिङटारसम्म विस्तारको काम भइरहेको छ । शर्मा जेडआईसीजी जेभीका शिवप्रसाद लामिछानेले चैतदेखि यो सडकखण्डको काम तीव्र गतिमा गरिरहेको बताए ।
उनले बर्खाको समयमा निर्माणको कामलाई जारी राखेको बताए । “वर्षाले असर नगर्ने ठाउँमा काम भइरहेको छ,” उनले भने, “पहिरो नजाने ठाउँमा भित्तो काट्ने काम भइरहेको छ ।”
सडक नभासिने ठाउँमा पर्खाल निर्माण भइरहेको छ । “निर्माण सुरु गरेदेखि काम रोकिएको छैन । बर्खामा त काम गरिरहेका छौँ, लक्ष्यअगावै निर्माणको काम सक्ने योजना छ,” उनले भने ।
उनले सडक निर्माणका क्रममा वन र विद्युत्को समस्या नआए समयमै काम सम्पन्न हुने बताए । चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति गरिनेछ । सडक विस्तार र स्तरोन्नतिपछि न्यूनतम नौ मिटर कालोपत्र गरिनेछ ।
बजार क्षेत्रमा भने चारदेखि ६ लेनको सडक निर्माण गरिने कार्कीले जानकारी दिए । बजार क्षेत्रमा फुटपाथ, डिभाइडर र बत्तीको पोल समेत निर्माण गरिनेछ ।
यो खण्डमा पुल निर्माणका लागि सोही कम्पनीसँग सम्झौता भएको छ । काम पनि सँगै सुरु भइसकेको छ । मलेखुसम्म ६ पुल निर्माण गरिनेछ । गोमती, चरौदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा नयाँ पुल बनाइनेछ ।
यो खण्डमा १० ठाउँमा आकाशे पुल निर्माण गरिनेछ । मलेखु, शीतलबजार, बेनीघाट, विशालटार, माझीमटार, फिस्लिङ, कुरिनटार, लेवाटार, रमाइलोडाँडा र मुग्लिनमा आकाशे पुल निर्माण गरिनेछ । आयोजनाको यो खण्ड चार अर्ब ८० करोड रुपैयाँको लागतमा विस्तार र स्तरोन्नति गर्न लागिएको हो । केही ठाउँमा रुख काट्न बाँकी छ । यो खण्डमा करिब ३५० रुख काटिनेछ ।
“यो सडकखण्ड निर्माण गर्दा पहाड काट्नेभन्दा पनि नदी किनारमा पर्खाल उठाउने कुरालाई प्राथमिकता दिएका छौँ,” आयोजना प्रमुख कार्कीले भने, “पहाड काट्दा सधैँ पहिराले दुःख दिने सम्भावना रहुन्छ ।”
सडक विस्तार र स्तरोन्नतिपछि कम्तीमा सडक २० वर्ष टिक्ने गरी डिजाइन गरिएको आयोजनाले जनाएको छ ।
संघीय राजधानी काठमाडौं प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग भएका कारण पनि यसलाई निर्धारित समयमै सम्पन्न गर्नुपर्ने दबाब छ । नागढुंगा–नौबिसेखण्ड र नौबिसे–मलेखुखण्डमा पनि सडक विस्तारको काम भइरहेको छ ।
विश्व बैंकको आर्थिक सहयोगमा उक्त राजमार्ग विस्तारको काम थालिएको हो । यसका लागि सरकार र विश्व बैंकबीच सन् २०२० मा सम्झौता भएको थियो । रासस