site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आरोप प्रत्यारोपबाट बल्ल जनजीविकाको सवालमा प्रवेश गर्‍यो कांग्रेस बैठक
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बल्ल मूल एजेन्डामा प्रवेश गरेको छ । आइतबार पाँचौँ दिनको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाको बचाउ भर्सेस महामन्त्रीद्वयको बचाउमा उत्रिन रोकेर केन्द्रीय सदस्यहरूले जनजीविकाको सवालमा नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

साउन २ गतेदेखि सुरू भएको बैठकमा आइतबारसम्म आइपुग्दा पार्टीका शीर्ष नेताहरूले बोलेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा शीर्ष नेताहरूले जनता र उनीहरूको जनजीवनका सवाल पनि उठाएका हुन् । धेरै आरोप प्रत्यारोप र गुटीय विषय मात्र होइन, उनीहरुले जनताबाट पार्टी टाढा हुँदै गएकोमा पनि चिन्ता व्यक्त गरेका छन् ।

बैठकमा बोल्दै केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीलाई जनतासँग जोड्न माग गरेका छन् । उनले सत्तालाई अन्तिम सत्य मान्दा राजनीतिक मूल्य, मान्यता, सिद्धान्त र आदर्श कमजोर बन्दै गएको बताए । साथै, उनले पार्टी जनताबाट टाढिएको भन्दै जनता र पार्टीबीचको खाडल पुनुपर्नेमा जोड दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“हामी जनतासँग टाढिएका छौँ । जनता र हामीबीचको खाडल पुर्नुपर्ने अहिलेको पहिलो आवश्यकता हो । लोककल्याणकारी राज्य निर्माणमा हामी चुकेका छौँ । जसका कारण पार्टीमा नैतिक र सांस्कृतिक विचलन आएको छ,” उनले भने, “यसलाई क्रमशः न्यून गर्दै पार्टीको नैतिक पक्षलाई पुनःस्थापित गरेर बीपी कोइरालालगायत हाम्रा अग्रजहरुको सोचको कांग्रेस फेरि निर्माण गर्नुछ । जनताले पत्याउने र भरोसा गर्ने कांग्रेस निर्माण गर्ने कार्य अब पनि ढिलो गर्दा हामी असान्दर्भिक हुने खतरा बढ्दो छ ।”

शेखरले नेपाली समाजको बदलिँदो आर्थिक, सामाजिक र सांस्कृतिक आलोकमा पार्टीभित्र अनेकन् पेसा, व्यवसाय, वर्ग र समुदायको सहभागिता अनिवार्य भइसकेको उल्लेख गरे ।

Global Ime bank

“पार्टीलाई देशभित्र र बाहिरका श्रमिक, विज्ञ, विशेषज्ञ, पूर्वप्रशासक र समाजका प्रतिष्ठित व्यक्तिहरुसँग नजोडी पुरानो शैलीमा मात्र पार्टी सञ्चालन गर्ने समय अब रहेन,” उनले भने, “त्यसकारण पार्टीका विभिन्न तहमा निश्चित् प्रतिशत तय गरी यस्ता व्यक्तिबाट पार्टीले लाभ लिने व्यवस्था गरौँ ।”

बैठकमा बोलेका केन्द्रीय नेतारूले तीन तहकै सरकारमा कांग्रेस भए पनि सोअनुरूप जनतालाई कहाँ जोड्न सकियो भन्दै प्रश्न उठाए । स्थानीय सरकारदेखि प्रदेश हुँदै केन्द्र सरकारसम्म सहभागी कांग्रेस प्रतिनिधिहरुबाट जनअपेक्षा अत्यन्त बढी भएको भन्दै नेताहरूले त्यसअनुरुप जनतालाई चित्त बुझाएर काम गर्न नसक्दा पार्टीको भविष्य मात्र अन्धकार हुने उल्लेख गरेका छन् ।

नेताहरुले महँगी र कालाबजारीले जनता आक्रान्त भएको अवस्थामा जनजीविकाको सवालमा जनताले सरकार भएको अनुभूति गर्न नसकेको तर्फ ध्यानाकर्षण गराए ।

केन्द्रीय सदस्य विनोद चौधरीले विकास निर्माणको प्रभावकारिता, रोजगारीको मुद्दा, वर्तमान आर्थिक अवस्था, उद्योगधन्दामा देखिएको चुनौतीलगायतका विषयलाई ट्रयाकमा ल्याउन कांग्रेसको भूमिकाको विषयमा धाराणा राखेका छन् ।

“विभिन्न विकास निर्माणका मुद्दा, आर्थिक विकास मुद्दामा, निजी क्षेत्रसँग सम्बन्धित  मुद्दामा, लगानीको मुद्दामा, अर्थतन्त्र संकुचित भएको स्थिति, बैंकमा भएको तरलता लगानी गर्न नसकेको अवस्था, चलिरहेका उद्योग बन्द गर्नुपर्ने परिस्थिति, यस्तो अवस्थामा हामीले तत्काल अर्काे वातावरण बनाउन सकेनौँ भने अहिले देखिएको चुनौतीलाई झन् गम्भीर बनाउने कुरा पनि निश्चित छ,” चौधरीले भने, “अहिले पनि राजस्व उठ्ने क्रम र साधारण खर्च र विकास खर्चको आपसी तालमेलमा ल्याउनुपर्ने सकारात्मक परिवर्तनसँग जोडिएका चुनौती आफ्नै ठाउँमा छन् ।”

प्रतिनिधिसभा सदस्य समेत रहेका चौधरीले मानिसमा आशा र आत्मविश्वासको सञ्चार गर्न नसक्नु अहिलेको गम्भीर चुनौती भएकोमा नेतृत्व ध्यानाकर्षण गराए ।

“अर्काेकुरा, अत्यन्तै गम्भीर चुनौतीको विषय रोजगारी सिर्जना नहुनु हो । अहिले पनि दैनिक दुई हजारभन्दा बढी मानिस रोजगारीका लागि विदेशिनु चुनौतीको विषय हो । मानिसमा आशा र आत्मविश्वासको सञ्चार गर्न नसक्नु अर्काे गम्भीर चुनौती हो । जसले नेपालको राजनीति र स्थापित पार्टीप्रतिको दृष्टिकोणमा बदलाब ल्याउन पनि भूमिका खेल्ने गरेको छ । यसतर्फ हामी सचेत हुनुपर्छ,” उनले थपे ।

यस्तै, केन्द्रीय सदस्य चित्रलेखा यादवले समाजका मुद्दालाई बुलन्दका साथ उठाउनुपर्ने आवश्यकतामा जोड दिइन् । आइतबारको बैठकमा बोल्दै उनले पार्टी समाजका मुद्दाबाट टाढिँदै गएको भन्दै पार्टीमा ब्याक्टेरिया र इन्फेक्सन छिर्न दिन नहुनेमा जोड दिइन् ।

“ब्याक्टेरिया छिर्न दिनुभएन । इन्फेक्सन छिर्न दिनुभएन । त्यसले पार्टी समाप्त गर्छ,” यादवले भनिन्, “इमोसनल अट्याचमेन्ट कहाँ गयो ? इमोसनल अट्याचमेन्ट हराएको छ । त्यो आवश्यक छ ।”

यादवको जोड पार्टी जनताको दुःखसुखको साथी बन्नुपर्नेमा थियो । उनले पार्टी इमोसनल अट्याचमेन्टबाट बन्ने बताउँदै त्यसको आवश्यकता औँल्याएकी हुन् । यादवले अफ्ठ्यारोमा परेका गाउँठाउँका जनताका लागि कार्यक्रम लैजानुपर्ने भन्दै गुणस्तरीय शिक्षा र स्वास्थ्यको विषयमा ध्यान दिनुपर्ने जोड दिइन् ।

बैठकमा बोल्ने अन्य केन्द्रीय सदस्यहरूले नेतृत्व रूपान्तरण गर्छु भनिरहँदा जनजीवनको रूपान्तरण कति एजेन्डा भयो भन्दै प्रश्न गरे । देश संघीय लोकतान्त्रिक व्यवस्थामा गए पनि तीन तहले त्यसअनुरूप अधिकार उपयोग गर्न नपाएको र सेवा प्रदानमा सरकार चुकेको धारणा राखे ।

विशेष गरेर अहिले केन्द्रीय मानसिकताबाट पार्टी बाहिर निस्कन नसक्दा संघीयताको कार्यान्वयन गराउन प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउने भूमिकाबाट कांग्रेस चुकेको धारणा केन्द्रीय नेताहरूको छ । उनीहरूले पार्टीमा नाम र पद मात्रै परिवर्तन गर्ने कि जनताको अवस्थामा रूपान्तरण गर्ने एजेन्डा कांग्रेसले अघि बढाउने भन्दै बुलन्द आवाज उठाए ।

केन्द्रीय सदस्य तथा पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीमा रूपान्तरण भन्नेले जनजीवनको रूपान्तरणमा कति एजेन्डा बनाए भन्दै प्रश्न गरे । पार्टी रूपान्तरणको कुरा गरिरहँदा तल्लो तहमा बस्ने मानिसहरूको जीवनस्तर कसरी परिवर्तन हुन्छ भन्ने विषय पार्टीको एजेन्डा त्यो हुनुपर्नेमा निधिको जोड छ ।

“कांग्रेसभित्रै मात्र कांग्रेसभित्र रुपान्तण हैन । वडा र टोलमा बसोबास गर्ने सबै समुदयका जीवनस्तरमा रुपानतरण कसरी ल्याउने हो । त्यो एजेन्डामा बहस गरौँ, निर्माण गरौं । यसले पार्टी रुपान्तरण सहजै हुन्छ । त्यो अत्यन्त जरुरी छ,” उनले भने, “अझै पनि नेपाली कांग्रेसमाथि जनताले भरोसा गर्छन् । पाँच वर्षपछि रुपान्तरणका लागि बहुमत ल्याउने गरी चुनावको तयारी गरौँ । प्रदेशको अधिकार गरौँ, संविधान र कानुनमा संशोधन आवश्यक भए गरौँ ।”

बैठकमा बोलेका अर्का केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अहिलेका राष्ट्रिय समस्या गरिबी, बेरोजगारी, किसानले मल नपाएको, लम्पी स्किनका कारण क्षति भएको विषयमा स्पष्ट दृष्टिकोण लिएर जनतामाझ जानुपर्ने भन्दै बैठकमा सभापतिसमक्ष लिखित सुझाव राखे ।

“जबसम्म हामी वैचारिक रुपमा नयाँ आन्दोलन लिएर जनताका बीचमा जान सक्दैनौँ, जबसम्म प्रवृत्तिगत रुपले परिवर्तन हामी गर्न सक्दैनौँ, हाम्रा सोचाइ जनमुखी रुपले लिएर जान सक्दैनौँ, त्यतिबेलासम्म गाउँगाउँ, घरघरमा पुगेर त्यसले पर्याप्त रुपबाट योगदान दिन्छ भन्ने मलाई लाग्दैन,” उनले भने, “आदिवासी, जनजाति युवा महिला सशक्तीकरणदेखि मधेससम्मका महत्वपूर्ण समस्यामा निश्चित दृष्टिकोण नलिइकन घरघरमा मात्रै पुगेर पुरानो सदस्यलाई कायम गर्न सकिन्छ कि सकिँदैन भन्ने लाग्छ ।”

केन्द्रीय सदस्य धना खतिवडाले पनि कांग्रेसले जनताको के कुरा उठाएको भन्ने लाइभमा जनताले हेरिरहेको बताइन् ।

“लम्पी स्किन रोगले ५० हजार पशु मरेका छन् । ५० अर्ब किसानको नोक्सान भएको छ । यसमा कांग्रेसले अग्रसर भएर बोल्ने कि नबोल्ने ? यसमा कांग्रेसले आवाज उठाउनु पर्छ,” उनले भनिन् ।

यसअघिको बैठकमा बोलेका केन्द्रीय सदस्यहरू गुटीय रुपमा प्रस्तुत भएका थिए । सभापति देउवाबाट मनोनित केन्द्रीय सदस्यहरूले महामन्त्रीद्वयलाई थर्काएर विकल्प खोज्ने चेतावनी दिएका थिए ।

यता, इतर समूहका नेताहरूले भने सुशासन र भ्रष्टाचारको विषय उठाएर सभापतिमाथि प्रश्नैप्रश्न उठाएका थिए । आइतबारको बैठकमा आइपुग्दा पार्टीका शीर्ष र प्रभावशाली नेताहरू बोल्न थालेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !