site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
नेपाली सिनेमाका लगानीकर्ता प्रोडुसर कि फाइनान्सर ?

काठमाडौं । केही दिनअघि मण्डला थिएटरमा भेटिएका निर्माता म्याक्स (दीपेश खत्री)लाई पंक्तिकारले सोध्यो– तपाईं सिनेमाको फाइनान्सर कि प्रोडुसर ? 

एक छिन घोरिएर उनले जवाफ दिए, ‘फाइनान्सर ।’  

प्रोडुसर हुन बाँकी नै छ ? 

‘अझै १०/१२ वर्ष लाग्छ होला ।’

त्यसो भए अहिले नेपाली सिनेमामा प्रोडुसर भनेर राखिएका नाम ?

चलचित्रकर्मीहरूकै जवाफ छ– उहाँहरू प्रोडुसर होइन, फाइनान्सर हो ।

फाइनान्स अर्थात् कुनै पनि प्रोजेक्टमा लगानी गर्ने व्यक्ति वा संस्था । नेपालका अधिकांश चलचित्रमा सिनेमा के हो भनेर नबुझेका मान्छेले लगानी गरेको निर्देशक दिनेश राउत बताउँछन् । आफूले अहिलेसम्म सुवास गिरीलाई मात्र चलचित्र बुझेको व्यक्तिका रूपमा चिनेको उनको भनाइ छ । “मैले हालसम्म काम गरेका सिनेमामा सुवास गिरीलाई मात्रै निर्माताको रूपमा चिनेको छु,” दिनेश भन्छन्, “बाँकी सिनेमामा लगानी गर्नेले सिनेमा बुझेजस्तो मलाई लागेन ।”

सिनेमा बुझेर भन्दा पनि नबुझेर यो क्षेत्रमा आउनेको संख्या धेरै रहेको उनी बताउँछन् । “एक हुल मान्छे यहाँ ग्याल्मर क्षेत्र हो भनेर आकर्षित भएर आइरहेका छन् । अर्को हुल क्विक बक्सअफिसको लोभले आइरहेका छन् । र, अर्को हुल मान्छे कसैको लहैलहैमा लागेर विदेश जाने पैसा सिनेमामा लगानी गरिरहेका छन्,” निर्माता म्याक्स स्पष्ट भन्छन्, “म यस्तो फिल्म बनाउँछु भनेर कति मान्छे यहाँ आएका छन् ? बुझ्दै नबुझी आउँदा लगानीको मात्रा बढ्ने, प्राविधिक र कलाकारले काम पाउनेबाहेक ठूलो उपलब्धि केही भएजस्तो मलाई लाग्दैन ।”

चलचित्रको प्रोजेक्ट डिजाइनर प्रोडुसर हुने भए पनि नेपालमा त्यो अभ्यास करिब नरहेको निर्देशक दिनेशको अनुभव छ । “खासमा सिनेमाको प्रोजेक्टको होल डिजाइनर नै प्रोडुसर हो । सिनेमाको विषय, निर्देशक, कलाकार को–को लिने भन्ने डिजाइन नै प्रोडुसरले गर्ने हो,” दिनेश भन्छन्, “हामी त प्रोडुसरले हायर गरेर गएका व्यक्ति मात्रै हौँ । तर, यो अभ्यास नै हामीसँग छैन भन्दा पनि हुन्छ ।”

प्रोडुसरको काम के हो र उसको जिम्मेवारी के भन्नेतर्फ भर्खर नेपाली सिने उद्योग जाने तयारीमा उनी बताउँछन् । केहीले त्यसको अभ्यास सुरु गरे पनि लागु भइसक्यो भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ । फाइनान्सर जो पनि हुन सक्ने तर ती सबै प्रोडुसर नहुने उनको धारणा छ ।

फाइनान्सर त बैंक पनि हुन सक्ने अर्का निर्देशक प्रदीप भट्टराई टिप्पणी गर्छन् । “वास्तवमा फाइनान्सर त जो पनि हुनसक्छ । हामीले गाडी किस्तामा किन्यौँ भने बैंकले फाइनान्स गरिदिएको भन्छौँ,” प्रदीप भन्छन्, “फाइनान्सर जो पनि हुनसक्छ । तर, प्रोडुसर भनेको निश्चित जिम्मेवारी लिने व्यक्ति हो ।”

निर्देशक प्रदीपको भनाइमा दिनेश सहमत छन् । उनी भन्छन्, “प्रोडुसरले फाइनान्सर त जो पनि खोज्न सक्छ अथवा आफैँ पनि हुनसक्छ । तर, फाइनान्सर खोज्दैमा कोही पनि प्रोडुसर हुन सक्तैन ।”

चलचित्रको सामान्य बुझाइ पनि नभएको व्यक्तिले लगानी गरिरहेको दिनेश सुनाउँछन् । “सिनेमा मेकिङको प्रोसस समेत नबुझेका फाइनान्सरले लगानी गरेर आफूलाई प्रोडुसर भनिरहेका छन् । उसले सिनेमा मेकिङको प्रोसेस बुझी नसक्दै सिनेमा रिलिज भइसक्छ,” उनी अगाडि थप्छन्, “सही अर्थमा प्रोडुसर सिनेमामा भए निर्देशकलाई पनि काम गर्न सहज हुने थियो ।” बुझ्दै नबुझी लगानी गर्दा सिनेमा डुबिरहेको उनको बुझाइ छ ।

प्रोडुसर हुन चलचित्रमा पैसा मात्र लगानी गरेर नपुग्ने प्रदीप बताउँछन् । सिनेमामा निश्चित जिम्मेवारी लिएको व्यक्ति मात्र प्रोडुसर हुन पाउने अन्तर्राष्ट्रिय अभ्यास रहेको उनी सुनाउँछन् ।

“पैसा हालेर मात्रै प्रोडुसर भइन्न । प्रोडुसरले त सिनेमा बनाउने हो । सिनेमा बन्नुभन्दा अगाडिको प्रि–प्रोडक्सनदेखि पोस्ट प्रोडक्सनको पनि जिम्मेवारी प्रोडुसरको हो,” प्रदीप थप्छन्, “सिनेमा कसरी बेच्ने, मार्केटिङ कसरी गर्ने भन्नेसम्मको डिजाइनर पनि प्रोडुसर हो ।” यो काम नेपालका अधिकांश सिनेमाका लगानीकर्ताले नगरेकाले उनीहरूलाई प्रोडुसर भन्दा पनि फाइनान्सर भन्न मिल्ने उनको भनाइ छ ।

चलचित्र बनाउँछु भन्ने भन्दा पनि मसँग यति पैसा छ सिनेमा बनाइदिनुपर्‍यो भनेर आउनेको संख्या नेपालमा अधिक रहेको प्रदीपको अनुभव छ । सिनेमा बनाइदिनुपर्‍यो भनेर आउनेलाई प्रोडुसर भन्न नसकिने र उनीहरू फाइनान्सर मात्र भएको प्रदीप प्रस्ट पार्छन् ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  ११:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro