site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
किसानको मुख्य समस्या नै बाँदर
प्रतीकात्मक तस्बिर

भोजपुर । भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ । बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वन जंगल  आसपासका बस्तीका किसान समस्या परेका हुन् । मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर अन्नबाली नष्ट पारेपछि उनीहरु हैरान भएका छन् । बाँदरको कारण जिल्लाका अधिकांश भू–भागका स्थानीयले समस्या भोग्दै आएका छन् । धेरै समस्या हुने ठाउँमा वैकल्पिक बाली लगाउँदासमेत दुःख दिने स्थानीयको भनाइ छ । बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्ज्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम, धोद्लेखानीलगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका स्थानीयवासीको भनाइ छ ।

बाँदर नियन्त्रणको लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसाद राई गाउँपालिका–४ दलगाउँका स्थानीय तीर्थबहादुर प्रधानले बताए । बाँदरको आतंक यसरी नै बढ्दै जाने हो भने अबको आठ/दश वर्षमा धेरै बस्ती खाली हुने उनको भनाइ छ । “बाँदर नियन्त्रणमा सरकारले उचित विकल्प ल्याउन आवश्यक छ”, स्थानीयवसी प्रधानले भने, “बाँदरको समस्या धेरै नै छ । कहिल्यै बाँदर नपुगेका ठाउँमा समेत बाँदरले अन्नबाली खाएको अवस्था छ । नियन्त्रणमा ध्यान नदिने हो भने धेरै बस्ती खाली हुने अवस्था छ ।”

बाँदरले अन्नबाली उत्पादनमा बाधा गरेपछि धेरै मानिसले आफ्नो खेतबारी बाँझो छाडेका छन् । “बाँदरको उपद्रो बढ्दो छ”, उनले भने, “एक घण्टा मात्र बालीमा पस्न पायो भने वर्षभरि खाने अन्न खाइदिन्छ । बाँदर नियन्त्रण गर्न नसकेपछि खेतबारी बाँझो छाडेर किनेर खानुपर्ने अवस्था छ ।  गाउँबस्ती नै आतंकित बनेको छ ।”

Dabur Nepal
NIC Asia

रामप्रसादराई गाउँपालिका–४ दलगाउँका स्थानीय बाँदरको आतंक बढेपछि बस्ती छाडेर हिँडेका छन् । बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापितसमेत भएका हुन् । बाँदरले बस्तीमा पसेर दुःख दिन थालेपछि यहाँ दशभन्दा बढी घर स्थानीयले गाउँ नै छाडेका स्थानीयवासी टेकबहादुर तामाङले बताए ।  

अन्नबाली जोगाउन समस्या भएपछि बाध्य भएर बस्ती छाड्नुपर्ने अवस्था आएको उनको भनाइ छ । 

दश÷बाह्र वर्षसम्म कमै मात्रामा बाँदर लाग्ने गरेको भए पनि पछिल्लो समय तल्लो भेगका मानिस अन्यत्र गएपछि गाउँभरिनै बाँदरको आतंक बढेको टेम्केमैयुङ–६ कोटका स्थानीय इन्द्रबहादुर राई बताउँछन् । बाँदरको कारण गाउँबस्तीमा बस्न नसक्ने अवस्था आएको उनको भनाइ छ ।

बाँदर मकैको थाग्रा, धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन् । स्थानीयले स–साना टहरा बनाएर अन्नबालीको हेरचाह गर्ने गरेका छन् । बाँदर हेरचाह गर्न परिवारका दुईदेखि तीनजनाको काम नै त्यही हुने गरेको स्थानीयको भनाइ छ । बाँदरलाई यन्त्र उपकरण पड्काएर तर्साउने गरे पनि पछिल्लो समयमा टेर्न छाडेको भोजपुर नगरपालिका–५ का स्थानीय कमला थापाले बताइन् । 

“बाँदर धपाउने यन्त्र पड्काएर थर्साउँदा पहिला पहिला त भाग्थे”, उनले भनिन्, “अहिले त धपाउँदा टेर्दैनन् । भगाउन पनि गाह्रो छ । दशदेखि पन्ध्र मिनेट मात्र बालीमा पस्न पाए भने सखाप पार्छन् । बाँदरले हैरान बनाएको छ ।” 

बाँदर आतंकका कारण धेरै स्थानीय गाउँ छाड्न बाध्य रहेको टेम्केमैयुङ गाउँपालिका–६ कोटका वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए । यहाँका २० भन्दा बढी घरपरिवार बाँदरका कारण विस्थापित भएको वडाध्यक्ष नेपालको भनाइ छ । 

बाँदरको व्यवस्थापनका लागि राज्यले उचित खालको कार्यक्रम ल्याउनु पर्ने वडाध्यक्ष नेपालको भनाइ छ । स्थानीयस्तरबाट मात्र गरिएको कोसिसले बाँदरको व्यवस्थापन गर्न नसकिने उनले बताए । 

“धेरै किसानको मुख्य समस्या नै बाँदर बनेको अवस्था छ”, उनले भने, “स्थानीयस्तरबाट  नियन्त्रण सम्भव छैन । दैनिकजसो स्थानीयको गुनासो आउँछ । बाँदरले बस्ती उजाड बनाएको अवस्था छ । उर्बर भूमि बाँझो बसेका छन् । राज्यले उचित विकल्पको खोजी गर्न आवश्यक छ ।” रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro