काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटको सुपर सिक्समा श्रीलंकाले नेदरल्यान्ड्ससामु २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शुक्रबार जिम्बाब्वेको बुलावाओ स्पोर्ट्स क्लब जारी खेलमा टस जितेर ब्याटिङमा आएको श्रीलंकाले ४७.४ ओभरमा सबै विकेट गुमाएर २१३ रनको योगफल खडा गर्यो ।
श्रीलंकाका धनञ्जय डी सिल्भाले ९३ रन बनाए । उनले १११ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । दिमुथ करुनारत्ने ३३, महिश थिक्षणाले २८, वनिन्दु हसरंगाले २० र कुशल मेन्डिसले १० रन बनाए ।
श्रीलंकाका ओपनर पथुम निसांका ‘रोयल डक’ भएका थिए ।
नेदरल्यान्ड्सका लोगन भान वीक र बास डे लिडेले समान तीन विकेट लिए । साकिब जुल्फिकरले दुई र र्यान क्लेइनले एक विकेट लिए ।
छनोटको सुपर सिक्समा जिम्बाब्वे र ओमानसँगै वेस्ट इन्डिज, श्रीलंका, स्कटल्यान्ड र नेदरल्यान्ड छन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउने छन् ।