site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पर्यटन बोर्डका तीन कर्मचारीलाई कारबाही गर्न पोखराका १७ संस्थाको माग

पोखरा । पोखराका पर्यटनसम्बद्ध विभिन्न १७ वटा संस्थाले पर्यटन बोर्डका कार्यकारी प्रमुखलाई पत्र लेखेर पर्यटन बोर्डको प्रदेश कार्यालय गण्डकीका तीन कर्मचारीलाई कारबाही गर्न माग राखेका छन् ।

उनीहरूले पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय, पोखरामा कार्यरत कार्यालय प्रमुख काशीराज भण्डारीसहित कर्मचारीद्वय नवीन पोखरेल र कुन्दन शर्मालाई तत्काल विभागीय कारबाही गर्न माग गरेका छन् । उनीहरूको सट्टामा नयाँ कर्मचारी पठाउनुपर्ने व्यवसायीको माग छ । 

Argakhachi Cement Island Ad

पर्यटन सम्बद्ध व्यवसायीहरूले पर्यटन बोर्डको प्रदेश कार्यालय निष्क्रिय रहेको विषयमा पत्र लेख्दै विभिन्न आठ बुँदामा हालका कर्मचारीहरूले नियोजित रूपमा राज्यको सुविधा लिएर दायित्व पूरा नगरेको आरोप लगाएका छन् ।

यसअघि पोखरास्थित कार्यालय दुई कर्मचारीको भरमा पनि राम्रोसँग चलिरहँदा अहिले बहालवाला तीन कर्मचारीहरूले कार्यक्रम गर्न भन्ने र कार्यक्रम सकिसकेपछि विभिन्न बहाना देखाएर भुक्तानी नदिएको आरोप उनीहरूले लगाएका छन् ।

पर्यटन व्यवसायीहरूले आफूहरू कार्यक्रमका लागि जाँदा कार्यालयका कर्मचारीहरूले आफूलाई 'डम्पिङ साइटमा पठाएको' भनेर काम नगरेको आरोप लगाएका छन् । उनीहरूले 'कर्मचारीका लागि पोखरा साँच्चिकै डम्पिङ साइट हो ?' भनी प्रश्न पनि गरेका छन् ।

पर्यटन बोर्डका सदस्य, कार्यकारी प्रमुखहरूको बारेमा जभाभाबी बोल्ने, गालिगलौज गर्ने र बोर्डको निर्णय गलत रहेको भन्दै काम गर्न नसकिने भनेर व्यवसायीहरूसँग पनि जथाभाबी बोलेको आरोप उनीहरूको छ ।

पर्यटनमा सक्रिय व्यवसायीहरूको 'सामूहिक आवाज' भन्दै व्यवसायी र सम्बद्ध संस्थाहरूले यस विषयलाई गम्भीरताका साथ लिएर संरचनात्मक सुधार गरिनुपर्ने माग राखेका छन् ।

कोभिडपछि थलिएको पर्यटन बजारलाई उकास्नका लागि बोर्डले भूमिका खेल्नुपर्नेमा बोर्ड आफैँ अहिलेसम्म पनि संक्रमित रहेको उनीहरूको टिप्पणी छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्