संविधान ट्वाइलेट पेपर बनेपछि, कानुनले गर्नुपर्ने काम नगरेपछि, नकचरा मान्छेहरू दोहोर्याइतेहर्याइ सरकार प्रमुख बनेपछि, समाउने हाँगो गिलो र टेक्ने जमिन हिलो बनेपछि एउटै उपाय रहन्छ, विद्रोह । र, विद्रोहमा उही उपाए रहन्छ सधैँ – कालोमोसो दल्ने, जुत्ताको माला लगाउने, पुतला जलाउने र नारा लगाउने !
उसले दोषीको अनुहार सम्झियो र मुखभरि पोतिदिन थोत्रो कतारोमा कालोमोसोको व्यवस्था गर्यो ।
जुत्ताको मालाका लागि चारतिर फाटेका चप्पलहरू जम्मा पार्यो । पुतलाका लागि पराल र बाँसको जोहो गर्यो । र, साइत जुराएर एक दिन उसले सबै कर्तुत गर्न भ्यायो – पालैपालो कालोमोसो दल्ने, जुत्ताको माला लगाउने र पुतला जलाउने ।
विद्रोह सफल भएको केही समयपछि उसको छोटो भिडियोसहित टीभी तथा अनलाइनहरूमा समाचार आयो, ‘एउटा भलाद्मी देखिने अराजक मान्छेले आफू, आफ्नो समाज र देशको निरन्तरको दुर्दशामा आफू समेतलाई जिम्मेवार ठानेर बीचसडकमा उभिएर आफैँलाई कालोमोसो दलेर, आफैँलाई जुत्ताको माला लगाएर आफ्नै पुतला जलाएको छ ।”
भिडियोमा त्यही मान्छे नारा लगाइरहेको पनि सुनिन्थ्यो, ‘ग्वाँजे जनता मुर्दावाद !’