काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको मनोबल उकास्नुपर्ने बताएका छन् ।
मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाला मोदीसँगको भेटवार्तामा अग्रवालले पछिल्लो समय निजी क्षेत्रको मनोबल घटेको भन्दै उकास्नुपर्ने आवश्यकता रहेको बताए ।
साथै मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगारलगायतका विषयमा छलफल भएको परिसंघले जनाएको छ ।
अग्रवालले कर्मचारीहरूको न्यूनतम पारिश्रमिक बढाउनुपर्ने तर हालको अवस्थालाई मध्येनजर गरेर वृद्धि गरिनुपर्ने बताए ।
मन्त्रीद्वय भण्डारी र मोदीले निजी क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका थिए ।