site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अर्थमन्त्री भन्छन्– नयाँ पार्टी कति टिक्छन् हेरौँला !
फाइल तस्बिर ।

काठमाडौं । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पुरानाले केही गरेनन् भनेर आएका नयाँ पार्टीहरू टिक्न नसक्ने टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बताएका हुन् ।

उनले दुःखमा, सुखमा १०औँ वर्ष जेल, प्रवासन, प्रहरीको लाठीडन्डा सहेर पुराना पार्टीहरू निर्माण भएको उल्लेख गरे । यस्तै समस्या नयाँले भोग्नुपरे कति टिक्छन् हेरौँला भन्ने उनको भनाइ थियो ।

Argakhachi Cement Island Ad

“जताजता पात हल्लियो, त्यतात्यतै कुरा हामी गर्दैनौँ । अहिले नयाँनयाँ प्रवृत्तिहरू, यिनीहरूले गर्दैनन्, हामी गर्छौँ भनेर आएका छन्, टिक्दैनन्,” उनले भने, “हामी दुःखमा, सुखमा १०औँ वर्ष जेल, प्रवासन, पुलिसको लाठीडन्डा सहेर अप्ठ्यारोमा, झरीमा पनि खटेर बनेको पार्टी हो नेपाली कांग्रेस । यस्तै समस्या नयाँ प्रवृत्तिहरूले भोग्नुपर्‍यो भने कति टिक्छन् हेरौँला !”

अर्थमन्त्री डा. महतले कांग्रेसका महामन्त्रीहरूप्रति लक्षित गर्दै पार्टी र नेतृत्वको आलोचना केन्द्रीय समिति बैठकमा गर्न चुनौती दिए । उनले सामाजिक सञ्जालमा आलोचना गरेर पार्टी निर्माण हुन नसक्ने बताए । पार्टीप्रतिको आलोचनाका कारण जनता के हो कांग्रेस भनेको भन्ने स्थितिमा पुगिसकेको उनको भनाइ छ ।

उनले सामाजिक सञ्जालमा पार्टीका नेताहरूको आलोचना नगर्न आग्रह गरे । “हामी पार्टीका सबै नेताहरू एकार्काको आलोचना गर्न धेरै समय खर्च गर्छौँ, नेतृत्वलाई नै खसाल्न हामी धेरै समय खर्च गर्छौँ । हामी पार्टीको नेतृत्वलाई नै आलोचना गर्न धेरै समय खर्च गर्दछौँ । यसमा धेरै समय खेर फाल्यौँ भने अहिले त सामाजिक सञ्जालको जमाना छ, हरेकको घरघरमा पुग्छ, यिनीहरू त आफैँ झगडा गरेर बसिरहेका छन्, यिनीहरूको पार्टीमा किन लाग्ने भन्छन् कि भन्दैनन् ? त्यसैले केन्द्रीय समितिको बैठक २ गतेलाई तोकिएको छ, त्यहाँ भनौँ, जिल्ला समिति छ, त्यहाँ भनौ, क्षेत्रीय समिति, गाउँ, नगर समिति छ, त्यहाँ भनौँ,” उनले भने, “त्यहाँबाट निष्कर्ष निकालेर पार्टीको मात्रै कुरा गरौँ । त्यहाँ नभन्ने तर बाहिर भनेको भन्यै गर्ने प्रवृत्तिले पार्टी बलियो हुँदैन, जनता दुविधामा पर्छन्, के हो नेपाली कांग्रेसले भनेको बुझिँदैन । हामीले सामाजिक सञ्जालमा पार्टी नेतृत्वको कुरा, बहस गर्ने होइन, संयन्त्रमा छलफल गर्ने हो ।”

मन्त्री महतले सरकार सुशासन, आर्थिक परिवर्तन, रूपान्तरणको पक्षमा रहेको बताए ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्