विश्वव्यापी कोरोना संक्रमणको विस्तारभन्दा पनि त्यो महामारीको हल्ला र सन्त्रासको सलहले आकाश डम्मै ढाकिदियो । दिनदिनै आइरहने तात्ताता समाचारका लावालहरले पृथिवी नै धपक्क बल्छ कि जस्तो गरी सन्त्रासको डढेलो सल्काउन थाले ।
मिनेट–मिनेटमा संक्रमणको भयावहता र अस्पताल, चिहानमा देखिने त्रासद झाँकीहरू दिमागमा सल्बलाइरहँदा हरिबालाई सास फेर्नै गाह्रोजस्तो लाग्यो ।
युरोपीय देश फ्रान्सबाट.नेपाल भित्रिएको कोरोनाको संक्रमण अलि दिन दुम्किएर लुकेजस्तो थियो । तर, त्यसको लगत्तैपछि हल्यान्डबाट आएकी अर्की वृद्ध महिलामा पनि कोरोनाभाइरस भेटिएको खबरले हरिबा भयग्रस्त बनेथे ।
अलि दिनमा ती दुवै संक्रमित महिला कोरोनामुक्त भएको खबर आयो । रोग लागिहाले पनि बिसेक पनि त हुँदो रहेछ भन्ने राहतको सास फेरे हरिबाले र त्यो खबर परिवारलाई पनि सुनाए ।
तर, पछि त गाउँसहर नभनी झन्झन् कोराना बढ्न थाल्यो । भकाभक मान्छे मृत्युको सिकार हुन थाले । संक्रमणको पहिलो चरणमै सरकारले लकडाउन गरेको खबर सुनेपछि हरिबाको मन अलि शान्त भयो ।
देशभित्र संक्रमण भित्रिनेबित्तिकै शिक्षण संस्था त बन्द भइहाले, अनि अलि दिनपछि नै यातायात, सरकारी अड्डा–अदालत, कलकारखाना र सार्वजनिक संस्थानहरू समेत पूरै बन्दाबन्दीको चरणमा पुगे ।
वैकल्पिक उपचारको व्यवस्था नभएसम्म सरकारले गर्ने सबभन्दा सजिलो काम पनि यही जो थियो । तर, लकडाउन गरेको लगत्तैपछि भारतीय सीमाबाट दैनिक हजारौँ प्रवासी नेपाली भित्रिएसँगै कारोेनाको महामारीले पनि झन्झन् विकराल रूप लिन थाल्यो ।
बन्दाबन्दीको हप्ता दिनपछि हरिबाले एकैघरको तलमाथि बस्दैआएका दुवै छोराबुहारीलाई बैठकमा बोलाए । सबै परिवार घरभित्र थुनिनुपर्दाको अभूतपूर्व अनुभव आदनप्रदान भयो ।
सरकारी अफिसमा काम गर्ने छोराबुहारीले काम गर्नु नपर्दा हाइसन्चो भएको बताए । संस्थानमा काम गर्ने कान्छो छोरा अलि दिन भए पनि फुर्सद पाएकोमा मक्खै थियो ।
स्कुल बन्द भएपछि घरबाहिर निस्कन नपाएका केटाकेटीहरू कहिले आँगनमा बल गुडाउँदै, कहिले ब्याट खेल्दै र कति बेर छतमा चढेर बेमौसमको चंगा उडाउँदै भुलेका हुन्थे ।
केटाकेटीसँगै घरमूली प्रौढ दम्पती पनि बेलाबखत तलमाथि गर्दा दैनिक व्यायाममा नयाँ आयाम थपिएको अनुभव गर्दै थिए ।
एक दिन सबै छोराबुहारीलाई वरपर बसालेर हरिबाले प्रस्ताव राखे, “यत्रो महामारीको बेला छ, खोप र उपचारको अझै व्यवस्था हुन सकेको छैन । भोलि के कसो हुने हो, कुनै अत्तोपत्तो छैन । तिमीहरू मान्छौ भने यो महामारी वारपार नभएसम्म एउटै भान्छामा खाऊँ सबैले ।”
उनको प्रस्तावमा हुन्न, नाइँजस्ता विमति जनाउने कोही निस्किएन । त्यसै दिनदेखि दुई बूढाबूढीको भान्छा छोराबुहारी, बच्चाबच्ची समेत थपिएर दश जनाको संयुक्त परिवार बन्यो ।
भान्छा र कोठा सफा गर्न बाहिरबाट आउने घरेलु कामदारलाई पनि कोरोना भित्रिने डरले अलि दिन बिदा दिएर बुहारीहरू आ–आफैँ त्यो काम गर्न तम्सिए ।
पन्जा, मास्क लगाएर मात्र बिहानबेलुकीको घरायसी सामान किनमेल गर्न जाने, बाहिरबाट फर्किंदा मूलगेटभित्र छिर्दै हातपाखुरा स्यानिटाइज गर्ने, स्याउ, सुन्तला मेवाजस्ता फलफूलहरू र डेरीबाट ल्याएका दूधका पोका समेत साबुनपानीले धोइपखाली गर्ने, हरियो सागपात एक रात बाहिर कौसीमा राखेपछि नुनपानीले पखालेर मात्र केलाउने, पकाउनेजस्ता कडै फर्मुला तयार गरेका थिए हरिबाले ।
दालचामल, आलु, चना, चिउरा, आँटा, व्यसन, चाउमिनलगायत खाने चिजबिज र खाना पकाउने ग्यास समेत चारपाँच महिना धान्ने गरी एकै दिन दामासाही खर्चमा छोराबुहारीले नै किनमेल गरे ।
नौलानौला परिकारले भोजन बन्न थाल्यो । खाजाको लागि कहिले मःम कहिले परौठा त कहिले गाजरको हलुवा, पुरी, पकौडा आदि अनेकथरी आइटम तयार हुन थाले ।
परिवारका सबै सदस्य मिलेर खाँदा बस्दाको स्वादै अर्कै अनुभव भयो । यो थोक र त्यो थोक पुगेन भनेर झगडा झिक्ने केटाकेटीले सामूहिक भान्सालाई अझ मुखर, अझ वाचाल र रमाइलो बनाए ।
बच्चाबच्चीको माग, असन्तोष र हेलमेल अनि तोतेबोलीका अनेकथरी पहेलीले घर गुल्जार बन्यो ।
तर, लकडाउनकै कारणले बेइलमी र बेखर्ची बनेका हजारौँ कामदारहरू सहरका सडकपेटी र पाटीपौवामा भोकभोकै भरिन थालेका दृश्यले हरिबाको पेट पोल्न थाल्यो ।
बच्चा, बूढाबूढीलाई काँधमा बोकेर रातबिरात उपत्यकाबाहिर हिँडेका बेखर्ची मजदुरका ताँती देखेर टीभी हेर्दाहेर्दै अत्यास लाग्ने भयो । हिँड्दाहिँड्दै भोकभोकै बीचबाटोमा ढलेका असहाय सुत्केरी र वृद्ध रोगीका बथान बीपी राजमार्ग, दक्षिणकालीमार्ग र पृथ्वी राजमार्ग ढाकेर आ–आप्mना थातथलोतिर ओइरिन थालेका दृश्य हृदयविदारक थिए ।
रोजगारी हराएका हजारौँहजार भुईंमान्छेका हुल रातदिन हिँडेको हिँड्यै थियो । टीभीको पर्दामा आइरहने ती अकिञ्चन, अनाथ, बेसहारा मानव समुदायको कारुणिक दृश्यले अत्यास लागेर मन विचलित बन्दै गयो ।
यिनै दृश्यहरूमा रुमलिएर हरिबा एक्लै भुतभुताइरहन थाले– जाऊँ जाने ठाउँ छैन, गरौँ गर्ने काम छैन, पढौँ मन एकचित्त बन्दैन । नसुनौँ भन्दा पनि कोभिड महामारीका समाचार मात्र आइरहन्छन्, रेडियो टीभीमा । सकेसम्म अलि ज्ञानवद्र्धक मनोरञ्जक समाचार देखेभेटेजति सुनौँसुनौँ लाग्छ । तर, मन शान्त पार्ने समाचार कतै कुनै च्यानल सर्च गर्दा पनि भेटिँदैन ।
स्वास्थ्य सेवा र उपचारका क्षेत्रमा नामुद रहिआएका युरोप र अमेरिकी देशहरूमा नै झन् बढी अनियन्त्रित रूपमा कोरोना महामारी फैलिएर अत्यास बढायो । अक्सिजन, भेन्टिलेटर र सामान्य बेड समेत नपाएर उपचारविना बिरामीहरू छट्पटिँदै मृत्युवरण गरेका अनि समूहिक चिहानमा अनगिन्ती लास गाड्दै र जलाउँदै गरेका समाचार मात्र सुनिनदेखिन थालेपछि मन अड्याउन हम्मेहम्मे पर्यो ।
सेता गाउन लगाएका स्वास्थ्यकर्मी र सुरक्षा सेनाले ट्रकमा ओसार्दै एस्काभेटरले खाल्डो खनेर लास गाडेका घटना मात्र मुख्य समाचारमा भिजुअल बन्न थालेपछि रनभुल्ल परेका थिए उनी ।
सबै मरेका हुन् कि जिउँदा पनि थिए ती मान्छेका लासहरू ! उपचार गर्नै नसकेर त्यस्तो अनर्थ भएको त छैन ? हरिबालाई शंका पनि लाग्न थालेको थियो ।
हुँदाहुँदै नेपालमा पनि तिनै त्यस्तै घटना हुन बेर लागेन । कोरोना लागेपछि आफन्त कोही नजिक पर्न हुँदैन रे, पर्यो कि सल्किहाल्छ रे भन्ने अफवाह फैलियो ।
कोरोना लागेर मरेका लासहरू समेत सद्दे मानिसले छुनु हुन्न रे, मृत व्यक्तिको शरीर जलाउँदा उडेको धुपाँले सुद्द यो रोग फैलिन्छ रे ! सुरक्षा सेनाले नै कोरोना नसर्ने पोसाक लगाएर लासजति जमिनमुनि गाडी दिन्छन् रे भन्ने हल्ला चल्यो ।
आज हो कि भोलि हो, संसारभर ओखती नभा’को यो रुढीले कसलाई पहिला छुने हो ! थुकका छिटा, पैसा र हावाबाट पनि सर्छ भन्छन् यो व्याधि । यस्तैयस्तै चर्चामा लामो समय खर्च गर्न थाले परिवाका सदस्य ।
बिहान, बेलुका, दिउँसो जतिबेर पनि कोरोनाकै समाचार र चर्चामा समय बित्न थाल्यो । भुराभुरीहरू टीभी, बल, ब्याट, साइकलका इन्डोर गेममै अलि दिन रमाएकै थिए ।
एकपटक क्लाइमेक्समा पुगेर केही समयपछि नेपालमा कोरोना महामारी केही मत्थरझैँ भयो । सरकारले लकडाउनको शैली परिवर्तन गरेर छुट दिएपछि मन्त्रालय, अफिस, संस्थान, प्राधिकरण, परियोजना आदि सुचारु भए ।
छोराबुहारी कोही संस्थानमा कोही सरकारी कार्यालयमा आ–आफ्ना काम समात्न फर्किए । तर, शिक्षण संस्था, यातायात, खेलकुद, होटेल आदि यथावत् बन्दाबन्दीमै कायम रहे ।
स्कुल बन्द रहेका केटाकेटी र बूढाबूढी भने अझै कोरोनाबन्दी बनेर क्रियापुत्रीझैँ घरभित्र खुम्चिएका थिए । घरको हेरचाह र बच्चाबच्ची सम्हाल्ने काम बूढाबूढीको काँधमा आएपछि अलि दिन त भित्रैबाट ताला लगाएर बच्चाबच्चीलाई कम्पाउन्डमा रोक्ने प्रयास गरे ।
इन्डोर गेममै उनीहरू रमाए पनि । तर, बच्चाबच्चीको चञ्चले स्वभावले गर्दा त्यो धेरै दिन टिक्न सकेन । पाँचदश उमेर समूहका फ्रीफायर टिकटकले स्मार्ट बनाएका बच्चाबच्चीले वृद्ध बाआमाको आदेश–निर्देशन पो सधैँ किन मानिरहन्थे ?
कहिले कुनै बहाना बनाएर, कहिले आँखा छलेर अनेक उपाय गर्दै पर्खाल नाघेर अगाडि सडकमा निस्किन थाले । उस्तै उमेरका साथीभाइ जम्मा भएर साइकल चलाउने, फुटबल खेल्ने, कहिले दौड लगाउनेजस्ता खेलतमासाले सडक, चोक अस्तव्यस्त हुन पुगे ।
दुईचारपटक त बाआमा दुवै गएर कोरोना सर्ने डर देखाउँदै हप्कीदप्की पारेर बल्लतल्ल पर्खालभित्र ल्याएका थिए । तर, कम्पाउन्डभित्रै भलिबल, क्रिकेट, साइकल मान्छेपिच्छे हुँदा पनि बच्चाहरू दिगो रूपमा रमाउन सकेनन् ।
अर्को दिन त कसोकसो बूढाबूढीका आँखा छलेर मूलगेटबाहिर पुुगिहाल्थे । भित्रबाट ताला लगाएको लगायै, केटाकेटीजति बाहिर बेपत्ता ! गाईबाख्रालाई जस्तो लट्ठी लिएर धरालो लाग्न पनि साध्य नहुने ।
बूढीआमा फतफताइरहन थालिन् । आप्mनै नातिनातिनीको असफल धरालो बन्नुपरेकोमा अलि दिन त दुवै दम्पती निकै चिन्तित बनेका थिए, तर ‘ह्याँ जेसुकै गरून् यी मोरामोरी’ भन्दै हरिबाले विस्तारै लत्तो छोडिदिए । र, टीभी हेर्न छोडेको बेला गीताको किताप समातेर बस्न थाले ।
बाबाको खप्की खानु नपरेपछि बच्चाहरू झन्झन् उद्दण्ड बन्दै गए र बुढीआमालाई रत्तिभर टेर्न छोडे । गोलाबाहिर भौँतारिएका बारुलाझैँ स्कुल नभएका बच्चाहरू उस्तैउस्ता दौँतरीको हुल बाँधेर टोलछिमेकबाहिर कताकता भौँतारिन थाले थाले ।
एक दिन सानाहरूलाई घरै नगिच चौबाटोमा छोडेर ठूलाहरू भण्डारखाल, वनकालीका जंगलतिर लागेछन् । बाटो हिँड्ने अपरिचित मानिसले चोकमा अलपत्र परेका सानालाई सोधखोज गर्दै घर पत्ता लगाएर बाआमाको जिम्मा लगाएको थियो । कसो बच्चा चोरको फेला परेनछन् भनेर बाआमा चुकचुकाएका थिए ।
भण्डारखालतिर गएका ठूलाहरूले बाँदरका छाउरा चोर्ने दुःसाहस गर्दा माउहरूबाट खानसम्म पिटाइ खाएछन् । अनि, तिनै बाँदरले चिथोरेर धुजाधुजा बनेका कपडा बेरिएर रक्ताम्य अवस्थामा बेलुकी घर आइपुगेका थिए ।
तत्काल नुहाइपखाली मलमपट्टी गरेर समस्या सल्टाएकी थिइन् बुढीआमाले । त्यसपछि दुईचार दिन त अलि तह लागे पनि । तर, अर्को एक दिन ठूलाजति पर्खाल नाँघेर फेरि बाहिर जम्मा भएछन् र धोबीखोलाको बाढीमा जँघार तर्न गएर हिलाम्मे कपडामा फर्किएका रहेछन् । कसो बगाएन छ खोलाले । दुश्चिन्ताले बूढाबूढीकै सातो गएको थियो ।
छिमेकीबाट चुहिएर बच्चाहरू जथाभावी बाहिरफेर गएको जानकारी छोराबुहारीको कानमा पुग्दा बाआमाले सारै अप्रिय वचन सुन्नुपरेथ्यो । प्रतिक्रियामा दुवै दम्पतीले अमिलो अनुहार लगाएर मनको बह र मर्मको पीडा आफैँभित्र निलेका थिए ।
त्यसपछि त दिनदिनैजसो अफिसबाट घर फर्किएका छोराबुहारीहरूले बच्चाबच्चीलाई बाहिर छोडेको भनेर बूढाबूढीलाई छिर्के कुरा गर्दै खेर्न थालेका थिए । सामान्य जिम्मेवारी पनि पूरा नगरेको भनेर छोराबुहारीबीच दिनदिनै कानेखुसी चल्न थाले ।
दुवैथरीको विचारमा बूढाबूढीले बच्चाको हेरचाहमा लापरबाही गरेको र भर नभएको निष्कर्ष निस्कियो । उनीहरूले अफिसबाट पार्टटाइम छुट्टी मिलाएर आलोपालो बच्चाको धरालो लाग्ने जुक्ति निकाले । अनि, त्यसैअनुसार अर्को हप्ताबाट पालो मिलाएर अफिस जान थाले ।
बल्ल बूढाबूढीको आङ अलि हल्का भएथ्यो । तर, परिवारभित्रको वात्सल्य कताकता क्षीण र पन्यालो हुँदै गएको भान भयो । चालीस वर्षसम्म शिक्षक बनेर कमाएको आफ्नै पेन्सनमा निर्भर रहँदा पनि छोराबुहारीबाट खरीखोटी सुन्नुपरेको र भविष्यमा आइपर्न सक्ने थप असमर्थताका दिनको कल्पनाले बेलाकुबेला हरिबाका दम्पतीको दिमाग चिमोट्दै र कोतर्दै थियो ।
एक दिन कान्छी बुहारी भन्दै रहिछन्, “यो उमेर भइसकेका बूढाबूढी त वृद्धाश्रममा जानु नि बरु, बेकार केलाई घर ओगटेर बसेका हुन् !”
“हो त, यिनीहरू घर छोडेर गए माथिको दुवै तलामा थला मलेर बस्नु हुन्थ्यो । छिँडीको चिसोबाट त मुक्ति पाइन्थ्यो,” जेठानी थप्दै थिइन् ।
“हो त नि, क्या मज्जाले छतमा घाम ताप्नुहुन्थ्यो जाडो लागेपछि,” देउरानी सही थाप्दै थिइन् । अनि, दुवै खितित्त हाँस्दै बूढाबूढीको अरूअरू उतर्नी गर्दै थिए ।
बाहिर जान तल झरेकी रामेश्वरीले झ्यालभित्र भान्छाबाट आएको आवाज स्पष्टै सुनिन् । अरू केके भन्दै थिए, सबै कुरा सुन्ने क्षमता उनमा रहेन । बाहिर डुल्न हिँडेका पाइला अनायास रोक्किए ।
फरक्क फर्किएर गाह्रोसँग भर्याङ उक्लिँदै सुत्ने कोठाभित्र पसिन् । मन हरर्र पोलेर दिमाग कचल्टियो । बिहानी पदयात्रामा निस्किएका हरिबा अझै फर्किएका थिएनन् । अधीर बनेर पर्खिन थालिन् ।
लामो प्रतीक्षापछि हरिबा त घर भित्रिए, तर तत्काल केही भनिहाल्ने उनमा आँट आएन । कोरोनाको दोस्रो लहरले काठमाण्डू सहरलाई झनै हायलकायल बनायो । अर्को दिनबाट हरिबा बाहिर जानै छोडेर बिहानैदेखि आसन जमाएर बसे ।
“आऊ रामेश्वरी, हामी पनि योगाभ्यास गरेर बसौँ । हेर, योगवृत्ति निरोध भनेको छ शास्त्रमा । दुःखसुख, लोभलालच आदि मानसिक रापताप र पापकर्मबाट मुक्त हुन योगाभ्यास नै आवश्यक रहेछ । यसले सहारा नपाएर उडेको मन सम्हाल्छ, विषय, वासना र सांसारिक वस्तुको आशक्तिमा उत्ताउलो बनेको मनलाई ठेगान लगाउँछ,” आदि इत्यादि लामै फाइदाका फेहरिस्त बताए पतिले ।
रामेश्वरीले पतिका कुरा कति बुझिन्, कति बुझिनन् र पनि एकएक मनन गर्दै गइन् । दुवै पतिपत्नी बैठकको गलैँचामाथि ओल्लोपल्लो छेउमा बसेर टीभी हेर्दै साधनारत भए । योगगुरुको भरलाग्दो अनुहार, सुस्पष्ट वाणी विचार अनि योग साधना केन्द्रको मनोहर वातावरणले सुरुमा रामेश्वरीलाई निकै प्रफुल्ल बनायो ।
विभिन्न सूक्ति उपदेश र शास्त्रवचनले मनभित्रका क्लेशकल्मषहरू बढारिँदै गएजस्तो लाग्यो । मनमस्तिष्क उतै उत्प्रेरित भयो । शरीर ताजा हुँदै गएको अनुभव भयो ।
अलि दिनपछि रामेश्वरीको त्यो उत्सुकता र तन्मयता कायम रहन सकेन । योगगुरुका खुला शिविरमा सयौँ संख्यामा अनेकथरी पारदर्शी पोसाक लगाएका भर्खरका तरुनीहरू सहभागी बनेको देख्ता मन कताकता भौँतारिने गर्दथ्यो ।
खासगरी तीसचालीसे उमेर समूहका सम्भ्रान्त परिवारका महिलाले कुनै टिमिक्क टाँसिने र कुनै ह्वाङ्ङै खुला देखिने पोसाक लगाएर स्वच्छन्द शैलीमा साप्रा, फिला, स्तन र जाँघहरू नचाउने, उठाउने, थचार्ने, पछार्ने, बसाउने, सुताउने आदि नानाभाँतीका आसन र व्यायाम गरेको देखेर लज्जाबोधले औडाहा छुट्यो ।
पतिदेव तन्मयतासाथ तिनै दृश्यहरूमा एकाकार भएर लग्गु बनेको देख्ता रामेश्वरीका मनमा झनै अशान्ति बढ्यो । खडेरीको महामारीका बेला अरण्य प्रदेशको डढेलो बनेर मन डढ्न थाल्यो ।
भतभती पोलेको मन लिएर उनी योगासनमा बसेको बहाना पार्दै घरी उता र घरी यता हरिबाको हाउभाउ र अनुहार ताकिरहन थालिन् । पतिदेव भने तिनै योगसाधनारत महिलाको हुलसँगै धक फुकाएर उत्साह र जाँगर देखाउँदै योगगुरुका वचन पछ्याएर अभ्यासमा तल्लीन हुँदै गए ।
हुँदाहुँदै एउटा कार्यक्रमको समाप्तिपछि अर्को त्यस्तै च्यानल खोजेर योगाभ्यासमा निरन्तर भुल्न थाले । रामेश्वरीले भान्सा तयार गरेर बोलाउँदा पनि हरिबा लट्ठ परेर त्यतै तल्लीन भइरहेका देखिन्थे ।
एक दिन मुखै फोरेर रामेश्वरीले पतिदेवलाई भनिथिन्, “हजुरले यस्ता अशुभ दृश्य नहेर्दा हुँदैन ? अलच्छिन लाग्छ रे यस्ता कुराले, मनमा पाप पस्छ रे !”
पतिले कुरै बुझेनन् । ट्वाल्ल परेर एकोहोरो मुखमा हेरिरहे । फेरि उही कुरा दोहोर्याउन रामेश्वरीले संकोच मानिन् र आशामुखी भावले पतिका मुखतिर हेरिरहिन् ।
हरिबाले जिस्किएको सम्झिएर फिस्स हाँस्दै उनको कुरा उडाइदिए अनि फेरि ल्यापटप खोलेर युट्युबमा सर्च गर्दै योगासनमा रमाउन थाले ।
हरिबा झन्झन् तल्लीन भएर बिहान, दिउँसो, बेलुका तीनै प्रहर आसन र व्यायाममा जम्न थाले । अरू समाचारमूलक खबर सुन्न र पत्रपत्रिका हेर्न पनि पूरै बन्द भयो । साहित्य÷दर्शनका किताबतिर पनि वास्तै गर्न छोडे ।
उनलाई भोकतिर्खाको पनि उति वास्ता रहन छाड्यो । मावली, ससुराली, जुवाइँ, भान्जा र अरू इष्टमित्रको फोन उठाउन पनि छाडे । बोलाउँदा पनि ढिलो गरी सुन्ने भए ।
रामेश्वरीका मनमा भने कुनै आसन, योग र प्राणायामको दिगो प्रभावभन्दा उल्टै अनेकथरी तर्कवितर्कका हुन्डरी चल्न थाले ।
‘जीवनभर अरू महिलाको सम्पर्क र लसपसबाट टाढा बसेका मान्छे, पैँसठ्ठीवर्षे बुढ्यौलीमा आएर बिग्रिने त होइनन् ? हुँदाहुँदै कोरोना हटेपछि हरिद्वार जान्छु भन्न लागेका छन्, के त्यहाँकै कुनै आइमाईसँग फोन सम्पर्क त राखेका छैनन् ? त्यस्तो सुधो, परस्त्रीको मुखसम्म कहिल्यै नहेरेको मान्छे यो उमेरमा मन बिगारेर अन्यथा गर्न थाले कि पनि कसरी भन्नु ? नभनौँ पनि त्यतै मात्र एकोहोरिएका छन् ।’
यस्तै अनेकथरी तर्कवितर्क गर्दागर्दै रामेश्वरी टाउको दुख्ने, निद्रा नलाग्ने, रातभर मुख सुक्ने र खानामा अरुचि आदि थुप्रै समस्याले बिमार बनिन् । खुइ...खुइ... गर्दै रातको धेरै प्रहर छटपटीमा बिताउन थालिन् ।
एक दिन पतिदेवले रामेश्वरीको अनुहार गौर गरेर नियाले । ख्याप्पै दुब्लाएर झिट्टी भइछन् ।
“किन यसरी दुब्लायौ रामेश्वरी ?,” हरिबाले सोधेथे ।
“खै किन भन्नु हजुर !,” एक छिन अकमकाएजस्तो गरेर उनी अवाक् बनिन् । गहभरि आँसु भरिएका र अनुहारमा तरबर्रै चिटचिटे पसिना देखिए ।
हरिबा हेरेको हेर्यै वाल्ल परिरहे । एक छिन रोकिएर फरर्र ओठ कमाउँदै रामेश्वरीले कामेको स्वरमा भनिन्, “हजुर यो उमेरमा त्यो बाबाजीका षण्डमुसण्ड चेलीहरूतर्पm आँखा नलगाउनोस् न । त्यस्ता अशुभ दृश्यले आजभोलि गर्दागर्दै मन बिग्रिन्छ रे, अगती परिन्छ रे ! बरु, फेसबुक, पत्रपत्रिका, अरूअरू समाचार, खेलकुद, सिनेमा हेरेर बसम् । बरु, महाभारत र रामायण सिरियलका क्यासेट लगाएर दिन कटाऊँ । मलाई यत्ति देख्न पाए पुग्छ ।” अघिदेखि जम्मा भएका गहभरिका आँसु बर्बरी झारेर रामेश्वरीले भनिथिन् ।
हरिबाले उनका सबै कुरा ध्यानपूर्वक सुने । उनलाई यद्यपि आफूले कुनै त्यस्तो गल्ती नै गरेजस्तो त लागेको थिएन, तैपनि रामेश्वरीको गति चिन्ताजनक देखेर मन हुँडलियो । सन्ताप बढ्यो । विनाकारण दुखेको गृहिणीको चित्त बुझाउने जवाफी शब्द नपाउँदा हरिबा बिलखबन्द परेर टोलाइरहे ।