site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ढाडे
SkywellSkywell

बाको नागरिकताको प्रमाणपत्रमा नाम ढालबहादुर कामी लेखिएको छ । आमाकोमा मसली कमिनी । उनै कामी र कमिनीकी जेठी छोरी म मन्दिरा विश्वकर्मा ।

कमजोर आर्थिक अवस्थाका कारण म सधैँ स्कुल जान पाइनँ । एउटा भाइ, दुइटी बैनी अनि मेरा लागि स्कुल÷कलेजमा चाहिने अति आवश्यक खर्च जोहो गर्न बाआमाले बाह्रैमास हाड घोट्नुपर्यो । बनीबुतो गर्नुपर्‍यो ।

चैत–वैशाखको उखरमाउलो गर्मीमा मेरी आमाले आरनको खलाँती तानिन् र बाले बडेमानको घनले फलाम पिटेर औजार बनाए । रगतै जम्ने पुस–माघको ठण्डीमा अर्काको भारी बोक्न गए ।

KFC Island Ad
NIC Asia

मिठोमसिनो खान चाडबाडै पर्खनुपर्यो । कोदालाकोदाली बनाएको वार्षिक बाली उठाएर पेट भर्यौं । यति हुँदाहुँदै पनि बाआमाले हामीलाई पढ्न पठाउनुभयो ।

घरको जेठो सन्तान भएकाले ममा जिम्मेवारी बढी हुने भइहाल्यो । मैले बिदाको दिन बिस्ट, साहु अनि कथित उपल्लो जातको घरमा काम गरेर बाआमालाई भरथेग गरेँ ।

Royal Enfield Island Ad

एसएलसीपछि सदरमुकामको सरकारी एउटा अड्डामा पियनको काम मिल्यो । सरकारी अड्डामा काम भेट्नु हाम्रा लागि ठूलो कुरा थियो । त्यहाँ काम गर्दै मैले त्यहीँको क्याम्पसमा बिहान–बहान पढेर स्नातक सकेँ । अहिले म स्नातकोत्तर पढ्दै छु ।

म अलि अन्तर्मुखी छु । मलाई आफ्ना समस्या अरूलाई भनिहाल्न मन लाग्दैन । जे हुन्छ, स्वीकार गर्ने गरी मनमै गुम्स्याएर राख्ने गरेकी छु । नबोलीकनै मान्छेको चरित्र नियाल्नु मेरो विशेषता हो ।

मैले काम गरेको सरकारी अफिस मालदार नै छ । वर्ष दिनमै मभन्दा माथिका कर्मचारी मालामाल भएर सरुवा गएका छन् । म ती तमाम कुकृत्यको साक्षी भएर काममा दलिइरहेकी छु ।

मैले काम सुरु गरेको केही महिनामा त्यो अड्डामा अर्को पियन भर्ना भयो । उसको नाम रूपलाल हो । थर अधिकारी । ऊ पनि अन्तर्मुखी नै छ । तर, हामीबीच निकै अन्तरंग कुराकानी हुन्छ । हामी आफ्ना समस्या एकार्कालाई बताउँछौँ ।

०००

मीनप्रसाद हाकिमले एक दिन मलाई भन्यो, ‘मन्दा, भरे बेलुका मेरो क्वाटरमा आऊ है !’

मैले सोधेँ, ‘किन र सर ?’

उसले भन्यो, ‘तिम्रो पढाइअनुसार जागिर भएन । तिमीलाई सँगै राखेर म कतै भनसुन गरिदिउँला । यसो बेलुका देखा पर न ।’

‘मलाई कसैको भनसुनमा जागिर खानु छैन सर, तपाईंले यस्तो कष्ट नगर्नु होला’ भन्न मुखमै आइसकेको उत्तर मैले रोकेर भनेँ, ‘हुन्छ नि सर, आउँला कुनै दिन ।’

बाक्लो दूधको तर मारेर खान्न पल्केको यो ढाडेले मेरो मायाले यसो भनेको हो र ! मेरो रूप र यौवन देखेर लट्ठिएको यो मलिस्वाँठ । इज्जत सानाठूला सबैको हुन्छ भन्ने ंकुरा यो ढाडेलाई थाह नभएको होला र !

म मेरै योग्यता र क्षमताले जागिर खान्छु नि, कसैको भनसुन चाहिँदैन मलाई । मुखले चाहिँ नारी अधिकार र सम्मानका कुरा गर्छन्, तर भित्र भने कालैकालो छ !

यी ढाडेहरूलाई मेरो कामभन्दा फुलेको यौवन प्यारो छ । एउटा ढाडेले मात्र आँखा लगाउने हो र ! सबै ढाडे एकै ड्याङका मुुला हुन् । के गर्नु, हाकिम भनाउँदो नकचरो त गिद्धजस्तो छ, आइमाईको गन्ध सय हात परैबाट चाल पाउँछ ।

देशमारा, स्वार्थी, कामुक भतुवा ! खुब मेरो समस्या देख्ने भएको ! आफ्नो स्वास्नी साथमा छैन अनि दुनियाँ चेलीको अधरमा आँखा गाड्छ । गरिब र बेरोजगारको दुःखपीर बुझ्ने भए ‘गरिबसँग विश्वेश्वर’को पैसा वर्षभरि बाँडफाँट नगरी असार लागेपछि कागजी घोडा दौडाएर मिलेमतोमा कमिसन कुम्ल्याउँथ्यो र !

हाकिमको टेबुलमा कागजमै योजना बन्छ । कागजमै ओभरसियर हिँड्छ । इन्जिनियर पुग्छ । कागजमै पास हुन्छ । अनि सुरु हुन्छ, भागबन्डाको कुटिल राजनीति । राजनीतिक पार्टीलाई कति, कर्मचारीलाई कति, हाकिमदेखि खर्दारसम्मलाई हैसियतअनुसार भाग लाग्छ । के गर्नु ? देश  खाने त यिनै हुन् नि !

आखिर जो सरकारमा गए पनि यस्तै रहेछ । जनताले के फरक महसुस गर्न पाएका छन् र ! देशको ढुकुटीमा यिनीहरूको हालीमुहाली । खाने बेलामा खर्दारदेखि हाकिमसम्म एकमुख, एकमत हुन्छ, ठूला ढाडे र साना ढाडेहरूको ।

आखिर हामीले सधैँ ढाडेकै शासन भोग्नुपर्ने रहेछ । गरिब त चुसेचुसे, विकास त सकेसके, देश त खाएखाए, फेरि मेरो यौवनमाथि किन गिद्धे आँखा ? मलाई देख्नासाथ ढाडेका आँखा एकोहोरिन्छन् । एक दिन मात्र हो र ! सधैँ उस्तै ।

मेरै स्तरको सहयोगी कर्मचारी रूपलाल मसँग बोल्यो भने त्यो भातमारा खर्दार रिसाउँछ । गरिबमारा सुब्बा रिसाउँछ । जनतामारा अधिकृत रिसाउँछ । देशमारा हाकिम रिसाउँछ ।

के मेरो यौवन यी ढाडेकै आँखामा मोहनी लाग्न फुलेको हो र ? मन मिल्छ, स्तर मिल्छ, कुरा मिल्छ, काम मिल्छ भने म रूपलालसँग किन नबोल्नु ! वर्गीय हिसाबले रूपलाल मेरो वर्गमित्रु हो । वर्गै नमिल्ने यी ढाडेसँग किन म खुसामत गरूँ ! बरु, यिनीहरूसँग वर्गसंघर्ष हुनसक्छ ।

त्यो घोप्टे चस्मा लगाउने भूपाले शाखा अधिकृत झन् माप्पाको छ । जे चाहिए पनि किरिङकिरिङ घण्टी बजाउँछ अनि भन्छ, ‘ए मन्दा, यता आऊ ।’

‘केही काम छ सर ?’ भनेर सोध्दा भन्छ, ‘एकछिन यहीँ बस न, तिमी अफिस आयौ कि आइनौ भनेर सोधखोज गरेको नि ! तिमी अफिस नआउँदा अफिसै अँध्यारो हुन्छ ।’

अझै तल गिरेर भन्छ, ‘अलि वरै बस न, किन लजाएकी ? मसँग पनि लजाउने हो ! यसैपालि अफिसमा कम्प्युटर अपरेटरको अस्थायी दरबन्दी आउँछ, जसरी पनि त्यसमा तिमीलाई जागिर ख्वाउँछु, हाकिम सापसित कुरा भइसक्या छ । त्यो रूपलालले तिमीलाई धेरै हेपेको छ, काम जति तिमीलाई लगाउँछ अनि आफू गफ छाँटेर बस्छ । तिमी अपरेटर भएपछि देख्छ त्यसले बाउको बिहे ! त्यतिखेर तिमीलाई त्यसले ‘तिमी’ भनेर हेप्न सक्छ ? त्यो बेला तिमी ‘मन्दिरा म्याम’ हुन्छ्यौ । मेरो कुरा कस्तो लाग्यो कुन्नि !’

प्वाक्क मुखमा हान्नुजस्तो ! साला दोस्रो ढाडे ! केटी देखेपछि सबै बिर्सन्छ । होटेलमा चिया पिउँदा कोही दलित बस्यो भने कि चिया छोडेर हिँड्छ कि अगाडि नै पर अर्को टेबुलमा जान्छ ।

मेरो फुलेको यौवन देखेपछि बिर्सन्छ सारा जातीय तगराहरू । अनि, जात भनेको के रहेछ त ? यी ढाडेहरू नमासेसम्म जातीय विभेद कहाँ मेटिएला र !

एक दिन मलाई खुबै क्रान्तिकारी भएर अर्तीउपदेश दिँदै भन्यो, ‘हेर मन्दिरा, संसारमा दुई जाति मात्र छन्, स्त्री जाति र पुरुष जाति । तिमीले आफ्नो जातमा हीनताबोध हैन, गर्व गर्नुपर्छ । विश्वकर्मा भनेको विश्वमै कर्म गर्ने मानिस हुन् ।’

अफिसमा काम केही हँुदैन, गफ चुट्दै भन्छ, ‘मन्दा, चिया पिउन जाऊँ ।’

चिया पिउने त्यसको बहानाभित्र गोमन सर्प लुकेको छ, थाहा छैन र ! म महाभारतकी मत्स्यगन्धा, कुन्ती वा द्रौपदी त होइन नि ! अर्काको यौवन फुलेको देख्दैमा घुटुघुटु थुक निल्नु हुन्छ ? म यिनीहरूसँग टाँसिएर हिँडे, सँगै बसे सबै खुसी हुने, अपराधीहरू !

त्यो ढुकुटी फोरुवा लेखापाल झन् हँुदै नहुने छ । बेलाकुबेला चिया मगाउँछ अनि जिस्किन्छ, ‘पैसा तिमीले तिर्ने होला नि, हगि मन्दिरा !’

लाज पचेको नकचरो कहाँको । हाकिमसँग मिलेर खानेपानीको त्यत्रो पैसा झ्वाम पार्यो । जिल्लामा आएको दुई वर्षमा काठमाडौंमा चारतले घर बनायो । अर्को घडेरी किन्यो । तलबबाट कहाँ तेत्रो हुन्छ ?

अनि, मलाई चाहिँ भन्छ, ‘चियानास्ताको पैसा तिरौली नि मन्दिरा ! एकको चार बनाएर लेऊ न, म बिल सदर गर्दिन्छु । अलि निकै भएपछि चेक काटेर दिउँला, होटेलवालालाई लागेको हिसाब दिनू, अरू आफू राख्नू । दायाँबायाँ नगरे त कहाँ व्यवहार चल्छ !’

हैन, मलाई त्यो जुँगामुठे लेखापालले के सोचेको ! के म दुई कप चियामा देश लुट्छु ? आफूचाहिँ लाखमा लुट्छ । करोडमा लुट्छ । मलाई एक कप चियासित देश लुट्न लगाउँछ ।

एक दिन म रूपलालसित आफ्ना दुःख पोखिरहेकी थिएँ, हामी अलि बढी नै संवेदित बनेका थियौँ । हुन्छन् नि, एउटै पेसा, एउटै स्तरका मान्छेहरूको उस्तैउस्तै कथाव्यथा ।

हामीले गफगाफ गर्दा कत्रो डाह चलेछ ! भुँडे सुब्बा मसँग झर्किएर भन्छ, ‘मन्दा, के चाला हो ? छिल्लिएर बस्ने कि फाइल हाकिमकोमा लैजाने ! आफ्नो काम के हो तिमीलाई थाहा छैन ?’

त्यति भन्दा पनि म एक शब्द बोलिनँ । मेरो नबोल्ने बानीको फाइदा यिनीहरूले लिइरहेका त हैनन् ! मलाई झोक चल्दै आएको छ, न्यून तलबी जागिरको के माया ! कुन दिन यी ढाडेको सारा पोल खोलेर हिँड्छु अनि चाल पाउँछन्, देशको ढुकुटी फोरुवाहरू !

झन् प्रशासन फाँटको खर्दार यति कामुक छ, जँड्याह, बाह्रमासे कहाँको ! रूपलाल र म एउटै ठाउँमा देख्यो भने भित्रभित्रै मुर्मुरिन्छ । अनि, एक्लै भएको बेला पारेर भन्छ, ‘के हो कान्छी, निको चाला छैन नि ! जाबो पियनसँग केको गुप्ती कुरो हो ? हामी छैनौ र !’

कुरा सुन्दा एक चोक्टा मासु लुछ्दा पनि रिस नमर्ने ! मेरो कुरा रूपलालसँग मिल्छ रे, यिनीहरूले रिस गरेर हुन्छ ! समान पदको मान्छेको मैले मन राख्नु पर्दैन ? मान गर्नु पर्दैन ?

ठूला भनाउँदा ढाडेलाई दुई हात जोड्दाजोड्दा हैरान भइसकियो । ढाडेको मान गर्दागर्दै उल्टै चिथोर्लान् भन्ने डर । मैले मानमनितो गर्नुपर्ने रूपलाललाई हो । अफिसमा मेरो पीरमर्का बुझ्ने ऊबाहेक अर्को को छ र !

मुसाको वेदना मुसाले नै बुझ्छ । मुसीको बिहे मुसासँगै भयो भने पनि किन अरूको टाउको दुख्ने !

कामचोर, तरमारा ढाडेहरूले मलाई माया गरेका हैनन् । त्यो मैले बुझेको छु । मेरो उमेर र रूपरङ देखेर लहसिएका हुन् । खै, रूपलाल जवान छ, त्यस्तो असामान्य व्यवहार केही देखाउँदैन । सधैँ शालीन देखिन्छ । साँच्चै भन्ने हो भने हाकिममा हुनुपर्ने गुण रूपलालमा छ । त्यो हाकिम त किच्चकजस्तो ।

मसँग टाँसिन खोज्ने ढाडेहरू रूपलालसँग चाहिँ परपर हुन खोज्छन् । रिस गर्छन् । उनीहरूको भित्री मनसाय मैले बुझेको छु । रूपलाल नआएको दिन ढाडेहरू कति खुसी देखिन्छन् । ऊ आएको दिन झर्को र फर्को गर्छन् । उसको रिस मलाई, मेरो रिस उसलाई पोख्छन् । विवेकहीन ढाडेहरू !

रूपलाल अनपढ पियन भएको भएदेखि निकालिसक्थे । ऊ पढालेखा छ । तर्कशील छ । बढी बोल्दैन । त्यसमाथि म पनि रूपलालकै साथ दिन्छु । त्यसैले होला, ढाडेहरू हामीसँग हारेका जस्ता देखिन्छन् ।

रूपलाल र मेरो सामीप्य देखेर उनीहरूमा औडाहा बलेको छ । कामुक ढाडेहरूमा आरिस बढेको छ । ढाडेहरूलाई पियनहरूको रिस गरेर के मिल्ला ! सरकारले तताएर राखेको दूधको बाक्लो तर मारेर कहिले नपुग्ने ढाडेहरू !

एक दिन एकान्तमा रूपलाललाई मैले भनेँ, ‘रूपलालजी, यी ब्वाँसाहरूबाट म छिट्टै छुटकारा लिन चाहन्छु । लोकसेवाको तयारी गरिरहेकी छु । म अर्को महिनाबाट यो अफिस आउँदिनँ होला ।’

रूपलालले अनुहार अँध्यारो पारेर भन्यो, ‘मलाई पनि यो अफिसमा काम गर्न मनै छैन मन्दिरा । मलाई कसैले मनै पराउँदैनन् । तपाईं हुनुहुन्थ्यो र काम गर्न सजिलो थियो ।’

हामी दुवैले जागिर छाड्यौँ । हामी अब स्वतन्त्र भयौँ । ढाडे आतंकबाट छुट्कारा पायौँ । आम्दानीको स्रोत गुमाएकोमा लागेको दुःखभन्दा तरमारा ढाडेहरूबाट अलग भएकोमा बढी खुसी लागेको थियो ।

०००

परिवारको मञ्जुरीमै रूपलाल र मेरो बिहे हुने भयो । रूपलाल क्षत्री जातको म विश्वकर्मा । अन्तरजातीय विवाह । हाम्रो प्रेममा जात बाधक बन्न सकेन । बन्नु हुँदैन भन्ने हाम्रो मान्यता हो । सामान्य रूपमा बिहेको चाँजोपाँजो मिलायौँ । नजिकै देवीथानमा हाम्रो बिहे हुने भयो ।

बिहानै मन्दिर परिसरमा पस्यौँ । चारपाँचजना जन्तीसहित बेहुलो आइपुग्यो । आज रूपलाल खास ‘रूपलाल’ देखिएको थियो, मेरो मनको राजा । मेरो मनको राजालाई म आज जीवनसाथी बनाउँदै थिएँ । ऊ दिलकी रानीलाई घर भित्र्याउँदै थियो ।

एकजना, दुईजना गर्दै त्यहाँ बजारका मान्छे देखिन थाले । हुँदाहुँदै ठूलै गाइँगाइँगुइँगुइँ सुनिन थाल्यो । अलि पर झिनो आवाज सुनियो, ‘कली बौलाएको भनेको यै हो, कमिनीको बिहे मन्दिरमा । मन्दिर अपवित्र भइहाल्यो नि !’

रूपलालले पनि त्यो कुरा सुन्यो । मेरो मुखमा हेर्यो । मैले आँखैले उसलाई चुप रहन संकेत गरेँ । हामी संयमित भएका थियौँ । कुकुरले मान्छेलाई टोक्यो भन्दैमा मान्छेले कुकुरलाई टोक्न जानु हुँदैन भन्ने हाम्रो मान्यता थियो ।

मैले मेरो मनको राजालाई माला लगाइदिएँ । उसले मनकी रानीलाई माला पहिर्याइदियो । सिउँदोमा सिन्दूर हाल्न लाग्दा शिर झुकाएर मैले सहर्ष उसलाई स्वीकार गरेँ ।

पटट... तालीको आवाज मन्दिरमा प्रतिध्वनित भयो । बजारबाट आएका मान्छे हेरेको हेर्यै भए ।

बजारको मुख्य सडकबाट जन्तीसहित हामी अगाडि बढ्यौँ । धेरै मानिस तमासे भएर हेरिरहेका थिए । कोही नाक खुम्च्याएर गिल्ला गर्दै थिए । एकजना भन्दै थियो, ‘क्षत्रीको छोरो भएर कामीको छोरी बिहे गरेछ रूपेले । आखिर पढेलेखेकै थियो, जात मिल्दो केटी भेटिहाल्थ्यो नि । हेर, यसको मति बिग्रेको !’

अर्कोले भन्यो, ‘हाकिमसँग छिल्लिएर बस्थी, पियनले टप्काएछ ।’

‘थुक्क ! महिला र जातलाई हेर्ने समाजको दृष्टिकोण । यसरी समाज कहिले उन्नत होला ? यिनका गिदीमा कहिले चेतना भरिएला !’ सोच्दै म हिँडिरहेँ ।

पर चोकभन्दा माथिको पार्कमा गरिबमारा हाकिम, तरमारा शाखा अधिकृत, भुँडे सुब्बा, ढुकुटी फोरुवा लेखापाल, कागजी घोडा तयार पार्ने खर्दार तमासे भएर हामीलाई हेर्दै थिए ।

सरकार, समाज र देशका धमिराहरूतिर मलाई फर्केर हेर्न मन लागेन । तिनले हेर्दाहेर्दै हामीले तिनकै अगाडिबाट सडक पार गर्यौं र खोलो तरेर उकालो लाग्यौँ । 
 


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  ०६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro