site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एक वर्षपछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेन्डा
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक भोलि बस्दै छ । अघिल्लो बैठकको ठिक एक वर्षपश्चात् असार २७ गते भोलि बैठक बस्न लागेको छ । विधानअनुसार प्रत्येक दुई महिनामा बस्नुपर्ने बैठक कहिले सत्ता राजनीति मिलाउन त कहिले पार्टी नेता बालकृष्ण खाँण भ्रष्टचार मुद्दामा फसेपछि मिति तोकेर पनि सर्दै आयो ।

सभापति शेरबहादुर देउवाले विधानमाथि आक्रमण गर्दा इतर समूहका नेता शेखर कोइरालासहित महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा पनि मुर्खदशक बने । उनीहरुले सार्वजनिक खपतका लागि बोल्नबाहेक केही गर्न सकेनन् ।

कांग्रेसको भोलिको बैठकको मुख्य एजेन्डा तय भइसकेका छन् । पार्टी सहमहामन्त्री भिष्मराज आङ्देम्बेका अनुसार बुधबार बिहान ९ बजे पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बसेर एजेन्डालाई अन्तिम रूप दिइनेछ । सोमबार राति सभापतिसहित र मंगलबार दुई महामन्त्री बसेर एजेन्डा टुंग्याउने कुरा भएको उनी बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“भोलि बिहान ९ बजे पदाधिकारी र पूर्वपदाधिकारी बसेर एजेन्डा फाइनल हुन्छ । अहिले हामी त्यसैको तयारीमा जुटेका छौँ,” आङ्देम्बेले बाह्रखरीसँग भने ।

एजेन्डा बनाइरहँदा पार्टीका प्रभावशाली नेता तथा सभापतिका विश्वासपात्र बालकृष्ण खाणँको विषयमा के गर्ने भन्ने अन्योल कायमै छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका खाँणलाई निलम्बन गर्नुपर्ने पक्षमा सभापति देउवा छैनन् ।

Global Ime bank

देउवाले बैठक बोलाउँदैमा खाँणको विषय नउठोस् भन्ने चाहेको एक केन्द्रीय सदस्य बताउँछन् । “सभापतिज्यू खाँणको विषय उठोस् भन्ने चाहनुहुन्न । उठे पनि यसको ‘सेफ ल्यान्डिङ’को पक्षमा हुनुहुन्छ । त्यसकारण यो विषय केन्द्रीय समितिमा कसरी उठ्छ भन्ने छ,” ती केन्द्रीय सदस्यले भने ।

सभापति देउवानिकट एक पदाधिकारी भने खाँण एक व्यक्तिको विषयमा सभापतिले केही नबोलेको दाबी गर्छन् । उनले एजेन्डा फाइनल नभएकाले यो विषयमा थप बोल्न नसकिने बताए । “उहाँले व्यक्तिको विषयमा केही भन्नुभएको छैन । एजेन्डा फाइनल बिहानमात्र हुन्छ,” उनले भने ।

यी हुन् एजेन्डा

गएको वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म कांग्रेस केन्द्रीय समिति बैठक बसेको थियो । १३ बुँदे निर्णय गर्दै कांग्रेस प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिएको थियो । त्यसपश्चात् मिति तोक्दै बैठक सार्ने काममा सभापति र पार्टी नेतृत्व लागेको थियो ।

एक वर्षपछि बस्न लागेको बैठकको औपचािरक एजेन्डा पूर्ण रूपमा तय नभए पनि मोटामोटी एजेन्डाहरू तय भएको नेताहरू बताउँछन् । पार्टी सहमहामन्त्री आङ्देम्बेका अनुसार अहिले देखिएका समसामयिक विषयहरू नै बैठकको एजेन्डा भएको बताउँछन् ।

कांग्रेसको मंसिर ४ मा सम्पन्न भएको निर्वाचनको समीक्षा गरेकै छैन । गठबन्धन गर्दा पार्टी संगठनप्रति कार्यकर्ताको आशा र निराशाको विषयमा समीक्षा हुने देखिन्छ । यस्तै, पार्टीको नीति महाधिवेशनको विषय पनि अर्को मुख्य एजेन्डा भएको आङ्देम्बे बताउँछन् ।

यस्तै, बैठकले असार २१ र २२ गते बसेको जिल्ला सभापतिहरूको भेला र सदस्यताको विषय, पटकपटक भएका कार्यसम्पादन समिति बैठकका निर्णयहरूको अनुमोदन पनि बैठकको विषय हुन् । “पार्टीको नीति कार्यक्रम, निर्वाचन समीक्षा, जिल्ला सभापतिहरूको बैठक, निर्वाचनमा उल्लंघन भएको अनुशासन यी र यस्तै विषय हुन्,” आङ्देम्बेले भने ।

पार्टी केन्द्रीय समिति बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थाको तदर्थ समिति नबनेको र बनेका समितिहरूमा पनि धेरै असन्तुष्टिहरू छन् । यो विषयमा पनि प्रश्न उठ्ने देखिन्छ । यस्तै, विधानबमोजिम ६ महिनाभित्र गठन नभएको विभागको विषय, पार्टीको विभिन्न विषयमा अँगाल्नुपर्ने नीतिलगायतको विषयमा चर्चा हुनेछ ।

नयाँ दलको उदय र जनतामा पार्टीप्रतिको धारणा, पार्टीले बदलिएको परिस्थितिमा लिनुपर्ने नीतिलगायत विषयमा पनि छलफल हुने देखिन्छ । यसबाहेक समसामयिक राजनीतिक विषयमा पनि छलफल गर्ने तयारी कांग्रेसको छ ।

यतिबेला कांग्रेस सरकारमा छ । केन्द्रसहित सबै प्रदेशमा कांग्रेसको सरकार छ । केही दिनअघि जिल्ला सभापतिहरूले पनि तीन तहको सरकारमा कांग्रेस भए पनि जनताले यसको अपनत्व गर्न नपाएको भन्दै आपत्ति जनाएका थिए । सुशासनको विषयमा पार्टी चुकिरहेको अवस्थामा जनता र जनप्रतिनिधि जोडिन नसकेको दुखेसो उनीहरूको थियो । त्यसकारण केन्द्रदेखि स्थानीय सरकारको कार्यसम्पादनको समेत विश्लेषण गर्नुपर्नेमा केन्द्रीय सदस्यहरू छन् ।

केन्द्रीय सदस्य नैनसिंह महर बुधबारदेखि सुरू हुने बैठकमा विधान कार्यान्वयनको कमिटमेन्ट गराउने विषय नै महत्वपूर्ण भएको बताउँछन् । नीति महाधिवेशन र त्यसको आधार तय गर्न यो केन्द्रीय समिति बैठक आवश्यक भएको उनको भनाइ छ ।

“प्रमुख विषय विधान कार्यान्वनयको कमिटमेन्ट गराउनु हो । विधानअनुसार नियमित बैठक बसाएर पार्टी बलियो बनाउने विषय हो,” महरले भने, “राजनीतिमा नयाँ चुनौती र अवसर दुवै उत्पन्न भएको छ । समीक्षा तीन तहको सरकारदेखि निर्वाचनसम्मको गर्नुछ । पार्टी भनेको पदाधिकारी र पूर्वपदाधिकारीको मात्र हैन भनेर विषय उठान हुन्छ ।”

संसद् नहुँदा बैठक, पाँचदेखि सात मिनेट बोल्ने समय

कांग्रेसको बैठक कम्तीमा हप्ता दिन बस्ने तयारी छ । बैठकमा प्रत्येक केन्द्रीय सदस्यले पाँचदेखि सात मिनेट बोल्ने तयारी भइरहेको छ । संसद् बैठक चल्ने दिन भने केन्द्रीय समिति बैठक नचल्ने केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

“पर्याप्त समय लिएर बैठक बस्छ । एक केन्द्रीय सदस्यले पाँचदेखि सात मिनेटसम्म बोल्न पाउनुहुनेछ,” विश्वकर्माले बाह्रखरीसँग भने, “सभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय नेताहरू सांसद हुनुहुन्छ । त्यसकारण बैठक संसद् चलेको दिन बस्दैन ।”

पार्टीको केन्द्रीय समितिमा १५७ सदस्य छन् । कांग्रेस विधानअनुसार १६७ सदस्यीय केन्द्रीय समिति बनाउनुपर्ने हुन्छ । सभापति देउवाले अझै १० जनालाई मनोनीत गर्ने ठाउँ राखेका छन् ।

बुधबारदेखि हुने बैठकमा संगठनको आगामी कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमका साथै कांग्रेसको राष्ट्रव्यापी अभियानबारे पनि छलफल गर्ने कांग्रेसको तयारी छ । पार्टीलाई चलयमान र नयाँ पुस्तासँग जोड्न भन्दै कांग्रेसले संगठन सुद्धृढीकरणका लागि देशैभर अभियान सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १९:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय