site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जसले नेपाली सुगम संगीतको मुहार कोरे
स्केच : कृष्ण मरासिनी ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

साल कति हो त्यो त विस्मृतिमा गइसक्यो । तर, यादव खरेल (गीतकार)लाई थाहा छ, उनी नारायणगोपाल चोकबाट लाजिम्पाटतर्फ आइरहेका थिए । गाडी स्वाट्ट ‘क्रस’ भयो । गाडी क्रस हुँदै गर्दा उनले देखे, चुनिखेलको सडकछेउमा एक वृद्ध लौरे टेकेर विस्तारै तातेताते हिँडिरहेका छन् । को हो यो मान्छे ? चिनेजस्तो लाग्छ, दिमागमा खुलदुली चलिरहेको थियो । अचानक सम्झिए– ओहो, नातिकाजी श्रेष्ठ (संगीतकार) दाइ पो हो त ! उनले चालकलाई गाडी ‘ब्याक’ गराउन लगाए । 

यसो हेरेँ, हो त नाति दाइ त हिँडिरहनुभएको छ ।
 
‘नातिदाइ कहाँ जान लाग्नुभ’को ?’
 
‘ज्ञानेन्द्र सरकार (ज्ञानेन्द्र शाह)ले पारिवारिक कार्यक्रममा बोलाउनुभएको थियो, त्यसैले निर्मल निवास हिँडेको ।’

त्यो बेलासम्म नातिकाजीलाई अल्जाइमर्स भइसकेको थियो । बुढ्यौली र रोगले उनको शरीर गलिसकेको थियो । हातखुट्टा काम्न थालिसकेका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

‘यसरी एक्लै हिँड्न हुन्छ ? कसैलाई पुर्‍याइदिन भन्नु पर्दैन ? म पुर्‍याइदिन्छु, बस्नुस् गाडीमा ।’

चुनिखेलबाट आफ्नो गाडीमा निर्मलनिवासमा ल्याएर छोडिदिए उनले । “अब फर्किंदा यसरी एक्लै हिँड्दै नजानु, कसैलाई बोलाएर मात्रै जानु अथवा त्यहाँ आएका कसैलाई पुर्‍याइदेऊ भन्नु, जसले पनि पुर्‍याइदिन्छ तपाईंलाई भनेर म हिँडे,” यादव भन्छन्, “कति सिम्पल मान्छे । त्यो उचाइ हासिल गरेको मान्छे दरबारले आफ्नो कार्यक्रममा बोलाउँदा हिँडेर जाने ।”

Royal Enfield Island Ad

जसले दुईजनालाई परिचय दियो
‘यस्तो पनि हुँदो रै’छ...’ नातिकाजीको संगीतमा फत्तेमान राजभण्डारीले गाए । के जादु चलाए यसको संगीतमा नातिकाजीले ? त्यो उनैलाई थाहा होला । तर, यो गीतले नेपाली संगीतमा दुईजनालाई अमूल्य गुन लगायो । यो गीतले फत्तेमानलाई गायकका रूपमा स्थापित गरायो । यादव खरेललाई गीतकारका रूपमा । केही गीत आउँछन्/जान्छन्, यो गीत गएन । अझै चलिरहेको छ । स्रोताले मन पराइरहेकै छन् ।

त्यसो त बलिउडका अहिलेका उम्दा गायक उदितनारायण झाको पहिलो नेपाली हिट गीतमा पनि नातिकाजीले नै संगीत भरेका हुन् । ‘तिमी आउँछौ भन्ने आसैआसमा...’ उदितको पहिलो हिट नेपाली गीत हो यो । नातिकाजीले नै संगीतबद्ध गरेका हुन् ।

नातिकाजीले चार हजारभन्दा धेरै गीतमा संगीत भरे । उनका सयौँ संगीत कालजयी छन् । कति गीतकार उनैको संगीतबाट स्थापित भए, कति गायक । त्यस्ता संगीतकारको सम्मानमा राज्यले के गर्‍यो ? यादव पंक्तिकारलाई प्रश्न गर्छन् । यो सयौँ सर्जकको प्रतिनिधि प्रश्न भएको उनी बताउँछन् ।

“उहाँको घरलाई संगीतको संग्रहालय बनाउनुपर्थ्यो । उहाँका चार हजार संगीत त्यहाँ संगृहीत हुनुपर्थ्यो,” उनी भन्छन्, “नाति दाइको बारेमा पुरस्कार दिएर मात्रै हुँदैन ।”

भोलिको पुस्ताले नातिकाजीको अध्यनन गर्न पाउनुपर्छ भन्ने यादवको जिरिह हो । नातिकाजी त्यति बेलाका संगीतिज्ञ हुन्, जति बेला प्रसारणमाध्यममा रेडियो नेपाल मात्र थियो । रेडियोले जति संग्रह गर्‍यो, त्यो समयका त्यति मात्र गीतसंगीत अहिले छन् । बाँकी यसै नासिए । पात्रहरू मर्दै गए, उनीहरूसँगै उनीहरूका सिर्जना पनि हराउँदै गए । यस्तै अवस्था रहे नेपाली संगीतको इतिहास नै मेटिने उनको चिन्ता छ । 

नेपाली संगीतको संग्रहकर्ता
संगीतकार शम्भुजित बास्कोटा नेपाली संगीतको संग्रहकर्ता नै नातिकाजी भएको बताउँछन् । “रेडियो नेपालमा अहिले जुन म्युजिक लाइब्रेरी छ, त्यो नाति दाइले सुरुआत गर्नुभएको हो । यो काम उहाँले सुरु नगर्नु भएको भए त्यस्तो लाइब्रेरी बन्थ्यो कि बन्दैन थियो थाहा छैन,” शम्भुजित भन्छन्, “आज त्यहाँ जति पनि संगीतका हिरा छन्, त्यसको संग्रहको सूत्राधार नाति दाइ नै हो ।”

नातिकाजी सहयोगी भावनाका थिए । उनमा अथाह प्रतिभा थियो । तर, यादवले उनमा कहिल्यै अभिमान देखेनन् । “थोरै भए पनि के–के नै छ भनेर मान्छे अभिमान गर्छन्,” यादव भन्छन्, “तर, उहाँमा देखावटी कुरा केही थिएन । त्यति धेरै योगदान दिएर पनि सिम्पल मान्छे मैले अहिलेसम्म देखेकै छैन ।” 

राज्यले नदेखेका नातिकाजी
नातिकाजी तिनै संगीतिज्ञ हुन्, जसले नेपाली सुगम संगीतको जग बसाएर हिमाल खडा गरे । यादव भन्छन्, “सुगम संगीतमा योगदान गर्ने त धेरै छन्, तर नाति दाइको जति योगदान गर्ने अर्को व्यक्ति मैले आजसम्म देखेको छैन ।”

शम्भुजित नातिकाजीले सुगम संगीतको जग बसाएको भन्दा पनि ‘जग खनेको’ शब्द प्रयोग गर्न रुचाउँछन् । “रेडियो नेपालको सुरुआती दिनदेखि नेपाली संगीतलाई कसरी अगाडि बढाउने भनेर उहाँले एक/एक योजना बनाएर अघि बढ्नुभयो,” उनी भन्छन्, “त्यसपछि आउने अरूले नातिकाजीले खनेको सुगम संगीतको जगमा एक/एकवटा इँटा थप्दै जानुभएको हो ।”  

नेपाली संगीतको क्षेत्रमा त्यति धेरै योगदान दिने व्यक्तिको उपचारमा सरकारले कत्ति पनि सहयोग नगरेको यादव सम्झिन्छन् । नातिकाजीलाई पार्किन्सन्स थियो । हात काम्थे । तर, सरकारले उनको उपचार गर्नुपर्छ भन्ने नठानेको यादवको भनाइ छ ।

“नाति दाइ रेडियो नेपालका जागिरे त हुनुभयो, काम त उहाँले जागिरका क्रममा गर्नुभयो होला । योगदान त नेपाली संगीतलाई नै उचाइ दिने गर्नुभयो,” उनी भन्छन्, “तर, राज्यले उहाँको अग्लो कद देखेन । उहाँले हारगुहार गर्नु भएन ।”

अझै पनि चाहेमा राज्यले आँखा खोल्न सक्ने गीतकार यादव बताउँछन् । कुटुवहालमा रहेको उनको घरछेउको बाटोलाई नातिकाजी सडकमार्ग नामकरण गर्न सकिने यादवको धारणा छ ।

नेपाली सुगम संगीतको जग खनेर त्यसलाई राजमार्ग बनाउने नातिकाजी सुरुमा साइकल चढ्थे । पछि आफ्नै बलबुताले किनेको मोटरसाइकल चढे । नातिकाजीको त्यही मोटरसाइकलमा यादवले कैयौँपटक लिफ्ट मागेका थिए । पछि यादवले गाडी किनेँ । डिल्लीबजारबाट गौरीघाट सरे । बाटो एउटै पर्न थाल्यो । त्यसपछि नातिकाजीले कैयौँपटक यादवसँग लिफ्ट मागे ।

“कुनै सार्वजनिक कार्यक्रममा जानुपर्‍यो भने उहाँ बिहानै फोन गरेर तिमी त्यो कार्यक्रममा जाने हो भनेर सोध्नुहुन्थ्यो । जान्छु, किन दाइ ? भन्थेँ,” यादव नोस्टाल्जिक हुन्छन्, “मलाई पनि लिएर जाऊ है भन्नुहुन्थ्यो । अनि, म उहाँलाई लिएर सार्वजनिक कार्यक्रममा जान्थेँ ।”

नेपालीपन दिने संगीतकार
नातिकाजीका सिर्जनामा नेपाली लोकभाका, संस्कृति मिसिएर आउने यादव बताउँछन् । उनका गीत विश्लेषण गर्दा नेपाली लोकलयको छनक देखिने यादवको भनाइ छ । एकातिर लोकलय अर्कातिर मधुरताले नातिकाजीका गीत सधैँ जीवित रहेको उनको विश्लेषण छ । “त्यसैले त उहाँका गीत आज पनि उत्तिकै लोकप्रिय छन्,” यादव भन्छन् ।

यादवको जस्तै शम्भुजितको विश्लेषण छ । नेपाली गीतमा मौलिकता नै नातिकाजीले खोजेको उनी बताउँछन् । “नातिकाजी नेपाली संगीतको एक छुट्टै घराना हो । उहाँले नेपाली संगीतलाई आफ्नो पन दिनुभएको छ, जो कमैले मात्र दिन सक्छन्,” शम्भुजित भन्छन्, “त्यसैले नेपाली संगीतलाई उहाँले लगाएको गुन कहिल्यै कसैले भुल्न सक्तैन ।”

नातिकाजीको बानी थियो, गीत भेटेपछि तुरुन्तै संगीत नभर्ने । उनलाई संगीत फुर्नुपर्थ्यो । जबरजस्ती उनी कहिल्यै काम गर्दैन थिए । “गीत पाएपछि उहाँ गुनगुनाइरहनुहुन्थ्यो । कति बेला के कुराले उहाँलाई चित्त बुझ्थ्यो अनि ल यो ठिक छ भनेर फाइनल गर्नुहुन्थ्यो,” गीतकार यादव स्मरण गर्छन्, “सिर्जना खोज्नुहुन्थ्यो उहाँ । सिर्जनाको स्वाभाविक प्रक्रिया पनि हो यो ।”

गीत सधैँ जीवन, जगत् र प्रकृतिसँग खेल्छ । नातिकाजीको संगीत पनि जीवन, जगत् र प्रकृतिकै बीचबाट आएको यादवको बुझाइ छ । त्यसैले त उनले संगीत भरेका गीत जनजनको मनमा पसे । र, राज गरे । जीवन, जगत् र प्रकृतिलाई अनुभूत गरेर जसले सिर्जना गर्छ, त्यसले नै स्रोताको मन जित्ने यादव बताउँछन् ।

कुन आरोह र अवरोहमा शब्दलाई खेलाउँदा सामाञ्जस्य हुन्छ, त्यसमा मिहिन ख्याल गर्ने गरेकै कारण नातिकाजीका गीतले माटोको सुगन्ध दिन सकेको उनी सुनाउँछन् ।

नातिकाजी यादवको घरमा गइरहन्थे । यादव पनि नातिकाजीको घरमा गइरहन्थे । रेडियो नेपालमा धेरै वर्ष सँगै काम गरे । त्यसैले नातिकाजीका धेरै आनबानी उनलाई थाहा छ । बाक्लो भेटघाट र संवादले एकाकार्का धेरै कुरा थाहा हुन्थ्यो ।

एउटा किस्सा
यादवले एउटा किस्सा सम्झिए, नातिकाजीले सुनाएको । नारायणगोपाल जस्तोपायो त्यस्तो गीत गाउँदैन थिए । चित्त नबुझे सिधै गाउँदिनँ भन्थे । तर, नातिकाजी सरल स्वभावका व्यक्ति कसैको चित्त दुखाउँदैन थिए । भेटे र चिनेजतिका गीतकार उनलाई ‘लौन मेरो गीतमा पनि संगीत गर्दिनुपर्‍यो’ भन्थे । यस्तो आग्रहले उनलाई दिक्क बनाउँथ्यो । 

एक दिन नातिकाजी मासु किन्न बगरेकामा गएका रहेछन् । बगरेले अप्ठ्यारो मान्दै भनेछ– म एउटा कुरा भनौँ हजुरलाई ?
नातिकाजी– भन न के हो ?
बगरे– (खल्तीबाट कागजको टुक्रो निकालेर दिँदै) मेरो यो गीतमा संगीत गर्दिनुपर्‍यो । 

“मलाई नाति दाइ भन्नुहुन्थ्यो– म त मासुको भाउ बढाएछ क्यार, त्यही भएर अप्ठ्यारो मानिरहेको छ भनेको त गीत पो निकालेर कम्पोज गर्दिनुपर्‍यो भन्छ,” यादव सुनाउँछन्, “सबैले लौन, मेरो पनि गीत गर्दिनुपर्‍यो भन्छन्, कतिको मात्रै गरेर सक्नु ? भन्नुहुन्थ्यो । बगरेले गीत लेख्दैनन् भन्ने होइन, मैले भन्न खोजेको उहाँको लोकप्रियता कति थियो भन्ने हो ।”

लोकप्रिय हुँदाहुँदै पनि नातिकाजी सरल र सहज रहेको उनी बताउँछन् । आफ्नो लोकप्रिताको अनुचित फाइदा उनले कहिल्यै नउठाएको यादव स्मरण गर्छन् । “यी सबै कुराबाट मुक्त महर्षि नै हो उहाँ,” उनी भन्छन्, “श्रद्धा लाग्ने थोरै मान्छेमा उहाँ एक हो ।” दुर्भाग्य ! न उनलाई राज्यले हेर्‍यो न समाजले । स्रोताबाहेक कसैले पनि नखोजेको व्यक्तिका रूपमा आफूले नातिकाजीलाई चिन्ने गरेको उनी बताउँछन् ।

नातिकाजीको सही सम्मानमा...
नातिकाजीको सही सम्मान त्यति बेला मात्र हुने शम्भुजितलाई लाग्छ, जति बेला उनका नाममा छुट्टै विश्वविद्यालय खडा गरिन्छ । नातिकाजी स्मृति समाजलाई विश्वविद्यालयमा रूपान्तरण गर्न सकिने शम्भुजित बताउँछन् । नयाँ पुस्तालाई उनको योगदानको सम्झना दिलाउँदै संगीतको शिक्षा दिन सके नातिकाजीका लागि राज्यका तर्फबाट ठूलो योगदान हुने नातिकाजी स्मृति समाजका अध्यक्ष् ासमेत रहेका शम्भुजितको धारणा छ ।

लोभबाट माथि उठेका नातिकाजी
जीवन नै संगीतमा समर्पण गरेका नातिकाजीले आफ्नै स्वरमा भने धेरै गीत रेकर्ड गराएनन् । उनको स्वरमा चार दर्जनको सेरोफेरोमा मात्र गीत रेकर्ड गरिएका छन् । सम्भावना बोकेको गीत नै किन नहोस्, उनी म गाउँछु भन्दैनथे ।

“कुनै राम्रो गीत र संगीत भयो भने यो राम्रो हुन्छ, म गाउँछु भन्ने लोभ उहाँमा थिएन । तर, कसलाई गाउन लगाउँदा ठिक होला भनेर सोध्यो भने शब्द र संगीतको आरोह–अवरोह हेरेर यो व्यक्ति ठिक होला भनेर सुझावसम्म भने दिनुहुन्थ्योे,” यादव भन्छन्, “म आफैँले पनि उहाँलाई मेरो गीत तपाईंकै स्वरमा गाइदिनुपर्‍यो भनेर भनिनँ । उहाँको लगाव गायनभन्दा संगीतमै थियो । गायनलाई उहाँले कहिल्यै प्राथमिकता दिएको मैले देखिनँ ।”

नातिकाजीमा आफ्नो विचार लाद्ने स्वभाव थिएन । यही र यस्तै हुनुपर्छ भन्दैन थिए । संगीतमा नेपालीपन भने हुनुपर्नेमा उनी सधैँ जोड दिन्थे । गीत–संगीतमा नेपालीपन हुनुपर्ने र त्यो स्वतःस्फूर्त रूपमा स्फुरण भएर आउनुपर्ने उनको धारणा थियो । यही कारण त हो – उनी राम्रो काम गर्थे, तर केही ढिलो गर्थे ।

शिवशंकर नातिकाजीका सहकर्मी थिए । सँगै रेडियो नेपालमा काम गर्थे । शिवशंकर छिटो संगीत कम्जोज गर्थे । नातिकाजी ढिलो । गीत पाएपछि त्यसमै घोरिरहने र चित्त बुझेपछि मात्र ‘ओके’ गर्ने उनको स्वभाव थियो ।

यादवका ‘यस्तो पनि हुँदो रै’छ’, ‘नौ गेडीको मेरो माला’, ‘तिमी आउँछौ भन्ने आसैआसमा’ लगायत नौ गीतमा नातिकाजीले संगीत भरेका छन् । शिवशंकरले यादवका ‘नौ सय खोला तरेर जाने’, ‘आफ्नो संसार आफ्नै हातले’ लगायत आठ गीतमा संगीत भरेका छन् ।

सम्मानमा सालिक पनि छैन
नातिकाजी श्रेष्ठ जातिले नेवार समुदायका भए पनि उनले ‘ओभर ड्रिंक’ गरेको यादवले कहिल्यै देखेनन् । उनी प्रायः हरेक महिनाजसो आफ्नै घरमा जमघट गर्थे । ती जमघटमा बच्चुकैलाश, नारायणगोपाल, नातिकाजीलगायत तत्कालीन समयका संगीतका हस्तीहरू भेला हुन्थे । भेलामा खाइपिइ हुन्थ्यो । नातिकाजी सधैँ सन्तुलित रूपमा पिउँथे ।

“मैले नातिकाजीको कुनै खराब बानी नै देखिनँ । संगीतमा अतुलनीय योगदान रह्यो । जीवनभर कसैसँग केही माग्नु भएन,” यादव नातिकाजीप्रति रहेको आफ्नो बुझाइ सुनाउँछन्, “यस्तो व्यक्तिको आजसम्म एउटा सालिक पनि छैन । दुर्भाग्य भएन र ? सालिक बनाउन योग्य स्रष्टा होइन र उहाँ ?”

नातिकाजीले जति समय जागिर खाए, रेडियो नेपालमा खाए । त्यसपछि उनले रिटायर्ड जीवन बिताए । सम्मान र ज्ञान बाँड्न सरकारले उनलाई एकेडेमीमा लैजान सक्थ्यो । लगेन । 

नेपाली संगीतको मुहार खडा गरे
रेडियो नेपालको स्थापनाअघि नेपालमा गीत–संगीत त थिए, तर ती शास्त्रीय नेवारी परम्परामा मात्र केन्द्रित रहेको संगीतकार टीका भण्डारी बताउँछन् । त्यसमा पनि हिन्दी गीतको ठूला प्रभुत्व थियो । रेडियो नेपालकै कतिपय कार्यक्रममा हिन्दी गीत गाउने/बजाउने प्रचलन थियो । स्वरपरीक्षामा पनि हिन्दी गीत गाउने चलन रहेको टीका बताउँछन् । गीत–संगीत सिकाउने गुरुहरूले पनि हिन्दी गीत नै सिकाउँथे ।

नेपाली भूमिमा हिन्दी गीतको प्रचुर प्रयोग र प्रभाव रहेको समयमा रेडियो नेपालको जन्म भयो । र, त्यही बेला रेडियो नेपालमा नातिकाजी, हरिप्रसाद रिमाल, शिवशंकरलगायत व्यक्तिको प्रवेश भयो । नातिकाजीलगायत स्रष्टाले त्यो बेला महसुस गरे– हामी हिन्दी गीत–संगीतको प्रभावमा छौँ, तर हुनुपर्ने हाम्रो आफ्नै पहिचानसहितको संगीत हो ।

“नातिकाजीले मसँगको अन्तर्वार्तामै भन्नुभएको छ– त्यो समय नेपालमा हिन्दी गीत–संगीतको प्रचुर प्रभाव थियो । हामी पनि हिन्दी गीत–संगीत सुनेर नै हुर्किएको र त्यसको प्रभावमा संगीतमा ढल्किएका हौँ,” टीका नातिकाजीसँगको अन्तर्वार्ता स्मरण गर्छन्, “तर, नेपाली संगीत भन्नेबित्तिकै यसमा नेपाल र नेपालीको मुहार झल्किनुपर्छ भन्ने मलाई लागिरहन्थ्यो । नेपाली संगीतलाई भारतीय संगीतको प्रभावबाट कसरी मुक्त गर्ने भन्ने चुनौती थियो । र, त्यो चुनौतीलाई हामीले चिर्न सक्यौँ ।”

नेपाली गीत–संगीतमा नेपालकै मुहार कोर्नुमा सबैभन्दा ठूलो हात नातिकाजीको रहेको टीकाको बुझाइ छ । हिन्दुस्तानी अनुहार रहेको नेपाली संगीतलाई नातिकाजीले छुट्टयाएर आफ्नै मुहार देखाउने काम गरेको उनको भनाइ छ । यही नै उनले नेपाली संगीतलाई पुर्‍याएको ठूलो योगदान भएको टीका बताउँछन् ।

नातिकाजीले यहाँको भाषा, जनजीवन, परिवेश, वेशभूषा र हावापानी समेटेर नेपाली सुगम संगीत यस्तो हुन्छ भनेर देखाएको टीका सुनाउँछन् । नेपाली सुगम संगीतकलाई पहिचान र परिचय दिने व्यक्ति नै नातिकाजी भएको उनको भनाइ छ ।

“अहिले पनि नातिकाजीले संगीत गरेका गीत सुन्ने हो भने उहाँको संगीतमा नेपालीपन देखिन्छ । कतिपय उहाँकै समकालीन पनि हिन्दुस्तानी संगीतको प्रभावबाट मुक्त हुन नसकेको उहाँहरूको सिर्जना सुन्दा थाहा हुन्छ,” उनी भन्छन्, “नेपाल देश नै फरक, यहाँको संस्कृति नै फरक, यहाँको रहनसहन र बोचीचाली नै फरक छ भने किन हामी आफ्नै पहिचान नदिने भन्ने कुरामा उहाँ सफल पनि हुनुभयो ।”

नेपाली मौलिक आधुनिक सुगम संगीत सुरु गरेर त्यसलाई टुंगोमा पुर्‍याउने सर्जकका रूपमा नातिकाजीको नाम रहेको टीका बताउँछन् । त्यसैले नातिकाजीलाई नेपाली सुगम संगीतको जग हालेर सगरमाथाको उचाइ दिने स्रस्टाका रूपमा लिइन्छ ।

नेपालीपन र मनअनुसारको बान्की भरेर यो हो नेपाली सुगम संगीतको अनुहार नभनी दिएको भए अहिले पनि नेपाली संगीत हिन्दुस्तानीजस्तै हुने आशंका उनी व्यक्त गर्छन् । 

वाद्यवादनमा पनि नेपालीपन
गायनमा मात्र होइन, हार्मोनियम, तबला, सितार, गिटार, भ्वाइलिन, सेक्सोफोनलगायत वाद्ययन्त्रमा पनि हिन्दुस्तानी संगीतको प्रभाव थियो । त्यसमा पनि नातिकाजीले नेपालीपन र मन खोज्न थाले । मादल, सारंगी र बाँसुरीको अधिकतम प्रयोग गर्न थाले ।

“मौलिक परम्परागत वाद्ययन्त्रको प्रयोगमा पनि उहाँले जोड दिनुभएकै हो,” टीका भन्छन्, “थोरै वाद्ययन्त्रमा गीत गाउने परम्पराको थालनी पनि सुगम संगीतमा उहाँले नै गर्नुभएको हो । तीनचारवटा वाद्ययन्त्र बजाएर मात्रै तयार पारिएका उहाँका थुप्रै गीत छन् । जबकि, उहाँले यो अभ्यास सुरु गर्नुअघि १२/१५ वटा वाद्ययन्त्रमा मात्रै गीत गाउने चलन थियो ।”  

नातिकाजीले खोजेको मेलोडी
नेपाली संगीतमा मेलोडी खोज्ने काम पनि नातिकाजीले गरे । एउटा मनबाट सिर्जना गरेको संगीतले अर्को मनलाई कसरी छुन्छ भन्नेमा उनी विशेष ख्याल गर्थे । त्यसैले उनलाई ‘मेलोडीका किङ’ भन्ने गरिएको टीका बताउँछन् ।

“संगीतमा नेपालीकरण पनि उहाँले गर्नुभयो । वाद्यवादनमा नेपाली वाद्ययन्त्रको प्रयोग पनि गर्नुभयो । सुगम संगीतको विकासको सुरुआत गर्नुभयो । त्यसपछि मान्छेको मन छुने मर्मस्पर्शी सिर्जना कसरी गर्ने भनेर उहाँले काम गर्न सुरु गर्नुभयो,” उनी भन्छन्, “आज मेलोडी किङ भनेर केहीले अरूलाई पनि भन्ने गरेका छन् । तर, खासमा पूरै नेपाली संगीत क्षेत्रले मेलोडी किङ भनेर स्वीकार गरेको व्यक्ति भनेको नातिकाजी नै हो ।” 

स्वर्णिम संगीतका अध्यताले नातिकाजीलाई मेलोडी किङ भनेर स्वीकार गर्ने गरेको टीकाको जिरिह छ । “नेपालीपनअनुसारको मेलोडी झिकेको, त्यहीअनुसारको वाद्ययन्त्र प्रयोग गरेको, थोरै वाद्ययन्त्रमा पनि मिठो धुनको विकास गरेकाले उहाँलाई मेलोडी किङ भन्ने गरिएको हो,” उनको तर्क छ, “सरल तरिकाले मान्छेको मन छुने संगीतको विकास गर्न उहाँले सुरु गर्नुभएको हो ।” यसमा अरू कसैले दाबी गरे त्यो फगत एकल दाबी मात्र हुने उनको जिकिर छ । 

रेडियो नेपालको समाचारको त्यो धुन
अक्सर नातिकाजीलाई ढुक्कले संगीत गर्ने मर्मज्ञका रूपमा लिइन्छ । तर, यसको अर्थ समयसीमाभित्र सिर्जना गर्न सक्ने ल्याकत उनमा थिएन भन्ने होइन । ०४६ सालको परिवर्तन भयो । रेडियो नेपालमा समाचारको धुन परिवर्तन गर्नुपर्ने भयो । नातिकाजीलाई निर्देशन आयो– भोलिदेखि समाचारमा नयाँ धुन बज्नुपर्छ । 

“भोलिबाट नयाँ धुन बज्नुपर्छ, बनाउनू भनेर आदेश आयो । ‘भन्नेबित्तिकै हुन्छ ?’ भन्दै झर्किंदै ‘यो देशमा यस्तै हो, भन्दिए हुन्छ’ भन्दै उहाँ स्टुडियोभित्र पस्नुभयो,” टीका स्मरण गर्छन्, “हार्मोनियममा उहाँले एउटा धुन कम्पोज गर्नुभयो, तर, त्यो त्यति धेरै प्रभावकारी भएन । त्यसपछि उहाँले हार्मोनियमको अर्को स्केललाई स्वार्र तानेर अर्को धुन कम्पोज गर्नुभयो । त्यो हामी सबैलाई प्रभावकारी लाग्यो । र, हामी सबै मिलेर एरेन्ज गरेर फाइनल गर्‍यौँ ।”

त्यो धुन दोस्रो जनआन्दोलन ०६२/०६३ को राजनीतिक परिवर्तनसम्म हरेक दिन रेडियो नेपालमा बज्यो, समाचारको सिग्नेचर ट्युनका रूपमा । यसको अर्थ तत्काल सिर्जना गर्न सक्ने क्षमता पनि नातिकाजीमा थियो ।

दरबारका गीत र त्यसमा संगीत
टीका सम्झनाका तरेलीहरू खोल्दै जान्छन् । तत्कालीन दरबारबाट एउटा गीत आयो–
जताततै खोजे मेरो मुटुभित्र
केही छ कि दिन तिमीलाई भनी...

गीत थियो, तत्कालीन महारानी चाँदनी (ऐश्वर्य) शाहको । दरबारबाट आएको गीत, विलम्ब गर्ने कुरै भएन । नातिकाजी गीत लिएर स्टुडियो पसे । २० मिनेटभित्र उनले संगीत फाइनल गरे । यसको साक्षी टीका आफैँ हुन् । त्यो बसाइमा टीका पनि सँगै थिए ।

धेरै सर्जक शान्त परिवेशमा संगीतका सुरसँग खेल्न रुचाउँछन् । र, नयाँ धुनहरू निकाल्छन् । नातिकाजीको स्वभाव फरक थियो । उनी समूहमा बसेर संगीतका सुरसँग खेल्थे । आफ्नो वरिपरि रहेका व्यक्तिको मुहारको एक्सप्रेसन हेरेर धुन निकाल्थे ।

“जब आफ्नो वरिपरि रहेका व्यक्तिको अनुहारमा धुन सुनेर चमक देखिन्थ्यो, त्यसलाई उहाँ फाइनल गर्नुहुन्थ्यो । प्रतिक्रिया हेरेर उहाँ टुंगोमा पुग्नुहुन्थ्यो । आहा ! भन्छन् कि भन्दैनन् भनेर विचार गर्नुहुन्थ्यो,” नातिकाजीको संगीत सिर्जनाको तौरतरिका स्मरण गर्दै टीका सुनाउँछन्, “जब सँगै रहेकाले आहा ! भन्थे । त्यो आहा ! आउँदाको धुनलाई पक्रिएर उहाँले फाइनल गर्नुहुन्थ्यो ।”

सरलरेखामा सलल बग्ने संगीत 
नातिकाजीका सिर्जना सुनेर टीकाले गरेको अर्को अनुभव हो, उनका गीतमा नोकझोक हुँदैन । सरलरेखामा सलल बग्नु उनको संगीतको विशेषता हो । उनको संगीतमा गीत गाउँदा गायक/गायिकालाई कठिन हुँदैन थियो । “उहाँको संगीतमा गीत गाउँदा गायक/गायिकाले मुख बिगार्नु पर्दैन थियो,” टीका भन्छन् ।

सरलभित्र विशिष्टता खोज्नु उनको विशेषता हो । गीतकारको भाव बुझेर त्यसलाई न्याय गरेर संगीत भर्ने संगीतिज्ञ हुन्, नातिकाजी । त्यही भएर उनका गीत कालजयी भएको टीकाको बुझाइ छ ।

दरबारले पत्याएका नातिकाजी 
टीका समयले साथ दिएका संगीतकारका रूपमा नातिकाजीलाई चिन्छन् । नातिकाजीलाई दरबारको साथ थियो । किनकि, उनको क्षमतालाई दरबारले चिनेको थियो । जसलाई दरबारले चिन्थ्यो, उसलाई नजिक बनाउँथ्यो । सौभाग्य – नातिकाजी क्षमतावान् थिए । त्यही भएर दरबारले पत्याएको थियो ।

हरेक शुक्रबारको साँझ नारायणहिटीमा विशेष कार्यक्रम आयोजना गरिन्थ्यो । त्यति बेला राजपरिवारका सदस्य र नजिकका आफन्तको जमघट हुन्थ्यो । त्यहाँ जाने सांस्कृतिक टोलीको नेतृत्व नातिकाजीले गर्ने गरेको टीका बताउँछन् ।

उनलाई दरबारको राम्रो साथ थियो । त्यसको प्रभाव उनको निर्णयमा पर्थ्यो । टीका भन्छन्, “त्यो बेलाका प्रशासक नातिकाजीसँग डराउँथे । हम्मेसी सिफारिस नगर्ने तर गरेपछि परिपक्व काम गर्ने भएकाले उहाँले गरेको सिफारिसमा को, किन भनेर प्रशासकहरूले प्रश्न उठाउन सक्तैनथे । नातिकाजीले बोल्नु भनेको शिवशंकर र तारादेवीले पनि बोल्नुसरह थियो । किनकि, उहाँहरूसँग पनि सल्लाह गरेर मात्रै उहाँले निर्णय गर्ने भएकाले नातिकाजीको निर्णय व्यवस्थापकले काट्न सक्तैनथ्यो ।”

टीकाको अडिसन नै २०४५ मा नातिकाजी, शिवशंकर र तारादेवीले लिएका थिए । भ्वाइलिन र मेन्डोलिन बजाएका थिए टीकाले । “भ्वाइलिन बजाउने धेरै छन्, तपाईंले मेन्डोलिन बजाउनुपर्छ भनेका थिए,” उनी स्मरण गर्छन्, “तपाईंको फिंगरिङ राम्रो रहेछ भनेर मलाई तत्कालै नियुक्ति दिनुभएको थियो ।”

नारायणगोपालसँग सधैँ द्वन्द्व
नारायणगोपाल र नातिकाजीबीच एउटा विषयमा सधैँ द्वन्द्व रह्यो । एक दिनको घटना, टीका रेडियो नेपालमै थिए । नारायणगोपाल रेडियो नेपाल आएका थिए । “नारायणगोपाल र नातिकाजीबीच पहिलादेखि नै द्वन्द्व रहेछ, तर मलाई थाहा थिएन । जसका कारण उहाँले ०३५/०३६ सालदेखि नै रेडियो नेपालमा आएर गीत रेकर्ड गर्न छोड्नुभएको रहेछ । नारायणगोपालको गुनासो थियो– हरेक दिन रेकर्डिङका लागि डेट दिएर रेडियो नेपालले गाईजात्रा देखायो, राणाहरूको वर्गीकरण गरेजस्तो कलाकारलाई श्रेणी छुट्टयाइदिन थाल्यो, रेडियो नेपाल कलाकारको श्रेणी छुट्टयाउने ठाउँ होइन, कलाकारले गाउने र बजाउने ठाउँ हो भन्ने उहाँको तर्क थियो,” टीका स्मरण गर्छन् ।

त्यति बेला सुन्दा नारायणगोपालले किन यसो भनेका होलान् भन्नेजस्तो उनलाई लाग्थ्यो । टीका भन्छन्, “नारायणगोपालको ब्रह्मले देखेको कुरा पो रहेछ, त्यो त । अहिलेको यो बेथिति आउँछ भनेर उहाँले त त्यही बेला पो देखिसक्नुभएको रहेछ ! संगीतमा प्रवेश गरेको वर्षका आधारमा सिनियर र जुनियर छुट्टयाउन नहुने रहेछ भन्ने त अहिले सबैले अनुभव गरिरहेको कुरा हो । वर्ष होइन, कला र क्षमताको सम्मान हुनुपर्छ भन्ने उहाँको तर्क त जायज पो रहेछ ।”

नातिकाजीको कार्यकक्षमा पुगेर नारायणगोपालले भने– के पारा हो यो ! यसरी हरेक दिन रेकर्डिङको डेट दिएर हुन्छ ? यसरी कसरी राम्रो गीत रेकर्डिङ हुन्छ ? महिनामा एउटा/दुइटा गीत रेकर्ड गरौँ, तर राम्रो गीत रेकर्ड गरौँ । हरेक दिन कसरी राम्रो कलाकार जन्मिन्छ ? धारामा पानी बगेजस्तो हो र यो ?

त्यही कोठामा बसेर सुनिरहेका टीका स्मरण गर्छन्, “२८ वटा धुन बनाउन लगाएर त्यसमा पनि दीपक जंगमले सम्झाएपछि त्यसबाट दुईवटा धुनबाट एउटा छानेर गाउने नारायणगोपालले यसो भन्नु स्वाभाविक पनि थियो । पाँच/छ महिना लगाएर रेकर्डिङ गर्ने, चित्त बुझेन भने स्टुडियोबाट फुत्त निस्किएर हिँड्ने उहाँले दिनकै कसरी कलाकार जन्मिन्छ भन्नु स्वाभाविक थियो,” उनी नारायणगोपालको त्यो तर्कमा अहिले समर्थन गर्छन्, “दिनकै रेकर्डिङ गर्नेमा मेरो असहमति छ, यो तत्काल रोक्नुपर्‍यो भन्नुभयो । नातिकाजीले नारायणगोपालका कुरा सुनिरहनुभयो । र, टाउको हल्लाइरहनुभयो । अन्तिममा भन्नुभयो– डेट माग्न आउनेले हरेक दिन सिंहदरबारको पोखरी भरिन्छ । डेट माग्न आउने कलाकारले पोखरीको डिल भरिन्छ ।”

अर्केस्ट्रामा पनि नारायणगोपालको असन्तुष्टि थियो । उनी नेपालमा एउटा भव्य अर्केस्ट्रा चाहियो भन्थे । तर, नातिकाजी अहिलेकै अवस्थामा त्यो सम्भव छैन भन्थे । किनकि, उनलाई रेडियो नेपालको स्रोतको सीमितता थाहा थियो । वास्तवमा रेडियो नेपालको संगीत शाखालाई सानो स्केलको अर्केष्ट्रा मान्न सकिन्थ्यो । नारायणगोपाल भने भव्य अर्केस्ट्रा खडा गरौँ भन्थे ।  

नारायणगोपालको राम्रो अर्केस्ट्राको रहर उनको मृत्युपश्चात् भए पनि नारायणगोपाल संगीत कोषले पूरा गर्‍यो ।

बहुदलमा नातिकाजीको कम्प्रमाइज !
जब बहुदलीय व्यवस्था आयो, नातिकाजीले थोरै कम्प्रमाइज गरे । त्यसले उनको केही आलोचना पनि भयो । नारायणगोपाल क्वालिटीमा जोड दिन्थे । दबाब थेग्न नसकेपछि उनले संख्या रोक्न सकेनन्, यसले नेपाली संगीतको गुणस्तर खस्कियो भन्ने आरोप उनीमाथि लाग्यो । हरेक दिनको रेकर्डले गीत–संगीतको भण्डार त भरिन्छ, तर गुणस्तर कायम हुँदैन भन्ने नारायणगोपालको विचारमा सहमत हुनेहरूले नातिकाजीको आलोचना गरेका टीका सम्झिन्छन् ।

“नातिकाजीले आफ्नो सिर्जनामा त कहिल्यै कम्प्रमाइज गर्नु भएन, अन्त्यतिर व्यवस्थापनमा भने केही कम्प्रमाइज गर्नुभयो,” उनी भन्छन् । यद्यपि, टीका यसलाई व्यवस्थाको उपज मान्छन् ।

आफ्नो काममा नातिकाजी सधैँ पक्का रहेको शम्भुजित स्मरण गर्छन् । कसको संगीत, स्वर र शब्द कस्तो छ ? त्यसमा नातिकाजी गम्थे । ‘स्ट्रेट फरवार्ड’ उनी राम्रो भए राम्रो नभए नराम्रो छ भनिदिन्थे ।

“काम लिने मान्छेको आ–आफ्नो स्वभाव हुन्छ । कति चिप्ला कुरा गरेर आफ्नो काम लिने प्रयास गर्छन्,” शम्भुजित भन्छन्, “तर, उहाँ आफ्नो काममा ढिट हुनुहुन्थ्यो । जसले जतिसुकै चिप्ला कुरा गरोस्, उहाँले बेसुरालाई कहिल्यै स्थान दिनु भएन ।”

प्रतिभा चिन्ने बेजोड क्षमता
नातिकाजी संगीतका सुरमा जति क्षमतावान् थिए, त्यति नै उनमा प्रतिभा चिन्ने बेजोड क्षमता थियो । आफैँसँग जोडिएको एउटा प्रसंग सुनाउँछन्, शम्भुजित । “०२८ सालमा मैले रेडियो नेपालमा आधुनिक र लोक दुवैमा स्वरपरीक्षा दिएँ । शिवशंकर लोकगीतको स्वरपरीक्षा लिनुहुन्थ्यो भने नातिकाजी दाइ आधुनिक गीतको । मलाई कुन गीतमा स्वरपरीक्षा दिने भन्नुभयो । मलाई म कुनमा ठिक हुन्छु भन्ने द्विविधा थियो । त्यसैले दुइटैमा भनेँ,” शम्भुजित नोस्टाल्जिक हुन्छन्, “मैले दुइटैमा स्वरपरीक्षा पास गरेँ । त्यहाँदेखि नाति दाइसँग मेरो निकटता बढ्यो । निखारिएको क्षमतावान् गायन उहाँले छिनमै छुट्टयाउने । जो निखारिएको छ, उसलाई डेट दिन उहाँ कहिल्यै ढिलो नगरी तत्काल दिनुहुन्थ्यो । जसको स्वर र संगीत उहाँलाई चित्त बुझ्दैन थियो, सम्झाएर पठाउनुहुन्थ्यो ।”

शम्भुजितको स्वरमा बेग्लै ‘टेक्स्चर’ थियो । नातिकाजीले त्यो ‘नोटिस’ गरिरहेका रहेछन् । “जब म ०४१ मा चलचित्र संगीतमा प्रवेश गरेँ, त्यसपछि उहाँले एक दिन मलाई भन्नुभयो– तपाईंको संगीत र स्वरमा आधुनिकभन्दा पनि चलचित्र संगीतमा चाहिने पक्ष म भेट्थेँ । तपाईं कहिले चलचित्र संगीतमा जानुहोला र स्वर/संगीतले न्याय पाउला भन्ने लाग्थ्यो,” नातिकाजीको भनाइ उनी सुनाउँछन्, “मैले सोचेजस्तै केही वर्षमै चलचित्र संगीतमा तपाईंको एक छत्र भयो ।” त्यसैले संगीतमा मात्र होइन, प्रतिभा चिन्ने मामिलामा पनि नातिकाजी काबिल व्यक्ति रहेको शम्भुजित ठान्छन् ।

शम्भुजित नातिकाजीलाई संगीतका कुशल प्रशासक पनि मान्छन् । संगीतमा जति अब्बल थिए, रेडियो नेपालमा रहँदा उनले त्यहाँको संगीत शाखालाई त्यति नै चुस्त राखेका थिए । नातिकाजीले नेपालीभाषी प्रवासी (भारतीय) गायक/गायिकालाई रेडियो नेपालमा सहजै रेकर्डिङको सुविधा प्रदान गरेको उनी स्मरण गर्छन् ।

“उहाँमा प्रतिभा चिन्ने क्षमता भएकै कारण तारादेवी, अरूणा लामा, शान्ति ठटाललगायत प्रवासी कलाकारलाई उहाँले एक कल फोनको भरमा सहजै डेट दिनुहुन्थ्यो,” उनी भन्छन्, “उहाँले उनीहरूको समयमा सहजै रेकर्डिङको डेट दिएकाले प्रवासी नेपालीभाषीले नेपाली गीतमा योगदान दिन सक्नुभयो । अर्थात्, नेपाली संगीतमा प्रवासी नेपालीभाषीको योगदानको पछाडि पनि नातिकाजीकै योगदान छ ।”

शम्भुजितले एउटा प्रसंग सुनाए, नेपालीभाषी डेनी डेङजोङपा नेपाल आएका थिए । शम्भुजितलाई लाग्यो– उनको स्वरमा गीत रेकर्ड गराउन सके राम्रो हुने थियो । समस्या थियो, रेडियो नेपालमा रेकर्डिङको डेट कसरी लिने ? शम्भुजितले नातिकाजीलाई फोन गरेर भने– डेनीको स्वरमा गीत रेकर्ड गर्न सकिन्छ नाति दाइ ? 

‘किन नसक्नु, सकिन्छ ।’ 

शम्भुजित : उहाँ भोलि दिल्ली जाँदै हुनुहुन्छ, भोलि बिहान ८ बजे गीत रेकर्ड गराउनुपर्छ । 

‘लिएर आउनू, समय मिलाएर रेकर्ड गरौँला ।’ 

‘उहाँले त भारतमा गीत गाइसक्नुभएको छ, प्रसिद्ध कलाकार हुनुहुन्छ । उहाँको सम्मानका लागि पनि हामीले समय दिनुपर्छ, लिएर आउनुस्, म समय मिलाउँछु,’ डेनीलाई गीत रकेर्डिङका लागि तत्काल समय उपलब्ध गराएको क्षण सम्झँदै शम्भुजित अहिले पनि नातिकाजीप्रति अनुगृहीत हुन्छन् ।

वर्षौँदेखि रेकर्डका लागि डेट लिनुपर्ने रेडियोमा यसरी भन्नेबित्तिकै डेनीलाई समय उपलब्ध गराउनुको कारण एउटा प्रतिभा चिन्ने नातिकाजीको खुबी र अर्को सम्मानका रूपमा शम्भुजितले बुझेका छन् ।

डेनीका लागि एउटा गीत शम्भुजित आफैँले लेखे, अर्को नीर शाहले । “बिहान १० बजे डेनी रेडियो नेपाल आउनुभयो । त्यसअघि नै मैले स्थायी प्राक्टिस गराइसकेको थिएँ । अन्तरामा केही समय अभ्यास गरेर दिउँसो ३ बजेसम्म हामीले दुईवटा गीत ‘कान्छीलाई घुमाउने काठमाडौं सहर...,’ र ‘हिउँभन्दा चिसो...’ रेकर्ड गरायौँ,” शम्भुजित भन्छन्, “दिउँसो ४ बजे मैले टेलिभिजन कार्यक्रम संगीत संगमका लागि भिजुअल खिचाएँ । र, हामीले उहाँलाई साँझ बिदा गर्‍यौँ ।”

मुरलीधरसँगको किस्सा
मुरलीधर सातपटकसम्म रेडियो नेपालको स्वरपरीक्षामा अनुत्तीर्ण भएको भन्दै संगीतकार टीका भण्डारी एउटा किस्सा सुनाउँछन् । “स्वरपरीक्षाको निर्णायकमा नातिकाजी हुनुहुन्थ्यो । सातौँपटक स्वरपरीक्षा दिन आउँदा आज पनि मलाई फेल गराए भने म नातिकाजीलाई जलाइदिन्छु भनेर खल्तीमा सलाई बोकेर आउनुभएको थियो,” मुरलीधरले आफूलाई दिएको अन्तर्वार्ताको छोटो अंश टीका सुनाउँछन्, “सातौँपटक स्वरपरीक्षा दिन आउनुभएका मुरलीधरलाई बोलाएर नातिकाजीले– भाइ, तिमी राम्रो गायक र शास्त्रीय संगीतका साधक हौ, तर शास्त्रीय संगीत र आधुनिक गीत भनेको एउटै होइन, यो भनेको सिर्जना हो, तिमी कुनै आधुनिक गीत बनाएर गाऊ भनेर भनेर आधुनिक गीत र शास्त्रीय संगीतबीचको भेद छुट्ट्याएपछि मैले नाति दाइको खुट्टा छोएर मेरो चेत खोल्दिनुभयो भनेर भनेको थिएँ ।” 

जसले समयमै आफूलाई चिने
पहिला होस् वा अहिले, गायन, संगीत र गीतरचना तीनवटै विधामा काम गर्ने धेरै संगीतकर्मी छन् । नारायणगोपाल, गोपाल योञ्जन हुन् वा नातिकाजी सबैले यी तीनवटै विधामा काम गरे । तर, नातिकाजी ती संगीतसाधक हुन्, जसले आफ्नो विज्ञता केमा हो भनेर समयमै पहिचान गरे ।

“उहाँले समयमै आफू संगीतका लागि जन्मिएको व्यक्ति हुँ भनेर पहिचान गरेर गायनलाई नछोडेको वा कम नगरेको भए सायद आज उहाँले संगीतमा जुन उचाइ हासिल गर्नुभएको छ, त्यो सम्भव हुने थिएन,” टीका भन्छन्, “नारायणगोपाल पनि आफैँमा संगीतकार पनि हो । तर, उहाँले पनि समयमै गायकका रूपमा आफूलाई पहिचान गरेकाले आजको उचाइ चुम्न सफल हुनुभएको हो । तर, उहाँले संगीत नगरेर त्यो समयलाई पनि गायनमै मात्रै केन्द्रित गरेको भए सायद योभन्दा माथिको उचाइमा पुग्नुहुन्थ्यो कि ? भन्ने प्रश्न पनि छ ।”

संगीतकार दीपक जंगम सुरुमा गीत गाउँथे । गाउन उनी पाकिस्तानसम्म पुगेको प्रसंग टीकाले उल्लेख गरे । जंगमले समयमै आफूमा संगीतकारमा हुने गुण रहेको पहिचान गरेकाले अहिलेको सफलता प्राप्त गरेको उनको बुझाइ छ ।

“नातिकाजीले समयमै आफ्नो अन्तरनिहित क्षमता पहिचान गर्नुभयो । त्यसैले संगीतकर्मलाई प्राथमिकतामा राख्नुभयो । उहाँका गीत सुन्ने हो भने उहाँको स्वरमा कम्पन छ । बढी फिलिङ्स छ,” टीका स्पष्ट भन्छन्, “यो गायकका लागि दीर्घकालसम्म टिकाउने गुण होइन । गायकीमा जादु छर्ने क्षमताको उहाँको स्वरमा छैन । त्यसैले उहाँले आफूले धेरै गीत गाउनु भएन ।”

यही कारण राम्रो मेलोडी र शब्द आउँदा पनि उनले गाउने लोभ गरेनन् । गायनमा लोभ गर्दा धेरै संगीतकार क्षमता हुँदाहुँदै पनि माथि उठ्न नसकेको टीका बताउँछन् ।

कहिल्यै नमेटिने नाम  
गीतकार राजेन्द्र थापा नेपालमा सुरुमा लोकगीत मात्र र ती पनि ठाउँविशेषमा सीमित रहेको बताउँछन् । जब रेडियो नेपालको विकास भयो, गीतहरू एक ठाउँबाट अर्को ठाउँमा पुगे । एक ठाउँका बासिन्दाले अर्को ठाउँका गीत सुन्न थाले । हिन्दी गीत बज्ने समयमै रेडियो नेपालमा नातिकाजीको प्रवेश भएको थियो । रेडियो नेपाल छिरेपछि उनले संगीत भर्न थाले । उनको संगीतमा लोक–झ्याउरेपन देखिएको राजेन्द्र सुनाउँछन् ।

“भजन पनि गाउने भएकाले त्यसको प्रभाव पनि उहाँको संगीतमा देखिन थाल्यो । क्लासिकल म्युजिकको पनि ज्ञान भएकाले त्यसको अंश त देखिने नै भयो । लोकको सुगन्ध भएको, भजन मिलेको र नेपाली शैली भएको र शास्त्रीय संगीतको पनि मिश्रण भएको संगीत उहाँले सिर्जना गर्न थाल्नुभयो,” राजेन्द्र भन्छन्, “आज जति पनि सुगम संगीत छ, त्यसकै मानक हो । उहाँले सुगम संगीत यो मानक नबनाएको भए सायद आज सुगम संगीत यस्तै हुुन्थ्यो भन्न सकिँदैन । नेपाली सुगम संगीतको रूप दिने नै व्यक्ति नातिकाजी भएकाले नेपाली सुगम संगीतको मानक उहाँ नै हो ।” नातिकाजीले त्यो बेला कुनै अर्कै खालको सुगम संगीत बनाएको भए सायद त्यही नै आधुनिक गीत हुने उनको भनाइ छ ।

रञ्जित गजमेरदेखि महेश खड्का हुँदै दीपक शर्मासम्म आइपुग्दा नेपाली सुगम संगीतको मेलोडीमा नातिकाजीको प्रभाव पाइने गरेको राजेन्द्र बताउँछन् । पछिल्लो समयका लोकप्रिय संगीतकार न्ह्यू बज्राचार्यको संगीतमा पनि नातिकाजीको मेलोडीको सुगन्ध आउने राजेन्द्रले अनुभव गरेका छन् ।

‘रवीन्द्र संगीत’ गोपाल योञ्जनको मेलोडीलाई पनि अहिलेका संगीतकारले पच्छ्याउने गरेको उनी बताउँछन् । ५०/६०/७० को दशकमा पनि नातिकाजीकै मेलोडी चलिरहेको उनको बुझाइ छ ।

अमर गुरुङले आधुनिक गीतलाई थोरै ‘वेस्टर्नाइज’ गरे । मोर्डन (क्याची) नाच्ने/नचाउने धारको संगीतको नेतृत्व शिवशंकरले गरे । “गोपाल योञ्जन, अमर गुरुङ त पछि क्रमशः रवीन्द्र संगीत, बंगाली र वेस्टर्न संगीतको प्रभाव लिएर आउनुभएको थियो,” राजेन्द्र भन्छन्, “नेपाली संगीतबाट सबैको नाम मेटिए पनि नातिकाजीको नाम भने कहिल्यै मेटिन सक्तैन । अबको सय वर्षपछि अध्ययन गर्न पनि रेडियो नेपालबाट नेपाली सुुगम संगीतको सुरुआत नातिकाजीले गरेको देखिन्छ ।”

नातिकाजीलाई गणेशमानको त्यो चिठी
३० को दशकको सुरुआतदेखि नातिकाजीसँग संगत र सहकार्य गरेका राजेन्द्र उनलाई नजिकबाट चिन्छन् । ‘पर लैजाऊ फूलहरू...’ बाट नातिकाजीले राजेन्द्रका गीतमा संगीतका सुरु चलाउन सुरु गरेका थिए । पहिलो गीतले नै लोकप्रियताको शिखर चुमेपछि राजेन्द्रले पटक–पटक नातिकाजीसँग सहकार्य गरे । नेपाली सेनाका थुप्रै गीतमा पनि नातिकाजीले काम गरे । पछि मात्र हो, नेपाली सेनासँग संगीतमा अमर गुरुङले सहकार्य सुरु गरेको ।

केही कलाकारले नातिकाजीलाई गाली पनि गरे । कारण, डेट दिएन भन्ने थियो । उनलाई गाली गर्ने अरू पनि थिए, जो भ्वाइस टेस्टमा अनुत्तीर्ण हुन्थे ।

एक दिन कामविशेषले राजेन्द्र थापा रेडियो नेपालमा पुगेका थिए । नातिकाजीको कार्यकक्षमा छिरे । शिवशंकर पनि नातिकाजीकै कार्यकक्षमा भेटिए ।

“शिवशंकरको हातमा एउटा चिठी थियो । मतिर चिठी देखाउँदै उहाँले भन्नुभयो– यो चिठी गणेशमान सिंहले पठाउनुभएको, स्वरपरीक्षा पास गरिदिनू भनेर । अनि, नातिकाजीले भन्नुभयो– यस्तो लेखेर चिठी आउँछ, स्वर सुन्ने हो भने गधाको जति पनि राम्रो छैन,” राजेन्द्र भन्छन्, “०४६ को जनआन्दोलनपछि यस्ता थुप्रै दबाब रेडियो नेपालले झेलेको थियो । त्यस्ता निर्देशन र आग्रह नमान्दा उहाँले थुप्रै गाली पनि खानुभएको थियो । तर, उहाँले आफ्नो धर्म नबिर्सिंदा खाएको गाली हो ।”  

गुलाम अलीलाई सुनाउने गीत
०३४ सालमा राजेन्द्रले नातिकाजीलाई एउटा गीत दिए । बोल थियो– तिम्रो एकएक दुःख...।

यी शब्दलाई नातिकाजीले आफ्नो संगीतको सुरुभित्र मिलाएपछि गायनका लागि प्रयास गराइरहेका थिए, योगेश वैद्यलाई । त्यो समय रत्न रेकर्डिङको डिस्क कलकत्ता (कोलकाता)मा लैजाने चलन थियो । त्यही बेला तत्कालीन राजा वीरेन्द्रले जापानमा उक्त काम गर्ने प्रबन्ध मिलाए । दरबारबाट रेडियोमा फोन आयो ।

“दरबारबाट बिहानै खबर आएछ, आजै फ्लाइटमा हङकङ हुँदै जापान पठाउनका लागि एकदम उच्चस्तरको एउटा गीत रेकर्ड गरेर पठाइहाल्नू,” राजेन्द्र भन्छन्, “पूर्वनिर्धारित गायक योगेश वैद्यलाई बोलाउन समय नभएपछि त्यही समय अचानक आइपुगेका फत्तेमान राजभण्डारीलाई त्यही समय सिकाएर भएका वादकहरूबाट वाद्ययन्त्र बजाएर रेकर्डिङ गरेर दुई/तीन घण्टाभित्र एयरपोर्ट पठाइएको थियो रे !”

त्यो समय कोलकातामा बाक्लो र ठूलो डोसा साइजको डिस्क प्रचलनमा थियो । त्यसको साटो पातलो डिस्क बनाएर ल्याउन त्यो गीत पहिलोपटक दरबारकै पहलमा जापान पठाइएको थियो । यो गीत आएपछि रत्न रेकर्डिङ संस्थानले संरक्षक तत्कालीन मुमाबडामहारानी रत्नराज्यलक्ष्मी र महाराज/महारानीसमक्ष पठाएको राजेन्द्र सुनाउँछन् ।

“नातिकाजी दाइ– गुलाम अली नेपाल आउँदा यो गीत सुुनाएर हाम्रो शक्ति देखाएर प्रभावित पार्ने गीत हो भन्नुहुन्थ्यो । उसले गाउन कुनै गीत माग्यो भने यही गीत गाउन लगाउनुपर्छ भन्नुहुन्थ्यो,” राजेन्द्र अगाडि थप्छन््, “नाति दाइले संगीत भरेको यो गीत आज पनि प्रायः हरेक संगीतका स्कुल र इन्स्टिच्युटमा विद्यार्थीलाई अभ्यास गराइन्छ ।”

तर, स्टेजमा फत्तेमान यो गीत किन धेरै गाउँदैनन् भनेर नातिकाजीले भन्ने गरेको राजेन्द्र स्मरण गर्छन् । यो गीत व्यावसायिक रूपमा भने नचलेको राजेन्द्र स्वयं बताउँछन् । यसमा उच्चस्तरको कम्पोजिसन र त्यही स्तरको गायन रहेको नातिकाजीको मूल्यांकन रहेको राजेन्द्रको भनाइ छ । नातिकाजीलाई उद्धृत गर्दै राजेन्द्र यसलाई ‘वर्ल्ड क्लासको कम्पोजिसन’ भन्छन् ।

रोटरी क्लबको आयोजनामा एकेडेमीले गरेको एकल साँझमा फत्तेमानले यो गीत गाएका थिए । त्यति बेला फत्तेमानले गाएका गीतका हरेक गीतकारलाई सिर्जनात्मक पक्षका बारेमा बोल्न दिइएको थियो । राजेन्द्रले यो गीतको संगीत र गायन पक्षका बारेमा बोलेका थिए । त्यसपछि हो, यो गीत धेरैले ‘नोटिस’ गरेको ।

चाँदनी शाहका गीत र नातिकाजी
चाँदनी शाह (तत्कालीन रानी ऐश्वर्य)का अधिकांश गीतमा नातिकाजीले संगीत भरेका छन् । चाँदनी तिनै गीतकार हुन्, जसका गीतमा कवितामा प्रयोग गरिने ‘अप्ठ्यारा’ शब्द छन् । “ती शब्दमा नातिकाजीबाहेक कसैले कम्पोज गर्नै सक्तैन । चाँदनी शाहका गीतको भाव यति गहिरो र सशक्त हुन्छ, त्यस्ता गीत अरूका छँदै छैन,” राजेन्द्र भन्छन्, “उहाँका गीतमा कवितामा जस्तै शब्द हुन्थे । जुन गीतमा जो कोहीले संगीत गर्नै सक्तैन, गद्य हुन्छ । उहाँका गीतमा संगीत गर्ने ताकत नातिकाजीसँग मात्रै थियो ।”

चाँदनी शाह पहिला कविता लेख्थिन् । पछि गीत लेख्न थालिन् । सोही कारण उनका गीतमा संगीत भर्न कठिन हुने राजेन्द्र सुनाउँछन् । त्यो क्षमता नातिकाजीमा मात्र रहेको उनको भनाइ छ ।

अनि, नातिकाजी सम्मान तथा पुरस्कार
सरकारले गीत–संगीतको श्रीवृद्धिका लागि के गर्‍यो र के गरिरहेको छ, संगीतकर्मीका असन्तुष्टिका स्वरबाटै धेरै अनुमान लगाउन सकिन्छ । उनीहरूले सायद सरकारबाट धेरै अपेक्षा पनि गर्न छाडिसके । नातिकाजीका नाममा विश्वविद्यालय बनाउनुपर्ने शम्भुजितको माग पूरा हुनेमा उनी स्वयंलाई कति भरोसा होला, त्यो पनि अनुमान लगाउन सकिन्छ ।

तर, यो वर्ष काठमाडौं महानगरपालिकाको सहयोगमा ‘नातिकाजी संगीत श्रवण साँझ’ गरिँदै छ । आउँदो साउन वा भदौमा हुने उक्त साँझमा नातिकाजी स्मृति समाजले विद्यार्थीलाई पनि सहभागी गराउँदै छ । कारण, नयाँ पुस्ताले थाहा पाओस् – नेपाली संगीतमा नातिकाजीको योगदान ।

‘नातिकाजी संगीत श्रवण साँझ’मा पुराना र नयाँ दुवै पुस्ताका गायक/गायिकाले नातिकाजीले गाएका र संगीत दिएका गीत गाउनेछन् । र, यसको उद्देश्य हुनेछ– नेपाली सुगम संगीतको जग खनेर सगरमाथाको उचाइ दिने सर्जक नातिकाजीलाई बिर्सिनु हुँदैन । उनलाई अजरअमर बनाइरहनुपर्छ ।

नातिकाजी स्मृति समाजले हरेक वर्ष संगीतकर्मीलाई सम्मान तथा पुरस्कार वितरण गर्दै आएको छ । पुरस्कार त नेपाली संगीत र साहित्यमा कति छन् कति, तर नातिकाजी सम्मान तथा पुरस्कारको गरिमा छुट्टै रहेको शम्भुजित बताउँछन् । हरेक संगीतकर्मी यो सम्मान र पुरस्कारका लागि लालायित हुने गरेको र त्यो गरिमा आफूहरूले बचाएर राख्न सकेको उनी सुनाउँछन् ।

“जसरी भारतमा बाल ठाकरे स्मृति गौरव सम्मान र फिल्मफेयर अवार्डको गरिमा छ, त्यस्तै नेपाली सांगीतिकवृत्तमा नातिकाजी सम्मान तथा पुरस्कारको छ,” शम्भुजित भन्छन्, “यो भनेको नातिकाजीको लोकप्रियता र सम्मानको उपज हो । साथै, हामीले पुरस्कार वितरणमा गरेको पारदर्शिता पनि हो ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  ११:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro