site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वीर अस्पतालमा जनरल बेड सबै निःशुल्क, साउनदेखि जलनको पनि उपचार

काठमाडौं । मुलुककै जेठो वीर अस्पताललाई बिरामीमैत्री बनाउन जनरल बेडदेखि  अप्रेसन थिएटर (ओटी)सम्मका सेवा थप गरिने भएको छ । असार अन्तिम सातादेखि सर्जिकल भवन पूर्णरूपमा सञ्चालनमा ल्याउने र साउनदेखि बर्न युनिटसमेत सुरु गर्ने अस्पतालको तयारी छ । 

जनरल बेड सबै निःशुल्क 

वीर अस्पतालका ७०० वटा जनरल बेड असार ८ गतेदेखि बिरामीका लागि निःशुल्क गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स को कार्यकारी परिषद्ले जेठ ८ गते यस्तो निर्णय गरेको थियो । 

यसअघि जनरल बेडमा प्रतिबेड दुई सय रुपैयाँ शुल्क लाग्ने गरेको थियो । “वीरमा आउने बिरामीका लागि एकदिनको दुईसय रुपैयाँ जोगिए पनि धेरै राहत हुन्छ, दैनिक सातसय बिरामीलाई नै लक्षित गरी यस्तो निर्णय गरिएको हो,” न्याम्सका उपकुलति डा. भुपेन्द्र बस्नेतले भने । 

सातसय बेड निःशुल्क गरेबापत वार्षिक पाँच करोड रुपैयाँ खर्च हुने अनुमान छ । सो रकम सरकार र अस्पतालको आन्तरिक स्रोतबाट व्यहोरिने डा. बस्नतेले बताए । अस्पतालका क्याबिन र आईसीयू बेडमा भने तोकिएको शुल्क लाग्ने छ ।

एक साताभित्र थपिँदैछन् ३०० नर्स

वीर अस्पतालमा स्थायी दरबन्दीबाट तीनसय जना नर्सिङ जनशक्ति थपिँदै छ । नर्स थप गरेसँगै पाँचसय बेडको नयाँ सर्जिकल भवन पूर्ण रूपमा सञ्चालनमा ल्याउने अस्पतालको योजना छ  ।

अहिले वीरको पुरानो र नयाँ सर्जिकल भवनमा गरी ९६० बेड विस्तार भए पनि जनहशक्तिको अभावमा सबै बेडहरू प्रयोगमा आउन सकेका छैनन् । स्थायी दरबन्दीमा आएका तीनसय नर्स अबको एक साताभित्र नियुक्त हुने र योजनाअनुसार असारभित्रै नयाँ भवनलाई पूर्ण सञ्चालनमा ल्याइने डा. बस्नेतले बताए  । 

सबै विभागको दैनिक शल्यक्रियाको पालो 

नर्सिङ जनशक्ति थप गरेसँगै साताभरि सबै विभागअन्तरगतका बिरामीको शल्यक्रियाको व्यवस्था गर्ने अस्पतालको पहिलो प्राथमिकता छ । अहिले विभाग अनुसार बिरामीले शल्यक्रियाका लागि लामो समय कुनुपर्ने अवस्थालाई हटाउन सबै विभागको साताको ६ दिन नै पालो आउने गरी व्यवस्था गर्न लागिएको अस्पताल निर्देशक डा. सन्तोष पौडेलले बताए ।

त्यसका लागि अहिले सञ्चालनमा रहेका १२ वटा शल्यक्रिया कक्षलाई बढाएर १८ पुर्‍याइने डा. पौडेलको भनाइ छ । शल्यक्रिया कक्ष थपिएसँगै बिरामीलाई बढीमा दुई सातामा पालो आउने व्यवस्था गरिने छ ।

आईसीयू र एचडीयू बेड थपिने

अस्पतालले आईसीयू र इमर्जेन्सी सेवा विस्तारलाई अर्को  प्राथमिकतामा राखेको छ । हाल जनशक्तिकै अभावमा पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको आईसीयू बेडको संख्या बढाएर ५५ बाट ६५ पुर्‍याउने डा. पौडेलको लक्ष्य छ । त्यस्तै, एचडीयू बेड ३० वटा थप गरी सञ्चालनमा ल्याइने उनले बताए । 

बिरामीको अवस्था हेरेर इमर्जेन्सीमा ‘जोन’ छुट्याइने 

वीर अस्पतालको इमर्जेन्सी कक्षमा विभिन्न महामारीका बेला एउटै बेडमा तीन जनासम्म राखेर उपचार गर्नुपरेको देखिन्छ । यो समस्या समाधानका लागि इमर्जेन्सी बेड थपसँगै बिरामीको प्रकृति हेरेर जोनहरू छुट्याउने अस्पतालको योजना छ । 

“अहिले चलिरहेको ४० बेडलाई विस्तार गरेर कम्तीमा ५० बेड इमर्जेन्सी चलाउने र बिरामीको अवस्था हेरेर रेड, एल्लो जोनहरूमा राख्ने व्यवस्था गर्न हामी लागिपरेका छौँ,” डा. पौडेलले भने । 

अहिले थप हुन लागेका नर्सहरूलाई इमर्जेन्सी र आईसीयूमा पनि खटाइने उनले बताए । 

साउनदेखि जलनको उपचार गर्ने तयारी 

वीर अस्पतालले २५ बेडको जलन उपचार कक्ष सञ्चालन गर्ने तयारी गरेको छ । सुरुमा १० वटा बेडबाट उपचार गर्ने गरी प्रक्रिया अघि बढेको उनले बताए । त्यसमध्ये तीनवटा आईसीयू र सातवटा वार्ड रहने छन् । जनशक्ति र सबै स्रोत साधन उपलब्ध भए आगामी साउनदेखि जलनको उपचार सेवा सुरु गर्न सकिने डा. पौडेलको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  २०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro