काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध दीपेन्द्रसिंह ऐरीले नेपाललाई आठौँ सफलता दिलाएका छन् ।
जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा चलिरहेको खेलको ४४औँ ओभरको दोस्रो बलमा दीपेन्द्रले जेस्सी सिंहलाई कप्तान रोहितकुमा पौडेलबाट क्याच गराए ।
जारी खेलमा नेपालबाट दीपेन्द्रले दोस्रो विकेट लिँदा करण केसीले चार विकेट लिएका थिए । ललितनारायण राजवंशी र गुल्सन झाले एक–एक विकेट लिएका थिए ।
अहिले ४४ ओभरको खेल सकिँदा अमेरिकाले आठ विकेट गुमाएर १७१ रन जोडेको छ ।
अमेरिकाविरुद्ध नेपालले पहिले बलिङ गर्दैछ । खेलका लागि भएको टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै अमेरिकालाई ब्याटिङ को निम्तो दिएका हुन् ।
समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । छनोटको पहिलो खेलमा हार बेहोरेका दुवै टिम पहिलो जितको खोजीमा छन् ।
यसअघि, पहिलो खेलमा नेपाल घरेलु टिम जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो । पहिलो खेलमा अमेरिकाले पनि दुईपटकको विश्वविजेता वेस्ट इन्डिजसँग ३९ रनको हार बेहोरेको थियो ।
छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स ९यूएई०, श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् ।
दुई समूहबाट समान शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।