site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
सत्य र लोकतन्त्र 

केही वर्षयता ‘सत्योत्तर (पोस्टट्रुथ’ र ‘तथ्योत्तर (पोस्ट फ्याक्ट’ युगमा बाँचेका छौँ भन्नु ‘थेगो’ जस्तै भएको छ । बेलायतमा ब्रेक्जिट जनमत संग्रह र पूर्वप्रधानमन्त्री बोरिस जोन्सनको उत्थान एवं पतनले सत्यको सङ्कटलाईराजनीतिक बहसको अग्रभागमा ल्याइदियो ।अमेरिकामा  पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको भद्रगोल कार्यकाल र पदावधि सकिएपछि पनि उनले अपनाएको झुटले अमेरिकी लोकतन्त्रको तन्तुमा नै कहिल्यै नदेखिएको सङ्कट आइपरेको छ ।  

ह्वाइट हाउसमा ४ वर्ष बस्दा ट्रम्पले ३० हजार ५७३ वटा असत्य बोलेको अनुमान द वासिङटन पोस्टले गरेको थियो । अर्थात् उनले दिनहुँ सरदर २१ वटा झुट बोले । ट्रम्पले यी सबैभन्दा ठूलो झुट आफूले २०२० को राष्ट्रपतिको चुनाव जितेको भनेर कार्यकाल समाप्त गरे । यथार्थमा भने चुनावमा निकट प्रतिस्पर्धासमेत भएको थिएन । राष्ट्रपति जो बाइडेन निर्वाचक मण्डलको ३०६ मत पाएका थिए भने बालिग मतमा त ७० लाखभन्दा बढीले जितेका थिए ।

ट्रम्पको कथनअनुसार बाइडेनले पाएका लाखौं मत जाली थिए भने ‘राज्य सत्ता’ र डेमोक्रेटिक पार्टीले उनका विरुद्ध ‘धाँधली’ गरेका थिए । ट्रम्पको यो षड्यन्त्रको सिद्धान्त गत अढाइ वर्षमा पूरै खण्डित भएको छ तैपनि  ‘चुनावमा धाँधली भएको’ सङ्कथन भने रिपब्लिकन मतदाताबीच व्यापक लोकप्रिय छ र यसले २०२४ को निर्वाचनमा रिपब्लिकन मनोनयन पाउनका लागि ट्रम्पलाई यसले मद्दत पुग्नसक्छ ।

Dabur Nepal
NIC Asia

ट्रम्पका तुलनामा जोन्सनको झुट कम रोमाञ्चक थिए । तैपनि, सत्यसँगको उनको  टाढाको नाताले अन्ततः उनी फेला परे । कोभिड -१९ काे बन्दाबन्दीका नियमको खुला उल्लङ्घन गरेर पनि स‌ंसद्लाई ठाडै ढाँट्ने काम उनको पतनको कारण बन्यो । बेलायतको संसद्मा झुटलाई अत्यन्त गम्भीरतापूर्वक लिन्छ भन्ने ध्यानमा राख्नु महत्त्वपूर्ण हुन्छ । उदाहरणका लागि अर्को सांसदमाथि झुट बोलेको आरोप लगाउनु अस्वीकार्य अभ्यास मानिन्छ । किनभने संसद्का माननीय सदस्यहरूले कहिल्यै त्यस्तो गर्दैनन् भन्ने ठानिन्छ । 

परन्तु, इमानदारी वा कम्तीमा इमानदार हुने प्रयत्नको कुनै अर्थ छ त? जोन्सन सार्वजनिक मञ्चमा ढाँट्ने पहिलो बेलायती राजनीतिज्ञ त होइनन् तर बेलायती राजनीतिका स्वयंभू ‘ठूलो मान्छे’ले धोकापूर्वक छुरीले हानेका भने पक्कै हो । हुनत मिथ्याचार निसन्देह स्वार्थकै लागि हुन्छ तैपनि प्लेटो र सुकरातले भनेजस्तो  सामाजिक सामञ्जस्य बनाइराख्न प्रयोग गरिने  ‘पवित्र झुट’को अवधारणा पनि छ । उदाहरणका लागि मुद्राको अवमूल्यन गर्ने तयारीमा लागेको नीति निर्माताले अन्दाजमा गरिने टिप्पणी रोक्न त्यसको खण्डन गर्न सक्छन् । 

यस तर्कमा कमजोरी भने पक्कै छ । सन् १९५६ मा बेलायतका तत्कालीन प्रधानमन्त्री एन्थोनी एडेनले बेलायतले स्वेज नहरको सङ्कटमा बेलायतले एक्लै सैनिक हस्तक्षेप गरेको भन्दै संसद्लाई पटकपटक भनिरहे । यथार्थमा भने बेलायतले इजिप्टमाथि गरेको असफल आक्रमण फ्रान्स र इजरायलसँग मिलेर गरेको थियो । सम्भवतः एडेनले महारानी एलिजाबेथ द्वितीयालाई पनि यस लज्जाजनक पराजयका सम्बन्धमा ढाँटेका थिए । यस्ता झुटले सार्वजनिक हित गरेका थिए भन्ने बारेमा त शङ्का नै छ । 

त्यसको करिब आधा शताब्दीपछि तत्कालिन प्रधानमन्त्री टोनी ब्लेयरले पनि बेलायत विध्वंशकारी इराक युद्धमा संलग्न हुनुको सत्य कारण बताउन कन्जुसी गरेका थिए ।  सामान्यतः इमानदार मानिएका ब्लेयरले  पहिले नै तय गरिएको आक्रमणको योजना कार्यान्वयन गर्न गुप्तचरको सूचना हेरफेर गरिएको भए पनि अमेरिका नेतृत्वको गठबन्धनलाई साथ दिनु महत्त्वपूर्ण थियो भनेर औचित्य सिद्ध गर्न सक्थे । यसमा आंशिक सत्य पनि होला तर आक्रमणका सम्बन्धमा दिइएको तर्क वाहियात सिद्ध भएको छ । 

जेहोस्, इमानुएल कान्टले भने झैँ सत्य र स्वतन्त्रता अभिन्नरूपमा जोडिएका छन् । अधिनायकवादी शासन र खुला लोकतान्त्रिक समाजबीच तुलना गरेमा यो अभिन्नता अझ स्पष्ट हुन्छ । अधिनायकवादी शासनमा नेताले आफ्नो व्यवहारलाई सही देखाउन जे भन्नुपर्ने देख्छ त्यही संकथन निर्माण गर्छ । असहमति निश्चय पनि सहने गरिँदैन ।  सन् १०३२/३३ मा दसौं लाख युक्रेनीहरू मारिएका होलोदोमोर ‘अनिकाल आतङ्क’ जोसेफ स्टालिन र करोडौं यहुदीको भयावह नरसंहारका सन्दर्भलाई युक्तिसंगत देखाउन एडल्फ हिटलर यसरी नै सफल भएका थिए । अभिव्यक्ति स्वतन्त्रता, पारदर्शिता र राजनीतिक विपक्षको अभावमा यी तानाशाहले सत्य बताउनै पर्दैन थियो । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कम्तीमा केही कालका लागि मात्रै भए पनि युक्रेनमा गरिएको ‘विशेष सैनिक कारबाही’का सम्बन्धमा जिम्मेवारी पन्छाउन सफल हुने एउटा कारण बनेको छ । यसैगरी, चीनका राष्ट्रपति सी जिनपिङले पनि सिनजियाङका श्रम शिविरमा कैद गरिएका उइगुरका हकमा पनि उनीहरूलाई आतङ्ककारी हुन नदिन ‘शिक्षण शिविर’ राखिएको दाबी गर्न पाएका छन् । जर्ज अर्वेलको उपन्यास ‘एनिमल फर्म’को शासक सुगुँर नेपोलियनले जसरी नै सबै तानाशाहहरू आफ्ना कर्तुत लुकाउन इमानदारीको मुकुन्डो धारण गर्छन् ।

अर्कातिर, खुला समाजमा प्रेस स्वतन्त्रता हुन्छ, जीवन्त संवाद र तथ्यमा आधारित नीति निर्माण हुन्छ । हुनत, उदार लोकतन्त्रहरू पनि सधै यी आदर्शहरूमा चल्दैनन् तैपनि व्यवहार तिनको सम्मान हुनुपर्छ भन्ने समझदारी हुन्छ र शक्तिका आडमा यस्ता आदर्शको सीमा उल्लङ्घन गर्ने नेतालाई तिनलाई शक्ति दिने मतदाताले हटाउन पनि सक्छन् । 

आधारभूत मूल्यमान्यताको उपेक्षा हुन थालेपछि उदार लोकतन्त्रकाे अस्तित्वको महत्त्वपूर्ण  आधार संस्थागत तथा बौद्धिक नियन्त्रण र सन्तुलन पनि कमजोर हुन्छ । राजनीतिक विमर्शमा झुटलाई सामान्य ठान्न थालिएपछि ढिलोचाँडो दुष्ट शासकहरूले झुट सहने प्रवृत्तिको दोहन गरिहाल्छन् । ढिलोचाँडो अदालतको आदेश पालना हुँदैन,  विपक्षी दलहरूको दमन गरिन्छ र भ्रष्टाचार व्यापकरूपमा फैलन्छ । अन्ततः विश्वास समाप्त हुन्छ र लोकतन्त्रका तानाबाना नै भताभुङ्ग हुन्छ ।

(अक्सफोर्ड विश्वविद्यालयका कुलपति)

Copyright: Project Syndicate, 2023.
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro