site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पहिले मुख्यमन्त्रीको विश्वास मत कि बजेट अध्यादेश प्रस्ताव ?

विराटनगर । कोसी प्रदेशसभाको अधिवेशन असार १४ गतेलाई आह्वान गरिएको छ ।

सभाको विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष सरकारले सिफारिस गरेअनुरुप उनले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कोसी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले बताएअनुसार सभाको बैठक दिउँसो १ बजेलाई तय भएको छ । तर, यो अधिवेशन नियमित हो वा विशेष भन्ने प्रदेश प्रमुखको कार्यालयले समेत प्रस्ट पारेको छैन ।

सरकारका प्रवक्ता तथा उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले दिएको जानकारीअनुसार असार १० गते सरकारले प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र) ले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिने प्रयोजनको लागि विशेष अधिवेशन आह्वान गर्न सरकारले प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो ।

सभाको अधिवेशन नै आह्वान भएपछि अब सभामा पहिले मुख्यमन्त्रीले विश्वासको मत लिने वा बजेटसम्बन्धी अध्यादेश पेस हुने भन्ने प्रश्न उठेको छ । दुई दल सरकारबाट हटेपछि अल्पमतमा परेका कार्कीले जारी बजेट अधिवेशन अन्त्य गर्दै जेठ ३२ गते अध्यादेशमार्फत बजेट ल्याएका थिए । सभामा जेठ ३१ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

संविधानको धारा २०२ को उपधारा (१) मा प्रदेशसभाको अधिवेशन नचलेको अवस्थामा प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले अध्यादेश जारी गर्न सक्ने व्यवस्था छ ।

यसरी जारी भएको अध्यादेश ऐन सरह मान्य हुन्छ । अध्यादेश जारी भएपछि बसेको प्रदेशसभाको बैठकमा अध्यादेश पेस गर्नुपर्ने हुन्छ । सभाले स्विकार नगरे अध्यादेश स्वतः निस्कृय हुन्छ । अध्यादेश निस्कृय भए सरकार पनि गिर्छ । तर, पहिले के हुन्छ त ?

नेकपा (एमाले) कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले पहिले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव सभामा टेबुल हुने बताउँदै भने, “विश्वासको मत प्राप्त गर्न सक्नु भएन भने त एक मिनेट पनि पदमा बस्न मिलेन । राजीनामा दिई हाल्नुपर्छ । विश्वासको मत नपाएको सरकारले कसरी बजेटसम्बन्धी अध्यादेश पेस गर्छ ? पहिलो प्रस्ताव विश्वासकै मत हुनेछ ।”

विश्वासको मत गुमाएको सरकारले त्यसपछि अधिवेशन अन्त्य गर्ने, त्यसपछि सभाको नियमित अधिवेशन आह्वान हुने र अर्को सरकारले बजेटसम्बन्धी अधयादेश ल्याउने भण्डारीले अथ्र्याए ।

कोसी प्रदेशसभाका सभामुख बाबुराम गौतमले १४ गतेको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव टेबुल हुने बताउँदै भने, “सरकारले विश्वासको मत प्राप्त गरे मात्र अध्यादेश पेस हुन्छ ।”

पहिले के गर्ने भन्ने विषयमा कार्यव्यवस्थाको बैठकमा समेत गहन छलफल हुने नेपाली कांग्रेसका सांसद केदार कार्कीले बताए ।

सरकार जोगाउन र बनाउन केन्द्रमा दौडधुप
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा उनीसहित गठबन्धन दलका प्रमुख नेताहरू काठमाडौमा दौडधुप गरिरहेका छन् ।

कार्की सरकार जोगाउने कसरत स्वरुप पार्टीको उपल्लो नेतृत्वसँग छलफल गर्न संघीय राजधानी पुगेका छन् । यसैगरी गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा संसदीय दलका नेताहरू पनि उतै छन् ।

गठबन्धन दलका संसदीय दलका नेताहरूसहित प्रमुख सचेतक तथा प्रदेशसभा सदस्यहरू घनीभूत छलफलमा छन् । एमाले नेतृत्वको सरकार बहुमत कायम गराउने विकल्पका योजना बनाउँदै गर्दा गठबन्धन दलले भने विश्वासको मतसम्बन्धी प्रस्ताव ‘फेल’ गराएर नयाँ सरकार गठन गर्ने निर्णय गरेका छन् । काठमाडौमा आज बैठक गरी गठबन्धनका नेताले सरकारको नेतृत्वको विषयमा भने आफूहरूले छलफल नगरेको बताएका छन् ।

कांग्रेस सांसद केदार कार्कीले कसले सरकारको नेतृत्व गर्दै मुख्यमन्त्री लिने भन्ने विषयमा केन्द्रीय नेतृत्वको निर्णय पर्खिने सहमति भएको सुनाए । कोसी प्रदेशमा सरकारले विश्वासको मत प्राप्त गर्न वा नयाँ सरकार गठन गर्न ४७ बहुमत संख्या आवश्यक पर्छ ।

अहिले एमाले नेतृत्वको सरकारसँग आफ्नो दलका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ गरी ४६ सांसद छन् । गठबन्धन दलसँग बहुमत पुग्ने ४७ संख्या कायम छ । गठबन्धन दल माओवादी केन्द्रबाट सभामुख छन् । 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  २१:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro