
काठमाडौं । विश्व खाद्य कार्यक्रमको नाममा कार्यालय खोली ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् भने तीनजना फरार छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बस्ने ४७ वर्षीय जयराम केसी भन्ने घनश्याम कटुवाल र मकवानपुरको वाग्मती गाउँपालिका–९ घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ बस्ने ४० वर्षीय दिनेश भन्ने लीलाबहादुर भोलोन रहेका छन् ।
त्यस्तै मकवानपुर घर बताउने प्राविधिक इन्जिनियर दिपेश गुरुङ भन्ने भीम भोलोन, जनसम्पर्क अधिकृत आकाश राई भन्ने मिलन तामाङ र कार्यालय सञ्चालक/ शाखा अधिकृत पेम्बा तामाङ फरार छन् ।
बूढानीलकण्ठ नगरपालिका–५स्थित भाडाको घरमा कार्यालय सञ्चालन गरेर नक्कली कर्मचारीहरू खडा गरी विश्व खाद्य कार्यक्रमको नक्कली छाप तथा लेटरप्याडसमेत बनाई ठगी गरेको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले बताए ।
उनीहरूले विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा टेण्डर आह्वानको विज्ञापन छापेर ठगी गरेको भन्ने सूचना गत जेठ २९ गते प्राप्त भएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले अनुसन्धानका क्रममा उनीहरूलाई भक्तपुरबाट पक्राउ गरेको हो ।
उनीहरूको साथबाट दुई लाख रुपैयाँ, नेपालको राष्ट्रिय झण्डाहरू, अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रम लेखिएको छाप एक थान तथा लेटर प्याड तीन थान, फाइल एक थान, हाजिरी खाता एक थान, ह्वाइट बोर्ड एक थान, बोर्ड नेमप्लेट, टेबुल नेमप्लेट, घरभाडा सम्झौतापत्र, विभिन्न स्टेशनरीका सामानहरू, विभिन्न फर्निचरका सामानहरू, प्रिन्टर चार थान, कम्प्युटर चार थान र खरिद आदेश प्राप्त भएको कागजसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।