काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हालै विघटन गरेको तीन जिल्लामा नयाँ संयोजक चयन गर्न अनलाइन आवेदन आह्वान गरेको छ ।
पार्टीको गत शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लामो समयदेखि निस्कृय, विवादित र गतिविधि शून्य रहेको भन्दै दाङ, मोरङ र रौतहट जिल्ला कार्यसमिति विघटन गर्ने निर्णय गरेको थियो ।
विघटन भएका पार्टीको तीन जिल्लाको नेतृत्व गर्न पार्टी भित्र सक्रिय, अन्य पार्टीमा रहेका र कुनै पार्टीको सदस्य नभएपनि नेतृत्व गर्ने क्षमता भएकालाई आवेदन खुल्ला गरेको हो ।
नवीन राप्रपा निर्माण गर्ने हालै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको स्पिरिट अनुसार नयाँ ढंगबाट जिल्ला नेतृत्व चयन गर्ने अभ्यास प्रारम्भ भएको र राप्रपाको इतिहासमा यस्तो अभ्यास पहिलोपटक गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।
अनलाइन फाराममा नाम, स्थायी ठेगाना, हालको ठेगाना, जन्म मिति, लिंग, शैक्षिक योग्यता, सम्पर्क नम्बरका अलावा तीन सय शब्दमा नबढाइ कार्यानुभव र आगामी कार्ययोजना खुलाएर फाराम भर्नुपर्ने व्यवस्था राप्रपाले गरेको छ।