विराटनगर । कोसी प्रदेशमा सरकार गठनका लागि दाबी पेस गर्न सभामुख बाबुराम गौतमलाई राजीनामा गराउने तयारी गरिएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)सहित गठबन्धनमा आबद्ध दलले यस्तो तयारी गरेका हुन् ।
कोसीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुख परशुराम खापुङले आज बेलुका ५ बजेसम्मको समयसीमा दिएका छन् ।
प्रदेशसभामा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साथ नदिए सभामुखलाई राजीनामा गराएर गठबन्धनले सरकारमा दाबी पेस गर्ने तयारी भइरहेको बताए ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राइले पनि सभामुखलाई राजीनामा गराउने विकल्प रहेको बताए ।
राप्रपालाई फकाउन गठबन्धनले गरेको प्रयास करिब असफल भएको छ । सोही कारण गठबन्धन सभामुखलाई राजीनामा गराउने तयारीमा लागेको हो ।
बहुमतका लागि ४७ सांसद संख्या आवश्यक पर्छ । सभामुखले राजीनामा दिँदा सो गठबन्धनको बहुमत पुग्छ । गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) आबद्ध छन् । अहिले गठबन्धन दलसँग सभामुखबाहेक ४६ मत छ । नेकपा (एमाले)का ४० र राप्रपातर्फका ६ प्रदेशसभा सदस्य छन् ।
अघिल्लोपटक सभामुखसहितको हस्ताक्षरमा सरकार गठन गरिँदा सर्वोच्च अदालतले नियुक्ति बदर गरिदिएको थियो ।