
काठमाडौं । चीनले आफ्नो उन्नत जे–३५ए पाँचौँ पुस्ताको स्टील्थ लडाकु जहाज पाकिस्तानलाई ‘छिटो’ डेलिभरी गर्न लागेको वरिष्ठ कूटनीतिक र सैनिक स्रोतहरूलाई उद्धृत गर्दै क्षेत्रीय रक्षा रिपोर्ट र पाकिस्तानी मिडियाले जनाएका छन् । समाचारअनुसार यो डेलिभरीको पहिलो लट २०२६ को सुरुआतमा पाकिस्तानले पाउने अपेक्षा गरिएको न्युजविक म्यागाजिनले बताएको छ ।
भारतसँग हालैको सीमापार सैन्य तनाव बढ्दै जाँदा यो कदमले दुई देशबीच सैनिक सहयोग गहिरिँदै गएको देखाएको डिफेन्स सिक्युरिटी एसियाले खुलासा गरेको छ ।
पाकिस्तानले भारतीय वायुसेनालाई सन्तुलन गर्न आफ्नो हवाई रक्षा क्षमता बढाउन यो प्रयास गरेको न्युजविक म्यागाजिनले जनाएको छ । उसले चीन र पाकिस्तानको रक्षा मन्त्रालयहरूलाई यसबारे टिप्पणीको लागि अनुरोध गरेको छ ।
यो किन महत्त्वपूर्ण छ ?
चीनको नयाँ पुस्ताको स्टील्थ लडाकु जहाज छिटो डेलिभर भएमा दक्षिण एसियामा हवाई शक्तिको सन्तुलन परिवर्तन हुनसक्ने बताइएको छ । भारतले रुसी सु–३० एमकेआई र फ्रान्सेली राफेल जस्ता जहाजहरूमार्फत आफ्नो वायुसेना आधुनिकीकरण गर्दै छ । तर, यी दुवैमा जे–३५ए जत्तिको स्टील्थ क्षमता छैन । यो सम्झौतामार्फत चीनले पाँचौँ पुस्ताको लडाकु जहाज पहिलोपटक निर्यात गर्न लागेको बताइएको छ । यसले विश्वस्तरमा हतियार आपूर्तिकर्ताको रूपमा चीनको महत्त्वाकांक्षा देखाउँछ ।
चीन र पाकिस्तानको यो कस्तो सम्झौता हो ?
सम्झौताअन्तर्गत जे–३५ए लडाकु जहाज मूलतः २०२६ को अन्त्यतिर पाकिस्तानलाई डेलिभरी हुने योजना थियो । तर, पाकिस्तानले ३० जेटसहितको पहिलो ब्याच ६ महिना छिटो पाउने देखिन्छ ।
पाकिस्तानी वायुसेना प्रमुख एयर चिफ मार्शल जाहिर अहमद बाबरको बेइजिङ भ्रमण र चिनियाँ जनरल झांग योउशियाको इस्लामाबाद यात्रा जस्ता उच्चस्तरीय कूटनीतिक र सैनिक आदानप्रदानपछि यो घटनाक्रम विकास भएको हो ।
पाकिस्तानको रणनीतिक महत्त्वाकांक्षा
पाकिस्तानले भारतसँगको गुणस्तरीय हवाई शक्तिको अन्तर घटाउने लक्ष्य राखेको छ । जसले हालसम्म नन–स्टील्थ लडाकु जहाजहरू मात्र प्रयोग गरिरहेको छ । पाकिस्तानी मिडियाका अनुसार, देशका पाइलटहरू चीनमा जे–३५ए मा प्रशिक्षण लिइरहेका छन् ।
यसले इस्लामबादले यी नयाँ स्टील्थ लडाकु जहाजहरू आफ्नो वायुसेनामा समावेश गर्ने प्रतिबद्धता देखाएको छ । साथै, पाकिस्तान वायुसेनाका एक प्रशंसकले सामाजिक सञ्जाल एक्समा गरेको जे–३५ए को परीक्षण उडान देखाएका छन् । यसले यो जहाज चाँडै आउने भन्ने कुरा थप पुष्टि गरेको छ ।
रिपोर्टहरूका अनुसार, चीनले पाकिस्तानलाई जे–३५ए जहाजहरूमा ५० प्रतिशतको ठूलो छुट दिने र पाकिस्तान अनुकूल भुक्तानी सर्तहरू प्रदान गरेको बताएका छन् । यसलाई भारतसँगको हालैको तनावको समयमा पाकिस्तानको सैनिक प्रदर्शनको पुरस्कारको रूपमा लिइएको छ र दुई देशबीच रणनीतिक साझेदारी बढ्दै गएको संकेत गरेको छ ।
क्षेत्रीय हवाई शक्ति
गत नोभेम्बर २०२४ मा आयोजित एक प्रमुख एयर शोमा प्रदर्शन गरिएको जे–३५ए विमान, जे–२० पछि चीनको दोस्रो स्टील्थ लडाकु जहाज बनेको हो । योसँगै अमेरिकापछि पाँचौँ पुस्ताका धेरै स्टील्थ जहाज सञ्चालन गर्ने सफल दोस्रो देशको रूपमा देश चीन आएको छ ।
पेन्टागनको हालैको विश्लेषणले चिनियाँ वायुसेनालाई इन्डो–प्यासिफिक क्षेत्रको सबैभन्दा ठूलो र विश्वभर तेस्रो ठूलो वायुसेना घोषणा गरेको थियो । चीनसँग हाल तीन हजार १५० भन्दा बढी जहाजहरू छन् । यसमा लामो दुरीको सञ्चालन गर्न सक्षम लगभग दुई हजार ४०० लडाकु जहाजहरू समावेश छन् ।
यसबारे विज्ञहरू भन्छन् ?
पाकिस्तान वायुसेनाका सेवानिवृत्त एयर कमोडोर, जिया उल हक शम्शी भन्छन्, “भारतले यस समयसीमाभित्र पाँचौँ पुस्ताको लडाकु जहाज क्षमता हासिल गर्न सक्ने अपेक्षा छैन, जसका कारण पाकिस्तानलाई रणनीतिक फाइदा मिल्नेछ ।”
अमेरिकी वायुसेनाको चाइना एयरोस्पेस स्टडीज इन्स्टिच्युटका निर्देशक ब्रेन्डन मुलभ्यानी भन्छन्, “यसले पाकिस्तान र चीनबीचको सम्बन्धलाई अझ बलियो बनाएर पाकिस्तानी वायुसेनालाई भारतीय वायुसेना भन्दा अगाडि राखेको छ ।”
अब के हुन्छ ?
यी जहाजहरू छिटो डेलिभरी भएमा पाकिस्तानको हवाई युद्ध क्षमतामा ठूलो वृद्धि हुनेछ । यसले क्षेत्रीय रक्षाको अवस्था परिवर्तन गर्न सक्ने बताइएको छ । क्षेत्रीय शक्तिहरू विशेष गरी भारतले आगामी महिनाहरूमा पाइलट प्रशिक्षण, अपरेसनल इन्टिग्रेसन र रणनीतिक प्रतिकार्यहरूमा नजिकबाट निगरानी गर्ने अपेक्षा गरिएको छ ।