site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेभित्र असन्तुष्टिका चाङ : नेतृत्व सुन्न तयार छैन, नेताहरू सुनाउन सक्दैनन्
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेताहरूमा उकुसमुकुस देखिन्छ । एमाले नेताहरू अनौपचारिक कुराकानीमा नेतृत्व र पार्टीको आन्तरिक लोकतन्त्र खजमजिएको विषयमा खुलेर बोल्छन् । तर, औपचारिक बैठकहरूमा बोल्न हिचकिचाउँछन् । 

पछिल्लोपटक केही नेताहरूसँगको अनौपचारिक कुराकानीका क्रममा पार्टीभित्रका असन्तुष्टि छचल्किए । केन्द्रीय कमिटी बैठकको टोली विभाजनले आन्तरिक लोकतन्त्र खुम्चिएको, ७० वर्षे उमेरहद हटाइएको र फरक भूगोलको जिम्मेवारीमा खटाइएको विषयमा नेताहरू असन्तुष्ट देखिन्छन् ।

केन्द्रीय कमिटीमा समूह विभाजन : नेतृत्वलाई सुनाउन र अरूको सुन्न पाइएन 

Royal Enfield Island Ad
KFC Island Ad
NIC Asia

एमालेको नवौँ महाधिवेशनसम्म केन्द्रीय सदस्यहरूले बैठकमा नै आफ्ना धारणा राख्न पाउँथे । प्रस्तुत भएका प्रतिवेदनमाथिको टिप्पणी र आफ्ना धारणा नेतृत्वको अघि राख्न सक्थे । हुन त अहिलेजस्तो समूह विभाजन गरेर छलफलको अभ्यास एमालेले सातौँ महाधिवेशन पछि देखि नै थालेको हो । तर, त्यसबेला टोली नेताले कुरा राखेपछि केन्द्रीय सदस्यले पनि थप कुरा राख्न पाउनने व्यवस्था थियो । फरक विचार समूहले खुलेरै नेतृत्वको आलोचना र निर्णयको विरोध गर्थे । त्यतिबेला पनि एमालेका अध्यक्ष केपी शर्मा ओली नै थिए । 

०७५ जेठ ३ गते एमाले र नेकपा (माओवादी केन्द्र)बीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भयो । एमालेबाट २४१ र माओवादीबाट २०० गरी ४४१ सदस्य अटाउँदा केन्द्रीय कमिटी जम्बो बन्यो । 

केन्द्रीय कमिटी ठुलो हुँदा सबै सदस्यलाई बोल्न दिए बैठक लामो समयसम्म बस्नुपर्ने अवस्था देखियो । केन्द्रीय कमिटीलाई व्यवस्थित गर्न सहज थिएन । त्यसका लागि सहज बाटो खोजियो– केन्द्रीय सदस्यको समूह विभाजन गरेर छलफल गर्ने । 

केन्द्रीय कमिटी बैठकमा अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिवले पेस गरेको संगठनात्मक प्रतिवेदनमाथि छलफलका लागि केन्द्रीय सदस्यहरूको समूह विभाजन हुन थाल्यो । समूहमा छलफल गर्ने र टोली नेताले समूहको सुझावसहितको निष्कर्ष सुनाउने परिपाटी बस्यो । त्यतिबेला केन्द्रीय कमिटीको बैठक व्यवस्थित रूपमा सम्पन्न गरिएको भन्दै महासचिव विष्णु पौडेलको तारिफसमेत भएको थियो । 

आन्तरिक किचलोमा रुमल्लिएको नेकपा सर्वोच्च अदालको ०७७ फागुन ११ को फैसलाबाट भंग भयो । एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किए । पार्टी पूर्ववत् अवस्थामा नै फर्किए पनि एमालेको अभ्यास पूवर्वत् फर्किएन । नेतृत्वका लागि सहज हुने बाटो कायम रह्यो, नेकपाको अभ्यासले निरन्तरता पायो । 

केन्द्रीय कमिटी बैठकमा पहिलो दिन अध्यक्षको प्रतिवेदन पेस हुन्छ । प्रतिवेदनमाथि छलफलका लागि केन्द्रीय सदस्यहरूलाई विभिन्न टोलीमा विभाजन गरिन्छ । समूहको नेतृत्व पनि केन्द्रबाटै तोकिन्छ । छलफलमा आएका सुझावहरूलाई समेटेर नेतृत्वले तोकेको त्यही टोली नेताले निष्कर्ष प्रस्तुत गर्छ । 

गएको वैशाख २८–३० गतेसम्म चलेको केन्द्रीय कमिटीको बैठकमा पनि त्यस्तै गरियो । यसरी केन्द्रीय सदस्यलाई टोलीमा विभाजन गर्दा नेतृत्वसामु आफ्ना कुरा राख्न नपाएको भन्दै केन्द्रीय सदस्यहरू असन्तुष्ट भएका छन् । टोली नेताले आफ्नै मात्रै कुरा सुनाउने गरेको र आफ्ना कुराहरूले स्थान नभएको गुनासो उनीहरूमा देखिन्छ । 

“नवौँ महाधिवेशनअघि नै टोली विभाजनको अभ्यास गर्न खोजिएको थियो । त्यतिबेला भएन । नेकपापछि त्यसैले निरन्तरता पायो,” पोलिट्ब्युरो सदस्यसमेत रहेको एक नेताले बाह्रखरीसँग भने, “टोली विभाजन गर्दा टोली नेता पनि उतैबाट छानिएको हुन्छ । समूहमा आफ्नो कुरा राख्नलाई छोटो समय त पाइन्छ । तर, टोली नेताले आफ्ना कुरा मात्रै सुनाउँछन् ।”

यस्तो गर्दा नेतृत्वलाई आफ्ना कुरा सुनाउन नपाएको गुनासो मात्र नेताहरूसँग छैन । उनीहरू सबै केन्द्रीय सदस्यले सुन्ने गरी पार्टीका विषयमा बोल्न पाउँदैनन् । 

“केन्द्रीय कमिटीमा आफ्ना कुरा खुलेर सुनाउन पाइएन । अरू केन्द्रीय सदस्यहरूको भावना कस्तो छ ? अरूले कस्तो बोल्छन् । कुन केन्द्रीय सदस्यले कस्तो बोल्छ भन्ने कुरा नै थाहा नपाउने भइयो,” ती नेताले बाह्रखरीसँग भने । 

अर्का केन्द्रीय नेता आफूहरूलाई अध्यक्ष र केही पदाधिकारीले 'रोबर्ट'जस्तै बनाइएको बताउँछन् ।  

“हामी केन्द्रीय सदस्य त रोबर्ट जस्ता भयौँ । समूह विभाजनमा राखिएका कुरा केन्द्रीय नेतृत्वसँग पुग्दैन । हामीले उठाएका कुरा बैठकमा आएकै छैन भनिन्छ ।  नेतृत्वको कुरा सुन्यो फर्कियो,” उनले आन्तरिक लोकतन्त्रको प्रश्न उठाउँदै भने, “यसले आन्तरिक लोकतन्त्र खुम्च्याइदियो । केन्द्रीय सदस्य भएको व्यक्ति नेता जस्तो भएन । केन्द्रीय सदस्य त एउटा सुझावकर्ता जस्तो मात्र भयो ।”

पार्टी नेतृत्वले केन्द्रीय सदस्यले उठाउने प्रश्नको उत्तर दिनुनपर्ने हुँदा त्यो बाटोलाई कायम राख्न मेहनत गरेको जस्तो देखिएको उनको बझाइ छ । झलनाथ खनालले पार्टीको नेतृत्व गर्दा सबै केन्द्रीय सदस्यहरूको भनाइ सुन्ने गरेको ती नेता बताउँछन् । प्रधानमन्त्री हुँदा समेत केन्द्रीय कमिटीमा दिनभर बस्ने गरेका ती नेताको भनाइ छ ।

“झलनाथ खनाल अध्यक्ष हुँदा केन्द्रीय सदस्यहरूको कुरा पूरै सुन्नुहुन्थ्यो । उहाँ प्रधानमन्त्री हुँदा पनि कमिटीको बैठकको सुरुदेखि अन्त्यसम्म बस्नुहुन्थ्यो,” उनी सम्झिन्छन्, “अहिले अध्यक्षलाई सुन्ने फुर्सद छैन । जुनसुकै कमिटीको बैठक होस्, उहाँ लामो सम्बोधन गर्नुहुन्छ । अरूको धारणा के छ भन्ने सायद सोच्नुहुन्न होला ।” 

एक पोलिट्ब्युरो सदस्यले गएको केन्द्रीय कमिटी बैठकका बेला त्यसलाई बैठकको दर्जा दिनु उचित नहुने तर्क गरेका थिए । 'सकियो बैठक ?' प्रश्न नसकिँदै ती पोलिटब्युरो सदस्यले भने, “बैठक भए पो सकिनु ? नेतृत्वको कुरा सुनेर आइयो । टोली छुट्याइएको छ । त्यही पनि दुई मिनेको समय दिइएको छ । त्यति समयमा सबै कुरा कसरी राख्न सकिन्छ ?” 

एमालेको केन्द्रीय कमिटी अहिले ३४८ सदस्यीय भएको छ । नेताहरू केन्द्रीय कमिटी भद्दा भएकाले पनि टोली छुट्याएर छलफल गर्नु परेको बताउँछन् । पोलिटब्युरो सदस्य विशाल भट्टराई समयको पावन्दीले समूहगत छलफल गर्नुपरेको बताउँछन् । समूहगत छलफलका राम्रा–नराम्रा दुवै पक्ष रहेको उनको तर्क छ । 

“केन्द्रीय सदस्यको संख्या धेरै हुँदा समूहगत छलफल गर्नुपरेको हो,” भट्टराईले बाह्रखरीसाग भने, “समूहगत छलफलमा जाँदा नेतृत्वको सम्मुखमा कुरा राख्न पाउने अवसरबाट भने वञ्चित गराएको छ । यो समूहगत छलफलको एउटा समस्या हो ।” 

भट्टराईले पोलिटब्युरोसम्म भने एउटै हलमा सामूहिक छलफल गर्न सम्भव रहेको बताए ।  

फरक भूगोलको जिम्मेवारीले असन्तुष्टि

एमालेमा नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिइएको छ । वरिष्ठसहित सातजना उपाध्यक्षलाई ३३ विभागहरूको समन्वय गर्ने जिम्मा छ । पार्टीका ६ सचिवलाई प्रदेश इन्चार्ज, स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई जिल्ला इन्चार्ज तोकिएको छ । केन्द्रीय सदस्यहरूलाई पालिका तोकेर जिम्मेवारीमा खटाइएको छ । 

आफ्नो भूगोलमा अर्कैले हेर्ने र आफू फरक भूगोलमा खटिनुपर्ने जिम्मेवारीमा धेरै नेताहरू असन्तुष्ट छन् । उनीहरूले असन्तुष्टि सार्वजनिक रूपमा नपोखे पनि पार्टीका आन्तरिक अनौपचारिक छलफलमा राख्ने गरेका छन् । त्यसको जानकारी अध्यक्ष केपी शर्मा ओलीलाई छ । 

अध्यक्ष ओलीले गएको सोमबार वाग्मती प्रदेशको भेलामा नेताहरूमा देखिएको असन्तुष्टि सम्बोधन गर्ने प्रयास गरेका छन् । बिरामी भए भूगोलमा जान नपर्ने भन्दै उनले ‘केही समयका लागि गरिएको प्रयोगमा सामेल हुँदा राम्रै हुने’ बताएका थिए ।

उमेरहदको प्रश्नमा ओलीको आपत्ति 

एमालेमा अहिले विधानमा रहेको ७० वर्षे उमेरहद छैन । नेकपा (एकीकृत समाजवादी) छोडेर एमाले फर्किएका मुकुन्द न्यौपानेलाई स्वागत गर्न विधानको व्यवस्स्था निलम्बन गरिएको छ । निलम्बनको मतलब विधानको त्यो व्यवस्था हटाएको भन्ने हुँदैन । तर, एमालेमा त्यसलाई हटाएकै रूपमा नेताहरूले अर्थ्याइरहेका छन् ।

त्यसैले उमेरहद हटाएको विषयमा पार्टीको एउटा तप्का अक्रोशित नै देखिन्छ । अध्यक्ष ओली उमेरहद निलम्बन गरिएको भन्ने पक्षमा छैनन् । उनी त्यो व्यवस्था 'अराजनीतिक हो' भनेर टिप्पणी गर्न थालिसकेका छन् । बरु पार्टीभित्रको असन्तुष्टिलाई विरोधीहरूको टिप्पणीको रूपमा अर्थ्याइरहेका छन् । 

“एमालेले ७० वर्षे हटायो भनेर हाम्रा विरोधी रुवाबासी गरेको छ । ७० हटाओस् कि ६० राखोस् कि ४० राखोस् कि तिनलाई के मतलब ? तिनीहरूलाई खालि विरोध गर्नुपरेको छ,” ओलीले भनेका छन्, “कांग्रेसले राखेकै छैन । कांग्रेसका नेता ८० वर्षका हुँदा पनि ठिकै छ ।”

उनले पार्टीको महाधिवेशनले गरेको निर्णयलाई आफूअनुकूल व्याख्यासमेत गर्न भ्याए । उनले उमेरहदको निर्णयले स्वस्थ्य व्यक्तिलाई राजनीतिमा निष्क्रिय बनाउने भन्दै अराजनीतिक र अव्यवहारिक कुरा गर्न नहुने बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०९:३०
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
SubisuSubisu
Hamro patroHamro patro