site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
असोजसम्म सुधारको संकेत नदेखिए कांग्रेसमा विशेष महाधिवेशनको विकल्प छैन 
Sarbottam CementSarbottam Cement

नेपाली कांग्रेसका युवा नेताहरूको एउटा टोली नेपाली ‘कांग्रेस रुपान्तरण अभियान’ भनेर देश घुम्यो । नेता कार्यकर्तासँगै नागरिकमा कांग्रेस र राजनीतिप्रतिको धारणा बुझ्ने प्रयास गरेको यो टोलीका नेता गुरुराज घिमिरेले अभियानका क्रममा केही चुनौती र केही अवसर देखेर फर्किएको बताएका छन् । 

उनका अनुसार कांग्रेसको औचित्य कायम राख्ने र नागरिकको आकर्षण कायम राख्ने हो भने कांग्रेसको रुपान्तरण एउटा मात्र विकल्प हो । 

कार्यकर्ता र सर्वसाधारणसँग संवाद गरिएर फर्किएका घिमिरेलाई हामीले आफूलाई उन्नत लोकतान्त्रिक दावी गर्ने कांग्रेस पार्टीमा रुपान्तरण किन चाहियो, कांग्रेसमा कतै जिम्मेवारीमा नभएकाहरूले कांग्रेस रुपान्तरण गर्ने हो भनेर सोधेका छौँ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै कार्यकर्ताबाहेक नागरिकस्तरमा अन्तक्र्रिया गरेर फर्किएका उनलाई हामीले नागरिकको नजरमा कांग्रेस कुन अवस्थामा छ भनेर पनि सोधेका छौँ । उनको बुझाइ एउटा कांग्रेस नेताको नभएर विश्लेषक जस्तै पाइएको छ । प्रस्तुत छ नेता गुरुराज घिमिरेसँग बाह्रखरीका रमेश वाग्लेले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली कांग्रेसको रूपान्तरण किन चाहियो ? यो पार्टीले त आफूलाई उन्नत लोकतान्त्रिक पार्टी दाबी गर्छ होइन ?

Global Ime bank

नेपाली कांग्रेस लोकतन्त्रको पाठशाला हो । नेपालको लोकतान्त्रिक विचार र दर्शनका लागि नेपाली कांग्रेस गुरुकूल नै हो । यसबाट अरु पार्टीहरूले सिकेका छन् । त्यसमा कांग्रेसका राम्रा कुरामात्र होइन नराम्रा कुरा पनि कांग्रेसबाटै सिकेका छन् । 

वर्गसत्रुलाई सिध्याएर जनवादी क्रान्तिमार्फत कम्युनिजम ल्याउने मान्यता बोकेको एमालेले बहुदलीय प्रतिस्पर्धा स्वीकार गरेर मुलधारको राजनीतिमा जोडिएको हो । 

०४८ सालमा एमालेले आफूलाई बहुदलीय प्रतिस्पर्धामा उतार्यो जबकी उसले ०४७ सालको संविधानलाई आलोचनात्मक समर्थन भनेको थियो । र, ०४९ मा त पार्टीको महाधिवेशनबाट आफ्नो पार्टीको सिद्धान्त नै बहुदलीय जनवाद बनायो । 

शान्तिपूर्ण राजनीति र प्रतिस्पर्धामार्फत् श्रेष्ठता हासिल गर्ने राजनीतिबाट अघि बढ्न सकिन्छ भन्ने बाटोमा एमालेलाई मदन भण्डारीले ल्याए । यो पनि कांग्रेसकै प्रभाव हो ।  १० वर्षे सशस्त्र द्वन्द्वबाट कांग्रेससँगकै वार्ता र संवाद अनि प्रभावमा माओवादी पनि बहुदलीय प्रतिस्पर्धात्मक शान्तिपूर्ण राजनीतिको बाटोमा छ । यो कांग्रेससँगै सिकेको हो भन्ने हामी ठान्छौँ । 

कांग्रेसका राम्रा कुरा जस्तै कमजोरीको फेहरिस्ता पनि लामो छ । कांग्रेसका कमजोरीहरू पनि अरु दलले यही गुरुकुलमा सिकेका छन् । 

कांग्रेसबाट ती दलले गुटबन्दी सिके, अन्तरकलह सिकेका छन् । सरकारमा गएर गैरजिम्मेवार हुन सिकेका छन् । सरकारमा गएपछि जनभावना अनुरुप हेक्का राखेर काम गर्नुपर्छ, जिम्मेवार हुनुपर्छ भन्ने मान्यताविरुद्ध जान सिके मुलुकलाई निश्चित अवधिभित्र उन्नन्ति र प्रगतिमा लगेर विकासको यो उचाइमा लैजानुपर्छ भन्ने प्रतिबद्धता पुरा गरे पनि हुन्छ नगरे पनि हुन्छ भन्ने गैरजिम्मेवारी पनि सिके ।

प्रजातान्त्रिक मूल्य मान्यता नै अहिलेको विश्वको सत्य हो भन्ने बुझेर प्रजातान्त्रिक मूल्य मान्यतामा आउन पनि सिके, अर्को गैरजिम्मेवारी पनि सिके । यी सबै कमजोरीबाट कांग्रेसलाई मुक्त गर्दै जनताको विश्वास फर्काउन र जनताकै पार्टी बनाउन रुपान्तरण जरुरी भएको हो । 

कांग्रेसले के–के गल्ती गर्‍यो अहिलेसम्म ?

हामीले २०४६ सालमा आएको परिवर्तन, ०४७ सालमा बनेका संविधान र ०४८ सालमा प्राप्त गरेका जिम्मेवारी हामीले पूर्णरूपमा पुरा गर्न सकेनौँ । 

संविधान निर्माणको जिम्मेवारी त हामीले पुरा गर्‍यो । तर, ०४८ सालदेखि ८० सालसम्मको अवधिलाई हेर्‍यौँ भने हामी सरकारमा जाँदा सरकारमा सहभागी भयौँ । (यद्यपि, कम्युनिष्टहरू पनि गए सरकारमा र पछिल्लो समय त झण्डै कम्युनिष्टहरू नै बढी सरकारमा गए) तर, हामीले हाम्रो काँधमा इतिहासले सुम्पिएको दायित्व, अविभारालाई पुरा गर्ने कुरामा चुक्यौँ । 

विकासमा चुक्यौँ, सुशासनमा चुक्यौँ, सत्तामा गएर सेवा प्रवाह गर्ने कुरामा हामी चुक्यौँ, लोकतन्त्र पारदर्शी राजनीतिक प्रणाली हो । आम जनता र सरोकारवालाको स्वामित्वमा चल्ने पारदर्शी प्रणाली हो लोकतन्त्र । 

यसमा कांग्रेस चुक्नुको कारण व्यक्तिवाद हाबी भएर हो । पार्टी हैन नेता बलियो हुनुपर्छ भनेर लाग्दा गुटगत राजनीतिले जरा गड्यो । हामीले विधि पद्धति सबै उल्लंघन गर्‍यौँ । नयाँ पुस्तालाई जिम्मेवार हुन सिकाउन सकेनौ, जसका कारण हामी भन्दा पनि गैरजिम्मेवार नयाँ पुस्ता उत्पादन गर्यौ, त्यसको कारण पनि हामी हौँ, यो स्वीकार गर्नुपर्छ । 

स्वीकार गर्ने कि सुधार पनि गर्ने ?

ठूलो संख्याको युवा पुस्तालाई विदेश पलायन हुनबाट रोकेर देशको निर्माणमा लगाउनुपर्ने थियो । त्यो पनि हामीले सकेनौँ । 

०४८ सालको कुरा छोड्ने हो भने पनि ०६४ पछि त यो मुलुक अब सुधारको बाटोमा गयो भन्ने नेपाली जनताको विश्वास थियो । त्यो आशा र विश्वासलाई पनि हामीले जोगाउन सकेनौँ । त्यसयता लाखौँ युवा विदेसिइसके । हरेक वर्ष लाखौँ युवाहरू अध्ययनका सिलसिलामा र विश्व श्रम बजारमा निस्कन बाध्य छन् । अर्बौँ रुपैयाँ युवासँगै बाहिर पठाइरहेका छौँ । 

भनेपछि हामीले न आर्थिकरूपमा आन्तनिर्भर बनायौँ, न लोकतन्त्रको भविष्यलाई सुरक्षित र सुनिश्चित गरेका छौँ, न नयाँ पुस्तालाई स्वदेशमै भविष्य देख्ने आधारभूमि देशलाई बनाउन सक्यौँ, न पार्टी नै राम्रो चलायौँ । यसअवधिमा हामीले धेरै कुरा नकारात्मक बनाएका छाँ । यी सबै विषयलाई रोकेर अब सुधार गर्नुपर्छ । यसरी जान सकिँदैन सुधार अनिवार्य र अपरिहार्य छ । 

अहिले कांग्रेसका लागि चुनौती थपिएको हो ?

पहिलो राजा चुनौती थिए, अहिले राजा छैनन् चुनौती विस्तारित भएका छन् । राजा र राप्रपाका दौड मात्र कांग्रेसका लागि चुनौती होइनन् । कम्युनिस्ट पार्टीहरू मात्र पनि कांग्रेसका चुनौती होइनन् । नयाँ थपिएका पार्टीहरू सशक्त भएर आउँदैछन् । उनीहरू पनि चुनौती बन्दैछन् । हामै्र गढहरूमा स्वतन्त्र उमेदवारले हामीलाई नै पराजित गरिसकेका छन् । 

जनमत हामीसँग टाढिएको अवस्था छ । युवाहरू मात्र होइन सबै उमेर समूहका मतदाताले हामीसँग भर नगरेको देखिदैछ । स्थानीय निर्वाचनमा विभिन्न ठाउँमा स्वतन्त्र उमेदवारले जिते ।  

यी चुनौतीलाई सामना गर्ने हाम्रो तयारी खोइ ? ०८४ का लागि अहिलेदेखि तयारी गर्नुपर्‍यो नि । पार्टी त्यसका लागि तयार भएको देखिदैन । भातृ संस्थाहरू पनि त्यसमा केन्द्रित छैनन् । 

मौजुदास्थितिबाट हामीले आफूलाई मुक्त नगर्ने हो भने हाम्रा लागि भोलिको दिन आजको भन्दा खराब आउनेवाला छ । यसकुराको हेक्का नेतृत्वमा रहेकोमा पाइएन । पार्टीका नेताहरूमा पाइएन । यसकारण हामीले पार्टीका तल्लो तहका नेता कार्यकर्ता साथीहरूलाई भेटिरहेका छौँ । 

रूपान्तरण अभियान काठमाडौंमा बस्ने, यतै रमाउने दुई, चारजनाले चलाएको अभियान होइन । हामीले देश विदेशमा बसेका साथीहरूबाट सुझाव लिएर त्यसलाई सुत्रबद्धरूपमा पार्टीमा पुर्‍याएर, पार्टीलाई यथास्थितिबाट मुक्त भएर अघि बढ्न प्रेरित गर्ने अभियान चलाएका हौँ ।

कांग्रेसप्रति सर्वसाधारणको बुझाइ के रैछ ?

कांग्रेसको नेतृत्वसँग पब्लिक निराश पाइएको छ । यो कुनै पूर्वाग्रह कुरा होइन । वास्तवमा जसरी काम गर्न सक्नुपर्थ्यो– सरकारमा जाँदा होस् वा पार्टी सञ्चालनका क्रममा आफ्नो भूमिका नेपाली कांग्रेसले निर्वाह गर्न सकेन । 

नेपाली कांग्रेस संवेदनहीन भयो । नेपाली कांग्रेसको नेतृत्वमा गम्भीरता देखिएन । जनतासँग संवादको विधि नै तयार भएन अर्थात् कांग्रेस जनताबाट टाढा पुग्यो भन्ने बुझाइ देखियो । नेपाली कांग्रेससम्म र कांग्रेसले बनाएको सरकारसम्म (यो सरकार त हामीले बनाएको हो) जनताको पहुँच नै भएन । सरकारको जनतासँग संम्वाद नै भएन । संघीय मात्र होइन प्रदेश र स्थानीय सरकारले पनि जनतासँग संवाद गरेनन् । स्थानीय जनप्रतिनिधिदेखि प्रदेश र संघीय सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरू जिम्मेवार भएनन् भन्ने गुनासो नागरिकमा छ । 

यसक्रममा तपाईंहरूले कांग्रेस बाहेकलाई पनि भेट्नुभयो ?

हामीले पार्टीका साथीहरूसँग आएका राजनीतिप्रति चासो राख्ने मात्र होइन राजनीतिसँग सरोकार नराख्नेहरूसँग पनि कुरा गरेका छौँ । औपचारिक कार्यक्रममा आएकाहरूसँग मात्र होइन, विभिन्न व्यक्तिकोमा गएर भेटघाट गरेका छौँ । साथीभाइका घरमा गएर बस्यांै, दलितका घरमा बसेर खाना खायौ । त्यहाँ हामीले सामान्य जनताले कसरी बुझिरहेका छन् भनेर संवाद गर्यो । 

के पाउनुभयो त ?

संवादमा उहाँहरूले आफ्ना धारणा हामीलाई निर्धक्क राख्नुभएको छ । पहिलो कुरा त हाम्रो जस्तो कमजोर अर्थतन्त्र भएको देशमा तीन तहका सरकार नै आवश्यक पर्दैन भन्ने उहाँहरूको बुझाइ पाइयो । केन्द्रीय र स्थानीय गरी दुई तहका सरकार भए पुग्छ, बीचको प्रदेश सरकार बोझ हो भन्ने उहाँहरूको बुझाइ देखियो । पाँच वर्षमा प्रदेश सरकारले खेलेको भूमिका र त्यसबाट गरिएको अनुभवले यो सरकार चाहिँदैन भन्ने उहाँहरूको सुझाव छ । 

दोस्रो समानुपातिक प्रणाली पनि दुरुपयोग भएको जनस्तरमा बुझाइ छ । देशको ढुकुटीमा डाडुपन्यू चलाएका नेताकै घरपरिवारका सदस्यलाई ल्याउन त्यो व्यवस्था होइन, दुरुपयोग भयो त्यसकारण यो प्रणाली खारेज गर्नुपर्छ भन्ने पनि उहाँहरूको सुझाव छ । समावेशी व्यवस्था कायम र राष्ट्रियसभालाई समावेशी सभा बनाउँदा हुन्छ भन्ने उहाँहरूको सुझाव छ । 

तेस्रो प्रतिनिधिसभामा २७५ सदस्यीय बनाउन आवश्यक छैन । त्यसलाई प्रत्यक्ष निर्वाचित बनाएर दुईसय वा त्यो भन्दा कम बनाउन सकिन्छ, प्रतिनिधिसभामा घटाएर सानो बनाएपछि, समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न राष्ट्रियसभालाई ५९ बाट ८० आसपास बनाउन सकिन्छ भन्ने पनि सुझाव छ ।

नेता कार्यकर्ता र जनताका सुझाव समान हुन् ?

फरक छन् । पार्टीका नेता÷कार्यकर्ता पार्टी सञ्चालनको शैलीसँग सहमत छैनन् । उनीहरू यही कार्यशैलीबाट अघि बढ्यो भने पार्टीले अगाडिको यात्रा सहजरूपबाट गर्न सक्दैन भन्ने बुझाइमा छन् । सरकारमा गएपछि मन्त्रीहरूको गर्नेगरेको कार्यसम्पादनसँग उनीहरूका गम्भीर असहमति र आक्रोश छन् । 

अर्को नेपाली कांंग्रेसले सुशासनलाई सुनिश्चित गर्न सकेन, भ्रष्टाचारलाई नियन्त्रण गर्न सकेन, भ्रष्टाचारलाई पार्टीभित्रका केही व्यक्तिले संरक्षण नै गरे भन्ने गुनासो छ । अरु बाँकी गुनासोहरू राजनीतिमा संलग्न नभएका आमजनताका हुन् । 

संविधानले व्यवस्था गरेको संघीयताको स्वरुप नै बदल्ने, भ्रष्टाचार नियन्त्रण गर्ने सुझाव छन् । यी खाली सैद्धान्तिक रूपमा प्रतिवेदनमा राख्ने सुझाव हुन् कि कार्यान्वयन पनि सम्भव छ ?

हेर्नुस् अवस्था भयावह छ । सरसरती हामीले दृष्टिपात गर्दा यी समस्याहरूलाई हामी दुईचारजना व्यक्तिले मात्र सुधार गर्न सक्दैनौ । तर, हामीसँगै जिम्मेवारीमा रहेका नेताहरूले पनि दृढतापूर्वक संकल्प गर्नुभयो भने कार्यान्वयन असम्भव पनि छैन । त्यसका लागि सुरुआत सदस्यता वितरणबाटै गर्न सकिन्छ । सदस्यता वितरणप्रणाली अहिले विल्कुलै ठिक छैन । महाधिवेशनमुखी मात्र छ । 

साधारण सदस्यतालाई नेपाली कांग्रेसको सदस्य भनिएको छ । नेपाली कांग्रेसको सदस्यता वितरण नै हुँदैन । भर्खरै अहिले अनलाइन वितरण सुरु भएको छ । यसले केही परिवर्तन जस्तो देखाएको छ । यद्यपि, भारतमा साउथ अफ्रिकामा वर्षौ भयो यो सुरु गरेको । 

क्रियाशील विचरणमा भने अलिक जटिलता छन् । नेपाली कांग्रेससँग प्रतिबद्ध भएर क्रियाशील रहेको प्रमाण के हो, त्यो कुरा स्पष्ट नपारीकन  अनलाइन क्रियाशील बाड्नेकुरा त्यति वैज्ञानिक हुँदैन । 

कांग्रेसप्रति आकर्षण फर्काउने सुत्र के हो त ?

मुल कुरा मूल्यांकन प्रणाली हो । न्यायपद्धति त मरिसकेको छ कांग्रेसमा । कसले दिनरात पार्टीका लागि संकटमा काँध थापेको छ, काम गरेको छ कसले अवसर पाएको छैन, त्यसलाई अवसर दिनु न्याय हो । त्यो नहुँदा निराशा बढेको हो । 

मूल्यांकन भनेको व्यक्तिको कार्यदक्षता, कार्यक्षमता, उसको समाज र राष्ट्रमा प्रभाव र उसको सामाजिक, राष्ट्रिय आवश्यकता हेरेर अवसर र जिम्मेवारी दिने हो ।

पार्टीको जिम्मेवारीमा बसेका÷नबसेका सबै एक ढिक्क भए हाम्रो सानो देश छ । तीन करोड जनसंख्यामध्ये करिब एक करोड त देश बाहिर होला । कांग्रेसका सदस्य, समर्थक र मतदातासमेत गर्दा ५० लाख होलान् । कांग्रेससँग भएको क्रियाशील सदस्य त जम्मा आठ लाख ४० हजार हुन् । त्यति क्रियाशीललाई न्यायपूर्ण जिम्मेवारी र मूल्यांकनका आधारमा अवसर दिने हो भने ५० लाखलाई विश्वासमा लिन सकिन्छ । ५० लाखलाई विश्वासमा लिएर परिचालन गर्न सकियो भने सिंगो तीन करोड जनसंख्यालाई आशा जगाउन सकिन्छ । 

एउटा स्वतन्त्र जितेको मेयरले साना–साना काम गरेर जनतामा आशा जगाउन सक्छ भने हामी झण्डै ८० वर्षको अनुभव भएको, आठ लाख सक्रिय सदस्य भएको, गौरवपूर्ण इतिहास भएको पार्टीले साँच्चै चाहने हो भने व्यक्तिगत स्वार्थ छोडेर जनतामा आशा मात्र होइन भरोसायोग्य काम गर्छुु भन्ने हो भने अवस्थामा सुधार आउँदैन र ? यति ठूलो प्रतिष्ठा बोकेका पार्टी छ, यति धेरै योग्य जनशक्ति छ, नागरिकसँगको सम्बन्ध कस्तो हुनुपर्छ भनेर परिभाषित गर्नसक्ने युवा शक्ति किनारामा धकेलिएको छ । 

योग्य व्यक्तिहरू पाखा परेका छन् । नागरिकसँग भन्दा नेतासँग सम्बन्ध राख्नेले अवसर पाएका छन् । भ्रष्ट आचरण भएको व्यक्तिहरू अवसरमा पुगेका छन् । विचौलियाहरूले नेतृत्वलाई÷नेताहरूलाई घुमाइरहेका छन् । यही त हो समस्या हाम्रो । यत्तिमात्र तोड्ने हो भने त नागरिकले वर्षौ भरोसा गरेको पार्टीको भरोसा फर्किन्छ । खाली सुध्रने र सुधार्ने प्रतिबद्धतासहित विश्वासयोग्य कदम न चाहिएको हो । कांग्रेसभित्र युवालाई अवसर छ र युवाहरूलाई जिम्मेवारीसहित अघि बढाउँछ भन्ने विश्वास मात्र कायम गर्ने हो भने कांग्रेसले एक वर्षभित्र काँचुली फेर्छ । 

तपाईंले भनेजस्तो दृष्ढ प्रतिज्ञा भएको नेतृत्व कंग्रेससँग छ ? यदि छैन भने त एक/दुई वर्षभित्रै नेतृत्व परिवर्तन गर्ने नियमित बाटो त छैन । कांग्रेस सुध्रने कसरी हो ?
यसका लागि दुइवटा बाटो छन् । सबै मिलेर हाम्रा कमीकमजोरी स्वीकार गर्दै त्यसमा सुधार गर्न सकिन्छ । नेतृत्वको हैसियतले कमजोरी स्वीकार गर्दै सभापतिले नै त्यसको कार्यान्वयनको पनि नेतृत्व लिनसक्नुहुन्छ । केन्द्रीय सभापतिदेखि वडासभापतिसम्म, केन्द्रीय समितिदेखि क्रियाशील सदस्यसम्म सबैले सुध्रने प्रतिबद्धतासहित अघि बढ्दा परिवर्तन तत्काल सम्भव हुन्छ अनि त्यो बाटो सहज र प्रभावकारी हुनुका साथै कांग्रेस भित्रको द्वन्द्व पनि समाप्त हुन्छ । 

तर, त्यसो भएन, नेतृत्व परिवर्तनलाई रोक्नका लागि मेहनत गर्न खोज्छ भने त विशेष बाटो अपनाउनु पर्‍यो । नियमित बाटो कुर्ने छुट अहिलेको पुस्तालाई रहँदैन । नेतृत्व परिवर्तन गर्न, नेता कार्यकर्ताको ऊर्जा मर्न नदिन विशेष महाधिवेशनमा जानैपर्छ । 

विशेष महाधिवेशनका लागि वातावरण बनेको छ ?

०८० सालको ६ महिनासम्म पनि सुधारका संकेत देखिएनन् भने कांग्रेस विशेष महाधिवेशनमा जान्छ । विधानले दिएको बाटो हो त्यो । नियमित समयअगावै नेतृत्व फेर्ने वैधानिक बाटो हो त्यो । 

यो बाटो कठोर र निर्मम देखिन्छ । तर, नेपाली जनताको भविष्यलाई प्रभावित पार्ने, युवापुस्ताको भविष्यलाई अन्योलमा राख्ने र सिंगो कांग्रेसको भविष्य अन्धकारमा धकेल्ने कुरालाई कुनै व्यक्तिप्रतिको सद्भावले रोक्न सक्दैन । त्यस्तो सद्भाव राखेर यदि हामी बस्यौ भने आउने पुस्ताले हामीलाई प्रश्न गर्नेछ । 

त्यत्रो ठूलो संकट तिमीहरूले देखेका थियौ, बोल्यौ पनि । तर, तिमीहरूले काम चाहिँ के गर्‍यौ भनेर प्रश्न सोध्नेछ । नेतृत्व सुधार्ने काम गर्न सकेनौँ भने फेर्न त सक्नुपर्थ्यो किन गरेनौँ भनेर भोलिको पुस्ताले सोध्नेछ । त्यसबेला प्रश्न गर्नेहरू भए पनि पार्टी बनाउने युवा हामीसँग नरहन सक्छ । यो अवस्थाको संबोधन गर्न र कांग्रेसको भविष्य कायम राख्न विशेष महाधिवेशनबाट भए पनि नेतृत्व फेर्नुपर्छ । 

गुटको महासंघजस्तो कांग्रेसमा परिवर्तनको नारामा सबै एकाकार हुन्छन् र  विशेष महाधिवेशन सम्भव हुन्छ ?
अहिलेको पुस्ताले भनिरहेका कुराहरू कसैका निजी होइनन् । कांग्रेस सुधार्ने र सुशासनमा देशलाई हिँडाउने कुरा कुनै व्यक्तिको निजी स्वार्थ हुनसक्दैन । हामीले फलानो मान्छे हटेर फलानो पदमा हामीलाई राख्नुस् भन्ने माग राखेका होइनौं । हामी सबै मिलेर यो पार्टीलाई सुधारौ भन्दैछौँ । यो आग्रह स्वीकार भएन भने त्यसमा हाम्रो दोष हुँदैन । त्यसपछि पार्टीको विधानले दिएको विकल्पको बाटो हिँड्नु हाम्रो कर्तव्य हुन जान्छ । यो हामीले बोल्ने कुरा मात्र होइन हामी गर्छौँ । इतिहासले नै प्रमाणित गरेको छ कि हामी बोलेको कुरा गर्छौँ । परिवर्तनको मुद्दालाई एउटा खेमा वा गुटसँग जोडेर सामान्यीकरण गरिन्छ भने परिवर्तन रोकिन सक्दैन अघि बढ्नै पर्छ । 

परिस्कृत लोकतन्त्र भएका मुलुकमा यस्तो प्रश्न उठ्थ्यो भने नेतृत्वले सम्बोधन गर्थ्यो । या त आफैँ महाधिवेशन बोलाएर सम्बोधन गर्थ्यो, या त हामीमाथि विश्वास छैन भने विधानको बाटो अवलम्बन गर्नुस् भन्थ्यो होला । 

तर, हाम्रोमा त नेता छान्ने महाधिवेशन गरेर ६ महिनाभित्र नीति महाधिवेशन गर्ने भनिएकोमा २० महिनसम्म नीति महाधिवेशन बोलाउने लक्ष्यण छैन । यो २० महिनासम्म नेपाली कांग्रेस कुन नीतिमा चल्यो, स्थानीय तहमा, संघीय प्रादेशिक चुनावमा कुन नीतिअनुसार गठबन्धन गरियो ? गैरजिम्मेवार काम भएको छ ।

तपाइँहरूको ल्याकत पुग्छ ४० प्रतिशतको  ?

४० प्रतिशत होइन । विशेष महाधिवेशनका ‘फन्ट’ खोलेर आह्वान मात्र भयो भने ५० प्रतिशत त्यसै आउँछ । ५० प्रतिशत महाधिवेशन प्रतिनिधिले कुनै नेताको मुख ताक्दैनन् परिवर्तनका पक्षमा उभिन्छन् । अहिले कार्यकर्ताहरू नेताको मुख ताकेर पार्टीको भविष्य अन्धाकारमा धकेल्ने पक्षमा छैनन् । त्यो विश्वास मैले सात प्रदेशका साथीहरूसँग भेटेर कुरा गरेपछि पाएको आत्मविश्वास हो । यसमा कुनै बढाइचढाइ छैन । 

जहाँसम्म निर्णयका लागि आवश्यक पर्ने अरु थप १०/१५ प्रतिशत मत छ । त्यसका लागि नेताहरूले सहयोग गर्नुहुन्छ । भोलि आउने नेतृत्वले त्यो काम गर्छ ।

विशेष महाधिवेशनमा जाँदा नेतृत्व अभियानमा लागेकाहरूरुले नै दाबी गर्नुहुन्छ ?

अभियानमा लागेको साथीहरू हुनुहुन्छ । त्यसपछि अभियानलाई समर्थन गर्ने नेताहरू हुनुहुन्छ । तपाईंले संचारमाध्यममा सुनिराख्नुभएको छ । अभियानलाई नजरअन्दाज गरेका नेताहरू पनि हुनुहुन्छ । 
हामीप्रति सदभाव राख्ने नेताहरूको सहयोग त हामीले लिनेछौँ नि । त्यो सहयोगबाट हामी विशेष महाधिवेशनलाई टुंगोमा पुर्‍याउँछौँ । 

तपाईंहरू रूपान्तरण अभियान भन्दै हुनुहुन्छ । तर, नेताहरूबीच यो अभियान नै कस्को हो भन्ने प्रश्नमा अल्झिएको देखिन्छ । यस्तो अवस्थामा रूपान्तरण हुन्छ कांग्रेस ?

कांग्रेसमा दुईवटा वर्ग जस्तै छ । एउटा आफ्नो ठाउँको नेता हो, क्षेत्रीय प्रतिनिधि, स्थानीय तहको कार्यसमितिको पदाधिकारी र सदस्य, क्षेत्रीय समितिका पदाधिकारी र सदस्य, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य तथा जिल्ला कार्यसमितिका सभापतिसहितका कार्यसमितिका पदाधिकारी र सदस्यहरू । उ आफ्नो ठाउँको नेता हो । यद्यपि, उसले नेता नेतृत्व भन्नाले केन्द्रतर्फ हेर्छ र आफूलाई मातहतको सोचिरहेको छ । अर्को आफूलाई नेता ठान्छ । हो त्यो नेता ठान्ने समूहले परिवर्तन त हामीले गरे न हुने हो भन्ने ठान्छ । महाधिवेशन आइहाल्छ, क्रमिक रूपमा परिवर्तन भइहाल्छ, भनेर गफ दिन्छ । आफूले नगरेका कुनै अभियान सफल हुन्छन् भन्ने पनि ठान्दैन । 

तर, रूपान्तरण परिवर्तनको आवश्यकता अहिले आफूलाई नेता मान्ने वगैले होइन, ग्रासरुटमा बसेको नेता÷कार्यकर्ताले महसुस गरिरहेको छ । आफ्नो नजिक के भइरहेको छ, मानिसहरूले कसरी सोचिरहेका छन् र अब कांग्रेसभित्रको आवश्यकता के हो भनेर त्यो वर्गले राम्ररी बुझेको छ । उसलाई कांग्रेस जोगाउने हुटहुटी पनि छ । 

अब नेता वर्गमा सुधार आएन भने त्यो वर्ग उसका लागि चुनौती बनिसकेको छ । यो बुझ्ने नेताहरूले आफ्नो औचित्य स्थापित गर्ने बाटो रोज्छ । यो स्वीकार नगर्नेले आफूलाई असान्दर्भिक बनाउँछ । 

रूपान्तरण अभियानत साझा हुनुपर्ने होइन, तपाईंहरू केही व्यक्तिमात्र हिँडिरहनुभएको छ त ?

वास्तवमा रूपान्तरण अभियान सुरु गर्नुभन्दा अघिदेखि नै हामीले र पार्टीको केन्द्रीय समितिमा रहेका साथीहरूले उठाउँदै आएका पार्टीका आन्तरिक विषयहरूः पार्टी सञ्चालनको कार्यशैली, विधिविधानको परिपालना, भातृ संगठनको गठन, परिचान र पार्टीका अवयवहरूको गठन र परिचालन, उनीहरूको भूमिका, क्रियाशीलता, पारदर्शिता, बैठक, बैठकका निर्णयहरू र समसामयिक राजनीतिका बारेमा कांग्रेसको दृष्टिकोण र धारणाका विषयमा विषयमा अन्तरसंवाद गरेका छौँ । त्यो भन्दा ठूलो कुरो चाहीँ पार्टीको १४औँ महाधिवेशनमा नेतृत्व चयन गर्ने र नीति तर्जुमा नगर्ने गरेका कारण हाम्रो थाती रहेको मुद्दाका विषयमा हामीले जुन कुराहरू उठाउँदै आएका थियौ, त्यसमा देशभरीका साथीहरूका थप सुझावहरूलाई सुत्रबद्ध गरेर हामीले पार्टी नेतृतव र केन्द्रीय कार्यालयमा बुझाउने र पार्टीलाई यथास्थितिबाट मुक्त गर्न पार्टीका आम साथीहरूको सुझावसमेत समेटेर ठोस प्रस्ताव बुझाउने हाम्रो योजना छ । 

हाम्रा सुझावहरूलाई कति सुनिन्छ, कति लागु गरिन्छ, त्यसलाई हेरेर हामी जिल्लाका कार्यक्रम तय गर्छौँ । जिल्लाका कार्यक्रममा जाने भनेको यसको दोस्रो चरण मात्र होइन प्रभावकरी चरणमा प्रवेश गर्नेछ । अलिक ठूलो संख्यामा हामी साथीहरू भेट्छौँ, साथीहरूका आक्रोश, गुनाशा, असन्तुष्टि र प्रश्नहरूलाई फेरि हामी संकलन गर्छौँ । त्यहाँ प्राप्त भएका सुझावका आधारमा रूपान्तरण अभियानका आगामी कार्यक्रम तर्जुमा गर्छौँ । 

खासमा यो अभियान चाहिँ कस्को हो ?
वास्तवमा यो अभियान पार्टीको उन्नती चाहने, पार्टीको भलो चाहने, पार्टीको सुन्दर र सुनिश्चित भविष्य चाहने र लोकतन्त्रको सुदृढ र सुरक्षित भविष्य चाहने सबैको हो । यो अभियानलाई साँघु¥याउन गुटगत अभियान भन्ने प्रयत्न पनि यदाका हुँदै छ । यो अभियान गुटगत अभियान पनि होइन । नेता विशेषको अभियान होइन भनेर हामीले भनेकै छौँ ।

वास्तवमा यो अभियानका विषयमा हामीले धेरैजना नेतासँग कुरा गरेका छौँ । सभापतिसँग भने कुरा हुन बाँकी नै छ । अभियानमा निस्कने निर्णयपछि तत्काल सभापतिसँग भेट हुन सकेन, वास्तवमा हामी सभापतिलाई पनि जानकारी गराएर जाने योजनामा थियौँ । सभापति बाहेक पदाधिकारी र नेताहरुलाई जानकारी गराएका थियौँ । यो अभियान नेता विशेष वा कुनै खासगुटका विरुद्धको वा कुनै अमुक गुटका पक्षको अभियान होइन ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC