
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय र त्यसअन्तर्गतका निकायमा देखिएको कामप्रतिको ढिलासुस्ती र उदासीनता अन्त्य गर्न निर्देशन दिएका छन् ।
ऊर्जा मन्त्रालयमा आइतबार आयोजित उच्चस्तरीय समीक्षा बैठकमा मन्त्री खड्काले कर्मचारीलाई सक्रिय, जिम्मेवार र समयानुकूल सेवा प्रवाहमा केन्द्रित हुन निर्देशन दिए ।
“मन्त्रालय र अन्तर्गतका निकायमा फाइल रोकिएको गुनासो आएको छ, अबदेखि तीन दिनभित्र कुनै पनि फाइलको छिनोफानो हुनेगरी प्रक्रिया अघि बढाउनुहोस्,” मन्त्री खड्काले निर्देशन दिए ।
उनले हालसम्म मन्त्रालयअन्तर्गतको समग्र प्रगति चित्तबुझ्दो नभएको भन्दै असन्तोष व्यक्त गरे । कार्यसम्पादनमा पारदर्शिता, गति र उत्तरदायित्व कायम नगरेसम्म सेवा प्रवाह प्रभावकारी नहुने उल्लेख गर्दै मन्त्री खड्काले कर्मचारीलाई इमान्दारी र कर्तव्यनिष्ठाका साथ आफ्नो जिम्मेवारी वहन गर्न आग्रह गरे ।
“कर्मचारीलाई हामी स्थायी सरकार भन्छौँ, तर व्यवहारमा स्थायित्व देखिँदैन,” अहिलेको कार्यशैली हेर्दा विद्यार्थीले रातभर पढेझैँ देखिन्छ, तर नतिजा फेल हुनेजस्तो छ । यस्तो अवस्था अब स्वीकार्य हुने छैन,” मन्त्री खड्काले भने, “कामलाई गम्भीरताका साथ लिनुहोस्, लक्ष्य प्राप्तिका लागि पुरस्कार र दण्डको संयन्त्र आवश्यक छ ।”
वर्षा ऋतु सुरु हुन लागेको सन्दर्भमा मन्त्री खड्काले जल तथा मौसम विज्ञान विभागलाई सूचनाको प्रभावकारी प्रवाहमार्फत जोखिम न्यूनीकरणमा जोड दिन निर्देशन दिए । “वर्षासँगै आउने सम्भावित जोखिमको समयमै सूचना प्रवाह गरी जनस्तरसम्म सर्तकता पुर्याउन आवश्यक छ,” उनले भने ।