site stats
बाह्रखरी :: Baahrakhari
खेल
अस्ट्रेलिया र नाइजेरिया प्रि–क्वार्टरफाइनलमा

काठमाडौं । समूह चरणको आफ्नो अन्तिम खेलमा क्यानडाविरुद्ध ४–० को सहज जित निकाल्दै सह–आयोजक अस्ट्रेलिया फिफा महिला विश्वकपको अन्तिम–१६ मा प्रवेश गरेको छ ।

सोमबार मेलबर्न रेक्टेङ्गुलर रंगशालामा भएको खेलमा घरेलु टिमलाई जित दिलाउन हेली रासोले दुई गोल गर्दा म्यारी फोलेर र स्टेफानी क्याटलीले समान एक गोल गरे ।

नवौँ मिनेटमा रासोले गोल गर्दै अस्ट्रेलियालाई अग्रतामा राखेका थिए । ३९औँ मिनेटमा रासोले नै व्यक्तिगत दोस्रो गोल गरेपछि अस्ट्रेलियाले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।

५८औँ मिनेटमा फोलेर गोल गर्दै अस्ट्रेलियाको अग्रतालाई ३–० मा पुर्‍याइन् । यस्तै, इन्जुरी समयमा क्याटलीले पेनाल्टीमार्फत गोल गर्दै अस्ट्रेलियालाई ४–० को जिततर्फ अघि बढाएकी थिइन् ।

जितसँगै तीन खेलबाट चार अंक जोडेको अस्ट्रेलिया समूह ‘बी’ को विजेताको रुपमा प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियासँगैको हारले क्यानडा भने समूह चरणबाटै बाहिरिएको छ । तीन खेलबाट चार अंक जोडेको क्यानडाले तेस्रो स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गर्‍यो।

यो समूहबाट अस्ट्रेलियासँगै नाइजेरिया समूह उपविजेताको रुपमा अन्तिम–१६ मा प्रवेश गर्‍यो। सोमबारै भएको खेलमा आयरल्यान्डसँग गोलरहित बराबी खेलेपछि नाइजेरिया समूह उपविजेता बनेको हो ।

नाइजेरियाले तीन खेलबाट पाँच अंक जोड्यो । तालिकाको पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको आयरल्यान्डले भने तीन खेलबाट एक अंक जोड्यो ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १९:०९
प्रतिक्रिया दिनुहोस्