अपार्टमेन्टमा लक्जरियस बसोबास छ । श्रीमान्–श्रीमतीको नै राम्रो जागिर छ । कुनै बहाना मात्रै चाहिन्छ, उनीहरू उपहार र पार्टीका लागि हातारिन्छन् । प्रसंग हो, चलचित्र ‘परस्त्री’को । चलचित्रका मुख्य पात्र आव्या (शिल्पा मास्के) र (विश्वास) कोसिस क्षेत्री हुन् । अर्का पात्र पनि सिनेमाको मुख्य भूमिकामा छन् । ती हुन्, आयन (गौरव विष्ट ।)
यी तीन पात्रबीचको अन्तरसम्बन्धको वरिपरि दुई घण्टाको सिनेमा घुम्छ । जसै सिनेमा अगाडि बढ्छ, मुख्य पात्रहरूको एकार्काप्रतिको सामीप्य, यौनाकर्षण र दूरी प्रस्टिँदै जान्छ । श्रीमान्–श्रीमतीबीचको सम्बन्ध र परपुरुषसँग सामीप्यको उत्कर्ष नै ‘परस्त्री’को क्लाइमेक्स हो ।
विश्वास नेक्रोफिलियाबाट पीडित छ । अर्थात्, मृत शरीरसँग सहवास गर्नु उसको चाहना हो । तर, यस्तो चाहना कसरी हुन्छ सहजै पूरा ? त्यसैको भोक मेटाउन ऊ श्रीमती आव्यासँगको सहवासमा यति ‘वाइल्ड’ हुन्छ, यसलाई आव्याले टर्चर फिल गर्छे ।
चलचित्रको सुरुतिरै एउटा दृश्य छ, शवको । वास्तवमा त्यो शव होइन । सेतो कपडाभित्र बेरिएको अर्थचेत युवतीको शरीर हो । विश्वासले आफ्नो यौनाकांक्षाको नजिक पुग्नका लागि गरेको एउटा प्रयास हो । यसलाई आव्या सहन सक्तिनँ । त्यसैले उनी सम्बन्धविच्छेदका लागि पटक–पटक प्रयास गर्छिन् । तर, परिवार र समाजका कारण उनी पछि हट्न बाध्य भइरहेकी हुन्छिन् । त्यसपछिको आरोहअवरोह नै सिनेमाको कथा हो ।
चलचित्रका मुख्य पात्र आव्या, विश्वास र आयनको अभिनय उम्दा त होइन, तर राम्रो छ । सपोर्टिभ रोलमा धेरै कलाकार छैनन् । भएकाहरूले कथालाई अगाडि बढाउन अवरोध गर्दैनन् ।
नेपाली चलचित्रको मुख्य समस्या पटकथा नै हो । कथालाई अगाडि बढाउन लेखिनुपर्ने पटकथा उल्टै बरालिन्छन् । यो समस्याबाट लेखक दीपेन्द्र के खनालले ‘परस्त्री’लाई बचाएका छन् । तर, यहीँ उनले केही कमजोरी पनि गरेका छन् । डार्क थ्रिलर, सस्पेन्स थ्रिलर र क्राइम थ्रिलर सिनेमाको विशेषता भनेकै छिनछिनमा आउने ट्विस्ट एन्ड टर्न हो । सस्पेन्स हो । यसमा भने दीपेन्द्रले जति मिहिनेत गर्न सक्थे, त्यति गरेका छैनन् । कथामा सस्पेन्स थप्न सक्थे । तर, यसमा उनको कलमले अल्छी गरेको छ ।
डार्क थ्रिलर जानरामा बनेको चलचित्रमा केही विम्ब छन्, जसलाई समकालीन समाजको सुन्दर ऐना मान्न सकिन्छ । चलचित्रका दुई मुख्य पात्र विश्वास र आव्याका आँखाका नानीमा एकार्का देखिन्छन् । अर्को पनि विम्ब छ, खुट्टा उचालेको । आफूले आँखामा राखेका व्यक्तिलाई पनि कसरी सानो गल्ती र कमजोरीमा आफैँ सिध्याउन खुट्टो उचालेर बस्छन् भन्ने विम्ब चलचित्रको सुन्दर पक्ष हो ।
चलचित्रको ब्याकग्राउन्ड स्कोर बिझाउने छैन । चलचित्रमा एउटा गीत छ, ‘माया बस्यो तिमीसँग...’ यो नभएको भएको के हुन्यो ? निर्देशक सुरज पाण्डेलाई प्रश्न । आव्या र आयानको सम्बन्ध स्थापित गीत आउनुअगाडि नै भइसकेको थियो । त्यसैले मनाङ–मुस्ताङको सुन्दर पठार देखाउनकै लागि गीत समावेश गरिएको स्पष्ट बुझिन्छ ।
चलचित्रमा केही दृश्य छन्, यौन र मर्डरका । डार्क थ्रिलर, क्राइम थ्रिलर र साइकोलोजिकल थ्रिलरका लागि यस्ता दृश्य विशेषता नै हुन् । तर, सम्भवतः अरू नेपाली चलचित्रमा हिंसाका यति बीभत्स र नेक्रोफिलियाका दृश्य कमै होलान् । चलचित्रमा यौन र हिंसाका दृश्य प्रशस्त छन् । त्यसलाई नेपाली दर्शकले सहजै स्वीकार गर्छन्/गर्दैनन्, त्यो त आउँदा केही दिनमा प्रस्ट हुने नै छ । यो जानराका चलचित्र हेर्ने दर्शकका लागि भने यो सहज हो । हलिउड सिनेमाका लागि थिएटरमा लाइन लाग्ने युवा पुस्ताका निम्ति यो नयाँ स्वादको नेपाली चलचित्र भने हो ।
पाण्डेले डेब्यु निर्देशनमा गरेको काम तारिफयोग्य छ । उनले पहिलो सिनेमामै दह्रो खुट्टा टेकेका छन् । इङगेजिङ सिनेका बनाएका छन् । सिनेमा हेर्दा दुई घण्टा दशर्कलाई बोर हुँदैन ।
‘परस्त्री’को सिनेमेटोग्राफी अर्को सबल पक्ष हो । साँझ र रातमा खिचिएका केही सट लोभलाग्दा छन् ।
त्यसो त केही अभाव पनि देखिन्छ सिनेमामा । डार्क थ्रिलर र क्राइम थ्रिलर जानराले आफैँमा माग्ने पक्ष हो, प्रशस्त ट्विस्ट एन्ड टर्न । ‘परस्त्री’मा यो हुँदै नभएको त होइन, अपेक्षित छैन । वर्लड सिनेमाको सहज एक्सेस भएको समयमा तुलना गरिनु पनि अस्वाभाविक होइन । तर, नेपाली सिनेमाको बजार र बजेट हेर्दा त्यति धेरै कमेन्ट आवश्यक नहोला ।
० ० ०
निर्देशक : सुरज पाण्डे
निर्माता : शर्मिला पाण्डे
कलाकार : शिल्पा मास्के, कोसिस क्षेत्री, गौरव विष्ट
लेखक : दीपेन्द्र के खनाल